२१ असार २०७७ आइतबार
विचार

हो, आउनेछ कोही

नेपाल र नेपालीका दुःख बुझेका विदेशी कूटनीतिक नियोग वा विकास आयोजना प्रतिनिधिले प्रायः प्रश्न गर्छन्, 'अहिलेको भताभुंग अवस्थाबाट तिम्रो मुलुकलाई कसले निकाल्ला?'

हुँदाहुँदा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेले समेत उनकै बिदाइमा आयोजित एउटा अनौपचारिक कार्यक्रममा प्रश्न गर्न भ्याए, 'अबको १० वर्षमा नेपाल कस्तो बन्ला?'

नेपाल 'सुन्दर, शान्त र विशाल' रहनेछ भन्ने जवाफ त उनले पाए। तर, धेरैले 'अब नेपालमा के हुन्छ' भन्ने प्रश्नको जवाफ पाउन सक्दैनन्। मुलुकमा परिवर्तनको जिम्मेवारी पाएका दलका नेताहरूको भूमिका फेरिएर पुराना जिम्मावालको जस्तो हुन पुगेको छ। उनीहरू विधि, विधान र प्रक्रिया मिचेर आफूखुसी निर्णय गर्ने अवस्थामा छन्।

मुलुक परिवर्तनका स्पष्ट अजेन्डा बोकेर आउने शक्तिलाई स्वागत गर्न सर्वसाधारण प्रतीक्षारत छन्। नेपाल फेर्न सक्ने गरी आउने नेताका लागि फेरि समय आएको छ।

अहिले नेपालमा यही हुन्छ भन्न कसैले सक्दैन। राजनीतिक भविष्यवाणी त्यही मुलुकमा मात्र सफल हुन्छ जहाँ विधि र प्रक्रियाका आधारमा निर्णय हुन्छ। हामीकहाँ नेताको सनकका भरमा निर्णय हुने भएकाले कुनै अनुमान हुन सक्दैन। पछिल्लो पटक राजदूत नियुक्तिका क्रममा देखिएका अनुहारले लोकतान्त्रिक शासन व्यवस्थाप्रति वितृष्णा खडा गर्ने देखिन्छ। मानिस भन्न थालेका छन्, यस्ता निर्णय राजाका पालामा पनि हुँदैनथे।

यस्तो विषम परिस्थितिमा सुधार ल्याउन कसले सक्ला? प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा आदि अलगअलग ब्रान्ड भए पनि अन्तर्वस्तु एउटै हो। ती झन्डा र घोषणापत्रमा मात्र भिन्न छन्। तिनले सत्तामा हुँदा देखाउने व्यवहार र कर्म भने एउटै हो। राजनीतिक ठेकेदारको भूमिकामा ती छन्।

सबैजसो दल र त्यसका नेतामा योग्यता छैन। तर, उनीहरूले अरु कसैलाई देखाएर आफ्नो अयोग्यता छोप्दै आएका छन्। यो मुलुकको अधोगतिको दोष २ सय ५० वर्ष पुरानो शाह वंशलाई दिँदै आए पनि आफैंले शासन गर्न थालेको समेत एक दशक नाघिसकेको छ। अब कसलाई देखाएर आफ्ना कमजोरी ढाकछोप गर्ने?

भर्खरै फागुन ७ का उपलक्ष्यमा बितेको आधा शताब्दीका उपलब्धिमाथि चर्चा हुँदै गर्दा दलका नेताहरूले देखाएको अयोग्यता पनि मुखरित हुन पुग्यो। एउटा सिंगो युग असफल भएको छ। हाम्रो मुलुकका तीन पुस्ताले आफ्नो जीवन संघर्षैसंघर्षमा बिताएका छन्। उनीहरूले सुन्दर, शान्त मुलुकको नागरिकका रूपमा जीवन बिताउन कहिल्यै पाएनन्।

राजधानी काठमाडौंका सडक धुलाले भरिएका छन्। राजधानीबाहिरको अवस्थाको त कुनै तुलना हुनै सक्दैन। दुर्गम भेगमा बस्नेहरूको जीवनमा लोकतन्त्रको पारिलो घाम लाग्नै सकेको छैन। यस्तो नालायकीले घेरिएका बेला त्यसको विकल्प के होला? धेरैका मनमा यो सोच आउनु स्वाभाविक हो। यसै पनि प्रत्येक १० वर्षमा राजनीतिक परिवर्तनका लागि आन्दोलन हुँदै आएको हाम्रो इतिहास छ।

प्रमुख दलहरूमा आफ्नो विकल्प कोही हुन सक्दैन भन्ने भ्रम छ। सर्वसाधारणले जहिल्यै हिजोको संघर्षका आधारमा यिनै दलका उम्मेदवारलाई जिताउँदै आएका छन्। तर, परिस्थिति त्यसरी रहिरहला भन्ने छैन। सर्वसाधारणले बिस्तारै विकल्प खोज्नुपर्ने अवस्था आइसकेको छ। राजनीतिक–सामाजिक परिवर्तनका अजेन्डामा धेरै अगाडि आइपुगे पनि अब मुलुकलाई विकास निर्माणको बाटोमा हिँडाउने वैकल्पिक शक्तिको अभाव देखिएको छ।

मुलुकका प्रमुख राजनीतिक शक्तिको अहिलेको अवस्था मूल्यांकन गरौं। कांग्रेससँग मुलुकमा प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाको पटकपटकको अनुभव छ। तर, यो पार्टीमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता त्यागी नेताहरू पनि थिए भन्ने विश्वास अहिलेको नेतृत्वलाई हेर्दा लाग्दैन। त्यसैले नयाँ पुस्ताले अहिलेका नेताबाट कुनै प्रेरणा लिन सक्दैन।

दोस्रो ठूलो दल एमालेको अवस्था पनि अहिले 'सम्धीभन्दा म के कम्ती' भनेजस्तै छ। सरकारको नेतृत्व गर्ने मौका पटकपटक आए पनि आशाको सन्देश दिन सकेको छैन। मनमोहन अधिकारीदेखि मदन भण्डारीसम्मको बिरासत बोकेको यो दलले बेला–बेलामा लिएका अडान र अघि बढाएको राजनीतिले पनि सर्वसाधारणमा आशा सञ्चारित गर्न सकेको छैन।

जनआन्दोलन २०४६ पछि सत्तामा पुगेका कांग्रेस र एमालेबाट जनतामा बढेको असन्तुष्टिलाई सम्बोधन गर्दै 'दीर्घकालीन जनयुद्ध'को बाटोमा हिँडेको माओवादीको अवतरण यी दुई पार्टीकै जस्तो भएको छ। माओवादी आएपछि मुलुकमा कायाकल्प हुन्छ भनी ठान्नेहरू पनि उत्तिकै निराश भए जसरी कांग्रेस र एमालेले तुल्याए। माओवादी आन्दोलनका क्रममा बगाएको रगतको औचित्य नेतृत्वकै कारण सकिएको छ।

मधेस केन्द्रित दलहरूको चर्चा गर्नै पर्दैन। तिनले सर्वसाधारणको परिवर्तनप्रतिको अपेक्षालाई समात्न सकेका छैनन्। जहिल्यै सत्ताको सेरोफेरोमा रहे पनि आफूलाई कमाउ धन्दाबाट अलग गर्न सकेनन्। तिनले पनि आमजनमानसमा निराशाको फसलमात्र लगाएका छन्।

समग्र दलको प्रगति रिपोर्ट कार्डका आधारमा सर्वसाधारणमा निराशामात्र देखिएको छ। यो निराशाको सम्बोधन गर्न लावण्य देशको हात्तीले नवराजलाई राजा छानेझैं माला लिएर हिँड्ने कुरा पनि भएन, यो बेलामा। तर, आगामी संसदीय निर्वाचनसम्ममा मुलुकमा कुनै विकल्प आउन सक्ला वा नसक्ला? त्यसको खोजी भने अवश्यै हुनुपर्छ।

डा. बाबुराम भट्टराईले माओवादी केन्द्र छाडेपछि खोलेको नयाँ शक्ति पार्टीले केही गर्न सक्ला? के विवेकशील पार्टी विस्तारित भई सर्वसाधारणमा आशा जगाउन सक्ला? सार्वजनिक जीवनमा सक्रिय केही व्यक्तिको संलग्नतामा तत्कालै घोषणा हुन लागेको अर्को एउटा पार्टीले यी अपेक्षा सम्बोधन गर्न सक्ला? वा अन्य कुनै झन् नयाँ शक्ति पनि आउला?

'आवश्यकता आविष्कारकी जननी हुन्' भनिन्छ। हाम्रो मुलुकका अपेक्षा पूरा गर्न सक्ने दल अहिलेको आवश्यकता हो। त्यस्तो दलको आविष्कार अहिले हुन सक्छ? नयाँ र पुराना दुवैथरी दललाई यहीँनिर अवसर छ। पुराना दलले पनि आफूलाई सुधार गरे भने सर्वसाधारणले पत्याउने अवस्था आउँछ। नयाँले अहिले मुलुकमा रहेको पीडा बुझ्ने हो भने आफूलाई अवसरमा पुर्‍याउन सक्छन्।

पुराना सबैजसो दललाई बिगार्ने एउटा तŒव छ– शक्ति दलाल। सबैजसो दल शक्ति दलालको चंगुलमा पर्दा हिजोको संघर्ष भुल्न पुगेका छन्। त्यसैले उनीहरूकै निम्ति नेताहरूले काम गर्ने गरेका छन्। प्रत्येक पटक नयाँ प्रधानमन्त्री आउने बेलामा नयाँ उत्साह देखिन्छ। तर, ती केही महिनाको अन्तरालमै पानीफोकाजस्ता बन्न पुग्छन्, अनि यस्ता निर्णय गर्छन्, जसले देख्नेलाई लाज लाग्न थाल्छ।

अहिले भइरहेकै शक्तिहरू नफेरिने वा नयाँ शक्तिहरू नआउने हो भने मुलुकको अवस्था धराशयी हुनेछ। हामीभन्दा कम स्रोत भएका र द्वन्द्वबाट निस्किएका मुलुकले प्रगतिको बाटो समातिसक्दा पनि हामी भने अहिलेकै अवस्थामा रहिरहँदा आउन सक्ने चुनौती अकल्पनीय हुन सक्छ। त्यसकारण पनि या त अहिलेकै शक्ति सुधि्रनु वा नयाँ आशा र अपेक्षासहितका शक्तिहरू आउनु अनिवार्य हुन्छ।

त्यसैले मुलुक परिवर्तनका स्पष्ट अजेन्डा बोकेर आउने शक्तिलाई स्वागत गर्न सर्वसाधारण प्रतीक्षारत छन्। नेपाल फेर्न सक्ने गरी आउने नेताका लागि फेरि समय आएको छ। यो समयको उच्छवासलाई बुझेर आउनसक्ने नेतृत्वले सबैको विश्वास आर्जन गर्न सक्नेछ। त्यति बेला हामीले ढुक्कसँग भन्न सक्नेछौं– हो, अब नेपाल फेरिनेछ।

प्रकाशित: १५ फाल्गुन २०७३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App