९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

नेपालमा इसाई धर्म: प्रवेश र विस्तार

भीमलाल लामिछाने

नेपालको हिन्दु धर्मको पुरानो मौलिक नाम आर्य धर्म हो र हामी आर्य धर्मका अनुयायी भएकाले हामीलाई आर्यजाति पनि भनिन्छ। यो आर्यधर्म वेदसँग सम्वन्धित भएकाले यसको नाम वैदिक सनातन हिन्दु धर्म हो। वैदिक सनातन हिन्दु धर्म भन्ने वाक्यांश लामो भएकाले सजिलो गरी बोल्दा हिन्दु धर्ममात्र भनिन थालियो। यो धर्म अनादि कालदेखि चलिआएकाले यसको स्थापनाको तिथिमिति थाहा हुँदैन। त्यसैले यस धर्मलाई सनातन भनिएको हो। सनातनको अर्थ अनादि कालदेखि चलिआएको र कहिल्यै नाश नहुने हुन्छ।

अहिले विश्वमा फैलिएको इसाई धर्मचाहिँ विक्रम संवत्को ५७ वर्षमा मात्र हालको इजरायलको राजधानी जेरुसेलेमको वेथलेहेम सहरको ग्यालिली भन्ने ठाउँमा जन्मेका जिसस क्राइस्ट भन्ने व्यक्तिले पहिला अध्ययनको लागि भारत, नेपालमा आएर हिन्दु र बौद्ध धर्मको अध्ययन गरेर इजरायलमा फर्केपछि मात्र इसाई धर्मको प्रतिपादन गरेका हुन।

व्यापारको निहुँमा हिन्दुस्थानमा प्रवेश गरेका अङ्ग्रेजले त्यहाँका ६५० भन्दा बढी राज्यलाई क्रमशः कब्जा गरेपछि हिन्दुस्थानको नाम हिन्दुस्तानमा परिवर्तन भयो र हिन्दु धर्मको सट्टा धर्म निरपेक्षता लागु गरियो। पहिला-पहिला मल्लकालसम्म युरोप र नेपालको आतेपाते गर्ने मार्ग तिब्बत भएर आउने-जाने गरिन्थ्यो। यसै सिलसिलामा वि.सं. १६८५ (सन् १६२८)मा आजभन्दा ३९४ वर्षपहिले सर्वप्रथम इसाई धर्म प्रचारका लागि युरोपबाट तिब्बत भएर आउने इसाई फिरङ्गी जोवा केब्राल नेपाल आउँदा कान्तिपुरमा शिवसिंह मल्ल राजा थिए।

केही अवधि नेपालमा यहाँको धार्मिक गतिविधि अध्ययन गरेर इस्ट इन्डिया कम्पनीको सरकार रहेको भारतको पटनामा गएर त्यहाँ पनि केही अवधि बसेर पुनः नेपाल भएरै तिब्बतको बाटोबाट निज जोवा केब्राल युरोप फर्केका थिए। यस प्रकार नेपालमा आउने पहिलो इसाई धर्मप्रचारक यिनै युरोपियन फिरङ्गी थिए। त्यतिबेला तिनको बसाई धेरै लामो थिएन। तिनी केवल प्रारम्भिक सर्भेक्षण गर्न आएका इसाई फिरङ्गी हुन्। युरोपियन धर्म प्रचारकलाई फिरङ्गी भनिन्छ।

त्यसको ३३ वर्षपछि वि.सं. १७१८ (सन् १६६१) मा ग्रुवर र डोरविल भन्ने २ जना युरोपियन फिरङ्गी तिब्बतकै बाटो भएर नेपाल आउँदा कान्तिपुरमा प्रताप मल्ल र पाटनमा श्रीनिवास मल्ल राजा थिए। यी २ जना फिरङ्गी पनि केही अवधि कान्तिपुरमा बसेर भारतको पटनामा गए। त्यसपछि फेरि नेपालकै बाटो भएर तिब्बत हुँदै युरोप फर्केका थिए। यी थिए-नेपालमा इसाई धर्मको अध्ययन गर्न आएका दोस्रो दलका युरोपियन फिरङ्गीहरू।

त्यसपछि वि.सं. १७७२ (सन् १७१५) मा फेरि त्यही तिब्बतको बाटो भएर केही फिरङ्गीहरू कान्तिपुरमा आएर लामै समयसम्म डेरा जमाएर बसे र इसाई धर्मको बारेमा प्रचार गर्दै निःशुल्करूपमा बाइबल बाँडेको इतिहासमा पढ्न पाइन्छ। पहिला आउनेहरूले प्रारम्भिक अध्ययनमात्र गरेर गएका थिए भने यसपटक आएकाले इसाई धर्मको प्रचार नै गरेका थिए।

अहिले संसारभर कोरोना भाइरस भन्ने महामारी रोग फैलिएजस्तै वि.सं. १७७५-१७२० सम्म प्लेग रोग फैलिएर महामारीको रूप लिएको थियो। त्यसै रोगबाट कैयौँ मानिसको ज्यान गइरहेको समयमा कान्तिपुरमा इसाई धर्म प्रचार गर्न बसेका इसाई फिरङ्गीहरूले बाइबललाई विश्वास गरेमा रोग निको हुन्छ भन्दै कैयौँ बिरामीलाई बाइबल निःशुल्क बाँडेर इसाई बनाएका थिए। त्यसपछि फेरि भादगाउँमा भूपतिन्द्र मल्ल राजा भएको समयमा वि.सं. १७७८ (सन् १७२१) मा युरोपबाट आएको फादर जोजुइट डेसिडरी भन्ने इसाई फिरङ्गीलाई काठमाडौँ उपत्यकाका तीनै सहरमा राजाले स्वागत गरेर राखेका थिए।

यसरी युरोपियन फिरङ्गीहरूलाई तीनै सहरका राजाले स्वागत गर्नुपर्ने कारण के थियो भने पृथ्वीनारायण शाहले जताततैबाट आक्रमण गर्दै काठमाडौँ उपत्यकालाई घेरामा पारिसकेकाले ती युरोपियन फिरङ्गीमार्फत भारतमा रहेको इस्ट इन्डिया कम्पनीको सरकारसँग सहयोग माग्न परेको थियो भने ती फिरङ्गीहरूलाई पनि ढुंगो खोज्दा देउता मिले जस्तै भएको थियो। त्यही मौकामा काठमाडौँ उपत्यकाका तीनै सहरमा इसाई धर्मको व्यापक प्रचार गर्ने मौका मिल्यो र ती फिरङ्गीहरू तीनवटै सहरमा बस्न थाले।

वि.सं. १७९५-९६ मा भादगाउँका राजा रणजित मल्लले पृथ्वीनारयण शाहसँग युद्ध गर्न सहयोगको लागि आफन्तलाई भारतको पटना पठाएर त्यहाँबाट फिरङ्गीहरू मगाइ भादगाउँमा बस्ने, खाने पूरै बन्दोबस्त मिलाइ सदनपत्र (राजाज्ञाको प्रमाणपत्र) जारी गरेकोदेखि कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा राज्यप्रकाश मल्लले पनि भादगाउँमा भएका फिरङ्गीहरूलाई झिकाइ आ-आफ्नो राज्यमा सनदपत्र दिई पृथ्वीनारयाण शाहको आक्रमण रोक्ने मनसायले तिनीहरूलाई इसाई धर्म प्रचार गर्न पूर्ण छूट दिएका थिए। यसबाट भारतमा रहेको अङ्ग्रेज सरकार खुसी भएर पृथ्वीनारायण शाहमाथि आक्रमण गरिदेलान् भन्ने ती राजाहरूको सोच थियो। तर पृथ्वीनारायण शाहले सिन्धुलीगढीबाटै अङ्ग्रेजको फौजलाई क्षतविक्षत पारी लखेटिदिए र काठमाडौँ उपत्यकाका मल्ल राजाहरूको सपना तुहाइदिए।

यसरी पृथ्वीनारायण शाहको आक्रमण रोक्न इसाई धर्म प्रचार गर्न दिँदा वि.सं. १८२४ सम्ममा ५९ जना नेपाली इसाई बनेका रहेछन्। वि.सं. १८२६ मा पृथ्वीनारयाण शाहले काठमाडौँ उपत्यकाका तीनै सहरमा विजय गरिसकेपछि इसाई बनेका अन्य थप व्यक्तिसहित ६२ जना नेपाली इसाई र युरोपियन फिरङ्गीहरूलाई समेत नेपालबाट निष्काशन गरिदिए। निष्काशनमा परेपछि फिरङ्गीहरू आ-आफ्नो देशमा गए भने इसाई बनेका ६२ जना नेपाली भारतस्थित पटनाको बेतियाको चुहारी गाउँमा गएर बसेका थिए। अहिले पनि तिनीहरूका सन्तान दरसन्तान त्यहीँ नै बसोबास गरिरहेका छन्। स्मरण रहोस्, तिब्बतका राजाले पनि इसाई बनेका तिब्बतियनहरूलाई कुनै नगदी जिन्सी केही लान नदिई निष्काशन गरेका थिए भने पृथ्वीनारायण शाहले चाहिँ आफूले लान मिल्ने सामान लिई जान छूट दिएका थिए। यसरी निष्काशनमा परेका फिरङ्गीहरूको संस्था नेपालको शाहकालीन दरवारसँग बदलाको भावनाले ओतप्रत भएको रहेछ।

शाहकाल र राणाकालमा नेपालमा इसाईहरूको खासै बढीत्तरी भएको नपाए तापनि २००७ सालको प्रजातन्त्रको उदयपछि इसाई मुलुकहरूले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अघोषित रूपमा इसाई धर्मको विजारोपण गर्न सुरु गरे। युरोपियन तथा अमेरिकन राष्ट्रबाट नेपालमा खोलिएका कैयौँ मिसनरिज संस्था छन्। मिसनरिजको शाब्दिक अर्थ हुन्छ-धर्म प्रचारको निमित्त अर्काे देशमा संस्थागत रूपमा पठाइएको मानिसको समूह। पञ्चायत कालमा यस्ता संस्था स्थापना भएपनि सुषुप्त थिए।

तर २०४६ सालको बहुदलीय व्यवस्थापछि यी सुषुप्तावस्थामा रहेका मिसनरिजहरू सक्रिय भएर इसाई धर्मको प्रचार गर्न थाले र नयाँ-नयाँ संस्था पनि इसाई धर्म प्रचारकै सिलसिलामा देखा पर्न थाले। कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्व कालमा ६३ जना इसाई धर्म प्रचारकलाई जेल सजाय दिइएको थियो। तर पनि इसाई धर्मको प्रचार रोकिएको छैन।

प्रकाशित: २४ पुस २०७९ ००:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App