९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

अर्जेन्टिना सरकारलाई फुटबलको पाठ

मारियो आई ब्लेजर 

विश्व कप फुटबलमा अर्जेन्टिनाको शानदार विजयबारे धेरै कुरा लेखिसकियो र धेरै कुरा भनी पनि सकियो। अधिकांश सञ्चारमाध्यमले अर्जेन्टिनी टोलीको खेल रणनीति र खेलबारे मनग्य चर्चा गरिसकेका छन्। सन् १९८६ पश्चात पहिलो पटक विश्व कप जित्दाखेरीको विशद् खुसियाली तथा आगामी वर्ष अर्जेन्टिनामा हुने आमचुनावमा फुटबल टोलीको विजयले पार्ने सम्भावित राजनीति प्रभावबारे पनि धेरै लेखियो, बोलियो। तर, सब भन्दा रोचक प्रश्न भने बितेका आधा शताब्दीदेखि अर्जेन्टिनाले सामना गर्दै आएको आर्थिक अस्थिरताबारे अहिलेको विजयले के बोल्छ भन्ने हो।  

अर्जेन्टिनाले फुटबल मैदानमा पाएको सफलता र त्यहाँको आर्थिक अवस्थाबीच ठूलो अन्तर छ। एकातिर अर्जेन्टिनालाई आर्थिक उन्नतिका अवसर र सम्भावना गुमाएको देश मानिन्छ। दशकौँ दशकसम्म त्यो देश एकपछि अर्को आर्थिक संकटमा फस्दै आएको छ। उसले आफूलाई असाध्यै धनी बनाउन सक्ने आफूसँगै भएका बहुमूल्य सम्पत्ति क्रमशः गुमाउँदै गएको छ। जबकि ऊसँग संसारकै सबभन्दा विलक्षण प्रतिभालाई हुर्काएको र जीवन दिएको लामो कथात्मक इतिहास पनि छ।  

खेलकै पृष्ठभूमिमा छलफल गराैँ। विश्व कप फुटबलमा विजयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोली र त्यसका विख्यात कप्तान लिओनल मेस्सी राष्ट्रिय विभूति बन्दै गर्दा उनीहरूको यो सफलता भने समस्याबाट मुक्त छैन। यसअघि अर्जेन्टिना विश्व कपको फाइनलमा पाँच पटक पुगेको थियो र सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा ऐतिहासिक विजय प्राप्त गरेको थियो। तर, अर्जेन्टिनी जनताको क्षमता भने खेलकुदमा मात्र सीमित छैन। त्यो देश साहित्यकार जोर्ज लुइ बोर्ग, डानिएल बरेनबोइम जस्ता संगीतका विभूति र रेने फाभालोरो जस्ता चिकित्सा क्षेत्रका अगुवाको पनि देश हो।  

अर्जेन्टिनासँग अथाह मानव पुँजी छ। सिद्धान्ततः उनीहरूको अर्थतन्त्र उदीयमान हुनुपर्ने हो। त्यसो भए त्यहाँ किन बारम्बार बृहत् आर्थिक संकटहरू दोहोरिरहन्छन् ? मेरो बुझाइमा यसको कारण अर्जेन्टिनाले आवधिकरूपमा विनिमय दरको अवमूल्यनबिना प्रतिस्पर्धात्मकता हासिल गर्न र कायम राख्न नसक्नु हो।  

मुद्राको अवमूल्यनले केही अल्पकालीन लाभ गरे पनि उत्पादकत्वमा सुधार र नाफामूलक हुँदा मात्र अर्थतन्त्र प्रतिस्पर्धी बन्न सक्छ। त्यसका लागि लगानी र प्राविधिक अब्बलताको खाँचो पर्छ। साथै कानुनी व्यवस्था तथा नीति नियममा स्थिरता आवश्यक हुन्छ। अर्जेन्टिनाले लगानीकर्ताहरूलाई त्यस्तो अनुकूल वातावरण दिन सकेको छैन। न त त्यहाँ सम्पत्तिमाथिको अधिकारकै मनग्य सुरक्षा छ। बरु बितेका पचास वर्षमा अर्थतन्त्रमा अर्जेन्टिना सरकारको हस्तक्षेप बढ्दो छ। निजीकरणको प्रक्रिया उल्टो दिशा हिँडेको छ। नयाँ नयाँ कर थोपरिएको छ। विनिमयमा नियन्त्रण गरिएको छ। तिनले वैदेशिक लगानी र अन्य विकासका बाटामा तगारो तेर्साएका छन्। अर्जेन्टिनाको जड श्रम बजारमा कम्पनीहरूको ज्याला निर्धारण प्रक्रियामा मजदूर संगठनहरूले भूमिका खेल्छन्। यसले निजी क्षेत्रको विस्तारमा अवरोध सिर्जना गरेको छ।  

यी सबै कुराले अर्जेन्टिनामा मेर्काडो लिब्रे जस्ता इ–कमर्श खुद्रा कम्पनी र भटमास उद्योग जस्ता क्षेत्रले फलिफाप गर्दा पनि त्यहाँको अर्थतन्त्र अपेक्षित भन्दा किन कम मात्र प्रतिस्पर्धात्मक छ भन्ने कुरा प्रष्ट पार्छ। अर्थतन्त्रमा सकारात्मक सफलताले अर्जेन्टिनीहरूलाई खास छुन सकेको छैन। त्यसकारण उनीहरू आफ्नो क्षमताको उचित कदर हुने देशमा जाने गरेका छन्।  

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली फेरि चर्चाको केन्द्रविन्दु बनेको छ। टोलीका अधिकांश स्टार खेलाडी विदेशमा खेल्छन्। तथापि, खाँचो पर्दा निलो र सेतो धर्सा भएको पोशाक लगाएर अर्जेन्टिनाका लागि खेल्न पाउँदा खुसी मान्छन्। अहिलेको सरकारले तिनी खेलाडीहरूलाई मन पारेरै भए पनि राष्ट्रिय नायक र आदर्श व्यक्तित्वका रूपमा स्वीकारेको छ। तर धेरै लोकरिझ्याइँवादी वामपन्थीहरूको नजरमा विदेशका लागि खेल्ने खेलाडीहरू देशद्रोही हुन्।  

लगानी बढाउन, आर्थिक वृद्धि विस्तार गर्न र अर्थतन्त्रको खास क्षमता उधिन्न अर्जेन्टिनी नीति निर्माताले बजारमा आधारित आर्थिक सुधार गर्न जरुरी छ। आइएमडीको विश्व प्रतिस्पर्धात्मक सूचकांकमा ६३ वटा देशमध्ये अर्जेन्टिनाको स्थान ६२औँ स्थानमा पर्छ। अर्जेन्टिनापछि भने भेनेजुयलाको नाम छ।

यहाँ पनि फुटबलले हामीलाई केही महŒवपूर्ण पाठ सिकाउन सक्छ। राष्ट्रिय टोलीका लागि खेलाडी छनोटमा कुनै राजनीतिक हस्तक्षेप भएको थिएन। अर्जेन्टिनाको ध्रुवीकृत राजनीतिको प्रतिछाया त्यहाँका फुटबल क्लबहरूबीचको सम्बन्धमा पर्ने गरेको छ। त्यस्तै मुख्यतः राष्ट्रिय टोलीमाथि ‘स्वामित्व’ भएको शक्तिशाली अर्जेन्टिनी फुटबल संघमा पनि राजनीतिको प्रतिछाया पर्ने गर्छ। तथापि, राष्ट्रिय टोलीका खेलाडीहरू भने गैरराजनीतिक व्यावसायिक प्रबन्धकले छान्ने गर्छ। अर्जेन्टिनाको पछिल्लो विश्व कप विजयका लागि अपरिहार्य यो सीमित राजनीतिक हस्तक्षेप यसकारण सम्भव भयो किनभने करोडौँ अर्जेन्टिनीहरू फुटबल टोलीको सफलतासँग आफ्नो हिस्सेदारी भएको अनुभव गर्छन्।  

तर, अर्जेन्टिनी टोली सधैँ सफल मात्र भएका छैन, यो कुरा पनि मनमा राख्न जरुरी छ। विश्व कप जित्न आवश्यक नेतृत्व र व्यवस्थापन पाउन अर्जेन्टिनालाई ३६ वर्ष लाग्यो। राजनीतिक हस्तक्षेप पन्छाउन सक्नु सफलताका लागि अपरिहार्य थियो नै। साथै खेलाडीहरूको व्यावसायिकता र मेस्सी अनि प्रमुख प्रशिक्षक लिओनल स्कालोनीप्रति उनीहरूको सम्मानभाव तथा खेलका नियम पनि यो सफलताका निम्ति उत्तिकै अपरिहार्य थिए।  

अन्त्यहीन बृहत् अर्थशास्त्रीय संकट तोड्न र प्रतिस्पर्धात्मकता हासिल गर्न अर्जेन्टिनाले आफ्नै देशको राष्ट्रिय फुटबल टोलीबाट सिक्न जरुरी छ। खेलाडीहरूमा गौरव र अपनत्वभावका साथै पहिलो खेलमा साउदी अरबबाट भोग्नुपरेको पराजयपछि पनि उनीहरूले देखाएको धैर्य र भद्रताबाट निशृत पाठ उदीयमान अर्थतन्त्रलाई अझ बलियो बनाउन सिक्नलायक छ। उच्चस्तरीय प्रतिभाको छेलोखेलो भएको अर्जेन्टिनाले आफ्ना गल्तीबाट सिक्न सक्छ। साथै उसले आफ्नै सफलताबाट पनि धेरै कुरा सिक्न सक्छ।  

(मारियो आई ब्लेजर अर्जेन्टिनेली केन्द्रीय बैंकका पूर्वसभापति तथा बैंक अफ इंग्ल्यान्डमा केन्द्रीय बैंकिङ केन्द्रका पूर्व निर्देशक हुन्।  

स्रोत: प्रोजेक्ट सिन्डिकेट) 

प्रकाशित: २० पुस २०७९ ००:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App