१६ चैत्र २०८० शुक्रबार
विचार

ह्याप्पी बर्थ डे कमरेड

अधिकांशको हातमा पुष्पगुच्छा अनि अनेकथरीका उपहार । खादा नबोकेका सायद कोही थिएनन् होला । आँगनदेखि पर खेतका आलीसम्म लाइनबद्ध पूर्व तथा वर्तमान मन्त्री र सरकारी निकायका उच्च अधिकारीहरूसँगै सामान्य कार्यकर्ताजन पालो कुरिरहेका । पञ्चेबाजा घन्काउनेहरू, गीत गाउनेहरू, प्रसाद (फलफूल) बाँड्नेहरू, उपहार सम्हाल्नेहरू र वरपर गफिनेहरूको भीडले खुट्टा राख्नसमेत हम्मे–हम्मे पथ्र्यो । 

राष्ट्रिय राजनीतिका प्रभावशाली र धेरैका लागि अनुकरणीय कम्युनिस्ट नेताले यसरी जन्मदिवस मनाइरहेको दृश्य अनौठो लाग्यो । लोकतान्त्रिक आन्दोलनमा सामेल कुनै नेताले यति भव्य जन्मदिवस मनाएको दृश्य मेरा लागि पहिलो पटक भएकाले मनमा अनेकन् तर्कना उठे र आफैँ फुटे । नेपालमा कम्युनिस्ट पार्टीका कुनै नेताको आलोचना नौलो विषय होइन । तर, केही वर्षअघि मात्रै देशबाट राजतन्त्रलाई बिदा गरेर नयाँ व्यवस्थाको थालनीपछि राजशैलीलाई नै माथ गर्नेगरी मनाइएको जन्मदिवस कुनै अर्थले शोभा दिने किसिमका थिएनन् । अझ झापा आन्दोलनको रागबाट उदाएर पहिलो कम्युनिस्ट पार्टी बन्न सफल दलका अध्यक्षले यति भाँती भड्किलो जन्म दिवस मनाउनु पटक्कै स्वाभाविक देखिँदैनथ्यो । 

पत्रकार सम्मेलन भनेर बोलाइएपछि बालकोट पुगेका मजस्ता धेरैले मनमा यस्तै प्रश्नहरू बोकेर फर्किए । कति साथीहरूले आलोचनामा र कतिले समर्थनमा समाचार तयार पारे । संविधानसभाबाट संविधान जारी गर्ने रस्साकस्सी र संक्रमणकालीन अवस्थाका कारण राजनीतिक समाचारले प्राथमिकता पाउँदा बालकोटमा काटिएको केक न्युज डेक्समा नआइपुग्दै बिलाएर गयो । म आबद्ध मिडियाले भने केपी शर्मा ओलीले त्यो दिन काटेको केक, कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहालको धार्मिक रुझान झल्कने तस्बिरसहित समाचार प्रकाशन गर्‍यो । 
बालकोटको केकले जिब्रो गुलियो बनाएका र ओलीको मलिन हातले न्यानो महसुस गरेकाहरूले यसलाई अनौठो मानेनन् । उनीहरूबाट आलोचनात्मक अभिव्यक्तिको आश गर्ने ठाउँ नै बाँकी रहेन । बरू, ओलीकै पदचाप पछ्याउँदै ठूल्ठूला होटलहरू भकाभक बुकिङ गर्ने प्रवृत्ति संस्कृतिका रूपमा विकास गर्न थाले । एमालेजस्तो सांगठानिक चुस्तता र इमानदार कार्यकर्ताको पंक्तिले अध्यक्षको सिको गर्नु अस्वाभाविक थिएन पनि । जति अस्वाभाविक हुनु थियो, बालकोटमा त्यही दिन देखिएको थियो । यसपछि पनि ओलीले उस्तै तडकभडकसाथ जन्मदिवस मनाउँदै आएका छन्– उनमा समर्पित ‘ह्याप्पी बर्थ डे, कमरेड’को ध्वनि लोकसामु छिपेको छैन । यतिसम्म कि गत वर्ष ओली भारत भ्रमणमा रहेका बेला बर्थ डे प¥यो । त्यहाँ पनि सात सात लाख बढी खर्च गरेर बर्थ डे मनाइएको भन्दै भुक्तानीका लागि बिल नेपाल सरकारका नाममा आएपछि हल्लीखल्ली नै चल्यो । जो सानो देशको विशेषता पनि हो, दुःख मानेर भएन। 

यो वृत्तान्तमार्फत अध्यक्ष कमरेड ओलीले गलत गरे भन्ने साबित गर्न खोजिरहेको छैन । यसको लेखाजोखा वामपन्थी एवं राजनीतिक अध्येता, समाजशास्त्री एवं मानवशास्त्रीहरूले गर्लान् । तर, केही वर्षभित्रै नेपाली समाजमा र विशेषगरी कम्युनिस्टवृत्तमा पन्पिएको ‘बर्थ डे’ संस्कृतिमा ओली कमरेडको भूमिकाबारे संस्मरण भने छुटाउन सकिन्न । किनभने, त्यसअघि कम्युनिस्ट मात्रै होइन, गैरकम्युनिस्ट पार्टीका नेताहरूमा यति महत्वसाथ पश्चिमा विधिअनुसार बर्थ डे मनाएको दुर्लभ घटना हो । यो भन्दा भड्किलोगरी मनाइएको भए पनि सार्वजनिक गरिएन होला । चामत्कारिक परिवर्तनको माध्यम बनिरहेको सामाजिक सञ्जालको साथ नमिलेको पनि हुनसक्छ। 

आधुनिक नेपाली राजनीतिक इतिहासमा पहिले–पहिले राजाको जन्मदिवसमा सार्वजनिक बिदा नै हुन्थ्यो । राजा समर्थक नेताहरूले उनीजस्तो सुविधा नपाए पनि उस्तै बाटो पछ्याउने प्रयत्न गर्थे । गणतन्त्र आएपछि भने कुनै जीवित नेताको जन्म विशेषमा सार्वजनिक बिदा हुन छाड्यो । सबै बराबर भए, गणको शासन चल्न थाल्यो । तर, कम्युनिस्ट स्कुलिङ र विचार बोकेर समाजमा स्थापित भएका दलहरूमा भने ‘ओली बर्थ डे’ यु टर्न बन्न पुग्यो । ओलीका समकालीन र उनकै दलका धेरै नेता यो तथ्य स्वीकार्छन्। 

मूलीले देखाएको बाटोमा मातहतका सदस्य नहिँड्ने कुरै रहेन । यो संस्कृतिको फैलावट अहिले एमालेका जनवर्गीय संगठनका नेता÷कार्यकर्ताबीच बर्थ डे मनाउने स्पर्धामै पुगेको छ । कसले कति प्रभावशाली वरिष्ठ नेता ल्याएर आफ्नो बर्थ डे केक काट्यो भन्ने मानक नै बसिसकेको छ । शैक्षिक एजेन्डा र सामाजिक रूपान्तरणको एजेन्डा छोडेर अखिलका नेताहरूमा कसले बढी केक काट्ने भन्ने होड तीव्र छ । युवा संघ नेपाललगायतका संगठन पनि यसबाट बच्नै कुरै भएन । कतिसम्म भने जनवर्गीय संगठनका कार्यालय र ठूला होटलहरूमा दिनहुँजसो केक काटिनु सामान्य भइसक्यो । कसै न कसैले जन्मदिन परेकै हुन्छ । सामाजिक सञ्जालले देखाइहाल्छ। 

हुनत, नेपाली समाजमा जन्मदिवस मनाउने कुरा नयाँ होइन । अलौकिकतालाई विश्वास गर्ने समुदायमा दियो जलाएर परिवारका सदस्यहरूले दीर्घायुको कामना गर्दै जन्मदिवस मनाइने अतीत त्यति टाढाको होइन । फरक यति हो– त्यसबेला दियो निभे, अशुभको संकेत मानिन्थ्यो । अहिले बर्थ डे मैनबत्ती निभाएर केक काट्नुपर्छ । जन्मदिवस मनाउने पूर्वीय र पश्चिमा विधिको फरक हो । यसैले कमरेडहरूको काम कुनै नयाँ होइन तर, नयाँ शैली भने पक्कै हो । 
सामाजिक सञ्जालको प्रभावले नयाँ संस्कृतिका रूपमा विकास गर्न सहयोग पुगेको बर्थ डे संस्कृतिले आपसमा एकता त कायम गरेको पक्कै छ । तर, दिनहुँ नटुट्ने यो पर्वले कहीँ नपुग्ने बाटोतिर अल्मल्याएको पनि भुल्न हुँदैन । विशेषगरी समाजका अगुवा भन्ने अठोट लिएर हिँडेकाहरू यस्ता अनुत्पादक र अनावश्यक झन्झटमा फसिरहँदा सामाजिक रूपान्तरणका अन्य काम ओझेल पर्छ कि भन्ने सोच्नुपर्छ । 

नेपालको राजनीतिमा कुनै आन्दोलन कुनै एकल शक्तिबाट सफल भएनन् । कांग्रेस, कम्युनिस्ट र पूर्व पञ्चहरूको बाटो आ–आफ्नो उद्देश्य भए पनि बेला–बेला एकताबद्ध भएर एउटै आन्दोलनमा उभिनुपर्ने अवस्था आयो । यसले आमसाधरणदेखि कार्यकर्ता पंक्तिमा अन्योलको अवस्था सिर्जना भयो । राणाशासन, पञ्चायतदेखि राजतन्त्र अन्त्य गर्न समेत दलहरू एक ठाउँ उभिएकाले यसो हुन पुगेको हो । तर, अब जनप्रतिनिधि सहभागी संविधानसभाबाट संविधान जारी भएपछि सबै दललाई आफ्नो लक्ष्यमा पुग्ने कार्यक्रम र नीति ल्याउने अवसर आएको छ । यस्तो बेला देशको प्रमुख दलकै नेता÷कार्यकर्ता भने हिजोका कल्याणी संस्कृति छाडेर भड्किलो विकल्पतिर लाग्नुले राम्रो सन्देश नदेला । हुनत, समाजको नियम गतिशीलता र परिवर्तनको नियमअनुसार स्वीकार गरिएकाले बर्थ डे संस्कृतिबाट पछाडि हट्न सजिलो नहोला । तर, कम्तीमा यसलाई कल्याणी क्षेत्रतिर मोड्न त सकिएला । यसको थालनी पनि नेतृत्वबाट सुरु हुनुपर्छ, जसको सिको गर्दा समाज समृद्धिको मार्गतिर लम्कियोस् । होइन भने भोलि अन्य दलभित्र पनि तीव्रतर फैलनेछ र सिंगो समाजले त्यही बाटो रोज्नेछ । 

 

प्रकाशित: २१ भाद्र २०७४ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App