विगत चार महिनादेखि सुन आयात अत्यन्तै न्यून छ। बैंकहरूसँग भएको सुन पनि बिक्री भएको छैन। तर, बजारमा सुनको कारोबार दैनिक करिब १० करोडबराबरको भइहरहेको छ। कुनै समय आयात सामान्य मात्रामा घट्दा पनि बजारमा सुन अभाव भइहाल्थ्यो, तर अहिले अवस्था फरक देखिएको छ। प्रश्न उठ्छ– बजारमा कसरी र कुन बाटोबाट आपूर्ति भइरहेको छ यो बहुमूल्य धातु? यसको जवाफ दिन सरकार नियन्त्रित निकाय भन्सार विभाग तथा राजस्व अनुसन्धान विभाग तयार हुनुपर्नेमा ती सकेसम्म मौन बस्न चाहिरहेका छन्। यस्तो हुनुको कारण पनि स्पष्टै छ, अवैधरूपमा सुन आयात गर्न सामान्य पहुँच भएका र थोरै पैसा बोक्ने कालोबजारियाले सक्दैनन्। एक किलो सुनकै ५२ लाख रुपैयाँभन्दा बढी पर्छ। कसैगरी उक्त परिमाणको सुन सुरक्षा निकाय वा भन्सारले पक्रियो भने पनि ठूलो रकम गुम्न पुग्छ। यही कारण पनि यसलाई अधिक जोखिमको व्यवसाय मानिन्छ। यसले पनि अवैध सुन आयात गर्ने र बजारमा पुर्याउने काममा पहुँचवाला तथा ठूलै तहका व्यक्तिको संलग्नता रहेको आशंकालाई बल मिलेको छ। अवैध सुन आयात हुने विशेष रुट तातोपानी–खासा गत वर्ष बैशाखको भूकम्पपछि बन्द छ। सोही कारण अहिले सुन ल्याउनका निम्ति रसुवा–केरुङको बाटो प्रयोग हुन थालेको छ। गत चैतमा मात्र सोही बाटोबाट भित्राउन लागिएको १० किलो सुन बरामद भएको थियो। समस्या त कहाँनिर बढी छ भने, कतिपय प्रहरी तथा भन्सारका अधिकारी नै अवैध सुन समात्ने रूचि बिलकुलै राख्दैनन्। त्यतिमात्र होइन, चीनसँग सीमा जोडिएको स्थानमा सरुवा भएर जान भन्सारका अधिकारी किन तँछाडमछाड गर्छन् भन्ने प्रश्नको उत्तर पनि अवैध सुन कारोबारीसँगै बढी जोडिएको विगतले पनि देखाएको छ। अवैध सुन कारोबारी पहुँचवाला हुनुका साथै तिनले ती अधिकारीलाई निरन्तर 'नजराना' समेत बुझाउने हुनाले यस्तो अवस्था आएको हो। नत्र गत आर्थिक वर्ष जम्मा ३६ किलो सुनमात्र किन भन्सार विभागले पक्रन्थ्यो र!
नेपालमा अवैध बाटोबाट सुन ल्याउने काम हुन थालेको यो पहिलो घटना भने होइन। विगतमा पनि छिमेकी चीनबाट ठूलो परिमाणमा अवैध सुन आएको र केही पटक प्रहरी तथा भन्सारले पक्रेको पनि हो। अहिले पनि चीनबाटै अवैध ढंगमा ल्याइएको सुन नै बजारमा गएको आशंका गरिएको छ। कतिपय अवस्थामा चीन वा अन्य मुलुकबाट अवैध ढंगमा ल्याइएको सुन भारत निकासी हुने गरेको छ। यस्तो कामबाट व्यापारीले मनग्गे पैसा कमाउँछन्। किनकि, सुन नेपालमा भन्दा भारतमा महँगो छ। त्यसमाथि अवैध ढंगमा तथा भन्सार नतिरी ल्याइएको सुन प्रतिकिलो ४ लाखभन्दा बढी सस्तो हुन्छ। जथाभावी सुन आयात गरिँदा मूल्य नियन्त्रण तथा चोरीनिकासी बढ्न गएकाले सरकारले केही समयअघि बैंकहरूलाई मात्र आयातको अधिकार दिएको थियो। त्यसपछि व्यापारीले आफूखुसी सुन आयात गर्नमा रोक लाग्यो। मुलुकभर करिब दुई हजार वटा सुन पसल छन्, अहिले पसलमा न त ग्राहकको चाप घटेको छ न त अभाव नै देखिएको छ! तर, सुन वैधानिक तरिकाले आयात पनि भएको छैन र बैंकहरूले बेच्न पनि पाएका छैनन्! नेपाल सुनचाँदी व्यवसायी संघको तर्क 'भूकम्पपछि सुन बेच्ने सर्वसाधारण बढेकाले बजारमा अभाव नभएको'लाई पत्याउन सकिन्न। किनकि, सर्वसाधारणले बेचेको सुनले बजारको माग धान्न कुनै पनि हालतमा सक्दैन। त्यसमाथि हिन्दु महिलाको चाड तिज र दसैँ–तिहार संघारैमा आइपुगेको अवस्थामा व्यक्तिले प्रयोग गरिरहेको सुन बेचेर बजारमागलाई धान्छ भन्नु हावादारी कुरा हो।
दसैँ–तिहारजस्ता चाडबाड घरदैलोमा प्रवेश गर्दैछ, तिज त झनै नजिक आइसकेको छ। यो चाडमा सुनको कारोबार अधिक हुन्छ। अघिपछि भन्दा निकै बढी सुनको माग बजारमा हुन्छ। यस्तो अवस्थामा भन्सार तथा राजस्व अनुसन्धान विभाग थप चनाखो हुनु आवश्यक छ। बजारमा कृत्रिम अभाव देखाएर बढी मूल्य असुल्ने तथा अवैध सुन बजारमा छ्यापछ्याप्ती पार्ने गिरोहको सक्रियता यो चाडमा झनै बढ्न सक्छ। यी दुई सरकारी निकायको सक्रियता त महŒवपूर्ण छ नै साथमा सुनचाँदी व्यवसायीहरूको छाता संगठनले पनि अवैध कारोबारलाई निरुत्साहित पार्न अग्रसर हुनुपर्छ।
प्रकाशित: ७ भाद्र २०७३ ०५:११ मंगलबार