७ आश्विन २०७७ बुधबार
विचार

पहिले टाउकाको मोल, अहिले गठजोड

राजनीति फोहोरी खेल भन्ने गरिन्छ तर यही समाज, अर्थ र संस्कृतिको शिरविन्दु बन्छ । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने गरिन्छ । वस्तुतः त्यो भनाइ व्यवहारले पुष्टि गरेको छ । पुष्पलाल भन्ने गर्नुहुन्थ्यो– मुख्य शत्रु विरुद्ध गौण शत्रुसँग कार्यगत एकता गर्नुपर्छ । वस्तुगत र आत्मगत अवस्थाको आकलन गरी भौतिक परिस्थितिको अध्ययन गरेर सामाजिक परिवर्तनका लागि आवश्यकताअनुसार कुनै बखतको शत्रु शक्ति कालान्तरमा मित्र शक्ति बन्ने गर्छ । देशको राष्ट्रिय राजनीतिमा यस्तो हुँदै आएको छ । तर देश र जनताको स्वार्थका लागि नभएर व्यक्तिगत पदीय स्वार्थका लागि गठजोड गरिन्छ भने त्यो अप्राकृतिक गठबन्धन राष्ट्रका लागि प्रत्युत्पादक बन्छ ।

राणा हुकुमीतन्त्र सबैको साझा शत्रु थियो र त्यसका विरुद्ध सात सालमा भिन्न भिन्न विचार दृष्टिकोण राख्ने शक्ति, व्यक्ति र समूहबीच कार्यगत एकता भएको थियो । निर्दलीय निरंकुश पञ्चायतविरुद्ध २०४६ सालमा पञ्चायतइतर शक्तिबीच कार्यगत एकता भएको थियो । राजतन्त्र फालेर गणतन्त्र ल्याउनका लागि पनि २०६२–०६३ सालमा ५० लाख टाउकाको मोल तोकिएको माओवादीसँग कार्यगत एकता भएको थियो । राजनीतिको यस्तो अभ्यासले सात सालको क्रान्ति, २०४६ सालको संयुक्त जनआन्दोलन र २०६२–०६३ को जनक्रान्ति सफल भएको थियो । सामाजिक परिवर्तनका लागि गरिएको कार्यगत एकता सर्वमान्य र सर्वस्वीकार्य भएको थियो जसको परिणाम सकारात्मक निस्केको थियो । 

यतिबेला उहिले ५० लाख टाउकाको मोल तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता÷कार्यकर्तालाई कत्लेआम गर्ने माओवादी केन्द्रका नेता प्रचण्डबीच अहिले गठजोड भएको छ । टाउकाको मोल र गठजोडका पछाडि सामाजिक परिवर्तनको कुनै साइनो सम्बन्ध छैन, फगत व्यक्तिगत स्वार्थलिप्सा र ‘दाइ त काले भाइ पनि काले, काले–काले मिलेर खाउँ भाले’ मात्र हो । 

नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद र माओवादी केन्द्रको वैज्ञानिक समाजवाद साम्यवाद हात्तीको देखाउने दाँत भएको छ र केन्द्रबाट लादिएको यो केन्द्रीय तानाशाही हुकुम कार्यकर्ताले शिरोपर कसरी गर्लान् र नेताको ह्विपको तामेली कार्यकर्ताले कसरी गर्लान् ? प्रश्न गम्भीर छ । संसद्मा लगाएको ह्विप उल्लंघन गर्न सजिलो हुँदैन, किनभने त्यहाँ खुला मतदान हुन्छ । तर यो गोप्य मतदान भएकाले कार्यकर्ता र जनताले एमाले वा अन्य कुनै दललाई मतदान गरेर नेताको गठजोडलाई भत्काइदिन सक्छन् । 

देउवा र प्रचण्डको यो गठजोडका पछाडि कुनै परिवर्तनको साझा एजेन्डा छैन । जब व्यक्तिगत स्वार्थका लागि कुनै अजेन्डा लाद्न खोजिन्छ भने त्यसलाई मान्नैपर्ने कुनै बाध्यता हुँदैन । ५० लाख टाउकाको मूल्य तोकेर जनयुद्धका जनमुक्ति सेनाको छातीमा गोलीको वर्षा गराएको विगत माओवादीले बिर्सेका छैनन् र माओवादीले कांग्रेसका कार्यकर्तालाई मारेको उसका कार्यकर्ताले भुलेका छैनन् । यस्तो लाग्छ, देशमा राजतन्त्र हटे पनि राजतन्त्रात्मक शैली र संस्कृति हटेको छैन । कतिपय नेताको दिमागमा भूत सवार भएको छ कि कार्यकर्ता भनेका हाम्रा रैती हुन् र जस्तो हुकुम गरे पनि त्यसको पालना गर्छन् । आजका जनता सात साल, सत्र साल, २०४६ सालका हैनन्, एक्काइसौं शताब्दीका सचेत जनता हुन् । ‘जसोजसो बाहुन बाजे उसै उसै स्वाहा’ गर्ने पक्षमा छैनन् ।
 
हो, कार्यगत एकता आज पनि आवश्यक छ । हजारौंको बलिदानपछि प्राप्त गणतन्त्र र जारी गणतान्त्रिक संविधानको कार्यान्वयनका लागि दलबीच कार्यगत एकता आवश्यक छ । प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि आर्थिक क्रान्ति र समृद्धिका लागि कार्यगत एकता आवश्यक छ । यस प्रकारको अजेन्डा शेरबहादुर देउवा र प्रचण्डको हैन । तब यी दुईजनाको उत्तरी धु्रव र दक्षिणी धु्रवको गठजोडको अजेन्डालाई न कांग्रेसका न माओवादीका कार्यकर्ताले मान्नेछन् । स्पष्ट छ, यी दुवैको वैचारिक धरातल एउटै हो । यी दुवै दक्षिणी धु्रवका मतियार हुन् । पद प्रतिष्ठाका लागि देउवाले बिपीको प्रजातान्त्रिक समाजवादलाई बलि चढाउँदैछन् र प्रचण्डले हजारौं सहिदको रगतमा होली खेल्दै माक्र्सवाद, लेनिनवाद माओवाद र वैज्ञानिक समाजवादलाई तिलाञ्जली दिँदैछन् । यसबाट न कांग्रेसका कार्यकर्ता खुशी छन्, न माओवादीका । यसको प्रत्यक्ष उदाहरण चितवनमा ‘कांग्रेसलाई बेच्न पाइँदैन, शेरबहादुर चाहिँदैन’ भन्ने नारा लगाउँदै विशाल जुलुस निस्कनु हो । 

अतः नेताले जे भनून्, जस्तोसुकै हुकुम जारी गरुन्, अजेन्डा अध्ययन गरेर आफ्नो विवेक प्रयोग गर्नुपर्छ । ड्राइभरले ठीकसँग गाडी चलाएन भने दुर्घटनामा पर्न बेर लाग्दैन । पार्टी हाँक्ने ड्राइभरको दिमाग खुस्केको छ भने ठूलो दुर्घटना हुन सक्छ । त्यस्तो अवस्थामा ड्राइभर बदल्नुपर्छ । माओवादी र कांग्रेसका कार्यकर्ता यसबारे सचेत हुनैपर्छ । यी लम्पसारवादी व्यक्तिवादी नेताको पछाडि लाग्दा न आफ्नो कल्याण, न पार्टीको र न देशकै भलो हुन्छ । कुभलो गर्ने नेताका पछाडि किन लाग्ने हँ ?

प्रकाशित: ३ जेष्ठ २०७४ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App