१६ चैत्र २०८० शुक्रबार
विचार

पाइलटलाई लाखौं तलब किन? :  लेखा समिति

काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले विदेशी तथा स्वदेशी पाइलटलाई किन लाखौं रुपैयाँ तलब दिइएको भन्दै नेपाल वायुसेवा निगम व्यवस्थापनलाई प्रश्न सोधेको छ।

निगमले एकजना स्वदेशी तथा दुईजना विदेशी पाइलटलाई नियमविपरीत लाखौं तलब दिएको समाचार नागरिक दैनिकले सार्वजनिक गरेपछि लेखा समितिले बुधबार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, निगम सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलगायत उच्च अधिकारीलाई बोलाएर उक्त प्रश्न सोधेको हो।

लेखा समितिका सदस्य रामहरि खतिवडाले इटालीका एक पाइलटलाई निगम व्यवस्थापनले सार्वजनिक सूचना जारी नगरी मासिक २६ हजार ५ सय अमेरिकी डलर (२६ लाख ५० हजार रुपैयाँ) तलब दिएको भन्दै आपत्ति जनाए।

'एउटा विदेशी पाइलटलाई बिनाप्रतिस्पर्धा महिनाको साढे २६ लाख रुपैयाँ तलब दिने निर्णय निगमले एकतर्फी हिसाबले गरेको देखियो,' सदस्य खतिवडाले भने, 'जबकि त्यही पाइलटलाई निजी क्षेत्रको हिमालय एयरलाइन्सले मासिक १२ लाखदेखि १४ लाख रुपैयाँमात्र तलब दिएको थियो। यसबारे निगमले स्पष्ट कारण दिनुपर्छ।'

'निगमलाई अतिआवश्यक व्यक्ति' र 'प्राविधिक विशेषताले भरिपूर्ण' भन्दै निगम व्यवस्थापनले इटालीका ६६ वर्षीय ग्याब्रिएल एसेन्जो (गेब) लाई मासिक साढे २६ लाख रुपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको छ। गेबले निगममा जहाज उडाउने काम भने गर्दैनन्। उनको काम निगमको जहाज सञ्चालन, चालकदलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियम पालना लगायत हेर्नेमात्र हो।

त्यसैगरी निगमले न्युजिल्यान्डका पेनिएटा माएभालाई पनि महिनाको १८ लाख रुपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज 'वाई१२–ई' को प्रशिक्षक पाइलट नियुक्त गरेको छ। माएभालाई निगमले दोस्रो पटक नियुक्त गरेको हो।

यसबारे निगम महाप्रबन्धक कंसाकारले 'गेबको विज्ञता जहाज उडाउने नभई वायुसेवा कम्पनीको सञ्चालन चुस्तदुरुस्त बनाउने हो र माएभा वाई१२–ई जहाजको अंग्रेजी बोल्नसक्ने विश्वका दुईमध्ये एक प्रशिक्षक पाइलट तथा मासिक १० लाख तलब दिइएका वरिष्ठ क्याप्टेन आङनुरी शेर्पा माएभापछिका एकमात्र पाइलट भएकाले त्यति तलब दिनु ठूलो कुरा नभएको' दाबी गर्दै आएका छन्।

लेखा समितिको बैठकमा प्रश्न सोधिएपछि महाप्रबन्धक कंसाकारले निगम सुधार गरी भएका सबै जहाज नियमति तालिकाअनुसार उडाउन ती पाइलट नियुक्त गरिएको बताए। 'सबै पाइलटलाई करारमा नियुक्त गरेका हौं,' उनले भने, 'र, विज्ञलाई करारमै नियुक्त गर्ने हाम्रो प्रक्रिया छ।'

वाइड बडी जहाज खरिद अनुसन्धान सुरु

नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्ने निर्णयबारे अनुसन्धान सुरु गरेको छ।

समितिले बुधबार निगम महाप्रबन्धक कंसाकारलाई बोलाएर वाइड बडी आपूर्ति गर्ने अमेरिकी कम्पनीको योग्यता र पहिलो किस्तावापत पठाइएको ८ अर्ब रुपैयाँबारे सोधपुछ गरेको थियो। निगम व्यवस्थापनको जवाफ चित्त नबुझेपछि समितिले जहाज खरिदका सम्पूर्ण कागजात, टेन्डर मूल्यांकन, अमेरिकी जहाज आपूर्तिकर्ता कम्पनी एएआर कर्पोरेसनको प्रोफाइल र रकम प्राप्त गरेको कम्पनीको विस्तृत विवरण पाँच दिनभित्र पेस गर्न निगमलाई निर्देशन दिएको छ।

गत वर्ष चैतमा जहाज खरिद सम्झौता हुँदा जहाज निर्माता कम्पनी एयरबससँग व्यापारिक छलफलै नगरी एएआर कर्पोरेसनलाई बिचौलियाका रूपमा खडा गरेको तथा पहिलो किस्ता ८ अर्ब रुपैयाँ झन् अर्कै पार्टीलाई दिएका कारण यसमा भ्रष्टाचार भएको सांसदहरूले आशंका व्यक्त गरेका थिए।

निगमले २० करोड ९६ लाख डलर (करिब २१ अर्ब रुपैयाँ) मा २ सय ८० क्षमतायुक्त दुईथान 'ए३३०–२००' सिरिजका दुईथान जहाज खरिद गर्ने निर्णय गत वर्ष नै गरेको थियो।

त्यसपछि समितिले निगमका पछिल्ला निर्णयबारे अनुसन्धान गर्न सभापति डोरप्रसाद उपाध्यायको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय गरेको छ। उपसमितिका सदस्य भने तोकिसकिएको छैन।

प्रकाशित: २६ श्रावण २०७४ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App