८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

छाउपडी : गर्न बाँकी काम

अहिले पत्रपत्रिकामा 'छाउपडी' कुरीतिविरुद्ध 'जिहाद' नै छेडिएको छ। जसका लागि अधिकारकर्मीले धन्यवाद नै दिएका छन्। अब छाउगोठमा नबसेका महिला र किशोरीका कथा पनि छाप्नुपर्छ। ताकि सबैले थाहा पाऊन्– सुदूरपश्चिममा छाउगोठमा नजाने महिला पनि छन्। यसो गरेबापत उनीहरूलाई 'पाप' लागेको छैन भने घरमा 'बाघ' र 'आग' पनि लागेको छैन। धामीले कुनै समस्या आइलागे छाउ बार्न लगाउँछन् किनकि त्योबाहेक उनीहरूसँग भन्नका लागि केही पनि छैन। यो पनि बुझाउन बाँकी छ।

पहिले बालबालिकालाई झाडापखाला लाग्दा धामीसमक्ष लगिन्थ्यो। त्यतिबेला उनीहरूले पानी नदिन भन्थे। फलस्वरूप शरीरमा पानी कमी भएरै बालबालिका मर्थे। जब धामीलाई तालिम दिएर यसबारे जानकारी गराइयो, त्यसपछि उनीहरू नै यस्ता बिरामीलाई स्वास्थ्य चौकी जान सल्लाह दिन थालेका छन् जीवनजल पिउन। जसमा सञ्चारमाध्यमको पनि ठूलो भूमिका छ। त्यसैले यतिबेला छाउपडी रोक्न पनि सञ्चामाध्यमको ठूलो भूमिका अपरिहार्य भएको छ।

छाउपडीमा बसेका किशोरीको सर्पले टोकेर मृत्यु भएको, निसास्सिएर मरेका, बलात्कृत भएका समाचार आमसञ्चारमाध्यममा आउन थालेका छन्। यसको प्रभाव हो– छाउपडीबारे आमचासो जाग्नु। केहीअघिसम्म यो प्रथा यसरी नै सक्रिय थियो तर कसैले पनि खासै चासो दिएको थिएन। कारण– यो विषयले सञ्चारमा पर्याप्त ठाउँ पाएको थिएन। अहिले भने सञ्चारकै कारण राष्ट्रिय/अन्तर्राष्ट्रिय गैसससमेत यसबारे छलफल गर्न थाल्नु सकारात्मक मान्नुपर्छ। त्यतिमात्र हैन, पछिल्ला वर्षमा यस्ता कुरीति हटाउन कदमसमेत चालिएका छन्। तर पनि यस्ता खबर आइरहनुले प्रश्न उठाएको छ कि कहाँ गए यस्ता कदम?

      वास्तवमा छाउगोठविरुद्ध आवाज उठेकाले नै यसका समाचार छापिएका हुन। कतिपयचाहिँ क्रिस्चियन धर्म माने छाउपडी जानुपर्दैन भन्ने मान्यता राख्ने पनि छन्। केहीचाहिँ छाउगोठ चाहिने तर व्यवस्थित बनाउनुपर्ने तर्क गर्छन्। जबसम्म महिनावारी हुनु नराम्रो कुरा हैन र छाउ भएका महिलालाई भिन्दै ठाउँमा राख्नुपर्दैन भन्ने मान्यता स्थापित हुँदैन, तबसम्म यो समस्याले सताइरहन्छ। त्यसैले चेतना मुख्य कुरा हो भनेर मान्नैपर्ने हुन्छ।

साथै महिनावारी सामान्य प्राकृतिक प्रक्रिया हो भन्ने वैज्ञानिक मान्यता स्थापित गर्नु पनि उत्तिकै आवश्यक छ। यसका लागि धामीहरूलाई उचित तालिम र ज्ञान दिनु आवश्यक हुन्छ। त्यसो हुन सकेमात्र धामी मस्टो रिसाउने नाममा महिला प्रताडित हुने कार्य रोक्न अग्रसर हुनेछन्।

केही व्यक्तिको तर्क हुने गर्छ– महिला आफैँ छाउगोठमा बस्न जान्छन् त हामी के गरौँ? तर सती प्रथा अन्त्य नहुन्जेलसम्म धेरै धार्मिक गुरुहरू त्यसैगरी महिला आफैँ जान्छन् त हामी के गरौँ भनेर दोष उनीहरूमाथि नै थुपार्थे। भारतमा यही कुरा ब्रिटिसहरूले र नेपालमा चन्द्रशमशेरले भनेका भए अहिलेसम्म पनि सती प्रथा कायम रहन्थ्यो शायद। त्यसैले उनीहरूमाथि दोष थुपारेर बस्ने बेला हैन यो।

एउटी हजुरआमाले के आफ्नी १४ वर्षीया नातिनी बलात्कृत होस्, सर्पले टोकेर मरोस्, आगोले जलोस् भन्ने चाहन्छिन् होला? कोही चेतनाको कमीले यस्ता कुरामा ख्याल नगरेरै नातिनी/छोरीलाई छाउगोठमा पठाउने पनि पक्कै होलान्। तर यसका लागि चेतना दिलाउने काम हाम्रो पनि हैन र? अमेरिका जाने सुदूरपश्चिमका महिलाले छाउगोठमा बस्न पाउँछन् र? उनीहरूलाई त्यतिबेला मस्टोले किन केही गर्दैन? कि मस्टो त्यहाँ हवाईजहाज चढेर जान नसकेर हो? यही कुरा बुझाउन जरुरी छ हाम्रा गाउँठाउँमा अहिले।

अरु त अरु जाँड खाएका बेला आफैँ सम्पूर्ण ठान्ने व्यक्तिसमेत मस्टोका नाममा फैलाइएको भ्रमप्रति बोल्न सक्दैन। अब यो भ्रम तोड्न ढिला भएन र? चार–चारपटक प्रधानमन्त्री भएका ठाउँमै यो बेहाल अब कहिलेसम्म रहन दिने?

प्रकाशित: १७ श्रावण २०७४ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App