१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

भोटेकोसीको कहर

नेपाल र चीन भएर बहने हिमनदी भोटेकोसीलाई 'तिब्बतको दुःख' भनेर चिनिन्छ, सप्तकोसीलाई 'बिहारको दुःख' भनेजस्तै। तर, यी दुवै नदीले नेपाललाई पनि दुःख नदिएका भने होइनन्। धेरै अघिदेखि नै भोटेकोसी नेपालको पनि दुःख बन्दै आएको छ। यो वर्षामा भोटेकोसी उर्लंदा तातोपानी, बाह्रबिसे, दोलालघाटदेखि दोलखा जिल्लाका वासिन्दामा असर परेको छ। जहाँजहाँ यस नदीले स्पर्श गरेको छ, त्यहाँत्यहाँ त्रास फैलिएको छ। अव्यवस्थित बसोबास तथा बजार विस्तारका कारण भोटेकोसीले धेरैलाई उठिबास लगाइदिएको छ भने कराडौँको लगानी डुबाइदिएको छ। सिन्धुपाल्चोकको तातोपानीआसपास नदीकटानले चार दर्जनभन्दा बढी घर बगाइसकेको छ। अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको २६ किलोमिटर सडक क्षतविक्षत भएको छ। केही व्यक्ति सम्पर्कविहीन भएका छन्। तातोपानीका बाढीपीडितलाई सरकारले हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा लगेको छ भने घाइतेलाई उपचारको व्यवस्था पनि गरेको छ। सरकारले देखाएको तदारुकता कमजोर रहेको स्थानीयको आरोप छ। विज्ञहरूका अनुसार तिब्बतमा निरन्तर झरी परेका कारण पहिरो जानाले त्यहाँको हिमताल थुनिएको र त्यसमा पानीको सतह बढेर फुट्नाले भोटेकोसीमा ह्वात्तै बाढी आएको हो। तिब्बती जलाधार क्षेत्रमा ७४ वटा हिमताल रहेको र तीमध्ये ६ वटा कुनै पनि समय फुट्न सक्ने बताइएको छ। यसले भोटेकोसी जलसतह निकै बढाउने र खतरा निम्त्याउने देखिन्छ। यसकारण पनि नदी छेउछाउका वासिन्दा सतर्क रहनुपर्ने त हुन्छ नै साथमा तिनलाई सुरक्षित स्थानमा पुर्‍याउनुपर्ने आवश्यकता पनि टड्कारो छ। उदेकलाग्दो तथ्य त के छ भने, भोटेकोसीले हरेक वर्षजस्तो विनाशलीला मच्चाउँदै आएको छ, तर पनि सुरक्षा सतर्कता अपनाउन सकिएको छैन!

सिन्धुपाल्चोक जिल्लामा गत वर्षको भूकम्पबाट बढी असर परेको थियो। यही जिल्लाको जुरेमा २०७१ साल साउनमा गएको पहिरोले पाँच वटा गाउँ बगाएको र करिब डेढ सयको ज्यान गएको विनाशको सम्झना ताजै छ। भुइँचालोले थिलथिलो पारेको जमिनलाई यस पटकको वर्षाले झनै कमजोर पार्दै पहिरो जाने अवस्थामा पुर्‍याइदिएको छ। त्यसमाथि भोटेकोसीजस्तो बढी करेन्ट (रफ्तार) भएको नदीमा आएको बाढीले त्यसवरपर रहेका पुल, घर, सडकमा असर पार्ने नै भयो। उसै पनि हाम्रा बजारक्षेत्र अव्यवस्थित छन्, त्यसमाथि प्राकृतिक प्रकोपको निरन्तरताले ती स्थान थप असुरक्षित बन्दै आएका छन्। अरनिको राजमार्ग छेउछाउमा नदीको किनार र अधिकांश स्थानमा उत्तरतर्फको पहाड फोरेर घर तथा अन्य निर्माण कार्य भएको देखिन्छ। कतिपय पहाड यति संवेदनशीलरूपमा निर्मित छन् कि त्यसमा थोरैमात्र खन्दा वा त्यसलाई चलाउँदामात्रै पनि पहिरो जान सक्छ। यो तथ्य स्थानीयवासीलाई बुझाइएको छैन। कतिपय बुझेका स्थानीयले पनि पहाड तथा नदी किनार अतिक्रमण गर्दै निर्माण कार्य गर्दै आएका छन्। सरकारले नदीवरपर गरिने निर्माण कार्यलाई एउटा निश्चित मापदण्ड तयार गरेर त्यसलाई कडाइका साथ लागु गराउन नसक्नाले हरेक वर्ष सर्वसाधारणले बाढीको प्रकोपको सामना गर्नुपरेको छ।

भोटेकोसीले विनाश निम्त्याएको यो पहिलो पटक होइन। यसले हरेक दशकजसो यसैगरी वरपरका वासिन्दालाई तर्साउँदै आएको छ। सुनकोसीदेखि माथि तिब्बतसम्मकै भूभाग कमलो माटोले बनेको छ। यसकारण पनि सानै झरीले यो क्षेत्रमा पहिरो जान सक्छ। नेपालको भूबनोट निकै कमजोर छ। अग्ला हिमशंृखला, पहाड तथा निरन्तर बेगवान गतिमा बहने नदीले विभिन्नखाले प्राकृतिक प्रकोप निम्त्याउन सक्छन्। यस्तो अवस्थालाई दृष्टिगत गर्दै सरकारले एउटा छुट्टै तथा अधिकारसम्पन्न 'विपद् व्यवस्थापन' निकाय बनाउनु आवश्यक छ। विभिन्न अध्ययनबाट भोटेकोसीमात्र होइन सिन्धुपाल्चोक भएर बहने बलेफी, इन्द्रावतीजस्ता नदीमा आउने बाढीका कारण स्थानीयले बारम्बार कहर खेप्दै आएको देखिएको छ। सबैलाई थाहा भएकै कुरा हो, प्राकृतिक प्रकोपलाई रोक्न कसैले सक्दैन। तर, यसलाई नियन्त्रण वा त्यसको क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ। त्यसका निम्ति स्थानीयमा जनचेतना अभिवृद्धि पहिलो आवश्यकता हो। त्यसपछि प्रकोपमा परेको नागरिकको उद्धारमा तत्कालै सरकारको ध्यान जानु पनि उत्तिकै जरुरी छ। यस्ता जोखिमपूर्ण स्थानमा बस्ती बसाउन नमिल्ने तथ्यबारे चेतना जगाउँदै सरकारले सुरक्षित बस्तीविस्तारको अवधारणा अघि सार्न अब ढिला गर्नु हुँदैन।

प्रकाशित: २६ असार २०७३ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App