३० असार २०७७ मंगलबार
विचार

सुरक्षा अंगहरूको जीवनी

दोस्रो विश्वयुद्ध आसपाससम्म संसार नै उपनिवेशको रणनीण्तिमा 'जसको लाठी उसैको भंैसी' भन्ने लहरमा हिँडेको थियो। जसको धेरै जग्गा छ, त्यही धनीमानीमा गनिन्थे। व्यक्ति, समाज र देश पनि। तसर्थ त्यस बेला सेनाको अधिकतम भर्ना र खपत गरियो। उसबेला न्यायाधीश, गैरसैनिक कर्मचारीलगायत पनि जंगी पोशाकमै काम गर्थे। नेपालमा यो परम्परा वि.सं. २००७ सालसम्म रह्यो। उसबखत सेना र प्रहरी भनेर छुट्टयाइएको थिएन। पछि २००६ सालतिर मात्र आर्मीकै जंगी पोशाक लगाउने तर कामचाहिँ पुलिसको गर्न भनी विभाग छुट्टयाइयो। त्यसैगरी राष्ट्रिय सुरक्षाका लागि जासुसी गर्ने काम पनि जंगी पोशाक लगाउने जर्नेलअन्तर्गतका विभागले नै गर्थ्यो।

कतिपयले यसलाई अहमता भएको संस्थाका रूपमा भाषण पनि गर्छन्। ठाडो भाषामा भन्नुपर्दा अहिले पनि नेपाली सेनामा पुरानो गौरव छ र अन्य सुरक्षा फौजभन्दा आफूलाई उम्दाह राष्ट्रसेवक ठानेको देखिन्छ।

राणा शासन हटेपछि भने तत्कालीन भारतमा रहेको पद्धतिअनुसार नेपालमा पनि जंगी फौजका रूपमा सेना, आन्तरिक सुरक्षा गर्ने र कानुन पालना गराउने फौजका रूपमा पुलिस र राष्ट्रिय सुरक्षामा आघात पर्न सक्ने देशको खबर बचाउ गर्न र सार्वभौमतामा असर पुग्ने विदेशीहरूको कुनै पनि योजना रोक्नका लागि खबर संकलन गर्न अर्थात प्रिभेन्टिभ एन्ड अफेन्सिब इन्टेलिजेन्सका लागि सिआइडी (हालको राष्ट्रिय अनुसन्धान विभाग अर्थात रा.अ.वि.) को स्थापना भयो। अदालत र अन्य गैरसैनिक अंगहरूले सैनिक पोसाक लगाउन नपर्ने भयो। देशका सुरक्षा अंग भन्नाले अप्रत्यक्षरूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै हुन्। तर जनताका अगाडि हातहतियारसहित पोशाक लगाएर सुरक्षा दिन निस्कने संस्थामा सेना, प्रहरी र रा.अ.वि. भएकाले यी नेपालको सुरक्षा अंगका प्रत्यक्ष जिम्मेवार संस्था हुन्। रा.अ.वि. ले समेत परेको बेला प्रहरीको पोशाक लगाउने चलन थियो।

 अर्को उल्लेख गर्नैपर्ने पक्ष के हो भने यी अंगको जीवनी र संस्कार। उदाहरणका लागि नेपाली सेना वि.सं. १६१६ मा खडा भई प्रत्यक्षरूपमा श्री ५ तथा श्री ३ को मातहतमा काम गर्दै आए। श्री ५ र श्री ३ तथा उनका परिवारले समेत जंगी पोशाक लगाउने गर्थे। सामाजिक इज्जतका लागि समेत जंगी पोशाकको ठूलो महत्व थियो। राज्यको उच्च तहका व्यक्तिले कमान्ड कन्ट्रोल गर्ने हुँदा यो संस्थाको बोलीचाली, खानपिन, परेड, संस्कारमा श्री ५ तथा श्री ३ को छायाँ प्रतिबिम्बित बन्न पुग्यो। अनुशासन अत्यन्तै कडा बन्यो। श्री ५ तथा श्री ३ र जनरल भीमसेन थापाले सेनालाई असाध्यै कन्ट्रोलमा राखे।

सोही कारणले हो नेपाली सेनाले आफ्नो सैनिक नियम र देशको संविधानको लक्ष्मण रेखा नाघ्न सकेन। अर्कोतर्फ यसलाई गाली गर्नुपर्दा 'शाही सेना' अर्थात श्री ५ र श्री ३ को सेना पनि भनियो, हाल पनि होच्याउनुपर्दा भनिन्छ। तर यो संस्थाको नाम शाही सेना पनि रह्यो। तसर्थ, वर्तमान अवस्थामा पनि नेपाली सेनामा कुलीन संस्कार छ। कतिपयले यसलाई अहमता भएको संस्थाका रूपमा भाषण पनि गर्छन्। ठाडो भाषामा भन्नुपर्दा अहिले पनि नेपाली सेनामा पुरानो गौरव छ र अन्य सुरक्षा फौजभन्दा आफूलाई उम्दाह राष्ट्रसेवक ठानेको देखिन्छ।

 अर्कोतर्फ पुलिसको जीवनी पल्टाउने हो भने यस संस्थामा पनि श्री ३ राणाहरूकै सन्तान आइ.जि.जि. बने, जंगी पोशाकमै। पुलिसको छुट्टै पोशाक थिएन। पछि २००७ सालमा राणा सासन फाल्न लडेका, विदेशी सेनामा काम गरिसेकेका, झन्डै ९० प्रतिशत प्रवासी नेपाली समूह नेपाली कांग्रेसको लडाकु जत्थाबाट क्रमिकरूपमा नेपाल पुलिस फोर्स खडा भयो। जसमा हाल भारतको कांगडा क्षेत्रमा धेरै र पूर्वी नेपालका राई लिम्बू थोरै थिए। बीचबीचमा अरु नेपाली पनि भर्ना हुँदै गए। २००९ सालतिरको कुरा हो, भारत–राजा र नेपाली कंाग्रेसको रणनीतिअनुसार तिनै कांग्रेसका पूर्व लडाकुबाट आर्मड् पुलिस फोर्स खडा गर्ने र नेपाली सेना खारेज गर्ने योजना बन्यो। सैनिकको काम परेमा भारतबाट झिकाइने तर नेपालमा सेना नराख्ने योजना थियो। पछि के.आइ. सिंहले सिंहदरबार कब्जा गरेर अन्ततः काठमाडौंलाई नियन्त्रण लिएपछि नेपालको सुरक्षा स्थिति झण्डै अनियन्त्रित भएपछि नेपाली सेनाले के.आइ.सिंहको विद्रोहलाई नियन्त्रणमा लियो। अनिमात्र नेपाली सेना मास्ने खड्गो टर्‍यो। वास्तबमा के.आइ. सिंह पर्व हुनुमै हालको सेनाको क्रमिकता भंग नभएको हो।

 यसरी विभिन्न क्षेत्रबाट भेला भएका प्रवासी लडाकुहरूबाट संगठित नेपाल पुलिसले तेज गति लिन सकेन। राजा महेन्द्रले पञ्चायत व्यवस्था लागु गरेपछि र सेना लगाई नेपाली कांग्रेसका नेताहरूलाई थुनामा राख्दा अर्को वर्षतिर नेपालमा विभिन्न ठाउँमा नेपाली कांग्रेसले सशस्त्र विद्रोह गर्‍यो। त्यो विद्रोहको अर्को उद्देश्य चीनले बनाउन लागेको अरनिको राजमार्ग बन्न नदिनु हो। यो छिमेकीको इसारामा भएको थियो। सेनासँग कांग्रेसको सद्भाव रहेन। त्यसमा कतिपय स्थानमा नेपाल प्रहरीले विद्रोही पक्षलाई सहयोग गरी नेपाली सेनाविरुद्ध जाइ पनि लागे। तीमध्ये केही पुलिस मारिए भने केही जेल परे। यो घटनाले राजा र नेपाली सेनालाई ठुलै झस्को दियो। त्यसपछिका दिनमा नेपाल पुलिस फोर्स (नेपाल प्रहरी) राजाको खासी हुन नसकेको र नेपाली सेनासँग पनि सौहार्दता न्यानो हुन नसकेको मनोविज्ञान देखिएकै हो।

२०४६ सालको परिवर्तनपछि भने फेरि नेपाल प्रहरीको इज्जत बढ्यो। तत्कालीन सरकारले सेनालाई भन्दा प्रहरीलाई बढी बजेट दिने र नेपाली सेनाको सहायक सेनानी (राजपत्रांकित तृतीय श्रेणी) लाई सुब्बाको मात्र मान र तलब दिने गल्ती पनि भए। गिरिजाप्रसाद कोइरालाको सरकारले २०४७ तिर अरु मन्त्रालयमा जस्तै राजाको बफादार एक दुई जेनेरेसन सेनाका जर्नेल र प्रधान सेनापतिसमेत सेवाबाट निकाल्ने हिसावले ३० वर्षे नोकरी अवधि लगाउन खोजेकामा असफल भएको थियो। यसरी यो पार्टी सेनाबाट अझै टाढा बस्न चाह्यो। संसद्को निर्वाचनमा समेत प्रहरीको अनुशासन बाहिरको सहयोग प्राप्त गरी नेपाली कांग्रेसको ठूलै संख्या पुग्यो। अब फेरि राजा र सेना पर र पुलिस भने त्यो सरकारको नजिक बने। अर्को शब्दमा भन्नुपर्दा 'जस्तालाई तस्तै ढिँडोलाई निस्तै।' मतलव राजा र सेनाको नजरमा प्रहरी आफन्त हुन नसकेको मनोविज्ञान नेपाली कांग्रेसलाई राम्रै थाहा थियो।

प्रकाशित: २८ जेष्ठ २०७४ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App