६ वैशाख २०८१ बिहीबार
विचार

सुधार कि विज्ञापन ?

अब ‘नेपाल घुम्न जाऔं’ भन्ने सन्देश बोकेका विज्ञापन विदेशी सञ्चार माध्यममा देखिनेछन् । अनि नेपाल घुम्न आएपछि पर्यटकले अनुभव गर्न पाउनेछन्– यस क्षेत्रका बेथिति । राजधानी काठमाडौं आइपुग्नासाथ विमानस्थलमा उनीहरूले सबैभन्दा धेरै सास्ती भोग्नुपर्छ । शौचालय परैबाट डुङ्डुङ्ती गनाइरहेका छन् । एउटा गन्जागोल र युद्धरत क्षेत्रजस्तो अवस्थामा प्रवेश गर्छन्, पर्यटक जब ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छन् । विमानस्थलबाट बाहिर निस्कनासाथ तिनले संघर्ष गर्नुपर्ने हुन्छ सवारीनिम्ति । आफूले जान चाहेको होटलमा पुगे भने तिनले एउटा ठूलै महाभारत युद्ध जितेझैं अनुभव हुन्छ । केही महिनाअघि पर्यटनमन्त्री जीवनबहादुर शाही आफैँ पर्यटक बनेर ट्याक्सी चढी सहरका होटलमा पुग्दा कस्तो सास्ती बेहोर्नुपर्ने रहेछ भन्ने महसुस गरिसकेका छन् । राजधानीका सडकको अवस्थाले विज्ञापन हेरेर नेपाल भ्रमण गर्न आएका पर्यटकलाई कस्तो महसुस हुँदो हो ? सहरलाई नारकीय अवस्थामा राख्न सरकारी निकायहरूको भूमिका छ । यहाँका सरकार, महानगरपालिका÷नगरपालिका र कार्यालयले आफ्नो जिम्मेवारी पूरा नगरेको अवस्थाले सिंगो मुलुक आक्रान्त छ । धुवाँ, धुलो र ध्वनि प्रदूषणको मारमा देशवासी परिरहेका बेला विदेशी भिœयाउनुको के अर्थ ? त्यसबाट नेपालको छविबारे संसारमा कस्तो सन्देश जाला ?

यस्तो लाग्छ, पर्यटन बोर्डमा केही पैसा जम्मा भएको छ, त्यसलाई विदेशी सञ्चार माध्यममा विज्ञापन खर्च गरेपछि शतप्रतिशत उपलब्धि हासिल भइहाल्नेछ । भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई उकास्न बोर्डले अन्तर्राष्ट्रिय स्तरका टेलिभिजन, अनलाइन न्युज पोर्टल, पर्यटनसम्बन्धी जानकारी दिने वेबसाइट र समाचार एजेन्सीमार्फत विज्ञापनको तयारी गरेको हो । यस क्रममा बिबिसीले साढे ६ करोड, ट्रिप एडभाइजका लागि ३ करोड र बेलायती समाचार एजेन्सी रोयटर्सका लागि ८० लाख रुपैयाँ खर्च गर्न बोर्डले छुट्ट्याइसकेको छ । निःसन्देह नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्छ तर नेपालमा अहिलेसम्म प्रचारप्रसारका कारण मात्र पर्यटक आइरहेका होइनन् । पर्यटकलाई आकर्षित गर्ने भनेका यहाँका नागरिक हुन् । हँसमुख नेपाली अहिलेसम्म संसारका निम्ति एकमात्र विज्ञापनका साधन हुन् । तिनैलाई एकपटक भेटिसकेपछि बिर्सन नसकेर पटक–पटक पर्यटक नेपाल आउँछन् । नेपालमा पर्यटक तान्ने अर्को महŒवपूर्ण साधन ‘वर्ड अफ माउथ’ अर्थात् यहाँ घुमेर जानेले नेपाली नागरिक र यस मुलुकबारे बताएकै कारण हो । प्रकृतिले बान्की पारेको विछट्टको स्वरुपमा हामीले केही थप गर्न सकेका छैनौं । बरु दिनानुदिन यसको स्वरुप बिगार्ने काम मात्र गरेका छौं । भूकम्प आएपछि पनि पर्यटन आगमनमा कमी आएको छैन । कुनै न कुनै रुपमा नेपाललाई माया गर्नेहरू संसारभरिबाट आएका छन् । यस्तो स्थितिमा विज्ञापन पनि हुन थालेपछि पर्यटक आगमनको प्रवाह नबढ्ने अवस्थै छैन ।

हामीलाई पर्यटक भिœयाउने जुन तहको इच्छा छ, तिनीहरू आएपछि स्वागत सत्कारलाई विशेष बनाउनेतिर हाम्रो ध्यान छैन । तिनका निम्ति नयाँ–नयाँ रोमाञ्चक सेवा सिर्जना गर्न नसकिने होइन । पर्यटनका पुरानै जेजति प्रडक्ट छन्, त्यतिमै सीमित छौं । अझ कतिपय अवस्थामा आन्तरिक पर्यटक सक्रिय नभइदिने हो भने हाम्रो यो उद्योग धराशयी हुने अवस्था छ । नेपाली आफैँ पनि आन्तरिक पर्यटकका रुपमा घुम्न र बिदा मनाउन रुचाउने भइसकेका छन् । हाम्रो अर्थतन्त्रमा सेवा क्षेत्रको ५० प्रतिशत योगदान पर्यटन क्षेत्रको छ । यस्तो परिवर्तित स्थितिमा होटल, खाना र अन्य सुविधा विस्तार र विशिष्टीकरण गर्नुपर्ने आवश्यकता भने हाम्रा निकायले देखेका छैनन् । आज भुटानले आफूलाई संसारभरिका पर्यटकलाई तान्न सक्ने गरी मार्केटिङ गरेको छ । प्रतिदिन २ सय अमेरिकी डलर (करिब २१ हजार ५ सय रुपैयाँ) कम खर्च गर्ने पर्यटकलाई भुटानले स्वागत गर्दैन । मार्केटिङ गर्दा आन्तरिक तयारी पनि तदनुकूल हुनुपर्छ । पर्यटकलाई नेपालमा आएपछि तिनको अहिलेको करिब १३ दिनको बसाइ लम्ब्याउन पनि हाम्रा पर्यटनसम्बन्धी निकायले खासै भूमिका खेलेका छैनन् । उनीहरूले प्रतिदिन गर्ने करिब ६८.५० अमेरिकी डलर खर्च बढाउन हाम्रा सेवा अरु बढी रोचक र रचनात्मक हुनु आवश्यक छ तर हाम्रा सरकारी निकायले भौतिक पूर्वाधारलाई अझ भरपर्दा र विकसित बनाउनु आवश्यक देखेका छैनन् । पर्यटन व्यवसाय गर्नेले ‘कुनै कुरा नभए पनि त्यसबाट केही सिर्जना गरेर’ प्रडक्ट बेच्छन् । हाम्रो मुलुक भने इतिहास, कथा र किंवदन्तीले भरिएको भएर पनि त्यसलाई पर्यटनसँग जोडेको देखिँदैन । पर्यटन क्षेत्रबाट भएको कमाइलाई समेत पूर्वाधार विकासमा खर्च गरिएको छैन । विदेशी माध्यममा विज्ञापन दिनुअघि आन्तरिक तयारीमा ध्यान दिने कि ?

प्रकाशित: १८ फाल्गुन २०७३ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App