२४ असार २०७७ बुधबार
विचार

सम्पदाको सौन्दर्य

गोविन्द न्यौपाने

सम्पदा सभ्यताका परिचायक हुन्।  हामीले साधारण ठान्ने गरेका हाम्रा सम्पदाले आश्चर्यजनक शैलीबाट इतिहास र संस्कृतिको सम्झना गराइरहेका हुन्छन्। साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन्। यस्ता सभ्यताका धरोहर हाम्रोमात्र नभएर समग्र विश्व सभ्यताकै अमूल्य निधि बन्न पुगेका छन्। काष्ठकलाका साथसाथै हाम्रा पुर्खाले पाषाण (प्रस्तर) मा कपेका कलाकारिता र खोपेका अभिलेख पक्कै पनि हाम्रा लागि गौरवपूर्ण इतिहास बनेका छन्। छिना र बसिलाको सहायताले पाषाणशीलामा जीवन्त दार्शनिकता भर्नु अहिले पनि हाम्रा लागि कल्पनाभन्दा बाहिरका विषय हुन् भन्न्ाु अत्योक्ति नहोला। तर आकास चुम्दै गरेका तले मन्दिरका गजुर, स्तूपाका त्रयोदश भुवन र शिखर शैलीका मन्दिरका शिखरहरुले यहाँको धार्मिकता, दार्शनिकता र सांस्कृतिक चेतनाको सौन्दर्य अभिव्यक्त गरिरहेका छन्। साथै सभ्यताका सर्जक र स्रष्टाहरुको अनन्त साधना अनि धैर्यलाई समेत बोधार्थ गरिरहेका छन्।

हाम्रो देशको प्राचीन शहर र राज्य स्थापनाको आदि कारणमा धार्मिक र पौराणिक आख्यानसमेत गाँसिएर आएका छन्। शास्त्रीय र वास्तुदर्शनको आधारबाट निर्मित प्राचीन शहरहरु एकप्रकारले तान्त्रिक साधनाका मण्डलाकार अवधारणमा आविर्भाव भएको मानिन्छ। वैदिक दर्शन र तान्त्रिक विश्वास अनि यसको अभ्यासले समेत सम्पदाको संरचनामा प्रभावकारी भूमिका खेल्यो। आध्यात्मिक र धार्मिक दृष्टिकोणबाट अध्ययन गर्दा  हाम्रा सम्पदामा सांकेतिकरूपमा सम्पूर्ण विश्व ब्रह्माण्डलाई नै अभिव्यक्त गरिएको हुन्छ। एउटै मन्दिरमा धर्म र दर्शनको समग्रतालाई अभिव्यक्त गर्न सक्ने हाम्रा अग्रज स्रष्टाहरुको सिर्जनालाई कुनै पनि कोणबाट अवमूल्यन गर्न मिल्दैन। कलाप्रेमी र  संस्कृति पुजारीका साधनारत हस्तशिल्पीहरुले यसै दर्शनको उजागर गरेका छन्।

हाम्रा सम्पदा सनातन वैदिक र बौद्ध धर्म र दर्शनका प्रतिकात्मक चिन्तनका अभिव्यक्ति हुन्। साथसाथै यहाँको प्रकृतिपूजक जाति र तिनका चेतनाले समेत यहाँको सम्पदाको संरचनामा विशेष योगदान दिएको पाइन्छ। खस आर्य र मंगोलियन मूलका भनी स्वीकार गरिएका यहाँका आदिवासी र  जनजातिबीचको धार्मिक समन्वयबाट वाग्मती सभ्यताले निश्चित आकार ग्रहण गर्‍यो। यस प्रकारको सांस्कृतिक ऐकीभावको भावार्थ हाम्रा सम्पदामा अभिव्यक्त भएकै छन्। त्यसो त सम्पदाहरुमा मात्र होइन कि यहाँका कथा, लोककथा, अनुश्रुति, आदिम विश्वास र आख्यानहरुमा समेत आफ्ना जातजातिको गौरवपूर्ण इतिहास र विशेष गरी हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित समन्वयात्मक दर्शनलाई व्यक्त गर्ने किंवदन्तीहरु यद्यपि सुन्न्ा पाइन्छन। काठमाडौं उपत्यकाको उत्पत्तिसम्बन्धी अनुश्रुति होस् या विरुपाक्षको कथा होस् या यहाँका अनेकौं सम्पदाको पृष्ठभूमिमा हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित मिश्रित मिथकीय गाथाहरुको संष्लेषण पाइन्छ। यस्ता मिथकीय आख्यान्न्ाहरुको ठोस विश्लेषणबाट समेत सम्पदाहरुको अन्वेषण गर्न सकिन्छ।

ऊर्वरा भूमि, सन्तुलित वातावरण र सुरक्षात्मक पहाडी किल्ल्ााले समेत काठमाडौं सभ्यताको निर्माणमा विशेष योगदान दिएको मानिन्छ। यहीँका रैथाने आदिवासी र बसाइँ सरी आउने आगन्तुकबीचको सहिष्णु सांस्कृतिक सम्बन्धले समेत यहाँको सम्पदाको सिर्जनामा समन्वयात्मक दर्शनको छाप पर्‍यो भने विशेष किसिमको वातावरणीय, पर्‍यावरणीय अनुकूलनले खास किसिमको वास्तुदर्शनलाई आकार दियो। अझ यहाँको लिखित इतिहास सुरु हुनुभन्दा पहिलेको सभ्यताको सम्झना गराउने प्रागैतिहासिक प्रमाणहरु प्राप्त भएका छन्। नेपालको हिमाली भेग, तराई र पहाडका केही ठाउँमा प्रागैतिहासिक संस्कृतिका केही उपकरण प्राप्त भएको अन्वेषक बताउँछन्। मिथकीय अनुश्रुतीहरुमा जनक सभ्यताको स्वर्णिम अध्यायको कल्पना गर्न सकिन्छ भने अर्कोतिर लुम्बिनी र कपिलवस्तु जस्ता पुरातात्विक क्षेत्रहरुमा बौद्धकालीन सभ्यताको साथसाथै यसभन्दा पहिले १३ औं शताब्दी ईशापूर्वका मानव सभ्यताको पाइला परेको तथ्य अन्वेषकहरुले उल्लेख गरेका छन्। बुटवलस्थित तिनाउ खोलाको किनारामा प्राप्त रामापिथेकसको अवशेषको प्राप्तिले समेत मानव सभ्यताको प्रागैतिहासिक सभ्यता उजागर गरेको छ।

प्रकाशित: ९ मंसिर २०७३ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App