७ वैशाख २०८१ शुक्रबार
विचार

चुनावचिह्न विवाद

आउने वैशाख ३१ गते हुने स्थानीय चुनावका लागि २८ दलले चुनावचिह्न पाएका छन्। ती चिह्नहरु क्रमशः यस प्रकार छन् – (१) रुख, (२) सूर्य, (३) गोलाकारभित्र हँसिया–हथौडा, (४) गाई, (५) हातले समातेको मसाल, (६) नमस्कार गरेको हात, (७) जोडा गोरु, (८) तीर, (९) हँसिया र तारा, (१०) गिलास, (११) हँसिया, (१२) साइकल, (१३) मादल, (१४) लाठी लिएको पुरुष, (१५) ढक्की, (१६) साँचो, (१७) जग, (१८) ध्वजा, (१९) रेल, (२०) पाङ्ग्रो, (२१) हथौडा, (२२) टर्च लाइट, (२३) हात, (२४) रिक्सा, (२५) चन्द्रमा, (२६) गाग्रो, (२७) ताला र साँचो, र (२८) काँगियो।

चुनाव घोषणा भइसकेपछि बनेका र दर्ता भएका दलहरुले ती सुविधा नपाउन सक्लान्, घोषणाअघि दर्ता भएका दलले चुनावचिह्न नपाउने कुरा हास्यास्पद छ।

कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको आ–आफ्नो चुनाव चिह्न हुन्छ। सामान्यतया निर्वाचन आयोगले उक्त प्रयोजनका लागि चिह्नको बैंक बनाएको हुन्छ/हुनुपर्छ। तीनै चिह्नमध्येबाट दल वा स्वतन्त्र उम्मेद्वारलाई चुनावचिह्न उपलब्ध गराउने हो। उपलब्धमध्येबाट रोज्न पाउलान् वा कुनै दल/व्यक्तिले आफ्नो चिह्न पनि प्रस्ताव गर्न सक्लान्। सबैले सकेसम्म आकर्षक चिह्न नै खोज्छन्। मुख्य कुरा, चिह्न प्रष्ट बुझिने र जो कसैले चिन्न सक्ने हुनुपर्छ।

माथि उल्लेखित चिह्न सरसर्ती हेर्दा सबै बुझिने र चिनिने खालकै छन् तथापि कुनैचाहिँ कसैले अहिलेसम्म देख्नै नदेखेका हुनसक्छ, जस्तै रेल। तर केही चिह्न प्रष्ट चिनिने भए पनि एक अर्कासँग झुक्किने खालका छन्, जस्तै १६ नम्बरको साँचो अनि २७ नम्बरको ताला र साँचो। त्यस्तै ९ नम्बरको हँसिया र तारा अनि ११ नम्बरको हँसिया र त्यस्तै ४ नम्बरको गाई र ७ नम्बरको जोडा गोरुमा पनि मानिस झुक्किन सक्छन्। मतदाताहरु लेखपढ गर्न नजान्ने र आँखा कमजोर भएका पनि हुन्छन्। लेखपढ गर्न जान्ने र राम्रै देख्न सक्नेहरु पनि मत हाल्ने ठाउँमा पुगेपछि केही अल्मलिन्छन्, किनभने त्यहाँको वातावरण नै त्यस्तै हुन्छ। संविधानसभाको चुनावमा गाई चिह्न भनेर हालेको मत त्यस्तै देखिने अन्यत्र परेको हल्लामा आएको थियो। दोस्रो, चुनाव चिह्न त्यस्ता पनि छन् जुन यो संसारमै एउटाभन्दा अर्को छैन, जस्तै सूर्य र चन्द्रमा। संसारकै साझा अस्तित्व कसैको एकलौटी हुन सक्दैन। यो प्राकृतिक नियम हो। तेस्रो, सामान्य र धेरै भए पनि त्यसले राष्ट्रिय पहिचानको मान्यता पाएको छ। जस्तै गाई, जुन नेपालको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर एउटै हुन्छ र त्यो भनेको नेपालको लागि एउटै हुनु सरह हो। पाँचौँ, विश्वस्तरमा कम्युनिस्टहरुले प्रयोग गर्दै आएको साझा लोगो अर्थात हँसिया–हथौडा छ। हुन त हँसिया–हथौडालाई गोलाकारभित्र राखेर केही फरक देखाउन खोजिएको छ तर त्यसले कुनै ताŒिवक भिन्नता देखाउँदैन। हँसिया–हथौडा भनेको सबै कम्युनिस्टहरुको चिन्ह हो र त्यो नै चुनाव चिह्न नहुनु पर्ने हो। भोलि नेपालमा भएभरका सबै कम्युनिस्टहरु एउटै दल भएर चुनाव लड्छन् भने त्यसबेला हँसिया–हथौडा नै तिनको चुनावचिह्न भयो भने कुनै आपत्ति हुन्न।

केही समयअघि सूर्य र गाई चिह्नलाई लिएर व्यवस्थापिका संसद्मै छलफल भएको थियो। त्यतिखेर निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ को मस्यौदामा राष्ट्रिय झण्डा वा चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था गरी प्रस्ताव गरिएको थियो। सोअनुसार नेकपा एमाले र तत्कालीन राप्रपा नेपालको चुनाव–चिह्न फेर्नुपर्ने हुन्थ्यो। तर, ती दुई दलले विगतदेखि रहिआएको चुनावचिह्न फेरेमा त्यसलाई नस्वीकार्ने चेतावनी दिए। निकै बलिया दल भएकै कारण होला, माथि उल्लेखित प्रावधान हटाएर विधेयक पास भयो र दुवै दलका चुनावचिह्न सुरक्षित रह्यो। एमालेजस्तो आफूलाई गतिशील र शक्तिशाली दल मान्नेले विगतदेखि रहँदै आएको चुनावचिह्न कायमै हुनुपर्नेमा अडान लिनु हाँस्यास्पद छ। एमालेले विगतकै दुहाइ दिने हो भने राजतन्त्र त नेपालको मात्र होइन संसारकै सबैभन्दा पुरानो पद्धति हो नि! किन एमालेले पनि राप्रपाले झैं राजतन्त्रै चाहिन्छ भन्दैन?

यस्तै संसद्मा प्रतिनिधित्व गरिरहेका दलहरुबाहेक नयाँ दलहरुले चुनावमा सहभागी हुँदा दलीय चुनाव चिह्न नपाउने। त्यस्ता दलहरुका उम्मेद्वारले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नु पर्ने रे! यो त जो कोहीको संगठित हुन पाउने अधिकारबाट सिधै वञ्चित गर्नु हो। अर्को अर्थमा स्कुलमा विद्यार्थी भर्ना गर्ने तर परीक्षामा बस्न प्रवेशपत्रचाहिँ नदिनेझैं भयो। यसै विषयलाई लिएर नयाँ शक्ति नेपाललगायतका दलहरु विरोधमा छन्। दल गठन गर्न पाउने अधिकार सबैलाई छ, दल दर्ता गर्ने निश्चित प्रक्रिया छ र त्यसको लागि मापदण्ड पनि छ। त्यसरी मापदण्ड पूरा गरी दर्ता भएका दलहरुले चुनावचिह्न नपाउने कारण के? त्यसमा कुनै कानुनी अड्चन छ भने त्यो कमजोरी हो र त्यसलाई अविलम्ब सुधार्नुपर्छ। चुनाव घोषणा भइसकेपछि बनेका र दर्ता भएका दलहरुले ती सुविधा नपाउन सक्लान्, घोषणाअघि दर्ता भएका दलले चुनावचिह्न नपाउने कुरा हास्यास्पद छ। भोलि ती दलले मान्यता पाउने नपाउने त तिनले प्राप्त गर्ने मतले निर्धारण गर्छ।

प्रकाशित: ४ वैशाख २०७४ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App