३० असार २०७७ मंगलबार
विचार

भूकम्पपीडितको तीज

यतिबेला सबै महिला तीजको रमाइलोमा ब्यस्त छन्। के खाने, कहाँ जाने, के किन्ने जस्ता योजना बनिवरी लागु पनि भइसके। तर रसुवाको धैबुङ–१ इटपारेकी ८० वर्षिया मनमाया परियारलाई भने तीजले छोएकै छैन भन्दा पनि फरक पर्दैन। भूकम्पले क्षत्विक्षत् पारेको उनको मन अझै तंग्रिन सकेको छैन। त्यसैले खान, लाउन, रमाइलो गर्न मन भए पनि तन र धनले साथ दिएको छैन। त्यसैले उनको यस पटकको तीज पनि पोहोरको भन्दा फरक नहुने निश्चित भएको छ।

तीन जना छोरा छुट्टिएर बसेको धेरै भयो, आफ्ना लागिसमेत ४ वटा घर बनाउनुपर्नेछ तर चार घरका लागि ४ आनामात्र जग्गा छ। त्यति जग्गामा चार घर सम्भव हुने कुरै भएन। त्यो पनि पासाङल्हामु सडक खण्डको १५ मिटरभित्र पर्छ, सडकले अधिग्रहण गरिदियो भने यो सिंगो परिवार सुकुमबासी हुनेछ। यही ठूलो पिरलो हो, जसले मनमायालाई तीजमात्र हैन, गइसकेका र अब धमाधम आउँदै गरेका कुनै पनि चाडप्रति कुनै रुचि छैन। बसोबासै नभएपछि रमाइलो पनि त कहाँ हुँदोरहेछ र? यही बुझेकी उनी यतिखेर निकै चिन्तामा छिन्।

यो वास्तविकता मनमायाको मात्र हैन, आफ्नो परिवारलाई न्यानो ओतमा राख्ने एक टुक्रा पनि जमिन नभएपछि धैबुङ– १ का मुरली नेपाली परिवारसहित गाउँ नजिकैको सार्वजनिक जमिनमा सानो झुपडी बनाइ बसेका छन्। उनी २० वर्षदेखि त्यही बस्दै आएका हुन। त्यही घर पनि भूकम्पले पूर्ण क्षति भयो। मुरलीको घर भत्कियो, गाविसले पूर्ण क्षति भएको व्यहोराको भूकम्पपीडित परिचयपत्र दियो, यसअघिका सबै राहत सामग्री र रकम पनि लिए। उनी अहिलेसम्म जस्तापाताले अस्थायी टहरो निर्माण गरी बसोबास गरिरहेका छन्, तर अव आवास निर्माणका लागि पाउने २ लाखबाट वञ्चित हुने भएका छन्, किनकि उनीसँग पनि आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा छैन। त्यसैले यिनलाई पनि तीज आउने कुरै भएन।  

नेपालमा भूकम्पले तहस–नहस पारेको १७ महिना पुग्यो। ढिला गरी हुन लागेको पुनर्निर्माणमा पनि धेरै भूकम्पपीडितलाई अनुदान रकम पाउने अवसरबाट विभिन्न बहानामा वञ्चित गराइँदैछ। हजारौं भूकम्पपीडित सरकारको सहयोगको आशामा लामो समय कुरिबसे तर उनीहरू आज वञ्चित हुनसक्ने अवस्थामा छन्। सरकारले जग्गा दर्ता कार्यविधि बनाएर राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रमा उल्लेखित भएका व्यवस्थाहरु कार्यान्वयन गर्न सुरु गरिएको पनि छैन। र, त्यो राजपत्र र कार्यविधिबारे जानकारी हुनुपर्नेलाई जानकारी पनि छैन्। यस्तो अवस्थामा उनीहरुको घर बनोस् पनि कसरी? त्यही भएर त यी दुई प्रतिनिधि पात्र जस्तै भूकम्पपीडितलाई तीजको कुनै रौनकले छुन नसकेको हो। 

केही हुने र क्षमता भएकाहरुले आफैंले बलियो संरचना बनाएर उहिल्यै बसेका हुन्, सानो हावाहुरी चल्दा पनि प्राण बचाउनै गाह्रो हुने गरी बसेका भूकम्पपीडित जो गरिब छन्, उनीहरूलाई छुटाइनु गरिबमाथिको थप अन्याय हो। भूकम्प केहीलाई स्थापित हुने राम्रो अवसर भएको छ भने केहीलाई सर्वस्व गुमेको छ। गरिबहरूको जे जति थियो त्यो सबै गुमेको छ।  सरकारले विभिन्न स्थानबाट भूकम्पपीडितलाई  घर बनाउन अनुदान दिने भनेर सम्झौता त सुरु गरेको छ। तर गाउँमा अझै धेरै समस्या र विवाद बाँकी छन्। यस्तो अवस्थाबीच बाँच्न विवश भूकम्पपीडितहरुले कसरी तीजलगायतका चाड मनाउन सक्छन्? सम्भवै छैन। त्यसैले यो अघिल्लो तीज जस्तै यो पनि उनीहरुका लागि 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात्' भन्दा बढी केही हुन सकेको छैन। त्यसैले त उनीहरु गाउन थालेका छन् :

तीज आको हो कि हैन भनिदिने कोही छैन

गरिबको चमेली बोलिदिने कोही छैन...

प्रकाशित: १७ भाद्र २०७३ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App