१६ चैत्र २०८० शुक्रबार
विचार

जनताको जित

दुई दशकपछि भएर होला, स्थानीय निकायको पहिलो चरणको निर्वाचन ‘राष्ट्रिय उत्सव’ जस्तो वातावरणमा सम्पन्न भयो । निर्वाचनमा ७३ प्रतिशत मत खस्यो, यसमा महिला र युवा सहभागिता अवश्य उल्लेख्य हुनुपर्छ । उम्मेदवारहरूको भविष्य अब निर्वाचन आयोगको मतपेटिकाभित्र जनादेशका रूपमा सुरक्षित छ । र, यसको परिणाम सुन्न अब सबैको ध्यान मत परिणामप्रति जानेछ यो साताभर । प्रारम्भिक मत परिणामअनुसार कांग्रेस, एमाले र माओवादीबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिँदैछ ।   

काठमाडौंमा कांग्रेस उम्मेदवारले मेयरमा जितेको खण्डमा देउवाको राजनीतिक व्यक्तित्व कम जोखिमपूर्ण होला, अन्यथा भएमा माओवादी केन्द्रसँग भएको साँठगाँठ कांग्रेस सभापतिका लागि गलपासो हुनेछ ।  
  

स्थानीय तहको निर्वाचन प्रारम्भ भएर नेपालको संविधान कार्यान्वयनको तहमा पुग्यो । १२ बुँदेबाट सुरु भएको शान्ति प्रक्रियाले अब क्रमशः विश्राम लिँदैछ । दुई दशकदेखि खाली स्थानीय निर्वाचित नेतृत्व अब जनताले यो सातादेखि पाउनेछन् र धेरै चाँडै विजयी नेताहरूले आफ्नो जिम्मेवारी पनि सम्हाल्नेछन् । केन्द्र सरकारलाई अब पैसा खर्च गर्ने निकायहरू आउन थाले भनी राहत मिल्ला । कर्मचारीतन्त्र पनि स्थानीय निकायमा सधैँ दबाबमा काम गर्नुपरेको पीडावाट मुक्त भएको अनुभव गर्लान् अब । 
आमनागरिक खरदार, सुब्बा र अधिकृतका अगाडि अनुनय÷विनय र नमस्कारले अपमानित भएका थिए दुई दशकदेखि । अब जनप्रतिनिधिसामु टाउको उठाएर आफ्नो समस्या भन्न सक्लान्, सेवा लिन सक्लान् । छोटकरीमा भन्नुपर्दा स्थानीय तहको निर्वाचन भएर जनताले जीत अनुभव गर्न थालिसके । तसर्थ यो जीत कसको ? जनताको भन्ने उत्सव अहिले देशभर छ । अब निर्वाचन परिणाम घोषणासँगै पार्टीहरूको जीत÷हारको गन्ती सुरु हुनेछ र यो परिणामले अहिले स्थापित दलका कैयन् नेतालाई झनै बलियो बनाउनेछ भने कैयन् नेतालाई आफ्नो कुर्सी बचाउन र राजनीतिक महत्वाकांक्षा पूरा गर्न गाह्रो हुनेछ । 

सधैँभरि मूलधारका दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नेपाली राजनीतिको लेन्स निर्माण गर्न बानी परेको हामीलाई यो पटकको स्थानीय निर्वाचनमार्फत लेन्स परिवर्तन गर्न बाध्य पारिन् २१ वर्षीय रन्जु दर्शनाले । यी केटीले कति भोट ल्याउँछिन् भन्ने कुराको अब खासै महत्व रहेन । यिनले जुन हाँक राजधानीको स्थानीय निर्वाचनमा प्रस्तुत गरिन्, त्यो ‘स्यालुटयोग्य र मननयोग्य’ पनि छ । रन्जु दर्शनाप्रति मतदाताको आकर्षणले काठमाडौंको मध्यम वर्गीय समाज कता जाँदैछ र राजनीतिमा कस्तो चुनौती र अवसर निर्माण गर्दैछ भन्ने संकेत गर्छ । नेपालको राजनीतिमा उच्च वर्ग र  उच्च मध्यमवर्गका युवायुवतीको मूलधारका दलहरूसँगको छटपटी पनि देखिन्छ रञ्जु दर्शनाप्रतिको आकर्षणमा । तर दुर्भाग्य नै भन्नुपर्छ, यस्तो छटपटी यो वर्गको युवा र युवतीमा मात्र देखियो ।    
सनातनी वर्गीय, जातीय र पुरुषप्रधान सोचबाट माथि उठ्न नसक्ने उच्च र मध्यम वर्ग परिवार छ राजधानीमा । यो वर्ग आफ्नो विवेक, विचार र समयको पदचाप सुन्न भन्दा पनि ‘अरुले के भन्छ’ भनी सधैँ डराएर बस्न रुचाउँछ । यस्ता सनातनी सुरक्षा घेरामा बस्ने पचास नाघेका प्रौढ र वृद्धाहरू देशमा आउने कुनै पनि परिवर्तनसँग सामना गर्न सक्तैनन् तर विरोध पनि गर्ने हिम्मत राख्दैनन् । यी इतिहासको गौरवगाथा गाएर वस्न रुचाउँछन् । यहाँसम्म कि यी आफ्ना छोराछोरी र नातिनातिनाहरूको स्वतन्त्र विवेकमाथि पनि बन्देज लगाउन न्वारानदेखिको बल प्रयोग गर्छन् । दुर्भाग्यले भन्नुपर्छ, यस्ता संकीर्ण सोच र स्वतन्त्रताका बन्धकहरू धेरै कांग्रेसमा र हिजोको राजभक्त परिवारहरूमा छन् । यो पटक तिनका सन्तान राजनीतिको मुकदर्शकमात्र भएनन्, राजनीतिको मैदानमै कुदे र राजधानीको निर्वाचनलाई आकर्षक बनाए । 

राजधानीको निर्वाचनमा प्रौढ र वृद्धा पुस्ताले नयाँ पुस्ता र नयाँ विचार अस्वीकार गरे । तर तिनैका परिवारका युवा युवती ‘अटेरी सन्तान’ भए र आफ्नो बाटो आफैँ तय गरे । निश्चित छ, निर्वाचन परिणाम आउँदै गर्दा यी अटेरी युवा मानसिकता पनि कमजोर पर्ने छैन काठमाडौंमा । 

राजधानीमा अर्कोथरी मध्यम वर्ग छ जसले भोट दिँदा वस्तुगत तथ्य र सत्यभन्दा पनि भावना र निजी स्वार्थलाई प्राथमिकतामा राख्छ । मनमानी आकर्षक नाराहरू र बहुमत जातिको समर्थनबाट राजनीतिको कोर्स चेन्ज गर्न राष्ट्रियताका नाममा आक्रामक बन्छ । अमेरिकामा डोनाल्ड ट्रम्पले गरे, बेलायतमा कन्जरबेटिभ गोराहरूले युरोपियन युनियनबाट निस्कने निर्णय त्यही कारण गरे । नेपालमा एमाले झण्डै त्यही बाटोमा छ । यही कारण एमालेको भोटलाई वैकल्पिक राजनीतिक धारका युवा र नयाँ पार्टीले आकर्षण गर्न सकेको देखिएन । एमालेभित्रको मध्यम वर्ग भारत विरोधी राष्ट्रवाद र नवअवसरवादको प्रथम चरणमा भएकाले यो पार्टीका वृद्ध, बूढा र युवा सबै एकसमान सोच्छन् । रन्जु दर्शना जस्ता नयाँ प्रयोग रोक्ने वा परिवर्तनको नयाँ लहर अवरुद्ध पार्नसक्ने यही समूह छ राजधानीमा। 
कांग्रेसमा भएको मध्यम वर्ग पनि परिवारको आर्थिक सुरक्षा र भविष्यको अवसरका लागि स्वतन्त्र सोच र देश हितवारे कमै ध्यान पु¥याउँछन् । देश बिग्रियो र बर्बाद भयो भनी सबैभन्दा बढी गनगन गरी बैठकी गर्ने जमात पनि यही छ । तर पनि यो पार्टीको ‘लुज सांगठनिक ढाँचा’ छ र यसका समर्थकको घरमा तथाकथित पार्टीको सैद्धान्तिक कठोरता छैन । यही कारण भविष्यको नेपालमा मूलधारका राजनीतिक दलहरूलाई चुनौती दिने जमात यहीँबाट जन्मन सक्ने र रञ्जु दर्शनाको झँै अन्य रूप र रंगमा परिवर्तनको लहरमा लामबद्ध हुनेछन् भनी अनुमान राजधानीको चुनावी चहलपहलबाट सजिलै लगाउन सकिन्छ । 

मध्यम वर्गको ठूलो जमात देशभर कांग्रेस–एमालेको मूलधारमा छ । नेपालका अधिकांश बुद्धिजीवी र पेशागत संगठनमा आबद्ध अवसरवादी वर्ग यी दुई पार्टीको धारमा छन् । तसर्थ तिनले त्यही बोल्छन्, भन्छन् र लेख्छन् जे पार्टी नेताको हितमा छ । देश र जनताको हित सोच्दा अवसरबाट वञ्चित होइन्छ भनी यी सपनामा पनि त्रसित हुन्छन् । कांग्रेस र एमालेको पार्टीका केन्द्रीय र जिल्लास्तरीय नेताहरूलाई आफ्नो विगतको संघर्ष र अभावले सपनामा पनि अझै तर्साउन छाडेको छैन । तसर्थ पार्टी सत्तामाथि यिनको कब्जा अनिवार्य छ । विगतको त्रास र अहिलेको लोभले यी राज्यको स्रोत र साधनसँग निरन्तर नजिक बस्न बाध्य छन् । मूलधारको राजनीतिमा नयाँ अक्सिजन चाहिन्छ भनी यो पटक राजधानीको स्थानीय निर्वाचनको माध्यमबाट दबाब सिर्जना भएको देखियो । प्राविधिकरूपले कांग्रेस, एमाले वा अरु कसैले राजधानीको मेयर जिते पनि २१ वर्षीय एउटा केटीले मेयरमा आफ्नो उम्मेदवारीबाट नेपालका युवायुवतीलाई राजनीतिमा आकर्षण गराइन्, म सक्छु, विश्वास गर्नूस् भनी भोट मागिन् ।  स्थानीय निर्वाचनको सफलता योभन्दा बढी के हुन्छ ? 

स्थानीय निकायको प्रथम चरणको निर्वाचनले कांग्रेस नेता शेरबहादुर देउवाको अग्निपरीक्षा लिँदैछ । चितवन कांग्रेसको गौरवशाली इतिहास निर्माण गरेको थलो हो । देउवा स्वयं त्यहीँबाट नेपाल विद्यार्थी संघको सभापतिमा चुनिएका थिए । २०१८ सालमा निरंकुश राजतन्त्रविरुद्ध त्यहीँबाट विद्रोह भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चितवनको महत्व बिर्सन सकिन्न । कांग्रेस सभापतिको हैसियतबाट देउवाले बिराएका छन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई समर्थन गरेर । प्रम प्रचण्ड पनि लोभी देखिए आफ्नी छोरीको राजनीतिक स्वार्थसिद्ध गर्न लागको प्रदर्शनी गरेर । ‘जनयुद्ध’ गर्ने विश्वका कुनै कम्युनिष्ट नेता प्रचण्डको पारिवारिक मोह देखेर लज्जित होलान् । काठमाडौंमा कांग्रेस उम्मेदवारले मेयरमा जितेको खण्डमा देउवाको राजनीतिक व्यक्तित्व कम जोखिमपूर्ण होला, अन्यथा भएमा माओवादी केन्द्रसँग भएको साँठगाँठ कांग्रेस सभापतिका लागि गलपासो हुनेछ ।  

एमाले नेता खड्गप्रसाद ओलीको उग्रराष्ट्रवाद राप्रपा नेपालसँग मेल खान्छ । तसर्थ, यो गठबन्धनलाई अस्वाभाविक मान्न सकिन्न । एमालेमा ओलीको नेतृत्व भारतको नाकाबन्दीका कारण मजवुत भएको हो । यो पार्टीका अरु नेता त्यही समयदेखि विलुप भए जब भारतको नाकाबन्दीविरुद्ध प्रमको हैसियतमा ओलीले उग्र कुरा गरे । यही क्रममा उनी मधेसीविरुद्ध पनि जाइलागे । भारत र मधेसीविरुद्धको भावनाको तरंगमा अहिले एमाले स्थानीय निकायमा पहाडी भोटको दावा गर्दैछ भने त्यो अन्यथा होइन । चुनावका प्रारम्भिक लक्षणले एमालेको उग्रराष्ट्रवादलाई कांग्रेसले केही हदसम्म चेक गरेको देखिन्छ । कांग्रेस नेता शेरबहादुर देउवाको भावी राजनीति पहाडी राष्ट्रवादलाई छेक्न सक्दा नै सम्भव छ भोलिका दिनमा । एमाले पार्टी पंक्तिमा पनि ओलीको राष्ट्रवादले स्थानीय निर्वाचनमा सुखद परिणाम ल्याएन भने पार्टीभित्रैवाट उनलाई थुप्रै चुनौती आउने कुरालाई शंकै नगरे हुन्छ  । 

मधेसकेन्द्रित दलहरूले जतिसुकै पहिचानको कुरा गरे पनि अब स्थानीय निर्वाचनमा सहभागी नभई राजनीति गर्न यिनलाई सम्भव छैन । सबै मधेसी जनता स्थानीय निर्वाचनमा अगाडि बढिसकेका छन् । संविधान संशोधनको मुद्दा जेठ ४ गतेअगाडि बढेर उत्तीर्ण वा अनुत्तीर्ण जे भए पनि मोर्चा निर्वाचनमा अलमल गरी बस्यो भने यिनले ठूलै राजनीतिक क्षति बेहोर्नुपर्नेछ । बुद्धिमानी यही हुन्छ कि मोर्चाले चुनावमा संगठितरूपमा जाने र जनताबाट शक्ति आर्जन गरेर अगाडिको राजनीतिक दबाब सिर्जना गर्ने रणनीति लिने । 

अन्तमा, स्थानीय निर्वाचन उल्लासमय भए पनि यसले राष्ट्रिय राजनीतिको आयाम बोक्न पुग्यो । यसले भोलिका दिनमा धेरै चुनौती थप्नेछ । बरु स्थानीय मुद्दाहरू मोफसलमा प्रशस्त उठे र त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि उम्मेदवारले गरे होलान् । स्थानीय निकाय निर्वाचनलाई जति तल्ला जनतासँग जोड्न सक्यो त्यति नै भोलिको दिनमा विजयी नेतृत्वलाई काम गर्न सहज हुने हो । 

राजधानीको निर्वाचन परिणाम कता जान्छ, त्यसले केन्द्रको सत्ता र नेताको भविष्यमाथि भने हलचल ल्याउने पक्का छ । राजधानीका सत्ता जति हलचल भए पनि अब नेपालको गाउँघर र सहरहरूमा जनताको स्थायी सरकार अर्थात स्वराज भने पुग्नेछ । तसर्थ फेरि पनि एकपटक स्थानीय निर्वाचनको सुरुवातले ‘जित जनताको भएको छ’ र यो शृंखला माघ ७ गतेसम्म अवरुद्ध हुने छैन । नहोस् भनी कामना गराैँ । 

 

प्रकाशित: २ जेष्ठ २०७४ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App