२५ असार २०७७ बिहीबार
विचार

संस्कृत आदिकवि वाल्मीकिको सम्झना

वाल्मीकि ऋषिको जन्मजयन्ती २०७४ असोज १९ गते परेको छ । हिमवत्खण्ड नेपालमा महान् ऋषिमुनि, वेद, पुराण, उपनिषद्हरू, नीतिशास्त्रहरूका निर्माता र रामायण लेख्ने वाल्मीकि जस्ता महान् व्यक्तित्वहरूको जन्मस्थल तथा कर्मस्थल हिमवत्खण्ड नेपाल भएकाले यो हामी नेपालीका लागि गौरवको कुरा हो । वाल्मीकि जस्ता अनेकौं ऋषि महर्षिबाट मानव सभ्यताका गौरवमय परम्परा स्थापित हुन सकेकाले हामी नेपाली गौरवान्वित छौँ । ऋषिमहर्षिका अथक चिन्तनबाट संसारमा अविच्छिन्नरूपमा चलिरहने समयलाई सत्य, त्रेता, द्वापर र कलियुग गरी चार भागमा विभाजित गरेका थिए । यसैका आधारमा मानव सभ्यताको आरोहण प्रत्यारोहण हुने क्रम जारी छ ।

अझै कतिपय मानिसले भक्तपुर हनुमानघाटमा वाल्मीकिको समाधिस्थल छ भन्ने विश्वास गरेका छैनन् तर जोकोही पनि उक्त क्षेत्रमा पुगेर समाधिस्थल देख्न सकिन्छ ।

मानव सभ्यतामा निरन्तरता दिलाउन सामाजिक सुव्यवस्थाका लागि मानिसको आयुलाई सय वर्ष कायम गरी २५।२५ वर्षको चार अवधिमा विभाजन गरिदिएका थिए । विश्वमा सबै सुखी होउन्, संसारमा कोही पनि दुःखी र रोगी नहोउन्, सबै उदार होउन्, विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् । उदात्त विचार लिएर विश्ववन्धुत्वका लागि क्रियाशील बनौं भन्ने यो वैदिक सनातन परम्परा हो । हिमवत्खण्ड नेपाल हिन्दु तथा बौद्धको आधिकारिक थलो हो । पूर्वमा ब्रह्मपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई नै ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्द महासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दु अस्मिता बोकेका राष्ट्रहरूमा ‘हिमवत्खण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुवै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो ।   

वैदिक–हिन्दु सभ्यता विस्तार गर्ने क्रममा ऋषिहरू भन्थे– ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं । प्राचीन समयदेखि हिमवत्खण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएको छ । हिमवत्खण्ड नेपाल तथा भारतबीचमा युगौँयुगदेखि गहन तादात्म्यता छ । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नुभएको छ– ‘कैलाश–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन ज्येष्ठ हो । मनु यहीँ जन्मेका, वेद यहीँ जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उद्देश्य हो ।’ यही हिसावले नेपाल तथा भारत हिन्दुहरूका लागि पवित्र पुण्यभूमि मानिन्छ । भारतमा मुसलमान र अंग्रेजको अधिक्रमणका कारण भारतमा हिन्दु अस्मिता नष्ट गराउने काम भयो । तर गोरखाका राजा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको सक्रियतामा स–साना टुक्रामा विभाजित हिमवत्खण्डका ५४ स–साना हिन्दु राज्यको एकीकरण गरेर हिन्दु र बौद्धहरूको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर हिन्दु अधिराज्य स्थापित कायम भएको हो । यस हिसावले यो भूमि कहिले पनि बिटुलो भएन ।

यही भूमि संस्कृत भाषाका आदि कवि वाल्मीकिले आफ्नो कर्मथलो बनाएका थिए । वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् । वाल्मीकिको जन्म कहाँ भएको थियो भन्ने कुरा एकीन गर्न नसकिए तापनि उनको देहावसान नेपालको भक्तपुरको हनुमानघाटमा वाल्मीकिको समाधि देख्न सकिन्छ । यस्तो महत्वपूर्ण कुरा पनि सुषुप्त अवस्थामा रहिरहेको अवस्थामा नेपालका खोजकर्ता चैतन्यप्रसाद देवकोटाबाट ५।६ वर्षअगाडि पत्ता लगाउन सकेकाले बितेको तीन वर्षदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा महर्षि वाल्मीकिको सम्झनामा इतिहासकार, धार्मिक चिन्तक तथा विद्वान्हरूको उपस्थितिमा जन्मजयन्ती मनाउने क्रम बसेको छ । महर्षिको जन्मजयन्तीको कार्यक्रम नेपालमा एक अध्यायका रूपमा प्रस्तुत हुन सकेको छ । तर अझै कतिपय मानिसले भक्तपुर हनुमानघाटमा वाल्मीकिको समाधिस्थल छ भन्ने कुरा विश्वास गरेका छैनन् तर जोकोही पनि उक्त क्षेत्रमा पुगेर समाधिस्थल देख्न सकिन्छ । त्यही नै आज हामी नेपालीको इतिहासको गौरवमय स्रोत हुन पुगेको छ ।

वाल्मीकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । वाल्मीकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायणी नदीको किनारमा आश्रम कायम गरेका थिए । त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् । त्यही ठाउँमा लवकुशको जन्म भएको थियो । ‘मा निसाद ! प्रतिष्ठां त्गमयः शास्वस्ती समा, यादकौंचा मिथुनादेकः ममधि काममोहितम् ।’ यो संस्कृत साहित्यको पहिलो कविता हो । वाल्मीकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक ब्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृष्यबाट बिष्फोटित बनेर करुणरसमय श्लोक वाल्मीकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि वाल्मीकिले रामायण लेखे । वाल्मीकि ऋषि बने । वाल्मीकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाणहरू पनि धेरै जुटेका छन् । भक्तपुरको हनुमानघाट सानो छ, राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्ज्वलित हनुमानघाट एउटा पवित्र धाम नै हो । यसको चियोचर्चा नभएकाले हनुमानघाट जस्तो पौराणिक स्थल अपरिचित हुन पुगेको हो । तीन वर्षअगाडि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो । तर २०३७ सालमा वाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा र तीन वर्षअगाडि महर्षि वाल्मीकिको समाधिस्थल देख्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भयो । यी दुवै वाल्मीकिका कर्मक्षेत्र हुन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको गौरवमय क्षेत्र भएझैं वाल्मीकि आश्रम र हनुमानघाट पनि नेपालको ठूलो सम्पत्तिको स्रोत बन्न सक्छ । पर्यटनको हिसावले पनि हरेक वर्ष हजारौं तीर्थयात्रीको आगमन हुन सक्छ । यो क्षेत्रलाई अन्तर्राष्ट्रिय धामका रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनुपर्छ । वाल्मीकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ । नेपाली भूमिमा रहेर रामायणलाई संस्कृत भाषामा वाल्मीकिबाट प्रतिपादित भएकामा हामी नेपाली गौरवान्वित छौँ । वाल्मीकिका कृतित्व पर्वअनुसार संस्कृत भाषामा प्रकाशित गराउन संस्कृतका ‘महर्षि वाल्मीकि’ नामक पत्रिका वेनीमाधव ढकाल, कमल रिजाललगायत जीवन अधिकारीहरूको सम्पादनमा प्रकाशित गराउने काम भएको छ । पहिलो अंक प्रकाशित भइसकेको छ । यसका लागि सम्पादकमण्डल धन्यवादका पात्र बन्नुभएको छ ।

महर्षि वाल्मीकिबाट लिखित रामायणलाई भानुभक्तले नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषाका आदिकवि भए । यस हिसावले वाल्मीकि र भानुभक्त नेपालका नै आदिकवि हुन् । भानुभक्तलाई विद्या उपार्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थहरू भानुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले वाल्मीकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो हुन गयो । अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्तैन । उनको मेहनतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो । भानुभक्तले नेपाली भाषामा राम गीता, वधू शिक्षा जस्ता कैयौं काव्य रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएका थिए । भानुभक्तको नामसँगै मोतीराम भट्टको नाम पनि सँगसँगै आउँछ । भानुभक्तका कृतिहरूलाई व्यापक प्रचार गर्नमा उनको ठूलो देन छ ।

मोतिराम भट्टले भानुभक्तबारे लेखेका थिए– ‘धेरै नामका कवि भानुभक्त भन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् । इनको जन्मस्थल तनहँु देशका चुँदीबेसीको रम्घा ना गरेको गाउँ हो । कवि भानुभक्ताचार्य सहज कवि थिए । अर्काका करमा कहिल्यै पनि बसेनन् । जस्ता भानुभक्तका सरल कविता छन् उस्तै इनको नाम पनि प्यारो छ । संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार ?’ त्यसैले भानुभक्तको नामसँग कवि मोतिराम भट्टको नाम जोडिन्छ । मोतिराम भट्ट पनि नेपाली साहित्यको जग हुन् । उनले लेखेका थिए– ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानू भन्ने उखानै छ । यसै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यश कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछु– ‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा । रिपुको मन थकोस् थरथर गरी छीन घरिमा ।। यमनले राज् गर्दा कति पतीत हिन्दुस्थल भयो । फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’ त्यस्तै संस्कृत भाषाका आदिकवि वाल्मीकि नेपाललगायत संसारमा प्रसिद्ध छन्, भाषिक जगतमा अजर अमर छन् ।

प्रकाशित: १९ आश्विन २०७४ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App