१५ चैत्र २०८० बिहीबार
विचार

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

आन्द्राको कार्य शरीरलाई आवश्यक पोषण तत्वहरु सोस्ने र बाँकी रहेका पदार्थ त्याग गर्ने हो। ठूलो आन्द्राले पाचनपछि त्याग गरिने ठोस पदार्थको भण्डारण, तिनमा रहेको तरल पदार्थ तथा लवणको शोषण र त्याग गर्ने काम गर्छ। यतिमात्र नभएर ठूलो आन्द्रामा रहने करोडौं ब्याक्टेरियाहरुको सही उपस्थिति समग्र मानव स्वास्थ्यको सन्तुलनका लागि अत्यन्तै आवश्यक मानिन्छ। यस्तो महत्वपूर्ण अंगलाई कब्जियतदेखि क्यान्सरसम्मका रोगले सताउने गर्छ तर ठूलो आन्द्रामा हुने प्रायः रोगलाई रोकथाम तथा नियन्त्रण गरेर यसबाट हुने क्षति कम गर्न सकिन्छ।

विविध अध्ययन/अनुसन्धानले ९० प्रतिशतभन्दा बढी क्यान्सर मान्छेको जीवनशैली तथा ऊ रहेको वातावरणका कारण हुने देखाएको छ। हाम्रो देशको स्वास्थ्य समस्याहरुमा नसर्ने रोगअन्तर्गत ठूलो आन्द्राको क्यान्सर पनि एउटा मुख्य चुनौतीका रूपमा देखा परिरहेको छ। अन्य क्यान्सरझैं धेरै जस्तो ठूलो आन्द्राको क्यान्सर पनि जीवनशैलीसँग सम्बन्धित भएका कारण बढ्दै गएको सहरी जीवनशैलीले यसलाई अझ जटिल बनाउने अनुमान गर्न सकिन्छ। र, जीवनशैलीमा सुधार गरेर धेरै हदसम्म रोकथाम पनि गर्न सकिन्छ।

तर रोकथाम र नियन्त्रण गर्न सकिने तथ्यको विपरित समग्र विश्वमा र नेपालमा पनि क्यान्सर रोगीहरुको संख्या लगाताररूपमा बढ्दै नै गइरहेको छ। अमेरिकामा गरिएका अध्ययनहरुले क्यान्सरका कारण भएका मृत्युहरुमा लगभग ३५ प्रतिशत खानपानले, ३० प्रतिशत सूर्तिजन्य पदार्थले, २० प्रतिशत संक्रमणले तथा बाँकी वातावरणीय प्रभावले हुने क्यान्सरलाई कारक रहेको देखाइएको छ। वंशाणुगत कारणबाट हुने क्यान्सरका घटना (जुन ५ देखि १० प्रतिशत हुने अनुमान गरिन्छ) बाहेक अन्यलाई सन्तुलित भोजन, शारीरिक व्यायाम, स्वस्थ जीवनशैली तथा उमेरअनुसारको शारीरिक तौल कायम गरेर रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।

यस कारण ठूलो आन्द्राको क्यान्सर लाग्ने सम्भावनाबाट जोगिनका लागि आज र अहिलेबाट नै राज्य, समाज तथा मुख्यरूपमा हरेक व्यक्ति सचेत हुनु जरुरी छ। ठूलो आन्द्राको क्यान्सर तथा अन्य क्यान्सरको रोकथाममा सफलताका लागि निम्न कुरामा ध्यान दिनु जरुरी छ : 

१. तरकारी, सागपात र फलफूलको मात्रा बढाउनु

तरकारी तथा सागपातमा एन्टिअक्सिडेन्टहरु तथा रोगसँग लड्न मद्दत गर्ने तत्वहरुका साथै क्यान्सरकारक तत्वलाई नष्ट गर्ने क्षमतायुक्त रसायनहरु पनि रहन्छन्। यसका साथै तरकारी र फलफूलमा पाइने रसायनहरुले ठूलो आन्द्रामा शरीरलाई आवश्यक ब्याक्टेरियाको वृद्धिमा सकारात्मक प्रभाव पारेर आन्द्रामा हुन सक्ने क्यान्सरजन्य गिर्खाको वृद्धि सम्भावना घटाउँछ। 

२. रेसेदार खानाहरुको मात्रा बढाउने

तरकारी तथा अन्य खानेकुरामा पाइने रेसाहरुलाई मानव पाचन प्रणालीको ठूलो मित्रका रूपमा लामो समयदेखि चित्रण गर्ने गरिएको छ। यसले ठूलो आन्द्राबाट नपचेका ठोस तत्व निश्कासन गर्नमा सघाउ पुर्‍याउँछ जसले त्यहाँ रोगको उत्पत्ति हुने सम्भावना कम गराउँछ। रेसादार खानेकुराले कब्जियत कम गर्छ जसले ठूलो आन्द्रामा हुन सक्ने संक्रमण रोक्छ।

३.भिटामिन डिको मात्रा सन्तुलनमा राख्ने

भिटामिन डिले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न सहयोग गर्ने अध्ययनहरुबाट पुष्टि भएका छन्। त्यसैले यसको मात्रालाई सन्तुलित राख्दा शरीरमा संक्रमण भएमा त्यसलाई सामना गर्न शरीर सक्षम हुन्छ।

४.रातो तथा प्रशोधित मासुप्रति सावधानी

अत्यधिक तारेको र पोलेको मासु, बट्टाबन्द तथा सेकुवा जस्ता मासुजन्य पदार्थले ठूलो आन्द्राको क्यान्सरको सम्भावना बढाउने हुनाले यसप्रति सावधानी अपनाउनुपर्छ।

५.शारीरिक व्यायाम

नियमितरूपमा शारीरिक व्यायाम गर्ने व्यक्तिमा शारीरिक कसरत नगर्नेलाई भन्दा ३० देखि ४० प्रतिशत ठूलो आन्द्रामा क्यान्सर विकास हुने सम्भावना घटेको पाइएको छ। व्यायामले रगतमा इन्सुलिनको मात्रा घटाउन मद्दत गर्ने र त्यसबाट क्यान्सर हुने खतरा घट्ने गर्छ। यसका साथै व्यायामबाट क्यान्सर कोशहरुको मृत्यु दर पनि बढ्ने हुन्छ। यो रोगको रोकथाममा व्यायामको महत्वपूर्ण हात रहन्छ र नियमित व्यायाम गर्ने व्यक्तिलाई कुनै पनि रोग लाग्ने सम्भावना कम रहन्छ। शारीरिकरूपमा सक्रिय रहनु निरोगिताका लागि अति नै आवश्यक पूर्वसर्त मानिन्छ र त्यसका लागि मेसिनको सहायतामा जीवनका हरक्रियाकलाप गर्ने सहरियाहरुलाई दैनिक कम्तीमा १० हजार पाइला हिँड्ने सुझाव दिने गरिएको छ।

६.मोटोपना नियन्त्रण

शरीरमा मोटोपना भएकाहरुलाई दर्जनौं प्रकारका प्राणघातक रोग हुने सम्भावना उच्च रहेको तथ्यलाई विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन्। पेट तथा कम्मरमा जम्मा हुने अनावश्यक बोसोले ठूलो आन्द्रामा क्यान्सरको सम्भावना अझ वृद्धि गराउँछ। त्यसैले उमेरानुसारको तौल कायम राख्नु हरदृष्टिमा लाभदायक हुन्छ र ठूलो आन्द्राको क्यान्सरको रोकथाममा मोटोपना नियन्त्रणले अति नै सकारात्मक काम गर्छ।

७.धूमपान तथा मद्यपान त्याग

धूमपान तथा मद्यपानको सोझो सम्बन्ध विविध रोगहरुसँग, जस्तै– ठूलो आन्द्राको क्यान्सरसँग पनि रहेको तथ्यलाई लगाताररूपमा अध्ययन तथा अनुसन्धानहरुले पुष्टि गरिरहेका छन्। त्यसैले धूमपान तथा मद्यपानबाट टाढा रहनु नै ठूलो आन्द्रा तथा कैयौं प्रकारका क्यान्सर तथा अन्य प्राणघातक रोगहरुको रोकथाम गर्ने अचुक उपाय हो।

८. लसुन सेवन

प्रयोगशालाहरुबाट लसुनले क्यान्सर कोशहरुलाई नष्ट गरेका प्रमाण भेटिएकाले लसुनको सेवनलाई क्यान्सर तथा विशेष गरेर ठूलो आन्द्राको क्यान्सरको विकासमा अवरोध गर्ने उत्प्रेरकका रूपमा स्वीकार गरिएको छ। लसुन सेवनले पेटसम्बन्धी विविध रोगमा पनि फाइदा गर्ने भएकाले यसको दैनिक सेवनले क्यान्सर तथा पेटका अन्य रोगको रोकथाममा सकारात्मक प्रभाव पार्छ।

अन्त्यमा, पचास वर्ष उमेर पुगेका हरनागरिकले ठूलो आन्द्रामा आएका परिवर्तनबारे जानकारी राख्नका लागि सम्बन्धित चिकित्सकलाई नियमितरूपमा जाँच गराउनु नितान्त जरुरी छ। यसका लागि राज्यले नै आवश्यक नीति अवलम्बन गर्नु आवश्यक छ जसले समयमा नै खतरनाक रोगबारे जानकारी गराएर यसको उपचारमा हुने ठूलो खर्च रोक्छ। नागरिकको अकाल मृत्युलाई समेत टार्छ। यस सन्दर्भमा अमेरिकामा पचास उमेर पार गरेका हरेक नागरिकले प्रत्येक पाँच वर्षमा सिग्मोडोइस्कोपी र प्रत्येक दश वर्षमा कोलोनोस्कोपी गराउनु आवश्यक छ भनिएको छ। ठूलो आन्द्राभित्र जाँच गर्न प्रयोग हुने सिग्मोडोइस्कोपी तथा कोलोनोस्कोपी विधि तथा यन्त्रहरुको सहायताले ठूलो आन्द्राभित्र गिर्खाहरुको विकास तथा वृद्धिलाई देख्न सकिने हुनाले तिनको प्रकृतिबारे समयमै पत्ता लगाएर तिनको व्यवस्थापन गर्न सकिन्छ। यसले भविष्यमा हुन सक्ने खतरनाक रोगको रोकथाम गर्न मद्दत पुर्‍याउँछ।

स्वास्थ्यकर्मी, भक्तपुर क्यान्सर अस्पताल

प्रकाशित: ३१ श्रावण २०७३ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App