६ वैशाख २०८१ बिहीबार
विचार

हिंसा धर्म हो भने पाप के हो ?

दुर्गामाताको शक्ति कुनै बाहिरी शक्तिसँग मात्र तुलना गर्दा अन्याय हुन जान्छ । प्रत्येक व्यक्तिभित्र रहेको आत्मिक, चारित्रिक र मानसिक शक्तिलाई यहाँ उल्लेख गर्न खोजिएको हुनुपर्छ । पवित्रता, मानवीयता, अनुशासन, करुणा, प्रेमजस्ता आध्यात्मिक शक्ति अर्थात् स्वभाव जुन मानिसले जन्मँदै लिएर आएको हुन्छ, ती स्वभावमार्फत क्रोध, लोभ, घृणा, ईष्र्या, द्वैषजस्ता दैत्यरूपी स्वभावमाथि विजय प्राप्त गर्न सके मात्र वर्षेनि मनाइने विजयादशमी पर्वले हाम्रो जीवनमा सकारात्मक रूपान्तरण ल्याउनेछ ।
मानिसभित्र रहेको पशुत्वको बलि दिने सन्देश दिनुभएकी दुर्गामाताले अवश्य पनि निरीह पशुलाई बलि दिएर मलाई खुसी पार्नु भन्नुभएको छैन । एकैछिन मात्र पनि पवित्र मनले सोचौँ त— निरीह पशुलाई हत्या र हिंसा गरेर भगवान्लाई खुसी पार्ने धर्मरूपी प्रचलनलाई हामीले पछ्याउँदै जान्छौँ भने हाम्रो पापरूपी स्वभाव कति निर्दयी र कठोर होला ? हिंसालाई धर्म मान्ने हो भने पापको रूप त झन् के होला ? त्यसैले त मानिसले जति पर्व मनाए पनि भित्रबाट खुसी र आनन्दित छैन । जति बलि चढाए पनि शान्ति छैन, बरू झन्झन् अशान्ति छ । जति मन्दिर धाएर, जति व्रत बसे पनि क्षणिक रूपमा आफूलाई खुसी र धार्मिक देखाउला तर भित्रबाट आनन्दित र खुसी छैन । धर्म स्वभाव हो, धर्म प्रत्येक व्यक्तिभित्र हुनुपर्छ । धर्म आफ्नो कर्मबाट प्राप्त हुन्छ, मन्दिरबाट होइन भन्ने कुरा मानिसले बुझेन ।
    हाम्रा सबै पर्व ऋतु र मौसमअनुसार वैज्ञानिक महत्व बोकेर आएका हुन्छन् । असोज–कात्तिकमा पर्ने दसैँ, बाली भित्र्याउने र खुसीयाली आउने समय पनि हो । यतिबेला कुनै पनि किसानको घरमा अन्नपातको अभाव नहुने हुँदा पनि शरद ऋतुमा दसैँ पर्व मनाइएको हुनुपर्छ । न जाडो, न गर्मी, शरदको उल्लासमय मौसम र स्वच्छ हावासहितको स्वस्थ वातावरण, सयपत्री फुलेका पाखाहरू त्यसै नै मन प्रसन्न र पर्वमय हुने समय हो, दसैँ । दसैँमा उमारिने जमरा एकदिन शिरमा सिउरिने अर्थ मात्र यसले दिँदैन । अंकुरित अन्न सेवनले शरीरलाई आवश्यक प्रोटिन, क्याल्सियम र भिटामिन प्रदान गर्छ त्यसैले स्वास्थ्यसँग जोडिएको छ, जमराको महत्व ।
मन्दिर किन जाने ? पूजा, व्रत किन गर्ने भनेर सोधियो भने जवाफ आउँछ, आनन्द र शान्ति प्राप्तिका लागि । कसैलाई हत्या र हिंसा गरेर मानिने धर्मले कसरी शान्ति आओस् ? जुन मार्गमा मानिस हिँडिरहेछ त्यसले केवल सुखको अनुभव दिलाउँछ । सत्य यो हो कि जुन कर्मबाट सुख अर्जित हुन्छ, त्यही कर्मले एकदिन दुःख पनि दिन्छ । शान्ति र आनन्द भित्रबाट अनुभूति हुने स्वभाव हो । जीवनमा चाहिने धन, पद, सम्मानका लागि मानिसले अनेक प्रयास गर्छ तर यो जीवन अस्तित्वको कृपाबिना सम्भव छ ? म जन्म लिन्छु भनेर कसैले चाहँदैमा अर्थात् यही कोखमा जन्म लिन्छु भनेर कसैले अधिकार जमाउन सक्छ ? जन्मनासाथ अस्तित्वले आयोजना गरिदिएको हावा, सास, आमाको स्तनपान (भोजन) के यो प्रसादका लागि मानिसले प्रयास गरेर सम्भव छ ? विज्ञानले पनि प्रयास गरेर अनेक उपाय अपनाउन सक्छ तर प्रसाद उपलब्ध गराउन सक्दैन ।
एक आमाले शिशुलाई स्तनपान गराउन सकिनन् भने विज्ञानले पाउडर दूध उपलब्ध गराउन सक्छ तर कुनै अप्रेसन र प्रयासद्वारा आमाको स्तनमा दूध भर्न सक्दैन । त्यसैले हरेक पर्वले दिने गहन सन्देश र मानवीय जीवनमा त्यसको सार्थकता के हो, त्यो बुझ्नु जरुरी छ । कुनै पनि कुरालाई सतही अर्थ लगाएर त्यसको वास्तविक मर्म बुझ्न सकिन्न । मोती गहिराइमै भेटिन्छ । ध्यान र प्रेमको गहिराइबाट जीवनलाई बुझ्न सक्यौँ भने मात्र हाम्रा पर्वहरूमा हामी आनन्दित हुन सक्छौँ । अन्यथा दुई÷चार दिन बेहोसी भएर बाहिरी रमाइलो ग¥यो, पर्व सकिनासाथ मन अशान्त भइहाल्छ । अरूलाई देखाउनका लागि होइन, आफ्नै स्वान्तसुखाय र आफ्नो हैसियतअनुसार पर्व मनाउनुपर्छ ।  
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु प्राप्त होस् । दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् र भगवान् रामका जसरी शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस् । पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल र कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता प्राप्त होस् । विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यवरबाट आशीर्वचन प्राप्त हुन्छ ।
अरूको देखासिकी होइन, आफ्नै भित्र हेरी, आफूसँग जे छ त्यसमा रमाउने कलाको विकास भयो भने सबै आशीर्वाद हामीलाई जीवनभरका लागि प्राप्त हुन्छ । त्यसो भयो भने अभाव, असन्तुष्टि र अज्ञानतामाथि पनि विजय प्राप्त गर्न सक्छौँ ।

प्रकाशित: ९ आश्विन २०७४ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App