२० मंसिर २०७९ मंगलबार
विचार

अबका युवा प्रधानमन्त्री

सामयिक चर्चा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक भइरहेका बेला धेरैले नेपाली कांग्रेसले गुमाएको एउटा अवसरका बारेमा चर्चा गरिरहेका छन्। त्यो चर्चाको केन्द्रमा छन्-कांग्रेस युवा नेता गगनकुमार थापा।

धेरैले भन्ने गरेका छन्-थापाको नेतृत्वमा आगामी सरकार बनाउने योजनासहित कांग्रेस गठबन्धन नगरी एक्लै निर्वाचन लडेको भए अहिले सुविधाजनक बहुमत आउने रहेछ। र, यो भनाइ धेरै हदसम्म सत्य देखिँदैछ। पूर्वसञ्चारकर्मी रवि लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीले निर्वाचनमा सशक्त हस्तक्षेप गरिरहँदा पनि कांग्रेसका युवा नेताहरू एकपछि अर्को गर्दै निर्वाचित भइरहेका छन्।

काठमाडौँ क्षेत्र नं. ४ को निर्वाचनमा यसपटक कांग्रेस महामन्त्रीसमेत रहेका थापालाई निकै गाह्रो पर्ने आकलन भइरहेको हो। दोस्रो पटक चुनावी मैदानमा रहेका नेकपा (एमाले) का राजन भट्टराईले टक्कर दिइरहँदा पनि सात हजार भन्दा बढी मतान्तरले विजय हासिल गर्नुको एउटा मुख्य कारण ‘प्रोजेक्ट गभर्मेन्ट’ पनि हो।

थापाले प्रधानमन्त्रीका लागि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको प्रमुख बन्न प्रतिस्पर्धा गर्ने बताएका हुन्। उनको यो भनाइप्रति धेरै मतदाताको ध्यान गएको छ। अन्यथा, स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउने बूढानीलकण्ठ नगरपालिका अहिले उनलाई विजयी गराउन लाग्ने थिएन। यसपटक फेरि थापातिर गएको मत भविष्यका निम्ति हो।

काठमाडौँ ५ मा प्रभावशाली युवा नेता प्रदीप पौडेलले एमालेका ‘हेभिवेट’ नेता ईश्वर पोखरेललाई पराजित गर्नुले पनि युवा कांग्रेसप्रति आकर्षण बढेको मान्न सकिन्छ। कांग्रेस महाधिवेशनमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माका साथै सचिव पौडेलको विजयलाई आशाका साथ हेरिएको हो। त्यो आशा यसपटकको निर्वाचनमा प्रष्टसँग प्रतिबिम्वित भएको छ। कांग्रेस महामन्त्री शर्माले एमालेकै अर्का प्रभावशाली नेता अग्नि खरेललाई १४ हजार २७५ बढी मत अन्तरले पछाडि पारेका छन्। यसको कारण भविश्यका निम्ति युवाहरूकै आकर्षण हो।

यसपटकको निर्वाचनमा दलका नेतालाई चुनौती दिन नसक्ने युवालाई पनि मतदाताले मन नपराएको देखिएको छ। विशेषगरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’ भन्दा कांग्रेसमा आफ्नै दलका सभापति र वरिष्ठ नेतालाई चुनौती दिन सक्ने युवा नेतृत्वप्रति आशा देखिएको छ। र, यो आशालाग्दो अवस्थाको थालनी कांग्रेस महाधिवेशनबाटै भएको हो।

नेतृत्व विकासका निम्ति कम्युनिस्ट पार्टीभन्दा कांग्रेसमा अवसर देखिँदै आएको छ। कम्युनिस्ट पार्टीमा शीर्ष नेताको छनोटबाट मात्र नेतृत्वमा पुग्न सकिन्छ। कांग्रेस जस्ता उदार दलमा स्थिति भिन्न हुन्छ। एमालेमा ओलीका विरुद्ध पार्टी महाधिवेशनमा उठ्ने भीमबहादुर रावललाई निर्वाचनका लागि टिकट नदिएर प्रतिस्पर्धा वञ्चित गरियो। कांग्रेसमा शेखर कोइराला देउवाविरुद्ध उम्मेदवार भए पनि निर्वाचनको उम्मेदवारी चयनका बेला वञ्चित गरिएन। त्यति मात्र होइन, देउवाले कोइरालासँग परामर्श गरेर अन्य उम्मेदवारी तय गर्नसमेत कोसिस गरे।

जुन दलको आन्तरिक लोकतन्त्र राम्रो हुन्छ, त्यसप्रति आममतदाताको पनि आकर्षण हुन्छ। कांग्रेसप्रतिको आकर्षण यसपटकको निर्वाचनमा पनि आम मतदातामा देखिएको छ। त्यति मात्र होइन, कांग्रेसले अहिलेको गठबन्धन नगरी आफूमात्र निर्वाचनमा सरिक हुन सकेको भए आम मतदाता थप आकर्षित हुने रहेछन् भन्ने प्रष्ट देखिएको छ।

यिनै मतदाता हुन्, जसले विगतमा माओवादीलाई सिंहासनमा बसाएका हुन्। तर, माओवादीले यसबीचमा गरेका कामप्रति आममतदाताको विश्वास घटेको प्रष्ट देखिएको छ। माओवादी खुला राजनीतिमा आएदेखि जोडघटाउबाटै सफलता हासिल गर्दै आएको हो। खुला राजनीतिमा आउनेबित्तिकै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एमालेको आकार घटाउन सुरुमै ८३ स्थान संसद्मा दिएर संसदीय राजनीतिमा प्रवेश गराएका हुन्।

अघिल्लो निर्वाचनमा ओलीले माओवादीको घटिसकेको आकार फेरि बढाउने काम गरेका हुन्। यसपटक देउवाले पनि माओवादीका निम्ति सक्दो सहयोग गरेका हुन्। मतदाताले भने यसपटक दलहरूले भनेअनुसार मत हाल्न अस्वीकार गरेका छन्। स्वतन्त्र राष्ट्रिय पार्टीप्रति देखिएको जनमत मुलुकमा वैकल्पिक राजनीतिप्रतिको चाहना पनि हो। २०४६ सालको परिवर्तनलगत्तै डा. देवेन्द्रराज पाण्डे, टंक कार्की लगायतले सुरु गरेको प्रजातान्त्रिक लोक दल, पछि उज्ज्वल थापाले सुरु गरेको विवेकशील पार्टी हुँदै अहिले लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीसम्म आइपुग्दा वैकल्पिक राजनीतिका निम्ति स्थान बनेको छ।

वैकल्पिक राजनीतिका लागि स्थान बनाइदिने काम कांग्रेस र एमालेले नै गरेका हुन्। यी दलप्रति आमनागरिकको विश्वास हुँदाहुँदै पनि तिनका नेताहरूको अविश्वसनीय कामले नयाँ दल खोज्ने बाध्यता आइलागेको हो। आफ्नै दलमा युवालाई ठाउँ दिँदै आफूले अवकाश लिने वा सल्लाहकारको भूमिकामा जाने काम गरेका भए अहिले अरू दलका निम्ति ठाउँ नबन्न सक्थ्यो। प्रमुख दलले आमनागरिकका भावनामा कुठाराघात गर्न थालेपछि जनता घन्टी बजाउन बाध्य भएका हुन्।

त्यसैगरी मधेसको राजनीतिका मसिहा ठानिएका उपेन्द्र यादवदेखि राजेन्द्र महतोसम्मलाई मतदाताले अस्वीकार गरी विकल्पका रूपमा सिके राउतलाई अघि सारेका छन्। पहाडदेखि मधेसम्म मतदाताले उस्तै गरी विकल्प खोजेका छन्। यो सबैलाई सुध्रिने सन्देश हो। साथै नयाँलाई भविश्यका निम्ति भविश्यका निम्ति चुनौती पनि हो।

अहिलेको परिस्थितिसम्म आइपुगेपछि अब दलहरूले आफ्नो भूमिका परिवर्तन गरेनन् भने यो पहिरो जाने क्रम रोकिने छैन। अर्को निर्वाचनसम्ममा स्थिति निकै फेरिनेछ। अब सरकार गठन कसरी हुन्छ? संसद्लाई कसरी प्रभावकारी बनाइन्छ? मुख्य दलका प्रमुख नेताले आगामी दिनमा राजनीतिक निकासका निम्ति कसरी भूमिका खेल्छन्? उदीयमान नयाँ दल र युवा नेताको भूमिका कस्तो रहन्छ? यी विषयले आगामी राजनीतिलाई दिशा निर्देश गर्नेछ।

यसपटकको निर्वाचन निकै आशालाग्दो देखिएको छ। राजनीतिलाई आममतदाताले बाटो देखाएका छन्। मुलुकका प्रत्येक राजनीतिक परिवर्तनमा नागरिकको भूमिका रहेको छ। त्यो बेला दलहरूभन्दा अगाडि जनता रहेकै हुन्। यसपटकको मतदानका क्रममा पनि मतदाता नेताभन्दा अगाडि हिँडेका छन्। उम्मेदवारी दिने क्रममा दलले ध्यान नपुर्‍याए पनि मतदाताले सही छनोट गरेका छन्। विगत संसद्कालमा विकृति-विसंगतिका कारक बनेकाहरूलाई मतदाताले चुनीचुनी पराजित गरेका छन्।

यस निर्वाचनमा सुरक्षित स्थानबाट उम्मेदवारी दिएका कारण कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्। अन्यथा, ठूला नेताहरूको अवस्था पनि अन्य नेताहरू झलनाथ खनाल, उपेन्द्र यादव लगायतका जस्तै हुने रहेछ।

अतः यस निर्वाचनपछि निर्वाचित शीर्ष नेताहरूले भावी राजनीतिका निम्ति भूमिका खेल्नुपर्ने बेला आएको छ। देउवा, ओली, दाहाल आदि नेताले आफैँ प्रधानमन्त्री हुन होइन, यसपटक निर्वाचित भएर आएका युवालाई अगाडि सार्नु आवश्यक छ। कांग्रेसले निर्वाचनअघि नै गगन थापालाई प्रधानमन्त्रीका निम्ति अगाडि सार्न नसके पनि अब बेला आएको छ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउने मौका आयो भने गगनलाई अगाडि सार्दा उसको गुमेको साख फिर्ता हुन्छ। एमालेले सरकार बनाउने मौका पायो भने पनि त्यसैगरी नयाँ व्यक्ति नै अघि सार्ने परिस्थिति बन्नु उचित हुन्छ। ओली आफैँ प्रधानमन्त्री बन्न तम्सिए भने निर्वाचनमा देखिएको अहिलेको उत्साहमा चिसो पानी खन्याएको जस्तो हुन सक्छ।

रवि लामिछानेका निम्ति अब प्रभावशाली नेताको भूमिका खेल्ने अवसर आउला जस्तो छ। संसद्को तेस्रो ठूलो पार्टीको नेताका रूपमा उनले अहिले खेल्ने भूमिकाले यो दलको भूमिकालाई सुनिश्चित गर्न सक्छ। आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने उनले कति सिर्जनशील भएर भूमिका खेल्छन्, त्यसले भविष्य निर्धारित गर्छ।

खासगरी हाम्रो संसद्लाई शीर्ष नेताहरूले अहिलेसम्म बन्धक बनाएका छन्। यसलाई मुलुकको गरिमामय संस्थाका रूपमा अगाडि बढाउने महत्त्वपूर्ण भूमिका र दायित्व लामिछानेको दलमाथि आएको छ। दोस्रो संविधानसभा निर्वाचनपछि कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आममतदाताले विश्वास गरेर ठूलो सफलता हासिल भएको थियो। तर त्यसपछि उनको भूमिका प्रभावकारी नहुँदा त्यो गुमेको अवस्थालाई पनि शिक्षाका रूपमा लिनु उचित हुन्छ। जनताले दिइरहँदैनन्, चित्त नबुझे दिएको पनि खोस्छन्।

यसपटकको निर्वाचनपछि आममतदाताले प्रधानमन्त्रीका रूपमा नयाँ अनुहार हेर्न चाहेका छन्। बेलायत जस्तो प्रजातन्त्रको जननी मुलुकमा आज ४२ वर्षका ऋषि सुनक प्रधानमन्त्री बन्न सक्छन् भने हामीकहाँ गगन थापा वा यस्तै अरू कोही युवा किन हुन सक्दैनन्? कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भने गगन निर्विकल्प हुन्। फेरि देउवा तम्सिनुको अर्थ छैन। त्यसले आमनागरिकलाई निराश बनाउँछ। निर्वाचनअघि कांग्रेसले ध्यान पुर्‍याउन नसकेको यो पक्षमा परिणामपछि पुनर्विचार गर्न सक्छ।  

प्रकाशित: ८ मंसिर २०७९ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App