१५ आश्विन २०७७ बिहीबार
विचार

विप्रेषणको दमः भविष्य कि भ्रम ?

समुन्नत राष्ट्र निर्माणमा सघन योगदान गर्नुपर्नेे नागरिक धमाधम विदेशिँदैछन् । पुरुष वा नारी, सहर वा गाउँका विभिन्न नाम, दाम र काममा देश छाड्दैछन् । सन १८१४ मा नेपाल–अंग्रेज युद्घले वैदेशिक रोजगारीको प्रचलन बसायो । पछि पूर्वी भारतका विभिन्न चिया बगानमा काम गर्न अनि लाहुरे बन्न जाने परम्परा बस्यो । अहिले लभगभ ४० लाख युवा वैदेशिक रोजगारीमा विभिन्न देशमा छन् । प्रतिवर्ष झण्डै ५ लाखले वैदेशिक यात्रा अनुमति लिन्छन् । यसबाहेक भारत जाने, व्यक्तिगत वा अवैधानिक माध्यमबाट जाने र विद्यार्थीका रूपमा जाने पनि छन् । विदेशिनेहरूको उच्च निराशा अनि एउटै स्वर हुन्छ– देशमा बसेर केही भएन, यसो सुन्दर भविष्यको आशामा दुई चार वर्ष मेहनत गर्नैप¥यो ।

वैदेशिक रोजगारीले अर्थतन्त्र अलिकति थेगिएला तर वैशाखी दह्रो भएर दौड जितिँदैन, दौड जित्न दौडनेको खुट्टा नै दह्रो हुनुपर्छ ।

यस्तो अवस्थाले प्रत्येक मानवलाई एउटा शास्वत सत्य बुझाउँछ कि देशको आर्थिक समुन्नति तत्काल केही कसरतबाट पनि सम्भव देखिँदैन । यो एकदमै धराशायी, जर्जर, रुग्ण अनि आदि र अन्त्यको दोसाँधमा छ । सत्य पनि यही हो कि देशमा केही भएन भनेर विदेशिने ती निराश मानिसको कमाइबाटै देशको सास बचेको छ । अर्थशास्त्रीहरू हामीलाई विप्रेषणमा धानिएको मुलुक भन्छन् । विश्व बैंकको प्रतिवेदन ‘लार्ज स्केल माइग्रयान्ट्स एन्ड रेमिट्यान्स इन नेपाल’ले भन्छ– संसारभर लगभग २३२ मिलियन वैदेशिक कामदार रहेकामा नेपालका झण्डै २० प्रतिशत छन् । ताजकिस्तान र गणतन्त्र किर्गिजपछि नेपाल विप्रेषणमा आधरित तेस्रो ठूलो देश हो । १० खर्बको बजेटमा ६ खर्बभन्दा बढी रेमिट्यान्सको भूमिका छ । तर हामी यसलाई ठूलो उपलव्धि जस्तै व्याख्या गर्दैछौँ ।

अतिरञ्जित आकर्षण

देशको मुहार फेर्दै आर्थिक विकासलाई सुनिश्चित गर्नुपर्ने नेताहरू बिनासोच र चिन्तन निर्लज्ज यी दृश्य हेरिरहन्छन् । मौकामा आफूचाहिँ बनिहालौँ भन्नेमात्र सोच्छन् । पछिल्लो समय सम्पूर्ण विश्वको ध्यानार्कषण गराउँदै जपान, सिंगापुर, थाइल्यान्ड, साउदी अरेबिया, कुवेत, कतार, हङकङ, ताइवान, भियतनामलगायत देशले उच्च प्रगति गरे । दोहोरो अंकको आर्थिक वृद्घिदर कायम गरे । विश्वभर उनीहरुलाई ‘टाइगर इकोनोमी’ भनिन्छ । उनीहरू आर्थिक प्रगतिलाई पहिलो प्राथमिकता दिन्छन् । तर हाम्रो राजनीति केवल शक्ति प्राप्तिको अनुत्पादक खेल बन्दा देशमा कुनै सम्भावना नदेखेपछि नागरिकको ठूलो सख्या विक्षिप्त र भावविह्वल हँुदै विदेशिन बाध्य छन् ।
वैदेशिक रोजगारका पक्षमा वकालत गर्नेहरू वैचारिक दरिद्रता र नग्नता देखाउँछन् । उनीहरू भन्छन्– ‘विदेश रोजगारीको औपचारिक र आकर्षक गन्तव्य हो, यसले जनताको आर्थिक स्थिति मजबुत बनाउँछ ।’ आजसम्म संसारमा विप्रेषणका आधारमा देश विकसित भएका कुनै उदाहरण छैन । बरु यसले देशलाई अन्धकारतिर लैजान्छ ।

अन्धकारउन्मुख यात्रा
बौद्घिक र मानसिक हिसावले सन्तुलित एवं सुदृढ मानिस समुन्नत देश पलायन हँुदैछन् । शारीरिकरूपमा तन्दुरुस्त र देशका लागि अथक परिश्रम अनि पसिना बगाउन सक्ने मानिस खाडी तथा अन्य मुलुक पुग्दैछन् । हाम्रा ऊर्वर शक्ति अरुको देश समुन्नत र समृद्घ बनाउन अहोरात्र विवेक, पसिना अनि श्रम खर्चंदैछन् । अरुलाइ फुलाउने, फक्राउने, फलाउने काममा लाग्दैछन् । त्यो ऊर्वर शक्ति आफ्नै भूमिमा खन्याउन पाए कस्तो सौभाग्य बन्थ्यो ? तर उनीहरूको अनुपस्थितिमा हाम्रो समाज विभिन्नखालका सामाजिक, आर्थिक, नैतिक, यौनिक, चारित्रिक विचलनताको सिकार बन्दैछ । उच्च पारिवारिक विखण्डनसँगै पारपाचुके अनि कानुनी तथा गैरकानुनी गर्भपतन बढ्दैछ । ए गिडिन्सकृत पुस्तक ‘सोसियोलोजी’ ले वैदेशिक रोजगारीले समाजलाई छिन्नभिन्न पार्ने बताउँछ । अर्कोतिर अब देशमा मानसिक र शारीरिक दुवै हिसावले कमजोर मानिस मात्र रहने देखिन्छ । केही गर्न सक्ने र आश लाग्ने सबै हिँडेपछि देशको मुहार कहिले र कसरी फेरिन्छ ?

वैदेशिक रोजगारीले अर्थतन्त्र अलिकति थेगिएला तर वैशाखी दह्रो भएर दौड जितिँदैन, दौड जित्न दौडनेको खुट्टा नै दह्रो हुनुपर्छ । हाम्रा जवानहरू विदेशमा केही आम्दानी गर्छन् । तर त्यो आम्दानी विकसित देशबाट उत्पादित आरामदायी वा विलासिताका सामानको क्रयमा नै सकिन्छ । जुन वस्तु तथा सेवा÷सुविधाको चाहनाले युवा विदेशिए, त्यसको उत्पादन हामीकहाँ छैन । अरुको देशमा जे उत्पादन गरे वा गराए, फर्किएपछि तिनै सामान खरिद्छन्, उनीहरूको देशबाट ल्याइएको पैसा उतै पठाउँछन् । उत्पदान पनि विदेशीकै अनि आम्दानी पनि विदेशीकै बढ्दैछ ।

धनी देशको बजेटमा विप्रेषणको अनुपात ज्यादै कम हुन्छ । बढ्दो अनुपातले हामी गरिब र कमजोर भइरहेको देखाउँछ । वैदेशिक रोजगारी अन्त्य भएमा वा साँघुरिएमा के हुन्छ ? हामी कहाँ पुग्छाँै ? सधैँ सबैले अरुकै लागि र अरुकै देशमा पसिना बगाएर आफ्नो देशका लागि कसले र कहिले योगदान गर्छ ? मागेर घर कतिन्जेल चल्छ ? विदेशी रोजगारीले दिने उत्साह अत्यधिक मदिराले दिने क्षणिक आनन्द अनि भविष्यमा उपचार असम्भव दीर्घरोगी क्यान्सर बन्दैछ । निराकरणका अभ्यास अवलम्बन गर्न ढिला हुँदैछ ।  

निराकरणका अभ्यास
सरकारले जवानलाई विदेश पठाएर गर्व गर्नेभन्दा देशभित्रै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्छ । आज, युवा बेचिइरहेका छन् उनीहरूको सबल श्रम मोलमोलाइमा परिरहेको छ, कुनै दिन देशै बेचिनुपर्ने हुन्छ । वैदेशिक रोजगार ऐन २०४२ लागु गर्दै वैदेशिक रोजगारी सुरक्षित बनाउने प्रयास भए । सम्बन्धित देशमा दूतावास खोल्ने, सरकारसँग वार्तालाप गर्ने काम गरिए, जुन आपैmँमा गलत हो । यदि देश बचाउने भए वैदेशिक रोजगारी व्यवस्थापन हैन, प्रतिस्थापन हुनुपर्छ ।

व्यावसायिक कर्जा सुनिश्चित गर्नुपर्छ । कृषिको औद्योगिकीकरण गर्नुपर्छ । रोजगारी वितरणमा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ । व्यावसायिक सोच र रोजगारी अभिमुखीकरणमा ज्ञान दिनुपर्छ । पर्यटनलगायत अन्य सम्भावनाका क्षेत्र पहिचान गर्नुपर्छ । स्वदेशी वस्तु उपयोगमा जोड दिनुपर्छ । श्रमको सम्मान गर्नुपर्छ  । कलकारखाना तीव्र गतिमा खोल्नुपर्छ । विदेशमा रहेकाको ज्ञान, सिप र कमाइलाई घर फिर्ता गर्न सघन कार्यक्रम ल्याउनुपर्छ । चीनको सन् १९९० को यस्तै नीतिले समृद्घ चीन निर्माणमा ठूलो योगदान दियो ।  

प्रकाशित: २३ चैत्र २०७३ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App