आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म १९७९ पुस २७ गते तत्कालीन गोरखाका राजा नरभूपाल शाह र उनकी माइली रानी कौशल्यवतीका गर्भबाट भएको थियो। त्यसबेलाका राजाहरूले बहुपत्नी विवाह गर्ने चलनअनुसार नरभूपाल शाहका चारवटा रानी थिए। शायद राज्य विस्तार र मित्रता कायम राख्ने हेतुले यो नीति अपनाएको पनि हुन सक्छ। पृथ्वीनारायण शाहको पनि पहिलो बिहे १४ वर्षको उमेरमा मकवानपुरका तत्कालीन राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो। यो विवाह उनका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण थियो। काठमाडौँ उपत्यका भएर मकवानपुर पुग्नुपथ्र्यो। ससुरा हेमकर्णले छोरीलाई दिन चाहेको गज मोतीहार र एकदन्ते हात्ती दाइजो नदिँदा जेठान दिगवन्दन सेनसँग पृथ्वीनारायणको झगडा सुरु भयो। परिणाम, उनको दोस्रो विवाह भारत वनारसका राजपुत अहिमानसिंहकी छोरी नरेन्द्र लक्ष्मीसित भयो। त्यो विवाह पनि राजनीतिक रूपमा प्रेरित थियो।
वनारसमा गएर उनले आफ्नो गोत्र पनि परिवर्तन गरे। आफ्नो भारद्वाज गोत्र परित्याग गरी कश्यप गोत्र लिए। त्यसबेला गण्डकी क्षेत्रमा शाही ठकुरीहरूका आठ राज्य थिए। उनीहरूको एकै डफ्फा तयार पार्न र गोत्रको हत्या नहोस् भन्नका लागि पृथ्वीनारायणले त्यसो गरेका थिए। वनारसबाट उनले लडाइँमा चाहिने हतियार, गोलीगठ्ठा खरिद गरेर बडो चलाखीपूर्ण ढङ्गले नेपाल भित्र्याएका थिए। यसो गर्नुका दुईवटा कारण देखिन्छन्-नेपालको एकीकरण अभियान थालनी, तत्कालीन अङ्ग्रेजहरूले हिन्दुस्तानमा गरेको शासन शैली आफ्नो देशमा नआओस् भन्ने अभिलाषा। मकवानपुरगढीबाट गोरखा फर्कने क्रममा उनले दुलही नलिइकन टिस्टुङ, पालुङको बाटो हुँदै चन्द्रागिरि पर्वतबाट काठमाडौँ उपत्यकाको सौन्दर्य देखेर मोहित हुँदै यहाँको राजा बन्न पाए हुन्थ्यो भन्ने चाहना राखेका थिए। कुनै बेला राजा हुन सजिलो होला भनेर उनले भक्तपुरका अन्तिम राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग उपत्यका भ्रमणका क्रममा मितेरीसमेत लगाएका थिए।
अर्याल, पन्त र जोशी पण्डितहरूले गोरखा दरबारमा उनलाई नैतिक शिक्षा दिलाएका थिए। रामायण, महाभारत, चाणक्य नीति, शुक्र नीति आदि शास्त्रको अध्ययनले उनलाई नैतिकवान मात्र बनाएन, लगनशील, परिश्रमी, पराक्रमी र दूरदर्शी पनि बनायो। सानोमा बाबा गोरखनाथको दर्शन गर्दा र बाबाले दही खुवाउँदा गोडामा पोखिएकाले गोरखनाथले “तिमीले टेकेको भुइँमा विजय हासिल गर्नेछौ” भनी दिएको आशीर्वाद पृथ्वीनारायण शाहको जीवनमा लागु भएको पाइन्छ।
नुवाकोटको लडाइँमा पराजित भएपछि पिता नरभूपाल शाहको दिमाग असन्तुलनका कारण निधन भएर पृथ्वीनारायण शाह १७९९ सालमा २० वर्षको कलिलो उमेरमा गोरखाका राजा भए। उनले आफ्ना मामा तत्कालीन पाल्पाका युवराज उद्धोत सेनसँग काठमाडौँ उपत्यका विजय गर्नका लागि सल्लाह मागेका थिए। मामाले भान्जालाई “लम्जुङ भन्याको गरुड हो, गोरखा सर्प हो र काठमाडौँ भनेको भ्यागुतो हो। अघि गरुडको आँखा छल्नु तबमात्र सर्पले भ्यागुतो समात्न सक्छ” भन्ने अर्ती दिएका थिए। यही अर्तीअनुसार लमजुङसँग मैत्री कायम राख्न पृथ्वीनारायणले कूटनीतिक नीति अपनाए। काजी कालु पाण्डेको प्रयासबाट गोरखा र लमजुङसँग चेपे नदीको किनारामा उनी र लमजुङका तत्कालीन राजा रिपु मर्दन शाहबीच चार बुँदे सन्धि कायम भएको कुरा इतिहासमा वर्णित छ।
उपत्यकाका तीन राजा कान्तिपुरका जयप्रकाश मल्ल, पाटनका तेजनरसिंह मल्ल र भक्तपुरका राजा रणजीत मल्ल आपसमा झगडा गरिरहन्थे। उपत्यका खेतीमा ऊर्वर थियो, राजनीतिमा अशक्त थियो। यो कुरा दूरदर्शी पृथ्वीनारायणले बुझेका थिए। उपत्यका आक्रमण गर्न उनले प्रथम पटक विसं १८१० मा कालु पाण्डेको नेतृत्वमा कीर्तिपुरमाथि हमला गरे। ६ घण्टाको लडाइँमा ४ सय गोर्खाली सेना हताहत भए। बल्खु खोलामा भएको सो लडाइँमा कालु पाण्डेले वीरगति पाए। हार स्वीकार्दै गोर्खाली सेना पछि हट्यो। कालु पाण्डेको निधनले पृथ्वीनारायण शाह केही निराश भए तर हिम्मत हारेनन्। यसअघि कालु पाण्डे र तुलाराम पाण्डेको नेतृत्वमा उपत्यकाका पूर्व र पश्चिमका धेरै भूभाग उनले कब्जा गरिसकेकाले काठमाडौँ खाल्डोलाई अवश्य पनि विजय हासिल गर्छु भन्ने साहस बोकेका उनले वि.सं. १८२५ इन्द्रजात्राको दिनमा उपत्यकामा हमला गरे।
जात्रामा मस्त रहेका उपत्यकाका नेवार जातिका राजा र जनताले गोर्खाली चतुर शाहवंशी राजाको रणनीति बुझ्न सकेनन्। यसैगरी भक्तपुर र पाटनका राजालाई पनि उनले काबुमा पारे। काठमाडौँका राजा जयप्रकाश मल्ललाई अन्तिम चाहना के छ भनी दूतमार्फत भन्न लगाउँदा उनले एक जोर जुत्ता र छाता मागेको कुरा चर्चित छ। पृथ्वीनारायण शाह आफैँ उनीकहाँ पुगेर जुत्ता र छाता उपहार दिँदै तपाईँको इच्छा पुरा हुने नै छ तर मेरो छोराको वंशपछि मात्र भनेछन्। इतिहासविद् भन्ने गर्छन्- पृथ्वीनारायण शाहका नाति सिंहप्रताप शाहका छोरा रणबहादुर शाहका रूपमा जयप्रकाश मल्लले जन्म लिई आफ्नो इच्छा पूरा गरे। पृथ्वीनारायण शाहको जिन्दगी सङ्घर्षमा बित्यो। उनले इसाईहरूलाई देशबाट निष्काशन गरे। तिब्बतसँगको व्यापार वृद्धि गरे। सैनिक सङ्ख्या विस्तार गरे। आफ्ना भाइभारदारहरूलाई अधिकार नदिएर लडाइँमा इमानदारिता देखाउने वीर पुरुषलाई अधिकार दिलाए।
उनले कला, साहित्य र सङ्गीतमा ध्यान दिने मौका नै पाएनन्। बरु राष्ट्र निर्माणका लागि बाइसे चौबीसे राज्यहरूलाई एक सूत्रमा आबद्ध गर्ने नीति अपनाए। एक प्रसङ्गमा उनले तत्कालीन राजा जयप्रकाश मल्ललाई बहादुर, रणजीत मल्ललाई विद्वान् र तेजनरसिंह मल्ललाई मूर्खको संज्ञा दिएका छन्। जिन्दगीको उत्तरार्द्धमा काठमाडौंको वसन्तपुर दरबारमा बसी राज्य चलाए। नौतले न्यातपोल मन्दिर निर्माण गरे। त्यसपछि आफैंले निर्माण गरेको नुवाकोटको नौतले दरबारमा गएर भाइ भारदारहरूको बीचमा रही शासन चलाए। त्यहीँ बसेर उनले भावी पिँढीलाई र दरवारका अन्य व्यक्तिलाई अर्ती उपदेश दिए। जुन अर्तीहरू उनका दिव्योपदेशका रूपमा वर्तमानमा पनि सान्दर्भिक छन्।
“घुस दिन्या र घुस लिन्या देशका शत्रु हुन् , यिनलाई देश निकाला गरेपनि हुन्छ” भन्ने उनको उपदेशको वर्तमान हाम्रो मुलुकका ठूलाबडाहरूले नै खिल्ली उडाइरहेका देखिन्छ। नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो, मेरा साना दुःखले अर्ज्याको मुलुक होइन। सबैलाई चेतना भया।” “दक्षिणको छिमेकी निकै धूर्त छ, उसले कुनैबेला घात गर्न सक्छ उसबाट सधै बच्नु।” “टक्सार चोखो चलाउनु अदालतको पैसा दरवारमा नहाल्नु।” “नेपाल दुई ढुङ्गाबीचको तरुल हो” लगायतका उनका उपदेशमा वर्तमान नेपालको राजनीतिक, सामाजिक, आर्थिक र बाह्य कूटनीतिक परिवेश झल्केको पाइन्छ। यसैगरी उनले भारतमा व्यापारका साथ बाइबिल र बाइविलका साथ तरवार” भन्ने लोकोक्ति देखेका थिए, अनुभव पनि गरेका थिए। त्यसैले नेपाल एकीकरण गरेलगत्तै तत्कालीन मल्ल राजाहरूको संरक्षणमा बसेका “केपुचिन” धर्म प्रचारकहरूलाई उनले उपत्यका छाड्न आदेश दिएका थिए।
नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको जग बसाल्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बाल्यकालमा शिक्षा आर्जन गर्न नपाए पनि उनको दरबारमा ललिता वल्लभ, जयमङ्गल, महेश्वर, कुलानन्द, हरिदत्त, बालकृष्ण आदि विद्वान्को ठूलो सम्मान थियो। देशभक्तिमा चुर्लुम्मै डुबेका पृथ्वीनारायण शाह, साहसी, चतुर, संगठनकर्ता र कर्मठ सेनापति पनि थिए। “जाहिकटक नगर्नु झिकी कटक गर्नु, देशका कपडा लगाउनलाई मनाही गरिदिनु, आफ्ना देशका कपडा बुन्नु, जान्यालाई नमूना देखाई सघाउनु, बुन्नु र बुन्न लगाउनु”, जस्ता अर्तीले देशका हामी सबै नागरिकलाई उद्यमी बन, नेपालीपन नछोड भन्ने सिकाउँछ वर्तमान अवस्थामा पनि। ३१ वर्षसम्म उनले राष्ट्रका लागि गरेको एकीकरणको अभियान, नेपालीपनको उचाइ इतिहासमा जीवन्त रहनेछ। ज्वरोका कारण १८३२ पुस महिनामा नै नुवाकोट, देवीघाटमा ५२ वर्षको उमेरमा शाहवंशका उज्याला नक्षत्र बडामहाराजाधिराज पृथ्वीनारायण शाहको निधन भयो।
उनले राष्ट्रको अस्तित्व सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्णन गरेका पाइँदैन। ती महिलाका पनि कथा र व्यथा थिए होलान्, लडाइँमा पति गुमाएका महिलाका पनि भुल्न नसकिने पीडा थिए होलान्। तर उल्लेख गरिएको कतै पाइँदैन। पृथ्वीनारायण शाहले लगाउने लुगा सिलाउने बिसे नगर्चीबारे पनि पाठकहरूले ज्ञान लिन पाएका छैनन्।
नेपालराष्ट्र निर्माणमा पृथ्वीनारायण शाह, प्रजातान्त्रिक युगमा नेपाल राष्ट्रलाई प्रवेश गराउनमा प्रथम जननिर्वाचित प्रम बिपी कोइराला र नेपाली भाषाको उन्नयनका लागि सेवा गर्ने आदिकवि भानुभक्त आचार्यलाई जन-जनले सम्झिरहनेछ।
प्रकाशित: २७ पुस २०७९ ००:४८ बुधबार