१६ चैत्र २०८० शुक्रबार
विचार

डा. केसीको पक्षमा

'अन्त्यमा, हामी हाम्रा शत्रुका शब्दहरूभन्दा पनि मित्रहरूको मौनतालाई बिर्सन सक्ने छैनौँ।'

-मार्टिन लुथर किङ जुनियर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक एवं प्राध्यापक गोविन्द केसीले आठौँ आमरण अनसन गरिरहेको यो क्षणमा पनि 'मेडिकल माफिया'हरूविरुद्ध बोल्न नसक्ने वा तठष्टताको बाटो रोज्नेहरूका सन्दर्भमा यी पंक्तिको सम्झना मलाई भइरहेको छ। शत्रुका अभिव्यक्ति त कुनै पनि बेला बिर्सन सकिनेछ, तर मित्रहरूले कायरतापूर्वक राखेको मौनताको सम्झना अन्तिमसम्म पनि भइरहनेछ।

डा. केसीको सत्याग्रहको आठौँ दिन हुँदैछ आइतबार। भोक लाग्दा आठ मिनेट पनि सहन गाह्रो पर्ने हाम्रा निम्ति उनी भोकभोकै बसेको आठ दिन पुग्दा पनि हामीमध्ये धेरैलाई त्यो पीडाले छुनै सकेको छैन। अझ हामीमध्ये धेरै उनको उदात्त भावनामाथि प्रश्नसमेत गरिरहेका छौँ!

के डाक्टर केसीले यो सत्याग्रहका माध्यमबाट व्यक्तिगत कमाइ गर्नेछन्? स्वार्थैस्वार्थले घेरिएको हाम्रो कृतघ्न समाजमा महात्मा गान्धी वा मार्टिन लुथर किङले गरेको संघर्ष यथार्थमै अहिले प्रतिबिम्बित भएको छ। हाम्रो जीवनकालमा फेरि अर्का महात्मा गान्धीलाई हामीले देखिरहेका छौँ। यो समाजमा स्वार्थरहित सेवा पनि हुन्छ भन्ने उदात्त भावनाका प्रतिनिधि डा. केसी हुन् भन्न मलाई यतिबेला किञ्चित पनि संकोच लागेको छैन।

शक्तिशालीहरूका पक्षमा बोल्दा यतिबेला लाभैलाभ छ। र, पाइला–पाइलामा फाइदाका लागि र्‍याल चुहाइरहेका लुब्धाहरूलाई पनि हामीले देखिरहेका छौँ। हाम्रो समाजमा व्यक्तिगत फाइदाका लागि 'राम गलत होइन श्यामलाई पनि बेठीक भन्न मिल्दैन' भन्ने प्रवृत्तिको विकास भइरहेको छ। यो जता पनि फाइदा लुट्ने काइदा हो। अझ फाइदाका लागि आफ्नो आत्मै मारेर बोल्नेहरू जताततै देखिन थालेका छन्।

डा. केसीले मेडिकल माफियाहरूविरुद्ध यसअघि आवाज उठाउन तम्सनेहरू पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसमेत जोडिएपछि पन्छिन खोजेका छन्। र, यो मागसँग उनी किन जोडिए भनेर प्रवेश गर्न पनि धेरैले चाहिरहेका छैनन्।

हामीले यो मुलुकमा प्रजातन्त्र चाहेको हो। तर, प्रजातन्त्रका नाममा कुनै एक व्यक्ति, संस्था वा संगठनको एकाधिकार खोजेको होइन। पटक–पटक यो नियतिको सिकार भने हाम्रो मुलुक भइरहेको छ। संघीय गणतन्त्र आएपछि फेरि विगतमा जस्तो संघर्ष गर्नुपर्ने अवस्था आउँदैन भन्ने हामीलाई लागेको थियो। यो नै जनताको प्रिय राजनीतिक व्यवस्था हो भन्ने हाम्रो विश्वास थियो। शिक्षा र स्वास्थ्यजस्ता सर्वसाधारणको जीवन अभिन्नरूपमा जोडिएका क्षेत्र समेत नाफा कमाउने र संस्थागतरूपमा भ्रष्टाचार गर्नेहरूसँग जोडिएपछि सर्वसाधारणले आफ्नो भविष्यको रक्षाका निम्ति पनि संघर्ष गर्नुपर्ने अवस्था आइपरेको छ।

प्रजातन्त्रमा सबैले आफ्नो सीमाभित्र बस्नुपर्छ। क्षेत्र नाघेपछि त्यसका विरुद्धमा अरु निकाय पनि लाग्छन्। ती निकाय लागेनन् भने त्यसविरुद्ध सर्वसाधारणको आन्दोलन सुरु हुन्छ। सातौँ पटकसम्म डा. केसीले आन्दोलन गरेर किस्ता–किस्तामा हुँदै गरेका सुधारका प्रयास अख्तियार प्रमुख कार्की र अन्य सदस्यसमेतको संलग्तामा अवरुद्ध हुन थालेपछि त्यसले भित्रभित्रै सबैमा आक्रोश बढाएको छ। त्यो आक्रोश बाहिर देखिइसकेको छैन।

समाज बिस्तारै फेरि 'मौनताको संस्कृति' भित्र नराम्ररी जकडिन थालेको देखिएको छ। त्यो कति ठूलो भयातुर अवस्था रहेछ भने चिकित्सकहरूले उपचारसमेत गर्न नसक्ने अवस्था आएछ। डा. केसी अनसनमा रहेका बेला शिक्षण अस्पताले उनलाई एउटा बेडसमेत दिन सकेन। त्यतिमात्र होइन त्यहाँ उनलाई उपचार गर्ने कुनै चिकित्सकसमेत तत्पर भएनन्।

चिकित्सकले घाइते कुनै शत्रु नै भए पनि उपचार गर्नुपर्ने विश्वव्यापी मान्यता छ। 'हिप्पोक्रेटिक शपथ' लिएको चिकित्सकले कसैलाई पनि उपचार गर्दिनँ भन्न सक्दैन–भन्न पाउँदैन। आज त्यो शपथमात्र होइन, चिकित्सकको पेशागत मर्यादासमेत उल्लंघन भएको छ। लोकतान्त्रिक भनिएको मुलुकमा यत्रो ठूलो भयको अवस्था आउनुजस्तो दुर्भाग्य अरु के हुन सक्छ? यो मुलुकमा नागरिक समाजको समेत असामयिक निधन भइसकेछ भन्ने निष्कर्षमा पुग्नुपर्ने अवस्था उत्पन्न भएको छ।

कुनै एउटा संस्था र व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गर्दै जाँदा पनि बोल्न नसक्ने र अझ चाकडीकै भाषा बोल्ने हो भने प्रतीक्षा गरे हुन्छ योभन्दा भयपूर्ण अवस्था आउँदैछ। अनि सरकारमा भएका व्यक्तिहरू राष्ट्रवादको ठूल्ठूलो ध्वाँस दिन तयार छन्। त्यतिमात्र होइन हामी त कामचलाउ भइसक्यौँ डा. केसीको मुद्दामा केही गर्न सक्दैनौँ भन्ने आवाज पनि सुनिन थालेको छ। त्यो तिनको कायरतापूर्ण अभिव्यक्ति हो। पद र पैसा बाँड्न अल्पमतमा परिसकेको केपी शर्मा ओलीको सरकारलाई कुनै आइतबार कुर्नुपरेको छैन। तर, डा. केसीको मागलाई सम्बोधन गर्नुपर्ने आवश्यकता उनीहरूले महसुस गरेका छैनन्।

आज बलिया देखिएका 'मेडिकल माफिया'हरूको भर पर्ने र चुपचाप बस्ने हो भने अकाल मरणका निम्ति हामी तयार भई बसे हुन्छ। राम्ररी तालिम र शिक्षा नपाएका तथा पैसा तिरेकै भरमा प्रमाणपत्र लिएका चिकित्सकले हाम्रो उपचार गर्ने दिन नजिक आउनेछ। त्यस्ता चिकित्सकबाट भोलि आफै चिरिनुपर्ने भयावह अवस्थाको सम्झना सर्वसाधारणले गर्नुपर्ने हुन्छ। प्रभावशाली तथा पदासीन र पैसा भएका व्यक्तिहरूका लागि त मुलुकका थोरै योग्य चिकित्सक र त्यो पनि नभए विदेशको सेवा उपलब्ध छँदैछ। मुलुकभित्रैको चिकित्सा शिक्षा र स्वास्थ्य त सर्वसाधारणका निम्ति नभइनहुने हो।

त्यसैले आज डा. केसीले यो क्षेत्रको सुधारका निम्ति चलाएको अभियान हाम्रा निम्ति हो, हाम्रा सन्ततिका निम्ति हो। यी स्वार्थरहित व्यक्तिले चलाएको अभियानका बारेमा समेत अनावश्यक प्रश्न उठाएर मौन रहने हो भने हामी लुटिन र लुछिन तयार हुनुपर्छ। म आफै पनि मेडिकल शिक्षामा भएको बेथितिको सिकार हुँ। हामीमध्ये धेरै यस क्षेत्रमा मौलाएको ठगी धन्दाबाट लुटिएका छौँ। यसकारण पनि म डा. गोविन्द केसीले सुरु गरेको अभियानलाई निसंकोच समर्थन गर्न चाहन्छु।

डा. केसीले थालेको यो अभियानलाई धेरै पटक हामीले हेरेका छौँ, नजिकबाट बुझिसकेका छौँ। उनी शिथिल भएर सत्याग्रहका लागि लडिरहेको, पछि फेरि त्यो सफल भएर सम्बोधन गरिरहेको हामीले देखेका छौँ। उनले अघिल्लो पटक अनस तोड्दा पनि भनेका थिए– तीन करोड नेपालीको जित हो। तर, त्यो जित यथार्थमा परिणत हुन नपाउँदै माफियाहरूले फेरि पञ्जा फैलाए!

योभन्दा अघिल्लो आन्दोलन उनले आफै रोक्नुको कारण तराई–मधेस आन्दोलन र भारतीय नाकाबन्दी थियो। त्यो बेला पनि माफियाहरू दंगदास परेका थिए, अब त थाके गोगिन्द भनेर! उनीहरू खुसी यस अर्थमा थिए कि माग पूरा नहुँदै उनको अवसान हुनेछ। तर, त्यो विषम परिस्थितिका कारण उनले रोकिनुपर्‍यो। यसपटक मुलुकमा शक्तिशाली मानिएका अख्तियार प्रमुख कार्कीसँग जोडिएका कारण माफियाहरू दंगदास छन्।

डा. कार्कीले भनिसकेका छन्– दुईटालाई लडाएर बीचमा उम्किने दाउ उनीहरूले देखिरहेका छन्। ढुक्क नभए हुन्छ, केहीले यो मुद्दामा बुझपचाए पनि धेरैले यसका अन्तर्य बुझिसकेका छन्। अझ डा. केसीको विरोध गर्ने चिकित्सक र मेडिकल माफियाहरूले पनि बुझे हुन्छ यो मुद्दा जनस्तरमा गइसकेको छ, अब यो जनताको लडाइँ बनिसकेको छ। के एकजना डा. केसीको अवसानले यो मुद्दाको अन्त्य हुन्छ? त्यो एउटा फिलिंगो हो। त्यसले यस क्षेत्रका विकृतिलाई भष्म बनाउनेछ।

जनताको शक्तिका अघि कसैले शक्तिशाली नठाने हुन्छ। हिजो ज्ञानेन्द्रलाई आफू धेरै शक्तिशाली लागेको थियो। समयले तिनलाई नराम्ररी बढार्‍यो। आफ्नो स्वार्थलाई छोड्न नसक्ने मेडिकल क्षेत्रका स्वार्थीहरू त धेरै कमजोर छन्। आफ्नो स्वार्थका निम्ति लाग्नेहरूभन्दा सर्वजन हितायका निम्ति लाग्ने कमजोर डा. केसीहरू कता हो कता शक्तिशाली हुन्छन्।

यो तपाईं–हामी सबैको परीक्षाको घडी हो। यो समाजमा शदियौँदेखि जरा गाडेर बसेका राजा–महाराजा त बाटो लागे भने आफ्नो स्वार्थका लागि मरिमेट्ने माफियाहरूको केही लाग्ने छैन। मुलुकको चिकित्सा शिक्षा र सेवाका निम्ति आन्दोलनरत डा. केसीको पक्षमा उभिनु हामी सबैको जिम्मेवारी हो। आउनोस्, तपाईं–हामी सबै उनको पक्षमा उभिऔँ। अँध्यारोबाट उज्यालोतर्फ जाऔँ। तमसोमा ज्योतिर्गमयः।

प्रकाशित: २ श्रावण २०७३ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App