१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अबु मियाको चौकीदारी

वचन र श्रवणभन्दा ठूलो कुरा मनन हो। मनन भनेको इमानदारी पनि हो। भारतीय चलचित्र 'मिर्च मसाला'मा खुर्सानी पिँध्ने कारखानाको मुसलमान चौकीदार अबु मियाका लागि ज्यानभन्दा ठूलो कुरा कारखानाको सुरक्षा हो। एक प्रसंगमा ऊ भन्छ, 'म यस कारखानाको चौकीदार हुँ। चौकीदारीको अर्थ निर्जीव घर र सामानको मात्र चौकीदारी होइन, कामदारको पनि चौकीदारी हो।'

केतन मेहता निर्देशित सिनेमाको कथा बृटिस इन्डिया कालमा गाउँगाउँमा 'लगान' उठाउने सुवेदारको अत्याचारविरुद्ध घुम्छ। ऊ गाउँका युवतीमाथि रोजीछाडी 'अत्याचार' गर्छ। मुखिया, पुजारी र अरु थुप्रै ताबेदार यसमा सहयोगी भूमिका खेल्छन्। सोनबाई नामकी युवती समाजमा आफूमाथि खुलेआम हातपात गर्न खोज्ने सुवेदारविरुद्ध प्रतिकार गर्छे र गाउँकै खुर्सानी पिँध्ने कारखानामा शरण लिन पुग्छे। वृद्ध चौकीदार अबु मिया कारखानाको मूल ढोका बन्द गरेर उसलाई सुरक्षा दिन्छ। मुन्सी, पुजारी, व्यापारी, कारखाना मालिक र गाउँका सम्पूर्ण पुरुष सोनबाईलाई सुम्पन चौकीदारलाई दबाब दिन्छन्। मुन्सीकी पत्नीको नेतृत्वमा उठेका महिला र गान्धीवादी शिक्षकको प्रतिकारलाई नराम्ररी दबाइन्छ। सोनबाईलाई सुम्पन कारखानाकै महिला चौकीदारलाई दबाब दिन्छन्। तर, वृद्ध चौकीदार आफ्नै शरीरभरि गोली थापेर पनि सोनबाई र कारखानाका कामदारलाई सुरक्षा दिन्छ।

ओम पुरीले ती सर्वसाधारण, गरिब र अभागी जनको संघर्षलाई जीवन्तता दिएका थिए जसका लागि विद्रोह र लडाइँ निर्विकल्प उपाय हुन्थ्यो।

गएको हप्ता नेपाली नाटकका सम्मानित वृद्ध कलाकार विष्णुभक्त खनाल र यो हप्ता भारतका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेता ओम पुरीको निधन भयो। 'यज्ञवल्क्य' नाटकमा मिथिला नरेश जनकको भूमिका गर्दागदर्ैै हृदयाघातबाट बितेका खनालको निधनले नेपाली दर्शक जति शोकसन्तप्त भए, ओम पुरीको निधनले पनि उनीहरू उत्तिकै संवेदित भए। ओम पुरी 'मिर्च मसाला' मा चौकीदारको भूमिका खेल्ने तिनै अनुपम अभिनेता थिए जसलाई नेपाली दर्शकले कहिल्यै भारतीय राष्ट्रियतामा सीमित राखेनन्। समानान्तर सिनेमाका संवेदनशील यी अभिनेता सिनेमालाई व्यापक सामाजिक, आर्थिक र उत्पादन सम्बन्धलाई उजागर गर्ने कलाको उत्कृष्ट माध्यम ठान्थे। त्यसै उनले गम्भीर दर्शकको मनमनमा डेरा जमाउन सकेका होइनन्।

अनुहार नै सब थोक मानिँदो हो त ओम पुरी प्रचलित नायकको फ्रेमभित्र अट्न सक्दैनथे। नायकको अनुहारमा हुनुपर्ने चकलेटीपन, आकर्षक जिउडाल, मोहनीमय अन्दाज उनको अनुहारमा पूरै गयल थिए। उनको अनुहारमा यति धेरै खत थिए कि कुनै दिन बिहारका तत्कालीन मुख्य मन्त्री लालु यादवले खाल्डैखाल्डा भएको बिहारी सडकलाई उनको गालासँग तुलना गरेका थिए। तिनै यादवले भविष्यमा बिहारी सडकलाई हेमा मालिनीको गालाजस्तो चिल्लो बनाइदिने भाषण दिएर यसलाई एउटा अतिचर्चित कहावत बनाइदिएका थिए। ओम पुरी सिनेमा खेल्न आएका हुन् भन्ने थाहा पाउँदा कुनै दिन उनको अनुहार हेरेर अधिकांश फिल्मकर्मीले उपेक्षा गरेका थिए। कहाँसम्म भने शबाना आजमीजस्ती उत्कृष्ट अभिनेत्रीले समेत उनलाई हेरेर नाक खुम्च्याएकी थिइन् रे। तर, अनुहारको बुनोट उति आकर्षक नभएका यिनै भइदिए अत्यन्त सम्मानित कलाकार। सिनेमामा उनी सर्वसाधारण जनताको हृदयको दर्दलाई हुबहु उतार्थे। ओम पुरीले ती सर्वसाधारण, गरिब र अभागी जनको संघर्षलाई जीवन्तता दिएका थिए जसका लागि विद्रोह र लडाइँ निर्विकल्प उपाय हुन्थ्यो। सायद त्यसैले, उनलाई सिनेमा खेलाउने पनि साधारण निर्देशक होइन, श्याम बेनेगल, गोविन्द निहलानी, केतन मेहतालगायत अन्तर्राष्ट्रिय स्तरका निर्देशक हुन्थे।

निहलानीको 'अर्ध सत्य' उनका सबैभन्दा प्रसिद्ध सिनेमामध्ये एक हो। यसको पटकथा पढेपछि भारतका तत्कालीन सुपरस्टार अमिताभ वच्चनले खेल्न अस्वीकार गरेका थिए रे। त्यही घटना ओम पुरीका लागि सौभाग्य भइदियो। प्रचलित सूत्रविरुद्ध यथार्थवादी भइकन पनि सिनेमा व्यावसायिकरूपले सफल भयो। अमिताभले खेलेको भए कताकता यो अर्को 'जन्जिर' भइदिन्थ्यो होला। ओम पुरीले यसलाई अविस्मरणीय बनाइदिए। पोख्त अभिनेत्री स्मिता पाटिलको अभिनयले त्यसमा रौनक थप्यो। यसले क्रूर व्यवस्थाले इमानदार प्रहरी अफिसरलाई कसरी 'नपुंशक' बनाइदिन्छ भन्ने मार्मिक कथा भन्छ। सांस्कृतिक र राजनीतिकरूपले नै भ्रष्ट मानिसको पकडमा सत्ता रहेका बेला हरेक क्षेत्रमा भ्रष्टहरूकै पहुँच हुन्छ। अन्ततः निराशा र आक्रोशको पल्लो फालमा पुगेर ऊ भ्रष्ट नेताको हत्या गर्छ।

ओम पुरीको अर्को बिर्सनै नसकिने सिनेमा हो 'आक्रोश'। गोविन्द निहलानीले निर्देशन गरेको यो सिनेमा भारतीय आदिवासी जनजातिको सीमान्त त्रासदी हो। आदिवासी अभागी युवकको भूमिकामा सिनेमाभरि ओम पुरी लगभग मौन रहन्छन्। तर, पूरै सिनेमा उनकै वरिपरि घुम्छ। गाउँका ठालुहरू युवककी सुन्दरी पत्नीको बलात्कारपछि हत्या गर्छन् र हत्याको आरोपमा उसैलाई थुनाइदिन्छन्। उसको वृद्ध बाबु र किशोरी बहिनी दिन बिताएर जंगलैजंगल उसलाई भेट्न आउँछन्। सिनेमामा त्यो घटना अत्यन्त कहालीलाग्दो छ जब बाबुको दाहसंस्कार गर्दागर्दै बन्चरोले प्रहार गरेर ऊ बहिनीको हत्या गर्छ। उसको यो कृत्य जति आपराधिक लागे पनि तर्कविहीन भने छैन। बाबुको मृत्युपछि गाउँका ठालुले किशोरी बहिनीलाई बलात्कार गरेर किस्ताकिस्तामा हत्या गर्नुभन्दा ऊ एकैपल्ट बहिनीको जीवन समापन हुनु उचित ठान्छ।

 सन् १९८७ मा हवाई फिल्म उत्सवमा उत्कृष्ट चलचित्र घोषित 'मिर्च मसाला' मा त चौकीदार अबु मिया शत्रुको गोली शरीरभरि थापेर पनि कारखानाका महिलालाई सुरक्षा दिन्छ। असली अर्थमा, कुनै पनि देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, प्रशासक, बुद्धिजीवी देशका चौकीदार हुन्। तिनले ऐन–मौकामा देश र देशवासीको सुरक्षा गर्न सक्नुपर्छ। हाम्रो सन्दर्भमा ती असली चौकीदार कहिल्यै हुन सकेनन्। बरु कति अर्थमा 'मिर्च मसाला' चलचित्रका 'मुन्सी' वा 'सुवेदार'कै भूमिकामा पो देखिए। २०४६ मा प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्म हेर्ने हो राजनीतिक परिवर्तन र स्वतन्त्रताबाहेक जनजीवनमा देखिनेखालको उल्लेख्य परिवर्तन भएको देखिएन। हरेक क्षेत्रमा अतिराजनीतीकरणले शैक्षिक, प्राज्ञिकलगायत सबै संस्था एवं संकाय  पञ्चायतकालभन्दा गए/गुज्रेको अवस्थामा छन्। कहिलेकाहीँ त यो खेल रुसी उपन्यासकार येनायेभको 'म्याड हाउस' जस्तै लाग्छ जहाँ सम्पादकको ठाउँमा बगरे पुग्छ र बगरेको काम सम्पादकले गर्छ। वैज्ञानिकहरू हिलो मुछिरहेका हुन्छन् र ज्यामीहरू वैज्ञानिक संस्थाको हाकिम बनाइन्छन्। जहाँ जो हुनपर्ने हो, त्यहाँ त्यो मान्छे भयो कि पागलखानाको रीत खलबलिन्छ। राजनीतिक भागबन्डाले के हाम्रो देश यस्तै भइरहेको छैन? यही परिस्थितिको अन्त्य गर्न सकिएला र आफ्नो राज्यका निकायहरूमा सुहाउँदा मान्छेलाई पठाउन पाइएला भनेर संघीयताको अवधारणा आएको हो। तर, निर्णायक शक्तिमा भएका पार्टीहरूले त्यसलाई सधैँ निमोठ्ने काममात्र गरिरहेका छन्। राजनीतिक इमानदारी भए सायद यो ठूलो समस्या होइन। अबु मियाको चरित्रबाट हाम्रा नेताले इमानदारी सिकून्!

प्रकाशित: २९ पुस २०७३ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App