७ वैशाख २०८१ शुक्रबार
विचार

चुनावले जितायो कि सिकायो?

मंसिर ४ को सङ्घीय तथा प्रदेश सभाको निर्वाचन परिणामले विजयी उमेदवारलाई जितायो, पराजित उमेदवारलाई सिकायो तथापि विजयी उमेदवारलाई पराजित उमेदवारलाई भन्दा बढी चुनौती पनि थपेको छ। यसपटकको निर्वाचन, छनोट भएका स्थापित दलगत उमेदवार एवं स्वतन्त्रले दिएका उमेदवार र नयाँ स्वतन्त्र दल एवं अन्य दलबाट जुन विद्वत् एवं नागरिक तहमा अपरिचित उमेदवार पनि मिश्रित रूपमा थिए तर मतदाताले नचिनेरै पनि नयाँलाई मत दिए। उमेदवार अपरिचित भए पनि चुनाव चिह्नप्रति ध्यान दिए। यतिसम्म कि आफ्नो क्षेत्रमा नभएको उमेदवारलाई पनि चुनाव चिह्न हेरेर मत खसाले। मत परिणाम र मतदाता सर्वेक्षणले पनि यही बताउँछ।

सरल अर्थमा भन्नुपर्दा यसपटकको निर्वाचन परिणामले पुष्टि गरेको छ-पुराना दलगत अभ्यास र अनुहारहरू, राज्यलाई र नागरिकलाई उनीहरूको तर्फबाट भएको सहयोग र विकासप्रति नागरिक असन्तुष्ट थिए, छन् त्यसैले नागरिक तहबाट नै परिवर्तन चाहन्छन्। नागरिक शक्ति, नागरिकको चुनाव र सोसियल अडिट हिजो पनि थियो आज पनि रहयो र अब पाँच वर्षका लागि अरू खबरदारी गर्नेछन् जसले जुन भरोसा र आशामा निर्वाचित गरेर पठाएका छन्।

पराजयमा रमाएका जनता

प्रायःजसो निर्वाचनको नतिजापछि विजयी उमेदवारको चर्चा हुने गर्दछ। उनीहरूप्रतिको अपेक्षा र उनीहरूलाई साहस थप्ने अनि खबरदारी गर्ने प्रचलन धेरै हुन्छ। तर यसपटक विजयी हुनेको खुसियाली भन्दा पराजित हुनेको संख्या गिन्ती गर्दै यसमा राष्ट्रका लागि भलो छ भन्नेको संख्या धेरै छ। नागरिकको यो मतलाई पराजित दलगत उमेदवार एवं विजयी हुने नेतृत्वले पनि सकारात्मक रूपमा आत्मसात गर्नुपर्ने हुन्छ। पटकपटकको बेथिति, आफ्नो भूमिका निर्वाहलाई राज्य र नागरिकको तहबाट हेर्नुभन्दा आफ्नै स्वार्थी प्रवृत्तिमा लिप्त हुने परम्परा र नातावाद, कृपावादबाट उन्मुक्ति पाउन नसकेको मानसिक सोचको परिणाम हो स्थापित दलको उमेदवार भएर पनि पराजित हुनुको कारण। जसले पनि विजयी हासिल गरे झिनो मतको अन्तरमा या धेरै नै अन्योलताको स्थितिमा त्यो नागरिक तहले झक्झक्याएको अवस्था हो। प्रजातान्त्रिक पद्धतिमा आन्दोलनमा होमिएर राष्ट्रलाई स्वतन्त्र र सार्वभौम अवस्थामा ल्याइपुर्‍याउने नेतृत्वको सबैले कदर गरेका हुन्छन् तर पात्र भन्दा प्रवृत्तिमा देखिएको कार्यशैलीले नेतृत्वले जितेको र राज्यले हारेको तीतो अनुभव सबैले गर्न बाध्य हुनुपर्‍यो।

सुशासन र आत्मानुशासनको संस्कार बस्न सकेन नेतृत्व तहमा। क्षणिक स्वार्थ र जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने पदलोलुपताको संस्कार हट्न नसक्नुले आजको अवस्था सिर्जना भएकोमा सबै नेतृत्व र स्थापित राजनीतिक दलले स्वीकार्दै आत्मसात गर्नुपर्दछ। विजयी हुनेले सत्तामा जाने र पुनः चाहेकै पदमा बस्ने होडबाजी यसपटकको माहोलमा छैन त्यसो हो भने उपयुक्त तरिकाले सरकार गठन हुनमा नै असहजता निम्तने कुरामा शंका गर्न सकिन्छ। केन्द्रमा पद होइन, सफल व्यवस्थापन, नागरिकको आत्मनिर्भरतामा मद्दत पुग्ने आर्थिक विकास, शान्ति र समृद्धि, सांस्कृतिक एवं सामाजिक एकता कसरी सुदृढ हुन् सक्छ त्यतातिर ध्यान दिनुपर्नेछ।

विगतमा निर्वाचित जनप्रतिनिधिले यी कुरालाई केन्द्रमा राख्न नसकेका कारण नै आज नयाँ र युवा शक्ति रोजाइमा परेका हुन्। आज विजयको हर्षोल्लास भन्दा पराजयको परिणाममा जनताले लामो स्वास लिएर अत्याचारलाई जितेको महसुस गरेका छन्।

राष्ट्र विकासको उपलब्धिमा ध्यान

विजयी उमेदवार स्थापित नेतृत्व होउन् या नयाँ स्वतन्त्र र नयाँ दलगत उमेदवारले मनन गर्नुपर्ने मुख्य कुरा मैले जितेँ भन्ने मानसिकताबाट माथि उठेर देश जिताउनलाई नागरिकले मलाई विश्वासको मत दिएका हुन् भन्ने कुरालाई हृ दयतः पालना गर्नुपर्दछ। विकास कार्यमा अल्झिएका र सम्पादन हुन बाँकी रहेका अजेन्डालाई निरन्तरता र नागरिक तहको अपेक्षित कार्य सम्पादनमा जोड दिनु जरुरी देखिन्छ। नयाँ आउनेले नयाँ के गर्‍यो? जनताले त्यो देख्न चाहन्छन्। नागरिकले यति दुःख गरेर, आन्दोलनमा होमिएर, नेतृत्व तहले जेल नेल सहेर ल्याएको लोकतन्त्र चुनाव गराउनु, सरकार गठन गर्नु, फेरि विघटन गर्नु, अनि गठबन्धन र अनेक नाममा आफ्नै स्वार्थ र पद केन्द्रमा राख्नका लागि पक्कै होइन।

आन्दोलन, नाराबाजी, बन्द हड्ताल, भाषण र आश्वासन अब नागरिक सुन्न चाहन्नन्। राजनीतिक परिवर्तन, नेतृत्व परिवर्तनको परिणाम र आफ्नो मतको मूल्य अब नागरिकले विकास निर्माण र सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि उत्पादन र कृषिको वैज्ञानिकीकरण एवं व्यावसायीकरण, प्राकृतिक स्रोत/साधनको समुचित प्रयोग र त्यसको परिणाम स्वदेशी वस्तुमा आत्मनिर्भर हुने प्रयास, पर्यटन क्षेत्रको प्रचुर विकास, असल समाज र सचेत नागरिकको देश भनेर चिनाउनमा लागिपरेको देख्न चाहन्छन्। कुल गार्हस्थ्य उत्पादनमा कृषि, पर्यटन, जलस्रोतलगायत कुन क्षेत्रले उकास्न सक्छ त्यसमा सख्त ध्यान पुर्‍याइ विकासको काममा अग्रसर हुन हतार भइसकेको छ।

विश्व बजारको कल्पना गर्नुपर्ने समयमा हामी आफैँमा आत्मनिर्भर नहुनुको कारण खोज्नु जरुरी छ। भूगोलअनुसारको स्रोत/साधन, सञ्चार, शिक्षा, पूर्वाधार, खानेपानी, अस्पताल, कर्मचारी संयोजन र सुविधा हरेक तहबाट विकासका आयाम र संभावना खोजेर त्यस अनुसार दत्तचित्त भएर लाग्नुपर्नेछ। दुर्गममा कर्मचारी र चिकित्सक किन जान मान्दैनन्, तिनीहरूलाई सुविधा र उत्प्रेरणा के हुन सक्छ? भौतिक विकास कुन क्षेत्रमा कसरी नागरिकको निम्नतम आवश्यकतालाई संबोधन हुने गरी गर्न सक्ने के संभावना र अवसरहरू छन्? 

युवा स्वरोजगार, देशमै रोजगारी सिर्जना गरी कसरी नागरिकलाई स्वदेशमै आत्मनिर्भर बनाउने धेरै सोचनीय अवस्था छ र त्यसका लागि काम गरेर नतिजा देखाउनुपर्नेछ। दूरदराजमा रहेका महिलाका लागि शिक्षा, स्वास्थ्य, मातृत्व शिक्षा, पोषण लगायतका सशक्तीकरण कार्यक्रम अरू उपलब्धिमूलक र लक्षित वर्गलाई समेटेर गरिनुपर्ने धेरै काम बाँकी छन्। प्रशासनिक सेवा प्रवाहमा चुस्त, सहज र छिटो बनाइनु जरुरी छ। आफ्नालाई होइन, सबैलाई भन्ने नीति हृदयबाट अभ्यास गरिनु जरुरी छ। भ्रस्टाचार उन्मूलन, सुशासन र आत्मानुशासनको संस्कारमा बाँच्न र कार्य गर्न अभ्यासरत हुने जनचेतनाका कार्यक्रम जरुरी छन्।

देश सुहाउँदो राजनीतिक वातावरण सिर्जना

निर्वाचनको परिणामले देखाएको छ अहिले देशमा जस्तो राजनीतिक वातावरण छ, त्यो आर्थिक, सामाजिक, सांस्कृतिक कुनै पनि विकासका लागि अनुकूल छैन। आज विश्व विकासको उच्च गतिमा निरन्तर लम्किरहँदा हाम्रो देशमा नेतृत्वको मन चाहे व्यवहारले गर्दा देश कता जाँदैछ चिन्ता गर्नुपर्ने अवस्था छ। राजनीतिका नाममा नेतृत्व तहले जनताको भाग्यसँग र मतसँग निरन्तर खेलबाड गरिरहे। आफ्ना संकीर्ण महत्वाकांक्षाहरूको पोषणमा लाग्नुको अपेक्षित विकास हुन सकेन। बुद्धिजीवी कार्यकर्ताहरू समेत त्यही परम्परागत पोषणको स्वादमा रमाइरहेको अवस्था छ।

सत्ताको छहारी, व्यक्तिगत स्वार्थपूर्ति, क्षणिक लाभले गर्दा आफ्ना सन्ततिको भविष्य समेत अन्धकारमा पुर्‍याइसकेको अनुभूति हुनै सकेको छैन। त्यसैले अहंकार मुक्त भएर सचेत रूपमा नयाँ नेतृत्वले अबको राजनीतिक वातावरण देश सुहाउँदो, आजको पुस्तालाई सुहाउँदो, बाजेदेखि नातिसम्मकालाई आफ्नो देशप्रति गर्व गर्न लायकको बनाउनु छ। यसकै लागि नेतृत्व सजग हुनु जरुरी छ र नागरिक तहबाट निरन्तर खबरदारीको आवश्यकता। जे.कृष्णमूर्तिले भनेका छन्-सबै ठूला कुरा सानो स्तरबाट सुरु हुन्छन्, सबै महान् आन्दोलन व्यक्तिबाट सुरु भएर समूह या दलगत भावनामा परिणत हुन्छ। सबै मिल्यो भने जस्तोसुकै विनाशकारी दुःखद अवस्था अन्त्य हुन्छ। त्यसैले दुःख अन्त्यका क्रान्ति तिमी र मबाट सुरु गर्नुपर्छ।

प्रकाशित: ११ मंसिर २०७९ ००:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App