८ वैशाख २०८१ शनिबार
विचार

धरोहर धान्ने धारणाहरू

नेपालको इतिहासमा २०४६ सालदेखि अहिलेसम्मको एक शताब्दीको चौथाइ भाग पूरै राजनीतिक अस्थिरता र अन्योलको युग बनेर रह्यो । राजालाई पूर्ण संवैधानिक बनाउने र अन्ततोगत्वा राजसंस्था अन्त्य गरेर देशलाई संघीय गणतन्त्र घोषणा गर्ने काम पनि यसैबीचमा भयो । महाविनाशकारी भुइँचालोको रूप लिएर प्राकृतिक प्रकोपले पनि देशलाई यसै बीचमा सतायो । राजनीतिक अस्थिरताले पहिले नै सताइराखेको देशलाई भुइँचालाले थप अस्तब्यस्त बनाइदियो । तराईका नेपालीले भारतसँग जोडिएका मूल नाका रोकेर प्रकृतिको महाप्रकोपले सताइएका नेपालीलाई झन् थिलथिलो पारेर लतार्ने कूट चाल पनि भुइँचालोले क्षतविक्षत पारेर दिन÷प्रतिदिन जमिन हल्लिएर अताल्लिएको समयमा नै जोडतोडका साथ चर्काउने काम गरे । अलिकति पनि मानवीय सदाशयता देखाउनसमेत उचित सम्झिएनन् तराईबासी नेपाली बन्धुले । त्यसैले अहिले हामी यी दुवै विकराल प्रकोप सम्बन्धित समस्यासँग एकैचोटि संघर्ष गरिरहेको अवस्थामा छौं ।   

लामो समयदेखि देशको स्थानीय निकाय जनप्रतिनिधिरहित छ, जातीय र क्षेत्रीय असन्तुष्टि मडारिइरहेका छन्, घोषणा गरिएका संविधान र संघीय राज्य पद्धति दुवै लागु गर्न सरकार र दललाई फलामको च्युरा चपाउने जस्तो भइरहेको अवस्था छ । राजनीतिक अन्योलकै कारण देशको सामाजिक, सांस्कृतिक, आर्थिक, प्रशासनिक, शैक्षिक र न्याय प्रणालीसमेत गम्भीररूपले खल्बलिएको अवस्था छ, सरकार स्थिर र चुस्त हुन सकेको छैन । यस्तो स्थिति देखिन थालेको पनि दशकौं लामो समय बितिसकेको छ । यथार्थमा देश अत्यन्त कन्तविजोगको अवस्थामा गुज्रिन आइपुगेको छ । त्यसो भए पनि अहिले यस लेखको प्रसङ्ग यस्ता सबै पक्षलाई समेट्ने नभई खाली भुइँचालो र त्यसले पारेको क्षतविक्षत र त्यसपछिको, खासगरी ऐतिहासिक र सांस्कृतिक धरोहर पक्षको पुनर्निर्माणको अवस्था र हाम्रो जिम्मेवारीको विषयसँग मात्र सीमित वा केन्द्रित छ । 

भुइँचालो गएको झन्डै दुई वर्ष लामो अवधि बितिसक्दा पनि नष्ट भएका सांस्कृतिक, ऐतिहासिक सम्पदासँग सम्बन्धित मात्र नभई निजी आवास तथा सार्वजनिक भवन आदि कुनै क्षेत्रमा पनि पुनर्निर्माणको काम खासै हुन सकेन । राजनीतिक अनिश्चितताले छिटोछिटो सरकार बन्ने÷फेरिने क्रम चलिरहँदा पनि पुनर्निर्माणको काममा ढिलाइ भएको हो भन्ने अहिले आएर स्पष्ट भएको छ । सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणको आन्तरिक व्यवस्था र प्रबन्ध पक्षले पनि त्यति गति लिन नसकेको स्थितिमा पछिल्लो सरकारले यसका मुख्य कार्यकारी अधिकृत (सिइओ) समेत फेरेको अवस्था छ अहिले । यस परिवर्तनपछि केही तदारुकता लिन थालेको देखिए तापनि त्यत्रो अनन्त सागर जस्तो बृहत् कामको जिम्मेवारीको तुलनामा पुनर्निर्माणको काम अत्यन्तै प्रारम्भिक अवस्थामा मात्र गुज्रिरहेको देखिएको छ । यस्तो ढिलाइ प्राविधिक पक्षका क्षतिको विवरण संकलन, लागत आकलन आदिको तयारी र त्यसपछिका पुनर्निर्माणसम्बन्धी भुइँचालो प्रतिरोधात्मक सवलीकरण, सिङ्गो धरोहरको पुनर्निर्माण वा नवनिर्माणसमेत कामका निम्ति इतिहास, संस्कृति, वास्तुकला संरक्षणविद् र पुराततत्व विषयका विशेषज्ञ र प्राचीन सम्पदा संरक्षण सम्बन्धित प्राविधिक र तालिम प्राप्त जनशक्ति र प्रविधि स्वयंको अभाव जल्दोबल्दो कारण बनेको देखिएको छ ।

नेपाल एउटा सांस्कृतिक र ऐतिहासिक सम्पदाको हिसावले अत्यन्त महत्वपूर्ण देशमध्ये मानिन्छ ।  यस देशको मूल राष्ट्रिय गौरवपूर्ण चिनारी यहाँका सांस्कृतिक र ऐतिहासिक सम्पदा तथा प्राकृतिक विशिष्ठता हुन् र त्यो परिचयमा अहिले कुनै परिवर्तन आउन सक्ने स्थिति देखिँदैन । जति परिवर्तनका कुरा हामीले गरे पनि विश्व विशिष्टतामा हामीलाई पु¥याउने यिनै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक वैभवका विशिष्टतामात्र हुन् । त्यसैगरी हाम्रो जस्तो परिवेशमा राष्ट्र निर्माणका आधारभूत कुरा पनि तिनै हुन् । यस्ता धरोहरले देशको राष्ट्रिय, सांस्कृतिक, धार्मिक, जातीय समुदायगत स्थितिको प्रतिनिधित्वसमेत गरेको हुन्छ र देशको पर्यटनको मूल भूमिका पनि खेलेको हुन्छ । भविष्यको पुस्ताका निम्ति हाम्रा धरोहरको संरक्षण, पुनर्निर्माण, संबर्धन र सवलीकरणको महत्व तथा आवश्यकता त्यत्तिकै हुन्छ ।  त्यसैले तिनको परम्परागत र सर्वस्वीकार्य प्रविधि र पद्धति अपनाएर संरक्षण, पुनर्निर्माण र सवलीकरणका काम हुनुपर्छ । धेरै ध्वंश भएको र अन्य अपवादको अवस्थामा मात्र त्यस्ता भग्न धरोहरलाई यसै छाडेर अन्यत्र स्थानान्तरण समेत गरेर नवनिर्माण गर्ने चलन विश्वमा देखिएको भए तापनि हाम्रो पुनर्निर्माणको काम त्यस प्रकृतितर्फ ढल्किइहाल्नुपर्ने अवस्था त्यति देखिँदैन।  

हाम्रो अहोभाग्यले र पूर्खाका पौरखले प्राचीनकालदेखिका अनेकौं विशिष्ट कलाले सजिएका मन्दिरैमन्दिर, मठ, पाटीपौवा, धर्मशाला, डबली, दरवार, किल्ला, पर्खाल, बिहार, गोन्पा, स्तूप, चैत्य, मण्डप, ढुंगे धारा, हिटी, कुवा, पोखरी आदिले भरिएका संरक्षित सुन्दरनगरीले सुसज्जित छ हाम्रो देश । यस्ता धार्मिक–सांस्कृतिक र ऐतिहासिक धरोहरको घनत्व काठमाडौं उपत्यका र त्यसको आसपास वा वरिपरि (जसलाई अघि मध्यकालमा नेपाल मण्डल भनिन्थ्यो) अत्यधिक भएका नाताले २०७२ को विनाशकारी महाभुइँचालोले धेरै असर पनि काठमाडौं उपत्यकामा पा¥यो । भुइँचालोले अधिक प्रभाव पारेका १३ जिल्ला र त्यसभन्दा अन्य ठाउँमा समेत धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरू धेरैजसो धराशायी बनेका छन् भने कति त पूरै नष्ट भएका छन् । उपत्यकाबाहिर धेरै संख्यामा हिमाली बौद्ध गोन्पा र विभिन्न किसिमका छोर्तेन पूरै नष्ट तथा अर्धभग्न अवस्थामा पुगेका छन् । यसैगरी  मुस्ताङका ऐतिहासिक दरवार र माथाङ् रिङ्मा (मानी पर्खाल) आदिसमेत केही भुइँचालोको मारमा परेका छन् । सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वका वस्तु राखिएका संग्रहालय जस्ता धरोहरलाई पनि धेरै असर पारेको देखियो । उपत्यकाका सांस्कृतिक र ऐतिहासिक धरोहरमध्ये काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर, स्वयम्भू र बौद्ध स्तूप, चाँगुनारायणु  र पशुपति गरेर जम्मा ७ वटा त युनेस्कोले समेत विश्व सम्पदामा सूचीकृत गरिसकेको छ । यस्ता विश्व सम्पदा सूचीमा परेका धरोहरमध्ये बौद्ध महास्तूपसमेत केहीको जीर्णोद्धार र सवलीकरणको काम भएको छ।

हनुमानढोकाको वंशगोपाल, बुङमतीको मनकामना, साँखुको वज्रयोगिनी मन्दिर र नक्सालको भगवानबहालको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ । भुइँचालोपछि गरिएको सर्वेक्षण र अनुगमनका आधारमा गरिएको सूचीकरणमा जम्मा १३२ वटा यस्ता महत्वपूर्ण धार्मिक÷सांस्कृतिक र दरवार तथा अरु लौकिक प्रकृतिका धरोहरलाई भुइँचालोले गम्भीर असर पारेका र पुरै पुनर्निर्माण वा सवलीकरणसहित जीर्णोद्धार हुनुपर्ने भनेर सूचीकृत गरिएको पाइएको छ । यसो भए तापनि गहनरूपमा हेर्दै जाँदा थप ससाना त्यस्ता धरोहर उक्त सूचीमा संलग्न गर्न छुटेका पनि भेटिएका छन् र त्यस आधारमा अरु पनि धेरै फेला पार्न सकिने सम्भावना देखिएको छ । अहिलेसम्म जम्मा ४२ वटा धरोहरको पुनर्निर्माण काम जारी रहेको जानकारी पाइएको छ ।

अहिलेसम्मको सर्वेक्षण, अध्ययन र पुनर्निर्माणका दौरानमा अनेकौं कठिनाइ, कमजोरी र हाम्रो वास्तुविज्ञान, स्थानीय सामग्री आदिको विश्वसनीयता जस्ता विषयमा समेत थप जानकारीसमेत मिल्दै गएको स्थितिलाई भने सकारात्मक र विशेष मौकाका रूपमा हेर्नुपर्ने भएको छ । यस सन्दर्भमा हामीले विश्वमा विकसित प्रविधिलाई उपयोग गर्न जरुरी र सम्भावना कत्तिको हुन्छ भन्ने विषयमा पनि बुझ्न जरूरी हुन्छ । किनकि कुनै पनि प्रविधि आधुनिक विज्ञानबाहेक स्थानीय वातावरणीय परिवेशमा विकसित भएको हुन्छ र त्यस्तो कुरा युनिभर्सल नहुन पनि सक्छ । त्यस्तै गरी विश्वका सवलीकरण गरिएका कतिपय घटना विश्वसनीय प्रविधि भनेर प्रयोग भएर पनि खास भुइँचालोमा असफल सावित भएका पनि भेटिएका छन् । गत अगस्टमा इटालीमा गएको भुइँचालोमा अमाट्रिस भन्ने ठाउँको रोमोलो काप्रानिका नामको स्कुललगायतका भवन भुइँचालोले असर गर्न नसक्ने भनेर प्रमाणित गरिएका भए तापनि नेपालमा आएको भुइँचालो भन्दा बच्न नसकेको यथार्थले सम्बन्धित प्रविधि र प्राविधिकलाई समेत अचम्मित बनाएको अवस्था छ र हामीले खुरुक्कै बाहिरका प्रविधि उपयोग गर्ने कुरामा अलिक विचार गर्नुपर्ने स्थिति पनि छ।  

पुनर्निर्माण, जीर्णोद्धार वा सवलीकरणका सन्दर्भमा अहिले १९९० सालको र अरु भुइँचालोपछि पुनर्निर्माणको क्रममा भएका त्रुटि र कमजोरी सच्याउने र त्यसबेलाका आफना असल प्रविधिका कारण अहिले अड्न सकेका धरोहरका आधारमा आफ्नै प्रविधिबारे जान्ने मौकाका रूपमा समेत अहिलेको पुनर्निर्माणको जिम्मेवारीलाई लिनुपर्ने देखिएको छ । यसैगरी हामीलाई तात्कालिक परिवेशमा २०१२ सालमा बनाएको प्राचीन स्मारक संरक्षण ऐनलाई मात्र समातेर अहिलेको पुनर्निर्माणको काम अगाडि बढाउन सकिँदैन र त्यसको साथसाथै अहिले उपलब्ध प्रविधिको तुलनात्मक ज्ञान र उपयोगको सम्भावना र टिकाउको निश्चिततालाई पनि उत्तिकै महत्वका साथ हेर्नुपर्छ भन्ने उपयोगी ज्ञानको बाटो खुलेको रूपमा यस अवसरलाई लिनुपर्छ । धरोहरको मूलरूपको विशिष्टता र निश्चितता यस सन्दर्भमा सर्वाधिक महत्वको कुरा हो ।  प्रयोग हुने सामग्रीको ऐतिहासिक र सांस्कृतिकरूपले स्वीकारको निश्चितता तथा आधुनिक विज्ञानले समेत मान्यता गरेको हुनु आवश्यक हुन्छ ।

यस परिप्रेक्ष्यमा सन् १९०४ मा  मेड्रिडमा भएको सांस्कृतिक वास्तुविद्हरूको सम्मेलनमा पारित पुनर्निर्माण र जीर्णोद्धारसम्बन्धी सुझाव, १९३१ को एथेन्स सम्मेलनको निर्णय, १९३१ कै कार्टा डेल रेस्टाउरो इतालियानो नामक इटालियन कन्भेन्सन रिपोर्ट, १९३३ को एथेन्स चार्टर र १९६४ को भेनिस चार्टर जस्ता दस्तावेजको अध्ययनले थप उपयोगी ज्ञान दिन सक्छ  र यस आधारमा विश्व सम्पदा सूचीका धरोहरको सन्दर्भमा अन्तर्राष्ट्रिय चलनको स्वीकार्यता जस्ता कुरामा अलिक सजिलो पनि हुन सक्छ । यस सन्दर्भमा धरोहर संरक्षण, पुनर्निर्माण, जीर्णोद्धार तथा सवलीकरणका काममा सर्वस्वीकार्य नैतिकतालाई समेत ध्यान पु¥याउनु आवश्यक हुन्छ । यस्ता कुरामा अनुभव र अध्ययनका आधारमा तयार परिएका युनेस्कोका ‘आवर आर्किटेक्चरल हेरिटेज फर कन्सस्नेस टु कन्जरभेसन’ जस्ता कृतिले थप र सकारात्मक सहयोग अवश्य पु¥याउँछन् । यस्ता कृतिमा सांस्कृतिक÷ऐतिहासिक सम्पदाको संरक्षण, सम्बद्र्धन, जीर्णोद्धार आदि र संरक्षणप्रतिको धारणा र दृष्टिकोणका विषयमा सैद्धान्तिक, अनुसन्धानात्मक तथा अनुभव र विश्लेषणका आधारमा उल्लेख भएको पाइन्छ ।  यस्तो पुनर्निर्माणको काम गर्दा धेरै स्मारक वा स्थिर (इन्ट्यान्जिवल) र त्यस्ता स्मारक वा धरोहरसँग जोडिएका विधि व्यवहार, चालचलन, जात्रापर्व जस्ता धार्मिक÷सामाजिक धरोहररूपका संस्कृति (ट्यान्जिवल कल्चर) का विषयमा र निर्माण सामग्री, स्मारकको वरिपरी वा स्मारकसँगै भएका वा जडिएका कलाकौशलसँग सम्बन्धित वस्तुहरुको जगेर्ना र सुरक्षाको विषय पनि महत्वपूर्ण हुन्छ ।  नवनिर्माणको आवश्यकता भए मूल रूपको नयाँ ठाउँमा हुबहु आकृति बनाउने सिप र प्रविधिको विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ । एउटा ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा पुनर्निर्माण, सवलीकरण वा जीर्णोंद्धारको काम गर्दा कुनै पनि स्मारकको ऐतिहासिक भौतिक मूल रूप र सम्बन्धित प्राविधिक तथा भौतिक सामग्रीतर्फ मात्र एकोहोरो दृष्टि नदिएर अभौतिक अर्थात् त्यससँग सम्बन्धित चालचलनका संस्कृतितर्फ पनि ध्यान पु¥याउनुपर्छ ।

भुइँचालोको क्षतिको गहन सर्वेक्षण, स्मारकलाई स्थिर बनाउने काम भक्ष्सकेपछि वास्तविक सवलीकरणको काम गर्नु पुनर्निर्माणका क्रमको सर्वव्यापी चलन हो भन्नेमा ध्यान जानु जरुरी हुन्छ । पुनर्निर्माणका क्रममा स्मारकसँग सम्बन्धित कलाकौशल, धार्मिक वा लौकिक वस्तुको विश्वसनीयताका साथ जगेर्ना गर्नु पुनर्निर्माणका जिम्मेवार अधिकारी तथा प्राविधिकहरुको जिम्मेवारी हो । सांस्कृतिक र ऐतिहासिक स्मारकको पुनर्निर्माणको काम अवश्य सजिलो र कम जोखिमको हुँदैन । यसमा सम्बन्धित सरकारी संस्था, अधिकारी, स्थानीय परम्परागत संस्था, अधिकारी वा जिम्मेवार व्यक्ति, स्थानीय राजनीतिक र सामाजिक कार्यकर्ता, गैरसाक्षरता सरकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था, पुनर्निर्माण प्राधिकरणका अधिकारी, कर्मचारी र प्राविधिक तथा वास्तविक कामको जिम्मेवार व्यक्ति तथा संस्थाबीच समन्वय अवश्यक हुन्छ । 

कहिलेकाहीँ भने ‘खरानीबाट टोकियोको निर्माण’ भएको इतिहास जस्तै विशेष शहरी योजना बनाएर पनि स्थानीय परम्परा र संस्कृतिलाई नवनिर्माण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्न पनि सकिन्छ जुन काममा युग परिवर्तन र आवश्यक प्रविधिको विकाससँग समन्वय गर्दै आफना परम्परा जोगाउँदै स्थायित्व दिन सकिन्छ । सन् १९२३ को जापानको कान्ये भुइँचालोपछिको ६ वर्षे टोकियो पुनर्निर्माणको इतिहास जस्तो पुनर्निर्माणको परम्परा हामीले सोचेको अभियानमा परेको छैन ।  खासमा यो परम्परा सहरी विकासको आधुनिक वैकल्पिक धारणा हो । यसमा पनि मठमन्दिर, बिहार, गोम्पा, पौवा, धर्मशाला, धारा, डवली, दरवार, किल्ला जस्ता सबैलाई समन्वयात्मक र शृंगारपूर्ण ढंगले समावेश गर्न नसकिने होइन तर यो पुरातात्विक पाटोबाट भने यो त्यति स्वीकार्य होइन । नयाँ ठाउँमा प्रतिकृति बनाएर राख्ने पद्धति पनि विश्वमा अपनाइएका उदाहरण हुन् । तर परम्पराको जगेर्ना र निरन्तरता तथा मानवीय विकासको वैकल्पिक बाटोमात्र हो यो । यसो हुँदा पुराना भत्किएका तथा प्रभावित ठाउँ र बस्तीलाई सफाइ र संरक्षण गरी पर्यटन र इतिहासको अवलोकन र बुझाइको स्रोतका रूपमा यसै छाड्ने हो । यसले स्वाभावतः ‘ट्यान्जिवल’ पक्षलाई त्यति आत्मसात गर्न सकेको हुँदैन ।   

पुराना स्मारक तथा धरोहरको पुनर्निर्माण, जीर्णोद्धार, सवलीकरण र सम्बद्र्धनको इतिहासमा किल्ला, प्राचीन ऐतिहासिक र पुरातात्विक मठ, चर्च, किल्ला पर्खालले घेरिएका सहर, घन्टाघर, संग्रहालय, अभिलेखालय जस्ता स्मारक तथा धरोहरसहितका झन्डैझन्डै हाम्रो जस्तै अवस्था मन्टेनेग्रोको पनि एउटा भएको कुरा यस सन्दर्भमा स्मरण गर्न र अध्ययनका निम्ति उदाहरणका रूपमा लिन सकिन्छ । हाम्रो यहाँ आठौँ शताब्दीको काष्ठमण्डप, अठारौँ शताब्दीको कुमारी, पन्ध्रौं शताब्दीको तलेजु, जगन्नाथ, त्रैलोक्यमोहन, माजुदेव, नारायण, सत्रौं शताब्दीको च्यासिङ देग (कृष्ण मन्दिर), १८३२ को धरहरा जस्ता धार्मिक स्मारक पूरै भत्किएका र बीसौं शताब्दीको सिंहदरवार, सत्रौं शताब्दीको काकेश्वर, सत्रौँ श्ताब्दीकै प्रताप मल्लको शीलास्तम्भ, शिवपार्वती मन्दिर, अठारौँ शताब्दीको वसन्तपुरको ९ तले दरवार, उन्नाइसौं शताब्दीको गद्धी बैठक आदि पनि धेरै नै क्षतिग्रस्त भएका छन् । 

पुनर्निर्माण र सम्भावित भ्रष्टाचारको विषय पनि यस सन्दर्भमा उल्लेख्य विषय रहेछ भन्ने जानकारी पनि हालैका विश्व घटनाले हामीलाई दिएको छ । त्यसैले यस्ता भुइँचालोपछिको पुनर्निर्माणका काममा विशेष निगरानीका विश्व उदाहरण पनि यहाँ स्मरणीय छन् । गत अगस्तको इटाली भुइँचालोपछिको पुनर्निर्माणमा देखिएका सरकारका तदारुकता र सम्भावित भ्रष्टाचारमा पहिले नै रोकिएका उदाहरण हामीलाई पनि अझै उपयोगी हुन सक्छ । त्यहाँ भ्रष्टाचार निवारण एजेन्सीका प्रतिनिधिलाई पुनर्निर्माण अभियान र कार्यक्रमअन्तर्गत साथै राखिएको छ र सरकारले भूकम्पपीडितलाई निश्चितरूपमा शतप्रतिशत भुक्तानीको आदर्श उदाहरणसमेत प्रस्तुत गरेको छ । हामीलाई पनि यस्ता अनुभव उपयोगी हुन सक्छन् ।  

९० सालको भुइँचालोमा अज्ञानताका कारण तथा शासन सञ्चालकका हचुवा आदेशको भरमा छिटो व्यवस्थित गर्ने भनेर छोपिएका, मूल रूप फेरेर पुनर्निर्माण वा सवलीकरण गरिएका भनिएका, कमजोर र अस्वीकार्य प्रविधि र हत्पतमा निर्माण, पुनर्निर्माण र संरक्षण गरिएका धरोहरको समेत व्यापक र गहन अध्ययन गरी हाम्रा आफ्नै परम्परागत वास्तविक प्रविधिअनुरूप पुनः मूलरूपमा बनाई संरक्षित गर्ने योजना अहिले हाम्रो हुनुपर्छ । त्यतिबेला बिग्रिएका, भत्किएका र मूल रूप फेरिएका तर हाल यस पल्टको भुइँचालोमा असर नपरेका धरोहरलाई पनि अहिलेकै अभियानअन्तर्गत मूल रूपमै पुननिर्मित वा सवलीकरण गर्ने यो राम्रो अवसर र बुद्धिमानी हुने देखिएको छ । भरसक रेट्रोफिटिङ वा सवलीकरणको काममा आधुनिक सामग्री (सिमेन्ट, फलाम आदि) उपयोग नगरी काठ ढुंगाको नै प्रयोग हुनु स्थानीय परम्पराको जगेर्ना र संरक्षणका निम्ति असल बाटो हो भन्नेमा हामी संवेदनशील हुनु जरुरी छ । भक्तपुरका न्यातपोल, पचपन्नझ्याले दरवार जस्ता भुइँचालोअघि नै हाम्रै परम्पराअनुरूप सम्बर्धन र जीर्णोद्धार गरिएका स्मारक यथास्थितिमा बच्नु भनेको हाम्रो वास्तु पद्धतिका सवल पक्ष हुन् र जीर्णोद्धारका ९० सालमा अपनाइएका र अहिले भइरहेका कतिपय प्रक्रिया पनि त्रुटिपूर्ण रहेछन् भन्ने अब छर्लंग भइसकेको छ ।  युरोपमुखी शैलीका राणाकालिक दरवार निर्माणको वास्तु निर्माण प्रविधि र धरहराको अघिको निर्माण, पुनर्निर्माण र सवलीकरण पनि कमजोर भएको कुरा अहिले राम्रैसँग स्पष्ट भएको छ । यस्ता धरोहरलाई अब निकै मेहनतसाथ नयाँ पद्धतिले सवलीकरण र नेपाली प्राचीन र मल्लकालिक शैलीलाई पूर्ण नेपाली पद्धति र शैलीले ध्यानपूर्वक सवलीकरण, जीर्णोद्धार तथा पुनर्निर्माण हुनु हाम्रा निम्ति बुद्धिमतापूर्ण बाटो हुनेछ । हतपत र भ्रष्ट प्रवृत्तिका कारण सिमेन्ट मिसाइएका, बियरका सिसी आदि अनेक फोहोरसमेत जगमा राखेर छोपिएका डरलाग्दा उदाहरण पनि अहिले भेटिएका समाचार आइरहेको अत्यन्त दुखद् पक्षले हामीलाई आगामी दिनमा धरोहरप्रति थप संवेदनशील र निर्माणमा अनुशासित बन्न चेतावनी दिइरहेको छ।

त्यसैले हाम्रा सम्पदा पुनर्निर्माण र सम्बद्र्धनको अभियानमा मानवीय संरक्षण र सुरक्षालाई जत्तिकै महत्व दिएर काम गर्न इतिहास, पुरातत्व र परम्परागत संस्कृतिको उच्च तालिम प्राप्त, राष्ट्रिय÷अन्तर्राष्ट्रिय अनुभव तथा राजनीतिक सामाजिक क्षेत्र र देशीविदेशी विशेषज्ञ र सम्बन्धित क्षेत्रसँग आत्मविश्वाससाथ समन्वय गर्न सक्ने र उच्च योग्यता हासिल गरेका विशेषज्ञको प्रत्यक्ष र क्रियाशील समन्वय र सुपरीवेक्षणमा प्राधिकरणले स्मारक र धरोहरको पुनर्निर्माणको काम गराउन सक्नुपर्छ । स्मरणीय छ, यो काम राष्ट्रको आत्माको रक्षा र संबद्र्धनको हो र यसले राष्ट्र निर्माण, राष्ट्रियता र आर्थिक तथा सामाजिक उत्थानका निम्ति आधारशीलाको भूमिका निर्वाह गरेको हुन्छ।

प्रकाशित: २४ माघ २०७३ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App