८ आश्विन २०७७ बिहीबार
विचार

आवागमन सहज बनाउन ध्यान देऊ

शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतका थुप्रै पुल क्षतिग्रस्त भएकाले आवागमनमा समस्या देखिएको छ। तसर्थ छिटोभन्दा छिटो वैकल्पिक व्यवस्था गरी आवतजावत सहज बनाउन आवश्यक छ। सप्तरीको भारदहदेखि सर्लाहीसम्म एक दर्जन पुलमा क्षति पुगेको छ भने सप्तरी, महोत्तरी र सर्लाहीका तीनवटा पुलको ‘एप्रोच’ बगाएको छ। सप्तरीको कुसहास्थित बेर्धाना पुलको 'एप्रोच सल्याब' (पुल र कालोपत्रे बीचको ढलान) बाढीले भत्काएको छ। कल्याणपुर  नजिकको खड्ग पुलको प्रोटेक्सन र कालोपत्रे भत्केको छ। खाँडो पुलको एप्रोच सल्याब भत्केर पुलको प्रोटेक्सन (तारजालीभित्रको ढुंगा) समेत भत्किएको छ। भारदहनजिकको कोसीघाट पुलको डाउन प्रोटेक्सन भत्केको छ। प्रोटेक्सन धेरै ठाउँमा बगाएको छ। धनुषाको बरहरी पुलको पश्चिम २० मिटरजति बाढीले कटान गरेको छ। महोत्तरीको रातु नदीको पुलको मध्यभाग धसिएको छ। जँगा पुलको पश्चिमपट्टिको एप्रोच सल्याबसँग कालोपत्रेसमेत भत्किँदा सवारीसाधन चल्न सकेको छैन। जंगलका रूख र गेग्रान नदीमा भण्डारण हुनुले पुराना भइसकेका यी पुल क्षतिग्रस्त बन्दै गएका हुन्। बाढीको धक्काले सर्लाहीको अमुवा पुलको 'एप्रोच वास आउट' (सडक र पुलबीचको भाग) बगाएकोे छ। चुरे मुहान भएका यी खोलाको पुल सामान्य बाढीको धक्कासमेत थेग्न नसक्ने गरी कमजोर हुनुमा अनियन्त्रित चुरे दोहन नै हो।

अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने कार्यका लागि होस् वा राहत वितरण सहज बनाउन र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्काउन पनि राजमार्ग र अन्य सडक खण्डमा भत्किएका पुलको मर्मतसम्भार गर्नुपर्छ। त्यसैले पनि तत्कालका लागि अस्थायी किसिमको अन्य वैकल्पिक उपायको खोजी गर्नैपर्छ।

बढीले पूर्वी नेपालका साथै मध्य र पश्चिम नेपालमा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गतका क्षेत्र र ती स्थानमा भएका पुलमा पनि उत्तिकै क्षति पुर्‍याएको छ। जस्तो :  जितपुर–सिमरा उपमहानगरपालिकाअन्तर्गत पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्गको दुधौरा खोलाको पुल र पथलैया–हेटौंडा सडक खण्डमा पर्ने तीन नम्बर पुल भासिएको छ। निजगढ नगरपालिकामा पर्ने धनसर खोलाको पुलको पश्चिम भागको सडक बगाएको छ। यता बर्दियाको गुलरिया र मंगरागढी जोड्ने जग्दी पुल बबई नदीको बाढीले भत्काएको छ। १६ करोड लागतमा बनाइएको ४ सय २५ मिटर लामो पुल ५ महिनाअघि मात्रै सञ्चालनमा आएको हो। कमसल सामग्री प्रयोग गरेकाले पनि त्यो पुल भत्किएको सम्भावना छ। त्यसैले पनि पुल के कति कारणले भत्किएको हो भन्ने विषयमा छानबिन गर्न उत्तिकै आवश्यक छ। पुल बाढीले बगाएपछि ग्रामीण क्षेत्रको सर्म्पक सदरमुकाम गुलरियासँग टुटेको छ। यसरी विभिन्न स्थानका पुल भत्किएका कारण कतिपय स्थानमा बाढीपीडित परिवार सुरक्षित स्थानमा भए पनि सडक अवरुद्ध हुँदा राहत वितरणमा समस्या परेको छ। अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने कार्यका लागि होस् वा राहत वितरण सहज बनाउन र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्काउन पनि राजमार्ग र अन्य सडक खण्डमा भत्किएका पुलको मर्मतसम्भार गर्नुपर्छ। त्यसैले पनि तत्कालका लागि अस्थायी किसिमको अन्य वैकल्पिक उपायको खोजी गर्नैपर्छ।

सर्वप्रथम त बाढीबाट प्रभावित भएकाहरूलाई तत्काल उद्धार गरी राहत कार्यमा ध्यान दिनैपर्छ। यसका साथै बाढीका कारण जे जति मात्रामा सडक र पुलजस्ता आवश्यक भौतिक पूर्वाधारको क्षति भएको छ, त्यसको मर्मतसम्भारमा पनि उत्तिकै तदारुकताका साथ लाग्न जरुरी छ। बाढीले पूर्वपश्चिम राजमार्गका कतिपय स्थानमा कल्भर्टसमेत बगाएको छ। पुल र राजमार्गको कल्भर्ट भत्किँदा आफ्नो गन्तव्यका लागि छुटेका धेरै सवारीसाधन आधा बाटोमै अलपत्र परेका छन्। यात्रुको बिचल्ली भएको छ। विगतका उदाहरण हेर्ने हो भने प्राकृतिक विपत्तिबाट यसरी भत्किएका संरचना तत्कालै निर्माण हुने गरेका छैनन्। जस्तो कि यसअघि ०७१ साउन अन्तिममा आएको बाढीले कसुम्बा घाटको पुल बगाएको थियो जुन पुल १ करोड ५९ लाखमा उति बेला एक महिनाअघि मात्रै तयार भएको थियो। यो ठाउँमा अहिलेसम्म पनि पुल निर्माण हुन सकेको छैन। यस अवस्थामा अहिलेको बाढीले भत्काएका पुलहरुको अवस्था पनि यस्तै नहोला भन्न सकिँदैन। तर, यसरी लामो समयसम्म सडक तथा पुल मर्मत तथा निर्माण हुन सकेनन् भने सर्वसाधारणको जनजीवन कष्टकर हुनेछ। बाटो खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ। त्यसैले पनि सरकारले यसतर्फ ध्यान दिनैपर्छ।

प्रकाशित: ३१ श्रावण २०७४ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App