८ वैशाख २०८१ शनिबार
विचार

प्रधानमन्त्री र सहयोगीका नाउँमा

कानुन र विवेकको संयोजन भएन भने शासन अराजक वा निरंकुश हुन पुग्छ । सुशासनका लागि कानुनअनुसार चल्ने र विवेकलाई आवश्यकताका आधारमा प्रयोग गर्न सक्ने सामथ्र्यविहीन शासक समय खेर फाल्न पर्याप्त हुन्छ । यतिखेर पुष्पकमल दाहाल र उनका सहयोगीहरू समय खेर फाल्नमा मात्र आफ्नो क्षमताको उपयोग गरिरहेको आभास हुँदैछ । मानिसका केही गुनासा छन्, जसलाई म आफ्नो कलममार्फत् नागरिक राष्ट्रिय दैनिकमा उल्लेख गर्ने प्रयास गरिरहेको छु ।

सबै नेपालीले परिवर्तनमा धेरथोर योगदान गरेका छन् । तर, जसले कुनै योगदान गरेका छेैनन्, तिनले सत्ताका सबै सुविधाको उपभोग गर्ने अनि जसले योगदान गरेका छन् ती तिरष्कृत हुनुपर्ने किन ?  

प्रधानमन्त्रीज्यू ! तपाईं र तपाईंका सहयोगीहरूले सरकारको नेतृत्व लिएको अब चार महिना पुग्दैछ । तर, यी चार महिनामा के काम भयो ? यो प्रश्न सोध्नैपर्ने भएको छ । सरकारका सय दिनको विवरण औपचारिकता पूरा गर्नेबाहेक अरु केही पनि थिएन । यो पटकको आश्चर्यजनक परिणाम देशले एक महिनायता लोडसेडिङको मार सहनुपरेको छैन । यो जलस्रोतमा समृद्ध राष्ट्रका लागि आठौँ आश्चर्य भएको छ । नक्कली राष्ट्रवादको नाराले पैदा गर्ने अन्धकार स्थायीरूपमा हट्ने हो कि केही दिनको सन्तोष हो यसै भन्न सकिँदैन । योबाहेक सरकारलाई श्रेय दिने कुनै काम हुनसकेको देखिएको छैन ।

आमनागरिक सत्ताशिखरको पहुँचबाहिर छन् । सामान्य मानिसका लागि सत्ता एक अद्भूत अवधूतजस्तो छ । बाहिर नांगो भए पनि भित्र अनेक रहस्यका पर्दाले छपक्क भएको हुन्छ । देखिएको जस्तो अवधूतको निजी जीवन अन्तर्यमा फरक हुने गर्छ । यो सरकार अरु सरकारभन्दा कुन अर्थमा फरक छ भन्ने देखाउन नसकेको अवस्थामा परम्परागत अवधूतीय अवतारबाहेक सरकार केही पनि होइन भन्ने परेको छ । हिजो नेकपा एमाले नेतृत्वको सरकार थियो । त्यसका प्रधानमन्त्री लोकप्रिय त्यसबेलासम्म थिए जतिबेला उनी पार्टीको नेता थिए । केही अप्ठेराको सामना गर्दै र राष्ट्रवादको पारो चढाउँदै गर्दाका समयमा उनले सम्मान नपाएका होइनन् । तर, उनको देवत्वकरण गर्ने कुण्डलीले यसरी घेराबन्दी ग¥यो कि उनको स्तुति गाउन नचाहनेहरू, आफ्नै दलका पनि थोरै असहमत हुनेहरूले उनीसमक्ष आफ्ना सुझाव दिन चाहेर पनि पाएनन् ।

सरकार प्रमुखको कुरा त परै रह्यो एमालेमा ओलीनिकट रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत कुण्डलीको साँघुरो वृत्तको महादेवी बनाउने काम भएको छ । ठीक यही शैलीमा अहिलेका प्रधानमन्त्रीदेखि धेरै मन्त्रीले आफूलाई विष्णुको अवतारजस्तो सम्झन लागेको देखिन्छ । आमनागरिकले सम्पर्क गर्न खोज्दा मन्त्रीका निजी सचिवहरूको फोन उठ्दैन, उठे पनि कामदारलाई जस्तो गरी सामन्ती शैलीमा हप्काइन्छ वा उपेक्षा गरिन्छ । सीधै मन्त्रीहरूका फोन नउठ्ने र उठे पनि समयका लागि सहायकसँग सम्पर्क गर्नैपर्ने बाध्यता छ । तर, माफियाका सरदारहरू, पैसावालहरूले नियमित सत्तावृत्तको परिक्रमा गर्न सजिलै पाइरहेको सुनिन्छ । यो पंक्तिकारसँग एकजना वरिष्ठ प्राज्ञको गुनासो थियोः फोन गर्दा उठेन, एसएमएस गरी सूचित गर्दा र पुनः फोन सम्पर्क गर्दा पनि कुनै रेस्पोन्स भएन । न फोनको प्रत्युत्तर आयो न सन्देशको । एक प्राज्ञिकको अवस्था यस्तो छ भने आमनागरिकको अवस्था कस्तो होला ? सत्ता भनेको जनताभन्दा फरक विषय हो ? मन्त्री वा उनीहरूका सहायक देश र जनताभन्दा माथि हुन् ? प्रधानमन्त्रीज्यू तपाईंका धेरै सहयोगीलाई जनता र देशभन्दा आफू निकै माथि रहेको भन्ने भान छ । यो भ्रमलाई तपाईं टुटाउने क्षमता राख्नु हुन्छ ? तपाईंका सहयोगीहरूले आफूलाई देश र जनताभन्दा तल भएको बोध गराउन सक्नु हुन्छ ? तपार्इं स्वयं पनि आमनागरिकसँग निकट छु भन्नेमा विश्वस्त हुनुहुन्छ ? अहिले उपचार खर्चको मुद्दामा देशको मथिंगल हल्लिएको छ । यस सन्दर्भमा म दुइटा डाक्टर गोविन्दको प्रसंग जोड्न चाहन्छु ।

डा. गोविन्द के.सी. अनशनमा छन् । उनी निरन्तर अनशन संस्कृतिका पर्याय भइरहेका छन् । उनले उठाएको स्वास्थ्य क्षेत्र नीतिका आधारमा चल्नुपर्छ र राजनीतिक हस्तक्षेप हुनु हँुदैन भन्ने विषय सान्दर्भिक छन् । यीबाहेक उनको अनशनका कारण धेरै नेपाली चिकित्साशास्त्र अध्ययनका लागि विदेश जानुपर्ने र स्वदेशमै भित्रीरूपमा बढी रकम तिर्न विवश भइरहेका छन् । यस सत्यलाई उनी कति स्वीकार्छन् म भन्न सक्तिनँ । तर, उनले उठाएको राजनीतिगत हस्तक्षेप र नीतिगत प्रश्न जायजमात्र होइन राज्य आफैले तत्काल अग्रसरता लिई समाधान गर्नुपर्ने हो । अनशन वा आन्दोलनको अवस्था आउनै दिनु हुँदैन थियो । अर्का डा. गोविन्द विस्तारै जीवन–मरणको दोसाँधमा पुगेर छट्पटाइरहेका छन् । डा. गोविन्दप्रसाद शर्माको पृष्ठभूमि पूर्णरूपमा प्रजातान्त्रिक परिवारसँग जोडिएको छ । उनले करिब चार दशक नेपाली जनताको सेवा गरे । उनको कमाइ अरुको जस्तो रहेन । आफन्तदेखि अरु असमर्थ र विपन्न मानिसको उपचारमा उनको कमाइको हिस्सा खर्च भयो । जब उनी आफै कलेजो क्यान्सरबाट पीडित भए त्यसपछि उनलाई बचाउन उनका विद्यार्थी, शिक्षण अस्पताल र कामाडौँ मेडिकल कलेजका सामान्य कर्मचारी र सहयोगी सक्रिय रहे । स्वयंसेवीका रूपमाउनकी काइँली दिदीकी छोरी शान्ताले कलेजो काटेर दिइन् र प्रत्यारोपण भयो । तर, निरन्तर औषधि गर्ने, समयअनुसार परीक्षण गर्न जान आवश्यक पैसा उनीसँग थिएन । अरुको उपचार गर्दै उनले आफ्नो उपचार धान्न सकेनन् । उनले सरकारको विवेक नखोजेका होइनन् । आज परिवर्तनको कुरा गर्दै हिँड्ने नयाँ शक्तिका प्रमुख डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका समयमा दिइएका दुइटा निवेदन कुन रद्दीको टोकरीमा मिल्काइए थाहा भएन ।

सुशील कोइरालाका समयमा कलेजोदाता शान्ता र डा. शर्माका तर्फबाट दुई पटकसम्म संयुक्तरूपमा दिइएका निवेदन सिंहदरबारमै अल्पिए । ओलीका समयमा डा. गोविन्दले दिएको निवेदनको कुनै सुनुवाइ भएन । यो कृतघ्नतालाई सच्याउने क्षमता र विवेक तपाईं पुष्पकमलमा छ ? अब उनी जीवनको स्पन्दनसँगै तर्सिन लागेका छन् ।

यतिखेर गृह र उपप्रधानमन्त्रीमा मित्र विमलेन्द्र निधि छन् । निधि तराई–मधेसको मात्र होइन सिंगो देशको नेताको छवि विकास गर्नैपर्ने नियतिले प्रदान गरेको मोडमा पुगेका छन् । उनले यस सत्यलाई कति अनुभव गरेका छन् मजस्ता सामान्य नागरिकलाई थाहा हुने कुरा भएन । विवेक र भावनालाई पर राखेर शासन गर्न चाहने सत्ता डढेलो लागेर खरानी भएको वन्जर भूमिबाहेक केही प्रमाणित हँुदैन । सुजाताका विषयमा तत्काल समर्थन जनाएको क्षणलाई सम्झना गर्दै के डा. गोविन्द शर्माको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गराउने जाँगर र विवेक निधिमा छ ? अहिले सरकारको स्वास्थ्यमन्त्रीमा गगन थापा छन् । उनी यो पुस्ताका सबैभन्दा अग्रगामी युवाका रूपमा पनि परिचित छन् । अत्यन्त छोटो समयमा चमत्कारिक ढंगले सत्तामा पुगेका गगनले पनि डा. गोविन्द शर्मालाई बिर्सेको होलाजस्तो त लाग्दैन । बिर्सेको भए पनि सम्झाउनु उपयुक्त हुन्छ । गगन जुनबेला त्रिचन्द्रका पर्खाल नाघ्दै राजनीतिको डगरमा फड्को मार्न प्रयास गर्दै थिए त्यसबेला त्रिविको उपकुलपति थिए डा. गोविन्द शर्मा । गगनलाई योभन्दा बढी सम्झाउनु आवश्यक हँुदैन होला । बढी सम्झाउने अवस्था नआओस् भनेर कामना गर्छु ।

 डा. शर्माले मनमोहन अधिकारीको दुई पटक शल्यक्रिया गरी बचाउने काम गरेका थिए । दरबार हत्याकाण्डका समयमा तत्कालीन बडामहारानी कोमलको शरीरबाट गोली निकाल्ने काम यिनैले गरेका थिए । माओवादी सशस्त्र आनदोलनकालमा घाइते अनेक प्रशासनिक व्यक्ति, शिक्षक, आमनागरिकसहित प्रहरी वा माओवादीको जीवन बचाउने काम पनि गरेका थिए । चार दशकको अवधिभर स्वास्थ्यसेवामा समर्पित भइरहे । तर, आज उनी जीवनको अन्तिम क्षणमा उभिएर मृत्युलाई स्वागत गर्न विवश हुँदैछन् । उपचारको पुरानो पीडाले उनी अब कसैसँग हारगुहार गर्नुभन्दा सुटुक्क बिदा हुने तयारीमा लागेका छन् । नागरिकप्रति उत्तरदायी सरकार यो देशमा छ ? कि शक्ति, पैसा र पहुँचका लागि मात्र सरकार बसिरहेको छ ? उत्तर देऊ जिम्मेदारहरू ।

पहुँच पुग्नेहरूको मात्र सत्ता मान्ने हो भने यथार्थमा यो सत्ता ध्वस्त हुनुपर्छ र यसका सबै अवयवको आहुति हुनु आवश्यक छ । यथार्थमा परिवर्तनको अंशियार आमनेपाली जनता हुन् । सबै नेपालीले परिवर्तनमा धेरथोर योगदान गरेका छन् । तर, जसले कुनै योगदान गरेका छेैनन्, तिनले सत्ताका सबै सुविधाको उपभोग गर्ने अनि जसले योगदान गरेका छन् ती तिरष्कृत हुनुपर्ने किन ? सरकारी सुविधाको रकम शासनमा बस्नेका लागि मात्र हो कि आमनागरिक, जसलाई अत्यन्त आवश्यक छ तिनका लागि पनि हो ? प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, स्वास्थ्यमन्त्रीज्यू तपाईंहरू यसबारे केही भन्नुहुन्छ ? र, केही गर्नुहुन्छ ? केही नभने पनि फरक पर्दैन । तपाईंहरूका सहयोगी तथा  तपाईंहरू सबै स्वस्थ रहेको अवस्था छ । यसैकारण आफूलाई जनताभन्दा पृथक ठान्ने अहंकार रहेसम्म केही नभन्दा र केही नगर्दा पनि फरक पर्ने हुँदैन ।

प्रकाशित: ८ मंसिर २०७३ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App