२४ श्रावण २०७७ शनिबार
विचार

विश्वविद्यालय कि गौचरन !

‘छेवैमा गाईवस्तु चरिरहेका छन्, गौचरणजसरी । मोटरसाइकल तथा गाडी सिक्नेहरू ठूलो आवाजमा हल्ला मच्चाइरहेका छन्, सार्वजनिक सडकजसरी। क्रिकेट र फुटबल खेल्नेको स्वर पनि उत्तिकै ठूलो छ, खेलमैदानमा जस्तै । भुस्याहा कुकुरको बिगबिगी बढ्दो छ, दोबाटो–चौबाटोमा जस्तै । ढल निकास छैन, यो वर्षामा सानासाना पोखरी नै बनेका छन् ।’ यो दृश्य हो मुलुककै ठूलो तथा पहिलो शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालयको । उज्ज्वल भविष्यको सपना बुनेर उच्च शिक्षा हासिल गर्न देशका विभिन्न भागबाट कीर्तिपुरस्थित त्रिवि पुगेका विद्यार्थी उल्लिखिति बेथितिबाट प्रताडित बन्दै आएका छन् । तिनले कक्षा कोठामा पढिरहँदा कहिले भुस्याहा कुकुरबाट डराउनुपरेको छ त कहिले क्रिकेट र फुटबल खेल्नेको प्रहारबाट !तीन हजार रोपनीभन्दा बढी जमिनमा फैलिएको त्रिवि लामो समयदेखि अव्यवस्थितमात्र होइन असुरक्षितसमेत बन्दै आएको छ । त्रिवि कुनै विद्या आर्जन गर्ने सरस्वतीको मन्दिरजस्तो नभएर खुला सार्वजनिक स्थलजस्तो बन्न पुगेको छ । त्रिविलाई सफासुग्घर तथा व्यवस्थित पार्न प्रशासन तथा अन्य सम्बद्ध विभाग असफल भएको देखिएको छ ।

त्रिवि केन्द्रको सफाइका निम्ति अढाइ सयभन्दा बढी कर्मचारी राखिएको छ । तिनको सेवासुविधाका लागि वार्षिक खर्च साढे सात करोड रुपैयाँभन्दा बढी छ । तर, त्यो विद्याको मन्दिर जहिले पनि खुल्ला मैदान र गौचरणजस्तो बन्न पुगेको छ । त्यहाँ विभिन्न ३९ केन्द्रीय विभाग, ४ अनुसन्धान केन्द्र, प्रिन्सिपल कार्यालय, पाठ्यक्रम विकास केन्द्र, पुस्तकालयलगायतका कार्यालयको सरसफाइका निम्ति मनग्गे कर्मचारी राखिएको छ । तर, अव्यवस्था कतिसम्म छ भने विद्यार्थी पढिरहेको स्थानमा भुस्याहा कुकुर पसेर पढाइमा व्यवधान ल्याउनु सामान्य घटना हुन पुगेको छ । कक्षा कोठामा वर्षायाममा भल पस्नु नियमित हुन पुगेको छ । क्रिकेट तथा अन्य बलले लागेर कक्षाकोठाका सिसा फुट्नु र विद्यार्थीलाई लाग्नु पनि सामान्य बनेको छ ! त्यतिमात्र होइन कक्षा कोठाको बाहिरपट्टि अग्लाअग्ला घाँस र अव्यवस्थित रुखले खतरा बढाइदिएको छ । यस्तो लाग्छ, त्यहाँका कर्मचारीलाई जिम्मेवारीबोधले कहिल्यै छुँदैन । ‘सरकारी काम कहिले जाला घाम’ उखान चरितार्थ भएको छ । पिच उक्किएर सवारी गुडाउनै गाह्रो परेको छ भने कतिपय बाटोमा ग्राभेल पनि हुन सकेको छैन । यसले त्रिवि परिसरभित्र नै दुर्घटना हुन सक्ने अवस्था उत्पन्न भएको छ । त्रिविले विद्यार्थीबाट मात्र होइन सरकारबाट पनि वार्षिकरूपमा आवश्यक बजेट पाउँछ । बजेटको समुचित उपयोग हुन नसक्दा यो आजभन्दा करिब ६ दशकअघि (सन् १९५९)स्थापित जेठो विश्वविद्यालय क्रमशः जीर्ण बन्दै गएको छ । दोस्रो जनआन्दोलनपश्चात् त्रिविमा कुलपति प्रधानमन्त्री हुने चलन बसाइयो । उपकुलपति पनि दलीय भागबण्डामा नियुक्त गरिँदै आएको छ । अन्य महŒवपूर्ण पद दलहरूकै अधिनमा छन् । यति हुँदाहुँदै पनि यो विश्वविद्यालयलाई उदाहरणीय शैक्षिकस्थल बनाउन कोही अग्रसर नहुनु विडम्बना नै हो ।

विद्यार्थीले दैनिकजसो विश्वविद्यालयमा करिब ८ घन्टा बिताउनुपर्छ । गाउँबाट उच्च शिक्षाको आकांक्षा बोकेर त्रिविबारे एउटा स्वच्छ–हराभरा तस्बिर सोचर आएका विद्यार्थी त्यहाँको हालत देख्दा छक्क पर्ने गरेका छन् । यसले उनीहरूको शिक्षा आर्जनमा समेत असर परेको छ । उसै पनि शिक्षालय सफासुग्घर, शान्त, सुविधायुक्त वातावरणमा सञ्चालित हुनुपर्छ । त्यसमाथि मुलुककै पहिलो विश्वविद्यालय त अरुभन्दा हरेक कुरामा अब्बल हुनुपर्नेमा कमजोर हुनु समग्र शिक्षा क्षेत्रकै निम्ति दुःखलाग्दो अवस्था हो । पछिल्लो समय निजी क्षेत्रले पनि विश्वविद्यालय सञ्चालन गर्ने अनुमति पाउन थालेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय त्यस्तो अनुमति पाउने पहिलो संस्था बनेको छ । त्रिविको तुलनामा उक्त विश्वविद्यालय हरेक कुरामा व्यवस्थित देखिएको छ । त्रिवि होस् या अन्य विश्वविद्यालय नै, तिनले संसारका अन्य मुलुकका विश्वविद्यालयहरूसँग विभिन्नखालका कार्यक्रम आदानप्रदान गर्ने गर्छन् । विद्यार्थीको अध्ययनका क्रममा अनुसन्धान वा खोजका निम्ति पनि त्यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सोही सिलसिलामा त्रिवि कीर्तिपुर पुग्ने विदेशी विद्यार्थी, शिक्षक वा पदाधिकारीले के सोच्लान् ! हाम्रो शिक्षाको स्तर र गतिबारे तिनको मस्तिष्कमा कस्तो छाप पर्ला ? एक पटक त्रिवि पदाधिकारी तथा स्वयं शिक्षा मन्त्रालयले विचार पु¥याउन ढिला भइसकेको छ । विश्वविद्यालयको व्यवस्थापनको यो कमजोरीमा तत्काल सुधारल्याउनु जरुरी छ ।

प्रकाशित: २६ श्रावण २०७३ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App