१५ चैत्र २०८० बिहीबार
विचार

आततायी आक्रमण

सन् २०१६ मा आतंककारी हमला थप तीव्र बनेको छ । अनेक नामका आतंककारी समूहले हरेक दिनजसो सर्वसाधारण तथा निहत्था नागरिकको ज्यान लिइरहेका छन् । हालै अफगानिस्तानको काबुलमा १२ नेपालीको आतंककारीले हत्या गरे । आतंककारीले कुनै समुदाय, राजनीतिक दल वा देशमा मात्रै धावा बोलिरहेका छैनन्, कुनै पनि समय र स्थानमा अन्धाधुन्ध आक्रमण गरी निर्दोष सर्वधारणको ज्यानसमेत लिइरहेका छन् ।

तिनले विमानस्थल, व्यस्त बजार, खेल मैदान, रेस्टुराँ–क्लब, सार्वजनिक सवारीजस्ता सर्वसाधारण जम्मा हुने ठाउँलाई निसाना बनाउँदै आएका छन् । मंगलबार टर्कीको राजधानी इस्तानबुलस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरी तिनले ४१ जनाको ज्यान लिए । अढाइ सयजतिलाई घाइते बनाए । अटाटुर्क विमानस्थलसम्म ट्याक्सीमा आएका आतंककारीको निसाना भने विमानस्थलभित्र रहेको एक्सरे मेसिन राखिएको ठाउँ थियो । आक्रमणमा आतंककारी संगठन आईएसको हात रहेको आशंका गरिएको छ ।

आईएसले उक्त विमानस्थललाई आक्रमणको निसाना बनाउन खोजेको खबर यसअघि नै सार्वजनिक भएको थियो । अटाटुर्क विमानस्थललाई संसारकै तेस्रो व्यस्त विमानस्थल मानिन्छ । उक्त विमानस्थल सन् २०१५ मा ६ करोडभन्दा बढी यात्रुले प्रयोग गरेका थिए ।
आतंककारीहरूले यो वर्षमात्र ५० मुलुकमा एघार सय एकसठ्ठी पटक आक्रमण गरेको ‘दि रिलिजन अफ पिस डट कम’ अनलाइनमा उल्लेख छ ।

उक्त अनलाइनका अनुसार यही अवधिमा आईएसको आक्रमणबाट (अटाटुर्कबाहेक) १० हजार ६ सय १४ जनाको ज्यान जानुका साथै १२ हजार ७ सय उनन्साठी जना गम्भीर घाइते भएका छन् । गत २०१५ को नोभेम्बरमा फ्रान्सको पेरिसमा आतंककारीको आक्रमणमा परी एक सय ३० जनाको ज्यान गएको थियो ।

टर्कीलाई आईएसले गैरमुस्लिम देश (नन इस्लामिक स्टेट) मान्नुका साथै उसले पश्चिमाहरू सम्मिलित नाटोलाई सहयोग गरेकोमा रुष्ट बनेको छ । यही कारण पनि टर्कीलाई आईएसले निसाना बनाएको बुझ्न सकिन्छ । कारण जेसुकै बताए पनि यो आक्रमण क्रूर तथा अमानवीय छ । २०१५ देखि हालसम्म त्यहाँ ५ वटा ठूला आक्रमण भइसकेका छन् ।

त्यस्ता आक्रमणमा अहिलेसम्म सयभन्दा बढीको ज्यान गइसकेको छ । मंगलबारका साथै अन्य कतिपय आक्रमणमा आईएसले जिम्मेवारी लिएको छैन, तर पनि आतंककारी आक्रमणमा सोही संगठन पछिल्लो समय निकै सक्रिय बनेकाले आशंका उसैप्रति लक्षित छ । टर्कीमा यसअघिका आक्रमणमा कुर्दिस लडाकु, सिरियन बम हमलाकारीको हात रहेको थियो । मंगलबार अटाटुर्क विमानस्थल आक्रमणमा ३ जनाको आत्मघाती समूह रहेका थिए । तिनले विमानस्थलको प्रवेशद्वारदेखि नै गोली चलाउन थालेका थिए ।

विमानस्थलका सुरक्षाकर्मीले प्रतिकारमा गोली चलाएपछि तिनले आत्मघाती बम विस्फोट गराएका थिए । आतंककारी जत्था विमानस्थलजस्तो अति संवेदनशील तथा कडा चेकजाँच हुने स्थानको भित्रसम्म जान कसरी सफल भए त्यसको तथ्य पत्ता लगाउनु टर्कीका सुरक्षाकर्मीको पहिलो काम हो । संसारकै व्यस्तमात्र होइन, महत्वपूर्ण ट्रान्जिट बन्दै आएको अटाटुर्क विमानस्थललाई सुरक्षित पार्नु त्यहाँको सरकारको जिम्मेवारी हो । उक्त विमानस्थल सुरक्षाका हिसाबले कमजोर मानिन्छ । त्यहाँ न्यूनतम सुरक्षा जाँच हुने गरेको थियो । यसकारण पनि आतंककारीहरू सहजै विमानस्थलभित्र पस्न सकेका हुन् ।

आतंककारीको कुनै जात, धर्म, संस्कार वा आफन्त हुँदैनन्, चाहे ती जुनसुकै नाममा चिनियून् । तिनको धर्म भनेकै संसारमा आतंक मच्चाउनु र आफ्नो संगठनका नाममा त्रास फैलाउनु हो । तिनको दिल र दिमागमा मानवीयता भन्ने कुरै हुँदैन । यसकारण पनि कसैले तिनलाई आज आफ्नो सहयोगी ठान्छ भने त्यो मूर्खतामात्र हुन्छ ।

कुनै देश, समूह वा आफूलाई मन नपर्ने जात, धर्म, संस्थाप्रति प्रतिशोध साध्नकै निम्ति तिनलाई कसैले आर्थिकलगायत अन्य सहयोग गर्दै आएको छ भने त्यो भोलि आफ्नै लागि घातकसिद्ध हुन सक्छ । यो तथ्य बुझेर सकेसम्म सबैले आतंककारी समूहलाई एक्ल्याउनु र कमजोर पार्नु जरुरी छ । आतंकवादी क्रियाकलापका माध्यमबाट गरिएका हरेक काम–कारबाही कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । यस्ता आततायी आक्रमणको जति भत्र्सना गरे पनि कम हुन्छ । तिनलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्ने सवालमा विश्व जनमत एक हुनुपर्छ ।       

 

प्रकाशित: १७ असार २०७३ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App