coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

डा. गोविन्द, गगन र गन्तव्य

भारतको उडिसा राज्यका एक आदिवासीले हालै आफ्नी मृत पत्नीको शव लैजाने सवारी नपाउँदा १२ किलोमिटरसम्म काँधमा बोकेर हिँड्नुपरेको घटनाले सामाजिक सञ्जाल हल्लिएको छ। दाना माझी नामका यी गरिब गाउँलेले कुनै सहयोग नपाएपछि तन्नाले बेरेको पत्नीको शव बोकेर हिँडिरहेको करिब दुई मिनेटको भिडियोमा उनकी किशोरी छोरी रोइरहेको देखिन्छ।

सामाजिक सञ्जालको यो युगमा यस्ता दृश्यहरू आइरहन्छन्। ती एकैछिन हाम्रो संवेदनालाई छोएर जान्छन्। इन्डियन एक्सप्रेसलगायतका भारतीय सञ्चारले दिएको यो खबरबाट नेपाली सञ्चार माध्यमसमेत अछुतो छैनन्। प्रत्येकजसो अनलाइनले यो खबर साभार गर्नु भनेको त्यो हृदयविदारक दृश्यप्रति आफ्नो सहानुभूति प्रकट गर्नु हो। त्यसप्रति आफूलाई पनि एकाकार गर्नु हो– समवेदना प्रकट गर्नु हो।

यो एउटा असामान्य घटना हो। गरिब र पहुँच नभएका व्यक्तिहरूका निम्ति राज्यका सुविधासमेत धेरै टाढा हुन्छन्। भारतमा घटित यो घटनाबाट हामी पनि धेरै टाढा छैनौँ भन्ने दृष्टान्त पनि हो।

हाम्रा धेरैजसो दुर्गम गाउँबाट डोको वा डोलीमा बोकिएर अस्पताल जानुपर्ने दृश्यलाई सामान्यरूपमा लिइन्छ। साह्रै अभर पर्ने र साधनस्रोत पनि जुटाउन सक्नेले हेलिकोप्टरको इन्तजाम समेत गर्ने गरेका छन्। जसले हेलिकोप्टरमा उडेर उपचारको व्यवस्था गर्न सक्छ, तिनको जीवन जोगिन पनि सक्छ। तर, यस्तो व्यवस्था गर्न नसक्नेका निम्ति अकाल मृत्यु अवश्यम्भावी छ।

गोर्खाकी १९ वर्षीय किशोरीमा प्रसूतिपछि स्वास्थ्य समस्या आएपछि हेलिकोप्टरमा उपचार गर्न काठमाडौँ ल्याइँदै गर्दा नुवाकोटमा दुर्घटना हुँदा बिरामीसहित त्यसमा चढेका सातै जनाको मृत्यु भएको एक महिना पनि पुगेको छैन। गाउँमै उपचारको सहज व्यवस्था भएको भए सायदै तिनको ज्यान अकालमै जाने थियो!

यी यावत् घटनाको पृष्ठभूमिमा नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्य मन्त्री भएका छन्। संयोग कस्तो पर्‍यो भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना माग पूरा गराउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले भेट गर्नु र थापा तिनै मागसँग सरोकार राख्ने मन्त्रालयको जिम्मेवारीमा पुग्नु एकैसाथ भएको छ।

डा. केसीले शुक्रबार बिहान प्रधानमन्त्रीलाई भेटेर आफूले आठौँ अनशनका बेला सरकारसँग भएको सम्झौता कार्यान्वयनका निम्ति आग्रह गरेका थिए। थापाले पनि शुक्रबारै स्वास्थ्यमन्त्रीका रूपमा बहाली गरेका छन्। उनको नियुक्तिले देशका थुप्रै युवालाई तरंगितमात्र गरेको छैन, उनको अहिलेसम्मको हिरोपन 'जिरो' नहोस् भन्ने शुभेच्छासमेत सतहमा प्रकट भएको छ।

सिनेमाका दृश्यझैँ डा. केसीले गरेका अनशन यो पंक्तिकारको दिमागमा फनफनी घुमिरहेका छन्। मन एकैछिनमा डा. केसीले अनशन गरिरहेका समयमा फर्किन्छ। उनी अनशन गरिरहेका बेला अविराम कार्डियाक मोनिटर मेसिनको आवाज, उनका चम्किला आँखा र भित्तामा आफै बोलिरहेका मागहरूले जोसुकैलाई उद्वेलित तुल्याएको थियो।

मन्त्री थापा अमेरिकाबाट सीधै फर्केर डा. केसीलाई भेट्न गएका दृश्यले कति धेरै मनलाई शान्त पारेको थियो। डा. केसी भोकभोकै बसेका बेला आफूले खाना खाँदै गर्दासमेत मन त्यसैत्यसै एकतमासको हुन्थ्यो। हाम्रा निम्ति एकजना मनिषि भोकभोकै छन्, हामी भने एकछिनको भोक पनि सहन सक्दैनौँ भन्ने अनुभूति मनमा सहसा आइरहन्थ्यो। साँच्चै उनले आमरण अनशन तोडेको दिन कति धेरै मनलाई 'सुकुन' मिलेको थियो।

डा. केसीका मागसँग मन्त्री थापाको असहमति थिएन। मन्त्री भइसकेपछि पनि त्यसप्रति उनको विमति हुने छैन भन्ने विश्वास हामी सबैलाई छ। अहिलेसम्म गगनले जे भन्दै आए त्यसलाई जिम्मेवार पदमा बसेका बखत पूरा गर्ने मौका आएको छ। हामी धेरैले आशा गरेका नेता हुन् गगन। नेताका बारेमा चारैतिर गुनासो हुँदा पनि 'होइन सम्भावना भएका नेता पनि छन्' भनेर उनीजस्तै युवा राजनीतिकर्मीहरूलाई हामीले भर गर्ने गरेको पनि हो।

चिकित्सा शिक्षा र सेवाको अवस्था हाम्रो मुलुकमा गएगुज्रेको छ। यो सबैले बुझेको विषय हो। चिकित्सा शिक्षाको स्तर राम्रो बनाउनतिर भन्दा पनि त्यसलाई पैसा कमाउने कारखानामा बदल्न शक्तिशालीहरू लागेका छन्। हामी धेरैले भन्ने गरेका माफिया अरु कोही होइनन्– ती दलका केही शक्तिशाली नेताहरू नै हुन्। हिजो दरबारभित्र बसेर रजगज गर्नेहरूलाई भूमिगत गिरोह भनेर चिनेजस्तै अहिले नेताहरूलाई सीधै नभनेर माफिया भन्ने गरेको मात्र हो।

स्वास्थ्यमा माफिया, शिक्षामा माफिया, यातायातमा माफिया, जताततै माफियैमाफिया! यो भनेको के हो भने नेतालाई निश्चित लाभांश दिएपछि बाँकी जस्तोसुकै काम फत्ते गर्न सकिन्छ। आफ्नै दलका नेता भएपछि कार्यकर्ताको विरोध पनि हुन्न। विरोध सुरु भए पनि आफ्नै नेता देखेपछि कार्यकर्ता पछि हट्छन्– संस्कार नै यस्तै बसेको छ!

पूर्वाधारको तयारी नगरी चिकित्सा शिक्षा दिने कलेज खुले। अझ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन दिलाउन नसकेपछि चिकित्सा शिक्षाको कुनै फ्याकल्टी नभएको काठमाडौँ विश्वविद्यालयलाई यो जिम्मेवारी दिएको जानकारी 'चिकित्सा शिक्षामा फड्को' नामक डा. सीताराम अधिकारीको पुस्तकले समेत प्रष्टैसँग दिएको छ।

कसैलाई कुनै लहड लाग्यो, त्यसलाई घोषणा गराउने र कार्यान्वयन थालिहाल्ने चलन छ हामीकहाँ। कुनै विषय थाल्नुअघि त्यसको राम्रो अध्ययन र आवश्यकताको परख गर्ने हो भने अहिलेको जस्तो बेथितिमा पर्नुपर्ने थिएन। हाम्रा प्रत्येक काम र आन्दोलनको हालत यही भएको छ। हामीले थोरै उपलब्धिका निम्ति आन्दोलन गर्‍यौँ, हात लाग्यो त्योभन्दा बढी अर्थात् थामिनसक्नुको! अहिले हामी त्यही थामिनसक्नुको उपलब्धिको सिकार भएका छौँ।

देशभित्र दक्ष चिकित्सक उत्पादन गर्न आवश्यक पूर्वाधार तयार नपारी खुलेका कलेजको उत्पादनको अवस्था इटालीको जस्तो हुनेछ। शिक्षाविद् केदारभक्त माथेमाले नागरिकसँगको हालैको अन्तर्वार्तामा दिएको जानकारी अनुसार हामीकहाँ 'गुरुजी' भनेजस्तै ट्याक्सी ड्राइभरलाई 'हे डक' भनेर बोलाइने रहेछ। डाक्टरी पास गरे पनि बेरोजगार रहेका उनीहरू ट्याक्सी चलाउने काममा लाग्ने रहेछन्!

स्वदेशकै स्वास्थ्य सुविधा सुधार्नतिर लाग्नुभन्दा त्यसलाई विश्वास गर्न नसकी नेताहरू विदेशमा उपचारका निम्ति जाने गर्छन्। भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली क्रमशः सिंगापुर र बैंककमा उपचारका निम्ति गइसकेका छन्। यसले मुलुकभित्रकै चिकित्सकहरूलाई अपमानितमात्र गरेको छैन, यहाँका अन्य स्वास्थ्य सुविधालाई समेत बेवास्ता गरेको छ। देशभित्रै भरलाग्दो स्वास्थ्य सेवा दिनसक्ने संस्था नभएका होइनन्।

नेताहरूको लोभ र अकर्मण्यताले प्राप्त उपलब्धि फेरि गुम्लाजस्तो भइरहेको छ। एक किसिमको तम्तम्याइँदो निराशाले देशलाई ढपक्क ढाकेको छ। प्रत्येक पटक आन्दोलन गरियो, तर अपेक्षित उपलब्धि प्राप्त हुन सकेन। जसका विरुद्ध आन्दोलन गरियो अहिले तिनैले फेरि फणा उठाएर डस्न लागेका छन्। पञ्चायतमा भन्दा खतरनाक हिसाबले मानिसहरू अचेल साउती मारेर कुरा गर्न थालेका छन्। एउटा अव्यक्त डरको साम्राज्य जताततै फैलिन थालेको देखिएको छ।

मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई मात्र सुधार गरिदिएको भए पनि त्यसले धेरै हदसम्म समस्याको समाधान गर्न सक्ने थियो। नयाँ सरकार बन्दा पनि खासै उत्साहको वातावरण देखिन्न। तर, गगन थापाजस्ता केही युवाले जिम्मेवारी लिँदा हल्का तरंग आउन खोज्छ। फेरि मानिसहरू धक फुकाएर प्रशंसा गर्न पनि सक्दैनन्। एकसेएक महारथीहरू बेकम्मा सावित भएका ठाउँमा यिनले केही गर्लान् र? भन्ने प्रश्न उठ्छ।

हाम्रा नेता असफल भए, हाम्रो पद्धति कामकाजी भएन र नागरिकको जीवनमा अपेक्षित परिवर्तन आएन भने फेरि आन्दोलन उठ्छ नै। समयको माग त्यही हो। समय रोकिएको छैन कहीँ पनि र कहिल्यै अहिलेसम्म। शासन प्रणालीले फेरि पनि हामीकहाँ परित्यक्तहरूलाई न्याय गर्न सकेन भने अर्को क्रान्ति अवश्यम्भावी छ। अहिलेका सबै स्वार्थी भए भने अरु आउनैपर्ने हुन्छ। तर, त्योभन्दा अघि नै सुधारका काम थालिहाल्नु सबैको हितमा छ। 

नेतालाई त राज्यका स्रोतको पउल छ। भारतको उडिसाका ती दुःखी आदिवासीजस्तै हाम्रा मानिसको अवस्था अत्यन्तै जराजीर्ण छ। कृपा गरी गरिबको स्वास्थ्य सेवालाई ध्यानमा राखी केही काम भइदिए स्वास्थ्य मन्त्री गगनलाई मुलुकले कालान्तरसम्म सम्भि्करहन पाउने थियो। स्वास्थ्य शिक्षा र सेवामा सम्पूर्ण क्रान्ति गर्न उनी तयार छन् भने होस्टेमा हैँसे गर्नेहरूको कमी हुने छैन। त्यो कामको थालनी भने डा. गोविन्द केसीका मागबाटै गर्नुपर्छ। काम सजिलो छैन, तर असम्भव पनि त होइन।

प्रकाशित: १२ भाद्र २०७३ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App