२१ असार २०७७ आइतबार
विचार

बाहिरिए युवा, बाँझियो जमिन

सात वर्ष भएछ, आफैँले खेती नगरेको। मकै र कोदो खेती हुने पाटाहरुमा वनमारा र झार उमि्रएछ। कोदोको बीउ, सखरखण्ड, पिँडालु, बदाम, तील, फल्ने खेत/पाखो नाम्ले झारले भरिएछ। त्यस पाखाबाट देखिने मकैका घोगा र कोदोको बाला फक्रने बारीमा स्याहार नपुगेका लुते मकैका बोट। कोदो र मकै फल्ने बारी बाँझो र सधैँ हल्लीखल्ली हुने पाखो सुनसान छ। एकोहोरो खोल्सीको आवाज मात्र स्याइँय्य...।

आमा दिदीबहिनीको पाखामा घाँस काट्न निस्कँदा देखिने लस्कर खै आज कता हराएछ? सायद, घाँस काट्न पाखामा जान स्रोत नै छैन। नियाल्दा पाखो एक्लो भई घाँसे पर्खी बसेको भान हुन्थ्यो। पारिपटि्ट पसले बारीमा खडेरीले ढिला छरेर भख्खर अनार दानाझैँ हारी लागेका फाट्टफुट्ट देखिने मकै बारीमा एक हुल बाँदर पसे। एकै छिनमा मकै सखाप भयो। बारीबाट लोखै लोखै। आवाज खोल्सावारि नै बिलायो। जीत बाँदरकै भयो। किनकि उसैको जनशक्ति बढी थियो। एक दुई जनाको आवाज उसले टेरपुच्छर लाएन। बाँदर आउँदा हुल मिलेर धपाउने युवा दस्ता त्यहाँ थिएन।

वैदेशिक रोजगार विभागको आ.व. २०७२/२०७३ को तथ्यांकअनुसार विदेश जानेको सख्या १६ लाख ४८ हजार २ सय ५५ छ। २०७३ असार महिनामा मात्र १ हजार ७ सय २९ जना युवा विदेसिएका छन्।

मकै, कोदो अनि तील उम्रने पाखो बारीमा स्याउला भरिएछ। ब्याडको छेउमा बसी बीउ उखेल्न थालेँ। ढाड सोझ्याउँदै डिलतिर उभिए। लाग्थ्यो– कतै कोही छैन। त्यो पाखोमा म एक्लै छु। भित्तापटि्ट बुबाले कोदाको बीउ छिरोल्दै हुनुहुन्छ। उहाँलाई कामको मात्र ध्यान थियो। जसरी पनि ६ जना रोपारलाई बीउ पुर्‍याउनु छ। खरपाखाको डिलबाट थोत्रो डोको बोकेर ७२ वर्षे नेत्रबहादुर हजुरबा आउनुभयो बीउ काड्न। उहाँको पनि विस्तारै बारी बाँझिदैछ। खै कति वर्ष काम गर्न सक्नुहुन्छ उहाँले पनि? उहाँले खेती गर्दै आएको अहिलेको जमिनमा निरन्तर कोदो र मकै फल्ला त? मनमा त्यस्तै प्रश्न उब्जन्थ्यो। कुन युवाले आएर आफ्नो जमिन स्याहार्ला र अन्न फलाउला?

साउन २३ गते कोदाको बीउ काड्ने ब्याड परिवर्तन भयो– सार्की बारी। सायद बाजे बराजुले सार्की थर भएकासँग खरिद गरेर होला सार्की बारी भएको। पुजार्नी हजुरआमासँगै बीउ काड्न थाले। कुरा निस्क्यो खोतीपातीकै। उहाँलाई पनि चिन्ता थियो। जमिन बाँझो रहला भन्नेमा। जमिन धेरै पनि छैन। तर त्यही जमिनमा काम गर्ने श्रम शक्ति छैन। …जेठो छोरो खन्न सक्ने भएपछि सबै खेती आरामले लगाएका थियौं। तीन छोरा छन्। आ–आफ्नै पेशामा कता हो कता? २५ वर्षपछि हजुरबाले खनेर बल्लतल्ल बारी रोपियो, बाबु गाउँमा काम गर्ने मान्छे छैनन्।' उहाँ पनि ६७ वर्ष पुग्नुभएछ। अब उहाँपछि त्यस बारीमा निरन्तर खेती गर्लान्?

कोदो रोप्दै गरेकी जिम्मल गाउँकी बले हजुरआमा श्रीमान् त हुनुहुन्न तर श्रीमान्कै नामबाट प्रख्यात उहाँको पोहोर साल छोराले बारी खनेर कोदो लगाउनुभयो। अहिले पनि बारी खन्न छोरो आएको थियो। तर काम गर्न सकेन हिजो काठमाडौं गयो। झारा टार्ने हिसावले कोदो रोपियो। यसरी खै के अन्न फल्ला र! उहाँको पनि उस्तै सुस्केरा!

यी एक/दुईवटा यथार्थ पात्र हुन्। यो हरेक परिवारमा देखिन थालेको छ। युवाहरुले खेतीलाई विस्तारै बेवास्ता गर्न थालेका छन्। अहिले ज्येष्ठ नागरिक र महिला आफू अल्भि्कने, बाध्यता र झारा टार्ने किसिमले भएको छ, खेतीपाती। तरकारी फल्ने करेसो र अन्न फल्ने बारी बाँझिएको छ। गाउँमा ज्येष्ठ नागरिक र महिलामात्र छन्। बस्ती विस्तारै रोड साइट र खेतको फाँटमा झर्न थालेको छ। जसले मकै र कोदो फल्ने बारी बाझिँदैछ भने धान फल्ने खेतमा घर भरिँदैछ।

भूकम्पपश्चात धेरैले आफ्नो थातथलो छाडेका छन्। गाउँ सुनसान छ। युवा शक्ति विदेशमा छ। आफ्नो जमिन बाँझो राखी बाजारी खाद्यन्नको भरमा परिवारलाई बचाएको छ। जसबाट रेमिट्यान्स जसरी भित्रिएको छ त्यसैगरी खाद्यपदार्थ खारिदमा नेपालको अर्थतन्त्र बाहिरिएको छ। साथै रेमिट्यान्सले क्षणिक लाभ त होला तर नेपालको उत्पादनयोग्य भूमि यसरी दिनदिनै बाझिँदै जाने हो भने यसले खाद्य संकट बढ्दै जाने देखिन्छ। मेलम्ची नगरपालिकाको वार्ड नं. १ र २ मा एकै खलकका ५७ घर थापा परिवार छ। जसमा १४ वर्ष उमेरसम्मका ८७ जना छन्। १५ देखि ५९ वर्ष सम्मका १८९ र ६० वर्षभन्दा माथिका ३३ जना छन्। विदेश जाने युवाको संख्या २१ छ। विभिन्न पेशाले घर र समुदायबाट बाहिर भएका ७९ जना छन्। एउटा परिवारको लेखाजोखा गर्दा यो अवस्था छ। यसैगरी सबै परिवारलाई नियाल्दा काम गर्ने जनशक्ति यहाँ देखिँदैन। र, भेटिँदैन पनि। नेपालका गाउँ युवाविहीन हुने क्रमसँगै खेतबारी कसरी उजाडिँदैछन् भन्ने थाहा पाउन यो एउटै उदाहरण काफी छ।

प्रकाशित: ७ भाद्र २०७३ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App