८ वैशाख २०८१ शनिबार
विचार

बालबालिकाको आँखा क्यान्सर

रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने एक प्रकारको आँखा क्यान्सर हो । यो प्रायः नवजात शिशुु तथा २ वर्षमुुनिका बालबालिकामा देखिन्छ । २० हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । हाल तिलगंगा आँखा प्रतिष्ठानमा मात्र यस रोग लागेका सरदर नयाँ बिरामी २० देखि ३० प्रतिशतसम्म आउने गरेका छन् भने त्यसमध्ये ६० देखि ७० प्रतिशत बिरामीचाहिँ यसकै कारण आँखा नै निकाल्नुपर्ने गम्भीर अवस्थामा हुने गरेका छन् ।

यो रोग समयमै पत्ता नलागी उपचार नभएमा बालबालिकाको दृष्टि गुम्नुुका साथै शरीरको अन्य अङ्गमा फैलिएर ज्यानसमेत जान सक्छ । तर प्रारम्भिक अवस्थामा नै पत्ता लगाई उपचार गरेमा समाधान हुन सक्छ ।

रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु  हो । यस्तो लक्षण देखिए तापनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारका लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु यसका अन्य लक्षण हुन् ।

कतिपय बालबालिकामा यी माथिका लक्षण नदेखिन पनि सक्छ । यस्तो हुँदा पनि उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्यरूपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ ।

हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकालाई भाग्यमानी ठान्ने चलन छ । र, यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन । कतिपय मानिसले भने यी लक्षणका जटिलता बुझेका हँुदैनन् । कतिपय अस्पताल जानमा ढिलाई गर्छन् । यिनै कारणले गर्दा यो रोग लागेका बालबालिकालाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।  विकसित देशमा यस रोगबाट प्रभावित बालबालिकाको मृत्युदर ३ प्रतिशतमात्र भए पनि विकासोन्मूख देशमा अस्पताल लान ढिलो भएकै कारण यो प्रतिशत ३५ सम्म पुगेको देखिन्छ ।

यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटामात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग हुन सक्ने भएकाले सबैले जाँच गराउनुपर्छ ।

यो रोग प्रारम्भिक अवस्थामै पत्ता लागेमा आँखा तथा दृष्टिलाई ठूलो हानि नहुने गरी लेजर जस्ता साधारण प्रक्रियाद्वारा उपचार गर्न सकिन्छ भने ढिलो भएमा ज्यान जोगाउनका निम्ति आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र हड्डी निकाल्ने जटिल शल्यक्रिया गर्नुपर्ने हुन्छ । तिलगंगा आँखा प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डीसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारणमध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ । लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी र रेडियोथेरापी पनि रोगका प्रमुख उपचार पद्धतिमा पर्छन् ।

प्रकाशित: २९ मंसिर २०७३ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App