९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

बा र देशको अर्थशास्त्र

नगद सञ्चय गरे गाँठो फुक्छ

खेती किसानी मेरा बाको मुख्य पेसा र आम्दानीको एक मात्र स्रोत थियो। त्यतिबेला (करिब ५५ वर्षअगाडि) बाको न जागिर न पेन्सन, नगद देख्नै मुस्किल। हामी सानो छँदा बेलाबखत मान्छेहरू थैलो/धोक्रो बोकेर घरमा आएका देखिन्थे र केही अन्न भरेर लैजान्थे। कोही कोही गाई, बाख्रा, गोरु, भैसी पनि किन्न आउँथे, त्यही थियो घरको नगद आम्दानी। ‘बगाल छुट्याएको पैसा ऊ..., त्यसैका हातमा राखिदिनू’ गाई, बाख्रा, गोरु, भैँसी बेचेको बेला मतिर देखाइ ग्राहकलाई भन्नुहुन्थ्यो बा। लाज मानेमाने जस्तो गरेर मोहर, रुपियाँ जे दिन्थे त्यो टपक्क हातमा समात्ने गर्थेँ म।

मल, पानी, मौसम नमिलेका बेला परिवार धान्न ठीक्क ठीक्कै मात्र हुन्थो अन्न पनि। अनि नून तेल, लुगाफाटो, चाडपर्व, दान दक्षिणा आदिका लागि पैसाको जोहो कसरी गर्ने होला? सायद बाको मनमा हुटहुटी जगाउने कुरा हुन्थे यी।

सानो उमेरमा बाको सजिलो अप्ठेरो र मनोभाव कति पो बुझियो होला र? तर केही अनाज र पशुवस्तु बेचेर हजार पन्ध्र सय नगद थैलीमा बेरेर सन्दुसभित्र राखेको बेला बाको अनुहारै बदलिन्थ्यो। त्यतिबेलाको त्यति पैसाले ठूलै काम गर्दो हो।

केही नगद घरमा हुँदा बालाई लाग्दथ्यो होला–किताब अनि कापी, कलमका लागि फुच्चाफुच्चीको लागि कति पो चाहिएला र? आ ! चाडबाड नजिकिँदो छ एक एक जोर लुगा पो हालिदिउँ क्या हो? यस्तैयस्तै।

मैले बुझेसम्म स्रोतहरूको विश्लेषण, तिनीहरूको सही योजना र भरपुर प्रयोग, आत्मनिर्भर र निर्यातमुखी सोच, स्रोतहरूको सञ्चिति, समानुपातिक वितरण, उत्तरदायित्व तथा जिम्मेवारी, साद्गी तर स्वाभिमानपूर्ण जीवन पद्धति आदि मेरा बाको व्यावहारिक अर्थशास्त्र थियो।

मलाई घुर्मैलो सम्झना छ, एकपटक माथिघरे सुबेदार घरमा आएर भनेका थिए-अलिअलि नगद हातमा पारेकै हुन्छौ, कि चारधाम गर्ने हो त यसपालि? बाले भन्नुभएको थियो-छोराछोरी हुर्कँदै छन्, पढ्दै छन्, घरको खर्च पनि धेरै नै छ, के कसो पर्ला दुईचार रुपियाँ पैसा नगद हातमा पर्दैमा मासिहाल्न त भए न नि ! बरु तीर्थव्रत आघुँ, पराघुँ गरौँला। सायद गाह्रोसाह्रो पर्दाका लागि नगदको सञ्चिति हुनुपर्छ भन्ने सोच थियो बाको त्यो।

आत्मनिर्भर बन्न निर्यातमुखी सोच

बा प्रायः घर, गोठ र खेतीपातीकै काममा व्यस्त देखिनुुहुन्थ्यो। कहिले खाना पाक्यो भन्ने खबर दिन त कहिले खाजा बोकेर हामी खेतबारीमै पुग्थ्यौँ। गाउँमा मर्दापर्दा, चेलीबेटी ल्याउँदा पुर्‍याउँदा, यसो भेला कचहरी र कहिलेकाहीँको सत्संगतबाहेक बाले फाल्तु समय खेर फालेको र घर छाडेर टाढा गएको देखिएन। अलि दह्रोसँग काममा सघाउने, आड भरोसा दिने पनि खासै कोही थिएनौँ, त्यतिबेला।

खेती किसानी मेरा बाको मुख्य पेसा र आम्दानीको एक मात्र स्रोत थियो। त्यतिबेला (करिब ५५ वर्षअगाडि) बाको न जागिर न पेन्सन, नगद देख्नै मुस्किल।

गोठमा साँघुरो गरी गाईवस्तु, बाख्र्रापाठा बाँधिएका हुन्थे। जग्गा महिना दिन पनि बाँझो बस्दैनथ्यो। बाका मन मनमा योजना हुन्थे, यो पछि त्यो बाली, त्यो पछि त्यो, अनि त्यसबाट यति आउला, उसबाट उति आउला यस्तैयस्तै।

बासँग एउटा स्वाभिमान पनि थियो सायद–आफ्नो घरमा बन्न वा हुन नसक्ने कुराबाहेक अरू कुनै कुरा पनि बाहिरबाट नकिन्ने आत्मनिर्भरमुखी सोच। हुन पनि नून, तेल (बाल्ने तेल) सामान्य लुगाफाटो र अति आवश्यक भाँडावर्तनबाहेक अरू केही किनेको सम्झना भएन घरमा। साँच्चै बासँग आयात भन्दा निर्यातमुखी सोच र व्यवहार थियो।

स्रोतको समानुपातिक वितरण

परिवारको मूली भएको नाताले सकेसम्म सबैको आवश्यकता, इच्छा र चाहनाहरू पूरा गरिदिने संकल्प थियो बाको। त्यो बेला मन फुकाएर खर्च गर्न सकिने, पाउने नगदको स्रोत कहाँ थियो र? आवश्यकता र रहरहरू कसरी पूरा गर्न सकिएला भन्ने अनेक चुनौती थिए उहाँसँग।

बर्सेनि वर्षायाम सुरु हुनुअगाडि परिवारका सबै सदस्यका लागि एक एक जोर लत्ता कपडा ल्याउने चलन हुन्थ्यो र घरमै सूचीकार बोलाएर सिउन लगाइन्थ्यो। एकजना दाजु अलि जिद्दीवाल हुनुहुन्थ्यो, अलि सौखिन स्वभावको पनि। जुल्फी पालेर बेलीबटम पाइन्ट र राम्रा जुत्ता लगाएर फुर्तीसाथ हिँड्नुपर्ने। त्यतिबेला बेलीबटम पाइन्ट फुर्तीवालको पहिचान बन्थ्यो। कपडा ल्याउने बेला उहाँले एउटा दामी बेलीबटम पाइन्ट र जुत्ताका लागि जिद्दी गर्नुभयो। बाले सम्झाउँदै भन्नुभएको थियो-‘अरू सबै दाइभाइलाई त्यस्तै ल्याउन पैसा पुग्दैन, अनि तँलाई मात्र छुट्टै र महँगो किन नि? अहिले सबैलाई उस्तै हुन्छ, अर्कोपल्ट म विचार गरौँला।’

पछि आमाले पनि त्यस्तै कुरा सुनाउनुहुन्थ्यो। एकपटक उहाँले राम्रो तिलहरीको रहर गर्दा बाले भन्नुभएको थियो रे-तँलाई मात्र बनाइदिएर हुन्छ र ? बुहारीलाई पनि त चाहियो नि। अहिले पखेस् सके अलि पछि किनौँला। सायद त्यो स्रोतको समानुपातिक वितरण हुनुपर्छ भन्ने सोच र व्यवहार थियो बाको।

आवश्यकता परिपूर्ति गर्ने दायित्व

घरको मूली भएकाले पारिवारिक दायित्व, जिम्मेवारीको भावना प्रचुर थियो बासँग। स्वाभाविक पनि हो त्यो। त्यसमा कहिले भावुकता र सम्वेदनशीलता मिसिएको हुन्थ्यो। रोजै एउटा दुहुनो गाई वा भैँसी हुने घरमा एकपटक के कसो मिलेनछ कुन्नि केही समय भएनछ। एकदिन बेलुका हामी भुराभुरी सबै भात खान बसेका थियौँ रे, दूध, मही नभएकाले दाल तरकारीसँग मन नलगाइ नलगाइ खाँदै गर्दा मैले दिक्क मानेर ‘त्यो काली भैँसीले पनि किन दूध नदिएको होला, भातै खान मन लागेन भनेँ रे।’ भान्सामा खाना खाँदै गर्दा त्यसो भनेको सुनेर बाको मन भावुक भएछ क्यार! भोलिपल्ट बिहान झिसमिसेमै आमालाई ‘म कतै जानु छ’ भनेर घरबाट निस्कनुभएको बुबा एउटा दुहुनो भैँसी लिएर मध्याह्नतिर घर आउनुभएको थियो रे।

बर्सेनि वर्षायाम सुरु हुनुअगाडि परिवारका सबै सदस्यका लागि एक एक जोर लत्ता कपडा ल्याउने चलन हुन्थ्यो र घरमै सूचीकार बोलाएर सिउन लगाइन्थ्यो।

अलि ठूलो भएपछि एकदिन फि (शुल्क) तिर्न स्कुलले ताकेता लगायो, परीक्षाको बेला पनि आएको थियो, त्यस्तो बेला स्कुलले अलि बढी ताकेता गर्दथे। मानौँ फि उठाउने बहाना हो-परीक्षा। बेलुका बा अलि ढिलै घरमा आउनुभयो। हामीले भोलि जसरी पनि फि (शुल्क) तिर्नुपर्छ रे भन्यौँ। बेलुकाको खाना खाएपछि अगुल्टो झिल्मिल्याउँदै बा फेरि घरबाट कतै निस्कनुभयो। सायद नगद साथमा थिएन र कतै सरसापट गर्नुपर्ने बाध्यता थियो। राति हामी जागा रहँदासम्म बा फर्कनुभएको थिएन।

भोलिपल्ट बिहान उठेपछि बाले हामीलाई ‘लौ लैजाओ फि, राम्ररी लिएर जानू नि। कतै खस्ला, हराउला’ भन्दै केही पैसा हामीलाई थमाएर काममा निस्कनुभयो। आवश्यकताहरूलाई सकेसम्म तत्कालै परिपूर्ति गर्ने पारिवारिक दायित्व, जिम्मेवारी र सम्वेदनशीलता थियो बासँग।

निरन्तर क्रियाशील अर्थात् ऐश्वर्य

पुगिसरी थिएन, न थियो तडकभडक र विलासिता मेरा बासँग। न लोभ न त स्वाभिमानमा विचलन। बरु आफ्नो साधारण जीवनपद्धति र सादगीपन नै ठीक। दुःखसुख जेसुकै होस्, आफ्नै पौरखमा बाँच्न खोजियो र कसैको ऋणमा बाँच्न परेन भने आफैंँ रक्षा हुने आफैँ चुलिने रहेछ आफ्नो स्वाभिमान।

हामी सानै थियौँ, एक हिसाबले अबोध पनि। रातदिन मरिहत्ते गरेर काम गर्नुको साटो जे/जति थियो, त्यसैको केही अंश बेचेर घर चलाएको भए पनि त हुँदो हो तर बाले भएको सम्पत्ति न कतै अलिकति बेच्नुभयो न कतै तिर्नपर्ने ऋण हाम्रो थाप्लोमा सारेर जानुभयो। पछि हामीले अलिअलि आर्जन गर्न थालेपछि बालाई केही काम नगरी र चिटिक्क परेर बसे हुन्थ्योे, कतै हिँडे/डुले हुथ्यो भनिरह्यौँ तर बाले कहिल्यै त्यो स्वीकार गर्नुभएन। हाम्रै लागि पूरै जीवन खर्चेको मान्छेले जीवनको उत्तरार्धमा पनि हामीसँग केही माग गर्नुभएन। बरु जीवनको अन्तिम श्वाससम्म उहाँले केही न केही काम गरिरहनुभयो। आफूलाई क्रियाशील राखिरहनुभयो। निरन्तर क्रियाशील हुनु नै घरको श्री वा घरको ऐश्वर्य हो।

पारिवारिक अर्थशास्त्र

अहिले मलाई लाग्छ, मैले अर्थशास्त्रका केही आधारभूत कुरा पढ्न मात्र जानेँ तर त्यसको मर्म बुझिनँ, बाले केही कुरा पढ्न जान्नुभएन तर त्यसको मर्मलाई व्यवहारमा उतार्नुभयो। मेरा बा एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्थ्यो उहाँको आर्थिक व्यवस्थापन (उत्पादन, आपूर्ति र वितरण आदि) उहाँको आफ्नै पारिवारिक अर्थशास्त्र थियो।

हामी सानै थियौँ, एक हिसाबले अबोध पनि। रातदिन मरिहत्ते गरेर काम गर्नुको साटो जे/जति थियो, त्यसैको केही अंश बेचेर घर चलाएको भए पनि त हुँदो हो तर बाले भएको सम्पत्ति न कतै अलिकति बेच्नुभयो न कतै तिर्नपर्ने ऋण हाम्रो थाप्लोमा सारेर जानुभयो।

हुन त परिवार र देशको अर्थशास्त्रको परिधि र दायरा फरक हुन्छ, कतिपय कुरा त वैश्विक परिवेशले पनि फरक पार्ला तर त्यसको स्वरूप वा भनौँ विशेषता त करिब उस्तै उस्तै न हो। परिवारमा मेरो बा ठूलो वा मूली हुनुहुन्थ्यो, देशमा नेता वा अगुवा मूली हुन्, छन्। अनि अहिले देख्छु, सम्झन्छु, कतै हातमुख जोड्न धौ धौ छ, कतै विलासी वस्तुहरूको उपभोग छ। कसैलाई सिटामोल र जीवनजलको अभाव छ, कसैलाई देश/विदेशका ठूला ठूला अस्पतालहरूमा उपचार छ। कसैलाई गामवेसीमै र घरगोठमै जीवन खुम्च्याउनुपर्ने बाध्यता छ, कतै देश÷विदेशका भ्रमणहरू छानीछानी छन्। आखिर स्रोत वा ढिकुटी त त्यही एउटै न हो।

बेचेको कुराको भन्दा किनेको कुराको सूची लामो छ, थुप्रो धेरै छ। अधिकांश जमिन बाँझा छन् तर हात, पाखुरा र सिप भएकाहरू खाडीतिर छन्। ढिकुटी रित्तिँदो छ तर तडकभडकहरू ज्वालाहरूझैँ जाग्दा छन्, ब्युँतिदा छन्। कसैमा स्रोतको पहुँच छैन, कतै स्रोतमाथिको हालीमुहाली छ। आम्दानीका उपायहरू छैनन् तर थामिनसक्नु ऋणका भारी छन्। विश्व परिवेशमा अभावजनित लघुताभाष छ हामीसँग, त्यसैले त जाग्न सकेको छैन हाम्रो स्वाभिमान।

अहिले सम्झन्छु, यसो विचार गर्छु, साउँ अक्षर नचिनेका, घरगोठ अनि गाउँको चार किल्ला भन्दा बाहिर ननिस्केका मेरा र मेरा जस्तै घरमूली बाहरू, उनीहरूको घरको परिपाठ, व्यवस्थापन, उनीहरूको अर्थशास्त्र अनि पढेलेखेका, संसार डुलेका देशका मूली बाहरू (अगुवा, नेताहरू) को परिपाठ, व्यवस्थापन, उनीहरूको अर्थशास्त्रको बुझाइमा ठूलो अन्तराल देख्न परिरहेको छ, भोग्न परिरहेको छ।

आम्दानीका उपायहरू छैनन् तर थामिनसक्नु ऋणका भारी छन्। विश्व परिवेशमा अभावजनित लघुताभाष छ हामीसँग, त्यसैले त जाग्न सकेको छैन हाम्रो स्वाभिमान।

मैले बुझेसम्म स्रोतहरूको विश्लेषण, तिनीहरूको सही योजना र भरपुर प्रयोग, आत्मनिर्भर र निर्यातमुखी सोच, स्रोतहरूको सञ्चिति, समानुपातिक वितरण, उत्तरदायित्व तथा जिम्मेवारी, साद्गी तर स्वाभिमानपूर्ण जीवन पद्धति आदि मेरा बाको व्यावहारिक अर्थशास्त्र थियो। मेरो देशको अर्थशास्त्र पनि त्यस्तै त्यस्तै भैदिए हुन्थ्यो भन्ने सोचिरहेको छु म यतिखेर। अनि खोजिरहेको छु चुलिएको राष्ट्रिय अर्थतन्त्र र स्वाभिमान।

(अधिकारी वित्तीय साक्षरतासम्बन्धी तालिमका स्रोत व्यक्ति हुन्।)

प्रकाशित: २८ वैशाख २०८० ००:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App