केही दिनअघिको कुरा हो, फेसबुक चलाउँदै गर्दा बुद्ध स्प्रिच्युयल लाइफ शीर्षक अन्तर्गत एकजना पत्रकार महोदय र अस्ट्रेलियाली बौद्ध भिक्षुको अन्तर्वार्ताको केही अंश पढ्ने मौका पाएँ। अन्तर्वार्ता घतलाग्दो छ। पढ्दा अनौठो, उच्छृखल वा अशोभनीय जस्तो लागे पनि यो बुद्ध धर्मको संवेदनशीलता, स्वरूप र गहनतालाई जागृत गर्ने खालको छ। अन्तर्वार्तामा बौद्ध भिक्षुलाई प्रश्न सोधिएको रहेछ-बुद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटक च्यातचुत पारी चर्पीको नालमा फ्याँकिदियो भने तपाईँ के गर्नुहुन्छ? बौद्ध भिक्षु एकक्षण मौन रहनुभयो। अनि शान्त भावले जवाफ दिनुभयो-सर्वप्रथमत चर्पीको नाल बन्द होला भनेर नाल सफा गर्नेतिर लाग्नेछु। अन्तर्वार्ताको पृष्ठमा लेखिएको छ।
भिक्षुको जवाफ नसकिँदै पत्रकार महोदयले अर्काे प्रश्न तेर्साउनुभयो-बामियानका बुद्ध मूर्ति गोली हानी ध्वस्त पारेको छ। यस्तो अवस्थामा बुद्ध धर्मबारे के भन्नुहुन्छ? भिक्षु नम्रतापूर्वक प्रस्तुत हुँदै भन्नुभयो-धर्म न मूर्तिमा हुन्छ न त पे्रसमा छाप्ने किताबमै। धर्म मानिसको मनमा हुन्छ, आचरणमा हुन्छ। मानिसको मनमा धर्म छ भने अर्काे बुद्ध मूर्ति बनाउन सकिन्छ, त्रिपिटक छाप्न सकिन्छ। तर मानिसको मनबाट धर्म हराउन थाल्यो भने बुद्ध मूर्ति वा त्रिपिटक भएर पनि केही हुँदैन। पुनः उल्लेख गरिएको छ।
पत्रकारको स्वच्छन्द प्रश्न र भिक्षुको सरल मन छुने बौद्धिक जवाफले बुद्ध धर्मको भावार्थलाई बोध गराउँदै मानिसको जीवनमा बुद्ध धर्मको महत्तालाई प्रष्ट्याउन खोजेको आभास हुन्छ। साथै बुद्ध धर्मप्रति मानिसको ध्यान आकृष्ट गर्दै बुद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटकको गहन अध्ययन र जीवनमा यसको उपयोग र प्रभावकारिताबारे ज्ञानको खोजी गर्न उत्प्रेरित गरेको छ। बुद्ध धर्मसम्बन्धी बेलाबखत हुने यस्तो प्रश्नोत्तर, वार्तालाप वा परिसंवाद निश्चय पनि बुद्ध धर्मको जागरणमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ।
बुद्ध धर्म वास्तवमा जीवन जिउने कला हो, सदाचार हो। यसले मानिसलाई जीवनको वास्तविकता र यथार्थको धरातलमा उभिएर शिष्ट, अनुशासित र मैत्रीभावले शान्तपूर्वक जीवन यापन गर्न दिशानिर्देश गरेको छ। सम्पूर्ण मानव जातिका लागि समान व्यवहार र समभावले ओतप्रोत यस धर्म प्राणी मात्रका लागि कल्याणकारी छ।
यसमा घृणा, अपमान र बदला वर्जित छ भने सौहार्द्रपूर्ण व्यवहारले मात्र मित्रताको वातावरण फराकिलो र हार्दिक हुन्छ भन्ने कुरा उजागर गरेको छ। साथै यहाँ कुनै कार्य सम्पादन गर्दा अहंकार, आवेश, उत्तेजना र आक्रामक प्रस्तुतिको कुनै अर्थ नरहेको स्पष्ट पारेको छ। र, शान्तिप्रिय बुद्ध धर्ममा शान्तिले मात्र शान्तिको बाटो पहिल्याउँछ भन्ने धारणा प्रष्ट गरेको छ। महामानव बुद्धको जीवनकालको घटनाले पनि यसलाई पुष्टि गर्छ।
बुद्ध एकदिन धर्म उपदेश गरिरहेका बेला एकजना गैरबौद्ध धर्मावलम्वीले उहाँलाई तथानाम गाली गरी मुखमा थुकिदिएका थिए। यस्तो परिस्थितिमा पनि बुद्धले कुनै प्रतिकार गर्नुभएन। बरु सम्झाउने प्रयास गर्नुभयो। यो देख्ने सबैजना त्यहाँ उपस्थित भिक्षुगण र जनसमुदायलाई असह्य भइसकेको थियो। तर बुद्धले सबैलाई शान्तपूर्वक बस्न आज्ञा भयो। अर्काे दिन त्यस व्यक्ति बुद्धकहाँ आफ्नो अज्ञानता जाहेर गर्दै हात जोड्दै माफी माग्न आइपुग्यो।
बुद्ध भन्नुहुन्छ-अज्ञानता मानिसको जीवनमा दुःखको जड हो। यसको मूल कारण अविद्या हो। अविद्याकै कारण मानिसले गर्ने एकपछि अर्काे कर्मको परिणामले जीवनमा संस्कार विकसित हुन्छ। जसले गर्दा मानिस जीवन-मरणको भवचक्रमा घुमिरहन बाध्य हुन्छ। हेतु र प्रत्येयको प्रसंग जोडिएको प्रतित्यसमुत्पादको यस ज्ञानले मानिस आफ्नै कर्मले सुख वा दुःखको माला लगाउन बाध्य हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ।
बुद्ध धर्म कर्मवाद धर्म हो। यसले मानिस सफलताको शिखर चुम्न चाहन्छ भने उसले त्यहीअनुसार लगनशीलता, धीरता र निरन्तरताको पहाड चढ्दै जानुपर्ने सत्यतालाई उजागर गरेको छ। कर्म नगरिकन मात्र पूजापाठले जीवनमा मनले चाहेको कुरा पुग्दैन भन्ने ज्ञानको ज्योति पैmलाएको छ। बुद्ध भन्नुहुन्छ-मानिस खोला तर्न चाहन्छ भने उसले त्यहीअनुसार कर्म गर्नुपर्छ। अर्थात पौडी खेलेर खोला तर्ने हो कि डुङ्गगामा तर्ने हो कि वा अन्य उपाय अपनाउने हो, आफैँले तय गर्नुपर्छ। त्यत्तिकै खोलावारि बसेर पूजा पाठ गर्दैमा खोलापारि पुग्न सकिँदैन।
मानिसले गर्ने कर्मको परिणाम नै जीवनमा उनले गर्ने भोग हो। कुशल कर्मको भोग कुशलमंगल हुन्छ भने अकुशल कर्मको भोग अकुशल हुन्छ। कर्मअनुसार मानिसले फल पाउँछ। त्यसैले सुख, समृद्धिको चाहना राख्ने मानिसले त्यहीअनुसार निस्वार्थ भावले मंगलमय कार्य गर्नु जरुरी छ। अरूलाई दुःख दिने र हत्या, हिंसा जस्तो कुकर्म गर्नेले त्यहीअनुसार जीवनमा भोग गर्नुपर्ने हुन्छ। अग्रेजीमा भनाइ छ-आय्ज यु सः, यु विल रिप (तपाईं जे रोप्नु हुन्छ, त्यही फल्छ)। यो निश्चित छ। त्यसैले पूजापाठ र हवनले मनमा केहीबेर शान्ति छाए पनि यसले कर्मरेखा परिवर्तन गर्न असम्भव छ।
एकजना राजा बुद्धसँग प्रार्थना गर्दै उनले जीवनमा जानी नजानी धेरै पाप गरेको बताउँदै अबउप्रान्त धर्म गरेर पापबाट मुक्त हुन चाहेकोे बताउँछन्। त्यसका लागि स्वयम् बुद्धबाट पूजापाठका लागि विन्ति चढाउँछन्। बुद्ध राजालाई सम्झाउन अर्काे दिन पूजाका लागि नदीको किनारमा आउन आज्ञा हुन्छ। र, साथमा माटोको दुईवटा गाग्रो जसमा एउटामा घिउ र अर्काेमा ससाना ढुङ्गा भरेर ल्याउन भनिन्छ।
राजा अर्काे दिन बुद्धले आज्ञा भए जस्तै माटोको गाग्रो लिएर खोलामा पुग्छन्। बुद्ध राजालाई दुईवटै गाग्रो खोलाको छेउमा पानीमा राख्न लगाउँदै एउटा लामो लठ्ठीले हिर्काउन आज्ञा हुन्छ। राजाले जब गाग्रोमा लठ्ठीले हिर्काउँछन्, घिउ भएको गाग्रो फुटेर घिउ पानीमा तैरिन थाल्छ भने ढुङ्गा भएको गाग्रो फुटेर ढुङ्गगा सबै पानीमा डुब्न थाल्छ।
यो देखेर बुद्ध भन्नुहुन्छ-घिउ पानीमा तैरिने र ढुङ्गा पानीमा डुब्ने प्रकृतिको नियम हो। मानिसले जतिसुकै पूजापाठ गरे पनि न घिउ पानीमा तैरिनबाट रोक्न सकिन्छ न त ढुङ्गा पानीमा डुब्नबाट। त्यस्तै जति नै पूजापाठ र हवन गरे पनि मानिसले आफ्नो कर्मको फल जीवनमा मेटाउन सकिँदैन। राम्रो वा नराम्रो कर्मको फल उसले भोग्नै पर्छ। यो प्रकृतिको नियम हो।
बुद्ध धर्मको प्राकृतिक स्वभाव अविभाज्य छ र यो वैज्ञानिकताको उत्कृष्ट नमुना हो। यसलाई व्यावहारिक धर्म पनि भनिन्छ। आजको वैज्ञानिक युगमा मानिस अनेकौँ सुखसयलका साधन र भौतिक सुविधाले सम्पन्न भएर पनि सुख, शान्तिका लागि भौतारिरहेका बेला बुद्धको उपदेश तथा ज्ञानले मानिसलाई शान्तिको पथमा डोर्याउन सफल भएको छ। त्यसैले यो धर्म २६०० वर्र्ष पुरानो भएर पनि आजको २१औँ शताब्दीको आधुनिक युगमा पनि त्यत्तिकै प्रासांगिक छ।
प्रकाशित: १२ माघ २०७९ ००:०५ बिहीबार