८ वैशाख २०८१ शनिबार
विचार

मानसिक विकास र बुद्ध धर्म

मानसिक विकास र बुद्ध धर्मको विषयमा केही भन्नुअघि हामी कस्तो मानसिकतामा बाँचिरहेका छौं अनि कस्तो व्यवहार गरिरहेका छौं भन्ने कुरामा विचार गर्नुपर्ला जस्तो छ। किनभने, विश्वमा जति पनि बौद्धहरू छन्, सबैले आफू बौद्ध भएकोमा गर्व मानिरहेको देखिन्छ तर बौद्ध भएर गर्नुपर्ने व्यवहार र मानसिकतामा कति चिन्तन गरिरहेका छन् ? प्रश्न खडा हुन्छ।  

यो संसारमा ‘बुद्धम् शरणम् गच्छामि’ भन्नेहरू कति होलान् ? अरबौंको संख्यामा पुगिसके होलान् सायद। तर कतिजना मानिसलाई भगवान् बुद्धले शरण दिनुभयो होला ? मैले यो कुरा किन उल्लेख गरेको हो भने बुद्धले आफ्नो शरणमा आऊ भनेर कहाँ भन्नुभएको छ ? बुद्धले त कसैको शरणमा जानुपर्दैन, शरणमा जाने हो भने आफ्नै शरणमा बस भन्नुभएको छ। आफ्नै शरणमा बस्ने भनेको के हो ? यो कुरा नै पहिले बुझ्नुपर्ला जस्तो छ। बुद्धले प्रतिपादन गर्नुभएको धर्मलाई त्यसै वैज्ञानिक धर्म भनेको हो र ? तर्क वितर्क गर्ने ठाउँ प्रशस्त छन् बुद्ध धर्ममा तर हामीले बुद्ध धर्मको मर्म नबुझेर आफूलाई जस्तो जस्तो लाग्यो, त्यस्तै त्यस्तै भन्दै हिँड्ने गरिरहेकाले पनि धर्मको वास्तविक महŒव नबुझेको हो कि भन्ने लागिरहेको छ। हामीले ‘बुद्धम् शरणम् गच्छामि’ भनी प्रार्थना गर्नेबित्तिकै बुद्धले हामीलाई शरणमा लिन आउने होइनन्। बुद्धले त कसैको पनि शरणमा कोही जानुपर्दैन, यहाँ कसैले पनि शरणमा लिँदैन, आफ्नो शरणमा मात्र भर छ भनेर बुझ्ने गरी बुद्धले शिक्षा दिनुभएको हुँदाहुँदै हामी भने अझै पनि ‘बुद्धम् शरणम् गच्छामि’ भन्दै बुद्धको शरणमा छौं। हाम्रो सम्पूर्ण समस्या बुद्धले समाधान गर्नुहुन्छ भनी मनमा शान्ति लिने क्षणिक प्रार्थना मात्रै हो जस्तो लाग्छ। वास्तवमा आफूले गरेको कामले नै आफू सप्रने र बिग्रने हो। कसैले पनि राम्रो काम गरेमा त्यसको परिणाम राम्रै हुन्छ भने नराम्रो काम गरेमा नराम्रो नै हुन्छ। सुख, दुःख, जस, अपजस, लाभ, हानी, निन्दा, प्रशंसा जति पनि छन् साथै मानिसको जीवनमा आउने उतार चढाब सबै आफ्नै कर्मले गर्दा हो भन्ने बुद्धको ज्ञान हो।  

दुःखले भरिएको यो संसारमा मानिस जन्मेदेखि मर्ने बेलासम्म दुःख मात्र छ। मानिस जन्मिँदा दुःख, ठुलो भएपछि पनि दुःख, रोग लाग्नु पनि दुःख, बुढाबुढी हुनु पनि दुःख अनि मरेर जानु पनि दुःख। यतिसम्म कि आफ्नो मन पर्नेसँग छुट्टिएर बस्नु पनि दुःख, आफूलाई मन नपर्नेसँग बसिरहनु पनि दुःख, आफू चल्नै नसक्ने गरी बाँचिरहनु पनि दुःख। यसरी दुःखले भरिएको मानिसको जीवन कसरी सुखी पार्न सकिन्छ, कसरी यो सबै दुःखबाट मानिसहरूलाई मुक्त गर्न सकिन्छ भनेर नै बुद्धले तपस्या गर्नुभएको कुरा त हामी सबैले बुझेकै कुरा हो। काम, क्रोध, लोभ, मोह, अहंकार र स्वार्थीपनले गर्दा मानिसहरूले दुःख पाइरहेका छन्। यही दुःखबाट मुक्त हुने गरी बुद्धले आफूले थाहा पाएको कुरा, आफूलाई प्राप्त भएको ज्ञान अरूलाई बुझाउने प्रयास गर्नुभएको हो। आफूले भनेजस्तै गर्नुपर्छ भनी कसैलाई पनि जोर जबरजस्ती गर्ने काम बुद्धले कहिल्यै गर्नुभएन। आफ्नै कुरा सुन्नुपर्छ भनेर पनि कसैलाई बाध्य गर्नुभएन। बुद्धले जहिले पनि भन्ने गर्नुहुन्छ कि मैले त बाटो देखाएको हुँ, त्यस बाटोमा जाने वा नजाने त आआफ्नो इच्छा हो। कसैको इच्छाविरुद्ध मैले कसैलाई केही गर्न सक्दिन तर मैले देखाएको बाटोमा जाँदा राम्रो हुन्छ मात्र भनिरहेको छु भनी बुद्धले भन्ने गर्नुहुन्छ।  

बुद्ध धर्ममा मानिसहरूले गर्नुपर्ने कर्म र मानसिक विकासका बारेमा बुझ्ने गरी वर्णन गरिएको छ। मानिसहरूले गर्नुपर्ने कर्म तीनथरी छन्– शरीरले गर्ने शारीरिक कर्म, मुखले गर्ने वाचिक कर्म र मनले गर्ने मानसिक कर्म। यी तीन कर्ममा मानसिक कर्म सबैभन्दा बलवान् हुन्छ किनभने शरीर र वचन भनेको मनको नोकर (दास) हो। हुन त शरीरले दुई किसिमले काम गर्छ, एउटा मनले आदेश दिने काम अर्को आफ्नै स्वाभाविक काम जस्तै कि आँखा झिमझिम पार्ने, श्वास फेर्ने, मुटुको धुकधुक धड्कन हुनु आदि। यी स्वाभाविक कामलाई कर्म भन्न सकिँदैन। मनले निर्देशन गरेर गरिने शारीरिक र वाचिक कामलाई नै कर्म भनिन्छ। त्यसैले भगवान् बुद्धले भन्नुभएको छ– ‘मनो पुब्बङ्गमा धम्मा–मनो सेष्ठा मनो मया।’ जस्तोसुकै अवस्थामा पनि मन नै अग्रगामी भइरहन्छ। त्यसैले मन नै मुख्य हो, मन नै सर्वव्यापक भइरहने हो। बुद्ध धर्ममा कुशल र अकुशल कर्मको परिणामका बारेमा भगवान् बुद्धले भन्नुभएको छ– ‘मनसा चे पसन्नेन, मासति वा, करोति वा, ततो नं सुख मन्नबेति, छाया व अनुपायिनी’ अर्थात् राम्रो नियतले काम गर्ने मानिसको शरीरको छाया पछि पछि आए जस्तै सुख पनि पछि पछि आइरहन्छ। त्यस्तै– ‘मनसा चे पुदुट्ठेन, मासति वा करोति वा ततो नै दुक्खमन्वेति, चक्कंव वहतो पद’ अर्थात् गाडा तान्ने बयलको पछि पछि गाडाको चक्का गुडेर आए जस्तै खराब नियतले काम गर्ने मानिसको पछि पछि दुःख पनि आउँछ। त्यसैले असल कर्म गरेमा फल पनि असल र खराब कर्म गरेमा फल पनि खराबै हुन्छ। यो कुरामा विश्वास गर्नु नै एक किसिमले सम्यक दृष्टि हो।  

मानिसहरूले गर्ने कुशल र अकुशल कर्मको परिणाम मानसिकतामा असर परिरहेको हुन्छ। जुन मानिस जुन संस्कारमा हुर्केको हो उसले सोही किसिमको कर्म गरिरहन्छ। भगवान् गौतम बुद्धले यही कुरालाई उजागर गरेर मानिसले गर्र्नुपर्ने व्यवहार र संस्कारमा प्रयोग गर्नुपर्ने विभिन्न किसिमका ज्ञानको धर्म देशना गर्नुभएको छ। बुद्ध शब्द नै असल ज्ञानको पर्यायवाची भने पनि हुन्छ। बुद्धत्व भनेकै ज्ञानको स्रोत हो। मानिसले मानसिक, शारीरिक र बौद्धिक विकास गरेर व्यवहारमा प्रयोग गरी जीवनयापन गर्न सकोस् भनी भगवान् बुद्धले धर्म देशना (उपदेश) दिनुभएको छ।  

भगवान् बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि सारनाथमा धर्म देशना उपदेश दिने क्रममा धर्मचक्र सूत्रको व्याख्या गर्नुहुँदै यस्तो आज्ञा गर्नुभयो–‘हे भद्रजनहरू, मैले चतुआर्य सत्य– दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ, दुःख अन्त्य हुने मार्ग आर्य अष्टांगिक मार्ग छ भन्ने विषयमा धेरै अध्ययन गरें, अभ्यास पनि गरें तर ज्ञान प्राप्त भएन। तर जब मैले अन्तर्मुखी भएर मनभित्र लुकेर बसेका पुराना कुसंस्कारलाई फालिदिएँ, त्यसपछि मात्र मैले बुद्धत्व प्राप्त गरें र ज्ञानको स्रोत भेट्टाउन सकें। अर्थात् दुःखबाट मुक्ति प्राप्त गरें। दुःखबाट मुक्ति प्राप्त गर्नु भनेकै निर्वाण प्राप्त गर्नु हो।’

भगवान् बुद्धले यसरी निर्वाण प्राप्त गरिसकेपछि के विचार गर्नुभयो भने यसरी निर्वाण प्राप्त गर्ने र निर्वाणको कुरा भनेको अत्यन्तै गम्भीर विषय हो। मायाजालमा अल्झेर बसेका मानिसहरूलाई अर्थात काम, क्रोध, मोह र अहंकारमा परिरहेकाहरूलाई सिधै निर्वाणको कुरा बताएर धर्म देशना उपदेश गर्नु अत्यन्तै गाह्रो काम हो। उनीहरूले बुझ्न पनि सक्दैनन् अनि व्यवहारमा प्रयोग गर्न सक्दैनन् भन्ने ठानेर भगवान् बुद्धले निर्वाणको कुरा नगरी मानिसहरूलाई असल मानिस हुने अर्थात् ज्ञानी बन्ने धर्म देशना गर्नुभएको हो। सूत्रपिटकमा मानिसहरूलाई निर्वाणभन्दा असल मानिस हुनसक्ने ज्ञानको विषयमा बढी जोड दिइराखेको देखिन्छ।

भगवान् गौतम बुद्धले असल मानिस बन्न के के गर्नुपर्छ भनी धर्म देशना गर्नुभएको छ। सबैभन्दा पहिला मानिसहरू आफै कर्तव्य परायण हुनुपर्दछ। कर्तव्य परायण गर्ने सन्दर्भमा पहिला आफ्नो परिवारको सुख, शान्ति, संवृद्धि र उज्ज्वल भविष्यका लागि आफैले नै कर्तव्य पालन गर्नुपर्छ। परिवारमा विश्वासी हुनुपर्छ, सत्य वचन बोल्नुपर्छ अनि इमान्दारीपूर्वक काम गर्नुपर्छ। यसका साथै सोही किसिमले व्यवहार पनि गर्नुपर्छ। परिवारमा सबैभन्दा पहिला आमाबुुबा र छोराछोरीका बीचमा सेवा भाव हुनुपर्छ। यसरी नै सबैले आआफ्नो कर्तव्य पालन गर्नुपर्छ। आमाबुबा देवता समान हुन्। उनीहरूले बच्चा जन्माएर हुर्काएर आफ्ना बच्चाहरूलाई शिक्षादीक्षा दिएर योग्य बनाइदिन्छन्। त्यसैले छोराछोरीहरूले पनि आमा बुबाको सेवा भाव र गुण सम्झेर माया गर्ने, सेवा गर्ने र स्नेहभाव राखेर मान्नु नै छोराछोरीहरूको ठुलो कर्तव्य हो। त्यस्तै बुद्धको धर्म देशनामा लोग्नेस्वास्नीका बीचमा पनि कर्तव्यको कुरा आउँछ। स्वास्नीले लोग्नेको हित चिताउने साथी हो भनी सम्झनुपर्छ भने लोग्नेले पनि स्वास्नीलाई काम वासना पूरा गर्ने साधन मात्र हो वा नोकर्नीजस्तै मात्र हो भन्ने खालको व्यवहार गर्नुहुँदैन। लोग्नेको घरमा गइसकेपछि स्वास्नीले असल जीवन सँगिनी बनेर घरको काम गर्ने र लोग्नेले दिएको पैसाले घर व्यवहार राम्ररी चलाउनुपर्छ। त्यस्तै आफूभन्दा ठूलाको सम्मान गर्ने, मान्नुपर्नेलाई मान्ने, सानालाई माया गर्नुपर्छ। यसले घरमा शान्तिको वातावरण बनिरहन्छ अनि मात्र परिवारमा सुख, शान्ति भएर परिवारको भविष्य उज्ज्वल भइरहन्छ।  

भगवान् बुद्धले भन्नुभएको छ– अज्ञानताले गर्दा परिवारमा कोही एक जनाको कमजोरी हुन सक्छ। यस्तो अवस्थामा मैत्री भावले सम्झाएर भइरहेको कमीकमजोरीलाई हटाउनुपर्दछ। परिवारमा होस् वा समाजमा, कसैले पनि कसैको अहित हुने काम कुरा गर्नुहुँदैन। अज्ञानता र बेहोसीपनले गर्दा अरूको निन्दा चर्चा गर्न सक्छ तर यसो गर्नुहुँदैन। अरूको निन्दा चर्चा गर्ने काम नराम्रो चरित्रको लक्षण हो। भगवान् बुद्धले दिनुभएका राम्रा ज्ञानमध्ये मानिसहरूलाई असल मानिस बनाउने यो अत्यन्तै महŒवले भरिएको ज्ञान हो किनभने आजकल मानिससँग अरूको दोष मात्र देख्ने संस्कार बढ्दै गएको देखिन्छ। यो अत्यन्तै नराम्रो संस्कार हो। यस्तो संस्कारले कहिल्यै पनि मानिसको विकास हुन सक्दैन।  

भगवान् बुद्धले भन्नुभएको छ– ‘मानिसहरू अन्तर्मुखी हुन सकेमा अरूको निन्दा चर्चा गर्ने बानी हट्दै जान्छ। अन्तर्मुखी हुन सकेमा मानिस आफूलाई आफैले चिन्न सक्छ।’ यही नै बुद्धको मानिसलाई असल मानिस बनाउने योग्य ज्ञान हो। भगवान् बुद्धका भनाइअनुसार मानिसले पढ्नुपर्छ, विद्वान् हुनुपर्छ तर विद्वान् हुने भनेको विद्वता देखाएर ठूलो हुने र मालिकजस्तै भएर व्यवहार देखाउनलाई होइन। यो त असल मानिस बन्नलाई हो। पढेर विद्वान् हुने कुरा अर्कै कुरा हो तर व्यवहार राम्रो पार्ने र आफ्नो चरित्र र आचरण राम्रो पार्नु अर्को कुरा हो।  

आजकल हाम्रो समाजमा देखापरेका व्यवहारले गर्दा हामी सबैले बुद्धको ज्ञान मुखले मात्र पालना गरिरहेको जस्तै छ। किनभने, यहाँ धनी धनाढ्यहरूले ठुला भएर देखाइरहेको व्यवहार अनि गरिब अर्थात् सानालाई साना भनी हेलाँ गरिरहेको असमान व्यवहारले गर्दा भगवान् बुद्धले दिनुभएको व्यावहारिक ज्ञानलाई चुनौती दिइरहेजस्तो छ। भगवान् बुद्धले भन्नुभएको छ– ‘धर्म कर्म गरेर पनि पुग्दैन, पाप कर्म नगरेर पनि पुग्दैन। सबैभन्दा पहिला चित्त शुद्ध हुनुपर्छ।’ भगवान् बुद्धले असल मानिस बन्न दिनुभएको यो व्यावहारिक ज्ञानलाई बुझेर सम्पूर्ण मानिसहरूले आफ्नो जीवन सफलीभूत पार्न सक्नुपर्छ।  

यहाँ मैले बुद्धको एउटा घटना उल्लेख गरिरहेछु। एकपटक बुद्धले एउटा बगैंचाको रुखमुनि बसेर शिष्यहरूलाई ज्ञान दिइरहनुभएको थियो। त्यस बगैंचामा घुम्न आएका केटाकेटीहरूले रुखमा फलेका फलफूल खानलाई ढुंगाले हान्दा बुद्धको टाउकोमा लाग्न गएछ। तर यो कुरा ती केटाकेटीलाई थाहा थिएन। उनीहरूले देखेनछन्। त्यस बगैंचामा धेरै रुखहरू रहेछन्। बुद्धको ज्ञान लिइरहेको शिष्यले कसले यसरी ढुंगा प्रहार गर्‍यो भनी हेर्न जाँदा केटाकेटीलाई देखे।  

तपाईं हामी भए के गथ्र्यौं होला ती केटाकेटीलाई ? पक्का पनि हामीले सजायँ दिन्थ्यौं होला होइन ? दुईचार थप्पड पिट्थ्यौं होला होइन ? शिष्यहरूले ती केटाकेटीलाई बुद्धको सामुन्ने उभ्याउन लगे। केही न केही सजाय दिलाउनुपर्छ भन्ने उनीहरूको मनसाय थियो। तर बुद्ध त टाउकोमा रगत आएको ठाउँमा हात राखेर निहुरेर रोइरहनुभयो। बुद्ध यसरी रोइरहेको देखेर सबै आश्चर्यमा परे। अनि बुद्धले आफ्ना अगाडि उभिइरहेका केटाकेटीलाई हेरेर भन्नुभयो– ‘तिमीहरूले यो रुखमा ढुंगाले हान्दा पनि रुखले फलफूल दिन सक्छ। मैले त तिमीहरूलाई केही दिन सकिनँ। त्यसैले म रोइरहेको हुँ।’

यो घटनाबाट हामीले के शिक्षा लिन सक्छौं ? हामी कतिसम्म संयम हुनुपर्छ भन्ने यो घटनाले देखाउँछ कि देखाउँदैन ? पञ्चशील ग्रहण गरिसके भन्दैमा हामीसँग कति संयम, क्षमा, शील पालना गर्ने शक्ति छ, त्यो हामीले बुझ्नुपर्छ कि पर्दैन ? बौद्ध धर्म भनेर हामी व्यापक रूपमा प्रचारप्रसार गर्दै आइरहेका छौं। तर हामी कस्तो मानसिकतामा बाँचिरहेका छौं त्यो कुरा पनि हामीले बुझ्नुपर्छ। धर्मको नाममा यो गर्नुहुँदैन, त्यो गर्नुहुँदैन भनेर मात्र कराइरहने ? बौद्ध धर्म भनेको धर्मभन्दा पनि हाम्रो जीवनका लागि एउटा दरिलो दर्शन हो। बुद्धले देखाउनुभएको कल्याणकारी मार्ग हो। यो यस्तो दर्शन हो जसले हाम्रो जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ, हाम्रो जीवन सफलीभूत पार्न सक्छ।  

हामीले ‘बुद्धम् शरणम् गच्छामि’ भनेर बुद्धको शरणमा जाने भनेकै बुद्धले दिनुभएको ज्ञानको शरणमा जानु हो। बुद्धको ज्ञानलाई व्यवहारमा प्रयोग गर्नु हो। आफूले आफैलाई चिनेर आफूभित्र भएको बुद्धत्वको ज्ञानको ज्योति प्रकाशित गरेर आफ्नै शरणमा जानु हो। बुद्धले ‘अप्पो दीपो भवः’ भनेर आफ्नो आत्मामा दीपको ज्योति प्रज्ज्वलित पार्न सक्नुपर्छ भन्नुभएको छ। यसैलाई आत्मसात् गरेर हामीले मनमा ज्ञानको फूल फुलाउँदै आफ्नो आत्माभित्र ज्ञानको ज्योति जगाउनुपर्छ भन्ने बुझ्न सकेमा मात्र हामीले बुद्धलाई मानेको र बुद्धको ज्ञान लिएको सार्थक हुने छ।

प्रकाशित: १७ मंसिर २०७९ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App