२७ श्रावण २०७७ मंगलबार
विचार

भड्किलो तीज!

महिलाको चाड भनेर परिचित तीज आजकल भड्किलो हुँदै गइरहेको छ। तीजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ।

त्यस्तै तीजलाई केन्द्रित गरेर बजारमा आएका कयौं गीतले आलोचना र अश्लीलता समेटिरहेका छन्। चर्चा पाउने नाममा कलाकारले हदसम्मको नकारात्मक सन्देश बोकेका गीतहरु तयार गरिदिँदा विकृति अझ बढेर गएको भान हुन्छ। गीत तयार गर्न स्वतन्त्र्रता भए पनि कलाकारहरु जिम्मेवार नहुँदा कहिलेकाँही तीज गीतको भिडियो परिवारसँग बसेर हेर्न नमिल्नेखालका बनेका छन्।

कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई समयअनुसार सुधार्नु जरुरी छ भने देशको पहिचान बोक्ने संस्कृतिलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ।

रातारात स्थापित हुन चाहने नयाँ कलाकार जिम्मेवार नभइदिँदा विभिन्न च्यानलमार्फत अश्लील तीज गीतहरु बजिरहेका छन्। यस्तो माहोलमा सेन्सर बोर्ड अघि बढे पनि स्वतन्त्र अभिव्यक्तिमाथि कैंची लगायो भनेर उल्टै कोलाहल फैलने अर्को डर छ। हरेक वर्ष तीजको नाममा कैयौं गीत तयार हुने गरे पनि नेपाली फिल्म 'कन्यादान'को 'तीजको रहर आयो बरिलै' गीत तीजमा निकै चर्चा हुने गर्छ। तीज गीतमा पुरुष कलाकारले चर्चा कमाउने धोको पालेर अश्लीलताको खेती गर्नसमेत तम्सिएका देखिन्छन्। कलाकारहरु महिला हुन् या पुरुष, जसले गीत तयार गरे पनि सामाजिक जिम्मेवारी प्रोत्साहन गर्ने गीत तयार हुनै सकेनन्।

चाडपर्व भनेको रमाइलोपन बुझिए पनि यस्तो अवसरमा तयार हुने गीतहरुले माया पिरती, राजनीतिक अस्थिरता र सामाजिक विकृतिमाथि केन्द्रित संस्कृति बिर्सिएको भान हुन्छ। तीज नेपाली महिलाको शक्ति, स्वतन्त्रता र सङ्कल्पको चाड भनिए पनि विकृति फैलाउने जरोका रूपमा स्थापित हुँदैछ। परम्परागत चाडमा निराहार व्रत बस्ने प्रचलन बिस्तारै अन्त हुँदै गए पनि एक महिनाअघिदेखि तीजको नाममा विभिन्न समूहले आयोजना गर्ने दर खुवाउने कार्यक्रमले स्वास्थ्य र आर्थिक अवस्थामा प्रत्यक्ष असर गरिरहेको छ। यसै त नेपालीलाई रमाइलो गर्न बहानामात्र चाहिने सन्दर्भमा आजकल दर खुवाउने र खाने चलनले प्रतिस्पर्धा सुरु गरिदिएसँगै मनोवैज्ञानिक असरसमेत सिर्जना गरिदिएको छ।

तीज खुसियालीको पर्व भएकाले माइती आएकी चेलीलाई मिष्ठान्न खुवाएर रमाइलो गर्ने सुरु भएको चाड हो। पुर्खाहरु खेतीबारीमा व्यस्त रहने हुँदा महिलालाई एक दिन आराम गरेर रमाइलो गराउनेबाट सुरु भएको तीजको दर खुवाउने चलन अहिले भने पार्टी प्यालेस र होटेलमा भव्यरूपमा हुने गरेको छ। फेरि दिनानुदिन लुटपाट र चोरीको घटना बारम्बार मिडियाहरुले फुकिरहँदा समेत महिलाहरु गरगहनाको प्रदर्शन गर्न प्रतिस्पर्धा गरिरहेका हुन्छन्। चाडपर्व आ–आफ्नो स्तरअनुसार मनाउन पाउनुपर्छ। त्यसो भन्दैमा टोल थर्काएर दिनरात दर खुवाउने नाममा गीत घन्काउदा छिमेकीलाई असर पर्छ भन्ने जिम्मेवारी बोध अझ पनि हुन सकेको छैन्। एकले अर्कासँग प्रतिस्पर्धा गरेर चाडपर्व मनाउँदा फजुल खर्चले गलत बाटोबाट भए पनि आयआर्जन गर्नैपर्ने सामाजिक दबाब बढाएको छ।

काम व्यस्तताले गर्दा यस्ता भड्किलो दर खुवाउने र खाने कार्यक्रममा सहभागी हुन मैले कहिल्यै जोड दिइन्। परम्परा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो। तीजको दर खाने र खुवाउने प्रचनलन आफन्तमाझ बसेर रमाइलो शैलीमा मनाउनसमेत सकिन्छ। परम्परा जोगाउने बहानामा हामीले कुसंस्कारलाई प्राथमिकता दिएका छौं। विश्वमा गरिब देश भनेर परिचित देश नेपालका नारीहरु पश्चिमेली देशमा नागरिकभन्दा बढी खर्च गर्छन्। त्यो पनि अनावश्यक प्रयोजनका लागि। विश्वसामु नेपाल कला, संस्कृति र पर्वको देश भनेर चिनिन्छ। विभिन्न जातजाति, भाषाभाषी, विविध पर्व र संस्कृति नेपालको पहिचान हो। धार्मिक सहिष्णुता र आत्मीयताले भरिएका नेपालीहरुले रीतिरिवाज जोगाउन जरुरी छ। हाम्रो संस्कृति रहेसम्म नेपालीको अस्तित्व कायम रहन्छ। संस्कृतिलाई सकारात्मक परिवर्तन गराउनमा जोड दिनु सबैको दायित्व हो।

विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो पति पाउँ भन्दै ब्रत बस्ने प्रचलनसँग यो तीज पर्व जोडिएको छ। आजकल महिला शिक्षित भइसकेका छन्। उनीहरु आ–आफ्नै शैलीमा परिवारसँग बसेर चाडपर्व मनाउन चाहन्छन्। महिला स्वतन्त्र हुँदै गएका छन्। खर्चको हिसाव गर्ने हो भने तीज सबैभन्दा महँगो चाड बन्दै गएको छ। कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई समयअनुसार सुधार्नु जरुरी छ भने देशको पहिचान बोक्ने संस्कृतिलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ।

संस्कृतिका नाममा भड्किला नृत्य, देखावटी र अनावश्यक खर्चमा नियन्त्रण गर्न हामी स्वयम् जिम्मेवर हुन सक्नुपर्छ। तीजलाई रमाइलो चाडका रूपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रूपमा लिनु उपयुक्त हुन्छ। भड्किलो तीज हामी सबैका लागि हानिकारक छ। तीजमा महिलाले एक अर्कालाई दिने उपहारस्वरूप नेपाली सामानलाई प्राथमिकता दिनसके स्वदेशी उत्पादनको समेत प्रवर्द्धन हुन सक्थ्यो।

प्रकाशित: १९ भाद्र २०७३ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App