१४ माघ २०७९ शनिबार
विचार

प्रकृति अवलोकन स्वास्थ्यमा सकारात्मक

गत हप्ता हेलसिन्कीस्थित फिनिस इन्स्टिच्युट अफ् हेल्थ एन्ड वेलफेयरको वरिष्ठ अनुसन्धानकर्ता अनु तुरुनेन नेतृत्वको अन्वेषण समूहले जर्नल अफ् अक्कुपेसनल एन्ड इन्भिरोमेन्टल मेडिसिनमा प्राकृतिक सौन्दर्यको उपभोग र मानव स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको निचोड प्रकाशित गर्‍यो। उत्पत्तिकालदेखि नै मान्छे र प्रकृतिबीच सम्बन्ध भएकाले जंगल अवलोकनले स्वास्थ्यलाई फाइदा पुर्‍याउने आकलन थियो। साथै, प्रकाशित केही अन्वेषणले प्रकृतिको निरीक्षण स्वास्थ्यका लागि फाइदाजनक हुने देखाए पनि मात्रात्मक लाभको तथ्यांक आउन सकेको थिएन। डा. तुरुनेन समूहले हालै प्रकाशित गरेको नतिजामा उक्त खाडललाई गुणात्मक हिसाबले भर्ने काम गर्‍यो। अत्यधिक स्वास्थ्य लाभका लागि मानिस र प्रकृतिबीचको कस्तो सन्तुलन आवश्यक हुन्छ भन्ने अनुत्तरित प्रश्नको उत्तर खोज्यो उक्त अनुसन्धानले।

फिनल्यान्डका ३ सहरका ६ हजार बासिन्दाको प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने बानी र उनीहरूको स्वास्थ्य अवस्थाको तुलनात्मक अध्ययन गरी डा. तुरुनेनले निकालेको निचोड ममनयोग्य छ। अनुसन्धानकर्ताले प्रकृतिलाई हरित (ग्रिन) र आकासे (ब्लु) गरी दुई भागमा विभक्त गरे। हरित क्षेत्रअन्तर्गत जंगल, बगैँचा, प्राकृतिक घाँसे मैदान, सिमसार क्षेत्र जस्ता प्राकृतिक हरियोपनलाई समेटियो भने ब्लु एरियामा खोला, पोखरी र समुन्द्र पर्‍यो।

प्राकृतिक आचलमा रम्ने समूह सहरको तामझाम भन्दा बाहिर निस्कन नरुचाउने पक्ष भन्दा निकै स्वस्थ मात्र देखिएनन् बरु औषधि सेवनले समेत उक्त मान्यतालाई समर्थन गरेको छ। थोरै समयका लागि भए पनि हप्तामा ३–४ पटक ग्रिन अथवा ब्लु एरिया टेक्ने पक्षले अर्को समूहको तुलनामा उच्च रक्त चापको ओखती ३६ प्रतिशत कम सेवन गरेको देखिन्छ। त्यस्तै प्रकृतिप्रेमी समूहमा अर्को पक्ष भन्दा मानसिक रोगको मेडिसिन ३३ प्रतिशतले कम सेवन गरेका छन् भने दम रोगको औषधि खानेको संख्या २६ प्रतिशतले न्यून छ। वनजंगल, उद्यान, खोला नाला तथा पोखरीमा टहल्दा रक्तचाप, दम तथा विभिन्न प्रकृतिका मानसिक थकानले कम सताएको देखिए पनि आफ्नै बगैँचामा टहल्दा अनि घरको कौसीबाटै प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने समूहले उक्त स्वास्थ्य मुनाफा पाउन नसक्ने उक्त अन्वेषणले देखाएको छ। प्रकृतिको अनुपम वरदान शक्ति घरको बगैंचामा नपाउनुलाई अन्यथा ठान्दैनन् संबन्धित विज्ञहरू।

फिनिस अन्वेषणसँग तुलना गर्न मिल्ने प्रकृतिको अनुसन्धान सन २०१९ मा बेलायती अनुसन्धान समूहले साइन्टिफिक रिपोर्टमा प्रकाशित गरेको छ। २० हजार बेलायती नागरिकमा अन्वेषण गरी प्रकाशित उक्त अन्वेषणले अघिल्लो हप्ता प्रकृतिको सामीप्यताले यस हप्ता व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्ने असरको मापन गर्न सक्ने देखिएको छ। बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक म्याथ्यु ह्वाइटले नेतृत्व गरेको उक्त अन्वेषणले गत हप्ता प्राकृतिक स्थलको अवलोकन गर्दा र नगर्दाबीच जीवनको सार्थकताका संबन्धमा सोच्ने तरिकामा व्यापक फरक पर्ने पाएको छ। अघिल्लो हप्ता प्रकृतिमा समय व्यतीत गर्दा यो हप्ता मानसिक सन्तुष्टि र शारीरिक स्वास्थ्यमा कम्तीमा पनि दुगुना प्रगति भएको देखिन्छ।

प्रकृतिमा जति धेरै समय व्यतीत गर्‍यो त्यति नै फाइदा हुन्छ त भन्ने प्रश्नको समेत उत्तर दियो डा. ह्वाइटको खोजले। एकै समयमा अथवा पटक–पटक गरी २ घण्टा प्रकृतिको अवलोकनले स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने तर प्रकृतिसँगको दुई घण्टा भन्दा लामो सहबासले भने खासै अतिरिक्त फाइदा नहुने देख्यो बेलायती अध्ययनले। सबैभन्दा महत्त्वपूर्ण कुरा प्राकृतिक मनोरममा समय व्यतीत गर्दा कुनै एउटा समूह तथा पक्षलाई मात्र फाइदा नहुने बरु सबै उमेर, लिंग, गाउँ–सहर, धनी–गरिब तमामले समान लाभ हासिल गरेको छ। भिन्न सोच रहेका केटाकटीदेखि बूढाबूढीसम्म सबैले समान हिसाबले फाइदा पाएको देखिएकाले यो अन्वेषण गहकिलो देखिन्छ।

त्यस्तै एउटा पृथक अध्ययनमा संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालयले १ लाख स्वास्थकर्मी, नर्सलाई केन्द्रमा राखी हेर्दा प्राकृतिक वातावरणमा रमाउने व्यक्तिहरू अल्पायुमा मर्ने संभावना १२ प्रतिशतले घट्ने पाएको छ। त्यस्तै जापानको चिबा विश्वविद्यालयका प्राध्यापक योसिफुमी मायाजाकीले लामो समयदेखि विभिन्न उमेर समूहका लागि न्याचुरल बेदिंगको कक्षा सञ्चालन गर्दै आएका छन्। विद्यार्थीलाई घना जंगलमा लगेर विभिन्न किसिमको क्रियाकलाप सञ्चालन गरिनुलाई न्याचुरल बेदिंगको नाम दिने डा. मायाजाकीको विचारमा प्रकृति र मानवीय दिमागका बीच लाखौँ वर्षदेखिको संबन्ध रहेकाले सुकुमारी जंगल (भर्जिन फरेस्ट) भ्रमणले मस्तिष्कमा विभिन्न लाभदायक रासायनिक पदार्थहरू उत्पादन हुन्छन्।

जंगली वातावरणमा रम्दा मानिसलाई खुसी बनाउने हर्मोनको उत्पादन बढ्छ। व्यक्ति पुलकित भएपछि मानसिक समस्या टाढिनु स्वाभाविक हो। त्यस्तै, असल रासायनिक पदार्थले शारीरिक तन्तुहरूको सबलीकरणका खातिर काम गर्ने भएकाले व्यक्तिका महत्त्वपूर्ण अंगमा बुढ्यौलीको प्रभाव पर्दैन। परिणामस्वरूप व्यक्ति दीर्घजीवी बन्छ। क्यानडास्थित युनिभर्सिटी अफ् ब्रिटिस कोलम्बियामा साइकोलोजीका प्राध्यापक मार्क होल्डर डा. मायाजाकीसँग पूर्ण सहमति मात्र जनाउँदैनन् बरु घना जंगलको प्राकृतिक वातावरणमा टहल्नु आफैँमा बिलासिता नभइ ओखतीरहित उपचार भएको ठान्छन्। प्राकृतिक क्षेत्रको अवलोकन भ्रमण आफैंमा बिरामीका लागि अस्पताल धाउनुसँग तुलना गर्छन् उनी।

सुखी र स्वस्थ दीर्घ जीवन व्यतीत गर्न शारीरिक क्रियाशीलता महत्त्वपूर्ण बानी हो। जिमखाना गइ विभिन्न किसिमका उपकरण प्रयोग गरेर शारीरिक कसरत गर्न नसकिने होइन। तर उक्त सहुलियत र सुुविधा सबैको पहुँचमा हुँदैन। व्यस्त कार्यतालिका रहने व्यक्तिका लागि व्यायामशाला खुल्ने समय र आफ्नो कार्यतालिका मिलाउन कठिन पर्छ। त्यसैले कुनै दक्षता र उपकरण नचाहिने अनि कुनै पनि स्थानविशेषमा फुर्सद हुनेबित्तिकै सहजै गर्न सकिने भएकाले हिँडाइलाई विश्वव्यापी निःशुल्क अभ्यास मानिन्छ। वजन घटाउन मद्दत गर्ने, हड्डी तथा मुटु स्वस्थ राख्न सहायक सिद्ध हुने, उच्च रक्तचाप, क्यान्सर तथा मधुमेह जस्ता रोगलाई पछि धकेल्ने, निद्रा व्यवस्थापन, स्मरण शक्ति बढाउने, दिमाग ताजा बनाउनेलगायतका धेरै किसिमका मानसिक तथा शारीरिक स्वास्थ्यमा मद्दत गर्ने भएकाले हिँडाइप्रति अधिकांश मानिसको लगाब देखिन्छ। काठमाडौँलगायत नेपालका सहरी इलाका दैनिक प्रातः भ्रमणमा निस्कने मानिस प्रशस्तै देखिन्छन्। यसरी आफ्नो स्वास्थ्यका खातिर नियमित हिँडने व्यक्तिको ऊर्जालाई कसरी अत्यधिक लाभप्रद् बनाउने भन्ने विषयमा सोच्नु सान्दर्भिक हुन्छ।

हप्तामा दुई घण्टा प्रकृतिमा रमाउनू भन्ने बेलायती अध्ययन र कम्तीमा ३–४ पटक प्रत्येक हप्ता वन जंगल, पार्क, खोलानाला तथा पोखरी धाउनू भन्ने फिनिस आकडा अनि जापानको चिबा विश्वविद्यालयको अन्वेषणसमेतलाई संश्लेषण गर्दा छोटो समयका लागि भए पनि बारम्बार प्रकृतिको अवलोकनले अत्यधिक स्वास्थ्य लाभ दिन्छ। तसर्थ, नियमित बिहान हिँडने समुदायले वन जंगल, खोलानाला, पोखरी तलाउ भएको क्षेत्रलाई आफ्नो मार्गमा समेट्दा फाइदा हुन्छ। उदाहरणका लागि काठमाडौँका बासिन्दाले चक्रपथमा दगुर्नु भन्दा वाग्मती नदीको किनारा, पशुपति क्षेत्रको स्लेषमान्तक वन परिसर, स्वयम्भु क्षेत्रलगायतका कुनै पनि खुला चौरमा हिँडदा अत्यधिक लाभ हुने देखिन्छ।

नागरिकलाई स्वस्थ राख्न सक्नु भनेको बिरामीका लागि अस्पताल खोल्नुसरह हुन्छ। उल्लिखित अध्ययन/अनुसन्धानले प्रकृतिसँगको निरन्तर संपर्कले व्यक्तिलाई धेरै किसिमका ओखतीबाट टाढा राख्न सकिने देखाएका छन्। त्यस्तै प्रभातकालीन हिँडाइले वजन व्यवस्थापनमा सघाउने मात्र होइन, बरु मुटु रोगदेखि क्यान्सरसम्मको संभाव्यतालाई पछि धकेल्छ भन्ने धेरै अध्ययनले पुष्टि गरेको छ। तसर्थ प्रातः भ्रमण गर्ने समूहलाई सहरी कोलाहलमा टहल्नुपर्ने बाध्यताको बदला चराचुरुंगीको मनमोहक धून गुञ्जने जंगलमा हिँड्न पाउने वातावरण मिलाउन सके व्यक्तिको स्वास्थ्यमा सुधार हुन्छ। जनता निरोगी भए देशको स्वास्थ्य खर्च घट्छ। तसर्थ, अहिलेको अवस्थामा प्रत्येक गाउँपालिकाले आआफ्नो भौगोलिक इलाकामा आफ्ना बासिन्दाको पहुँच हुने गरी जंगललगायतका प्राकृतिक वातावरण स्थापना तथा संरक्षणमा ध्यान दिन आवश्यक छ। जंगलले वातावरण स्वच्छ बनाउनुका अतिरिक्त नागरिकको स्वास्थ्य सुधार्नसमेत मद्दत गर्ने भएकाले राष्ट्रिय स्तरमै ग्रिन तथा ब्लु एरियाको संवर्द्धनका लागि अभियान चाल्न श्रेयष्कर देखिन्छ। ‘हरियो वन नेपालको धन’ को बदला ‘नेपालीको स्वस्थ जीवनका लागि जंगल संरक्षण’ भन्ने नारा सान्दर्भिक हुने देखिन्छ। 

प्रकाशित: १० माघ २०७९ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App