coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

काठमाडौं-२ मा सधैँ विद्रोहको मत

काठमाडौँ क्षेत्र नं. २ एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो समयको साक्षी पनि हो। यसले प्रत्येक पटक विद्रोहको आवाज बोलेको छ। यसले नानीमैया दाहाललाई मत दिँदा मात्र होइन, अहिले सोविता गौतमसम्म आइपुग्दा पनि आफूभित्रको आगो निभ्न दिएको छैन।

काठमाडौँ नाङ्लेभारेका ६६ वर्षीय विष्णुप्रसाद ढकालले २०३८ सालमा नानीमैयाँ दाहालको पक्षमा मतदान गरे। काठमाडौँबाट प्रत्यक्ष निर्वाचित हुने दुई सांसदमध्ये नानीमैयाँले ६५ हजार ७ सय ७७ मत पाइन्। पञ्चायती राजनीतिमा त्यसबेलाका चर्चित पात्र जोगमेहर श्रेष्ठले २९ हजार ७ सय ४१ मत ल्याएका थिए।

त्यसको केही समयपछि अर्को चुनावमा ढकालले पद्मरत्न तुलाधरको पक्षमा मतदान गरे। २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौँबाट सूर्य चिह्न लिएर उठेका जनपक्षीय उम्मेदवार तुलाधरल अत्यधिक मत ल्याएर निर्वाचित भए। तुलाधरलाई नदेखे पनि उनको भाषण क्यासेटमा सुनेर मतदान गरेको उनले सुनाए।

त्योबेला तुलाधरले राष्ट्रिय पञ्चायत बैठकमा रुँदै भाषण गरेको सुनेर काठमाडौँ मात्र होइन, सिंगै देश उद्वेलित भएको थियो। त्यसले मानिसको परिवर्तनप्रतिको चाहनालाई सघाएको हो। अहिले लोकतन्त्र आएपछिका विकृति र विसंगतिविरुद्ध घन्टी बजाउने बेलामा पनि मतदातालाई तिनै पुराना दिनको सम्झना भइरहेको छ। मानिसका पुस्ता परिवर्तन हुन्छन्। तर विद्रोहको आवाज प्रत्येक पुस्तामा उत्तिकै घनीभूत हुन्छ।

सधैँ परिवर्तनको पक्षमा रहेका ढकालले त्यसपछि नेकपा एमालेका नेता मदन भण्डारीको पक्षमा मतदान गरे। जतिबेला भण्डारी निर्वाचित भए त्यसले संसारको ध्यान आकर्षित गरेको थियो। संसारभरि कम्युनिस्टहरूले आफ्ना किल्ला भत्किएर दुला पस्नुपरेका बेलामा यहाँ आशाको सञ् चार भएको थियो। अमेरिकाको प्रसिद्ध अखबार न्युजविकले ‘जहाँ माक्र्स जीवित छन्’ भन्ने शीर्षकमा अन्तर्वार्ता छाप्ने अवसर पनि यही क्षेत्रको विद्रोहको एउटा आवाज हो।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी मदन भण्डारी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए। भण्डारीका भाषणबाट प्रभावित ढकालले मुलुकमा साँच्चिकै परिवर्तन हुने सोच त्यतिबेला रहेको सुनाए। ‘बल्ल कोही गतिलो नेता भेटेको जस्तो महसुस भएको थियो,’ उनले भने, ‘तर यो आशा चाँडै नै त्रिशूलीले बगायो।’

खेती किसानी गरेर जीविका चलाउँदै आएका ढकालले त्यसपछि विद्या भण्डारीको पक्षमा मतदान गरे। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौँ क्षेत्र नं. १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन्। त्यतिबेला भण्डारीले आफ्नो भाषणले भन्दा पनि मदन भण्डारीको धर्मपत्नी भएको नाताले चुनाव जितेको उनको बुझाइ छ। ‘चुनावी कार्यक्रममा प्रायः विद्याको भाषण हुँदैनथ्यो, उनले भने, ‘बस् मदन सम्झिदै उनले आँसु झारेको याद छ।’

नेपाली राजनीतिमा सधैँ अप्रत्याशित नतिजा दिने क्षेत्रका बासिन्दा ढकालको मत यसबीचमा कति सफल भयो कति असफल भयो सबै उनले हिसाब किताब राखेका छैनन्। तर कतिपय चुनावमा नतिजा भने उनले भुल्न सकेका छैन। यसले परिवर्तनका निम्ति जहिल्यै प्रेरणा भने दिएको छ। यसपटक आइरहेका परिणामले पनि यही परिवर्तनको चाहनालाई प्रतिबिम्वित गरिरहेको छ।

ढकालकै क्षेत्रबाट पहिलो संविधान सभामा त्यतिबेला नेकपा एमालेका प्रमुख नेता रहेका माधव नेपाल माओवादी पार्टीका झक्कु सुवेदीसँग पराजित भएको। अनि अर्को निर्वाचनमा माधव नेपालले जितेको तर उनले छाडेको स्थानमा एमालेकै कृष्णगोपाल हारेको पनि उनलाई सम्झना छ। ‘धेरैजसो नतिजा अचम्ममा पार्नेखालका हुन्छन् यस क्षेत्रमा,’ उनी भन्छन्, ‘यहाँका मानिसको मानसिकता बुझिनसक्नु देखिन्छ।’

त्योभन्दा पनि बढ्ता अचम्ममा उनी अहिले परेका छन्। परिवर्तनका लागि भनेर आफूले गरेको मतदान पत्याउनै नसक्ने गरी सफलताको बाटोमा हिँडेको देख्दा अचम्म लागेको उनले सुनाए। काठमाडौँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले मंगलबारसम्म अग्रता हासिल गर्दै गर्दा उनी खुसी छन्। उनको क्षेत्रमा एमालेका मणिराम फुयाँल, वाम–लोकतान्त्रिक गठबन्धनका ओनसरी घर्तीलाई पछि पार्दै राजनीतिमा भर्खरै प्रवेश गरेकी सोविता गौतमको उदयले उनलाई अचम्ममा पारेको हो।

उतिबेला तुलाधर र भण्डारीको भाषणबाट प्रभावित बनेका ढकाल अहिले गौतमको भाषणबाट प्रभावित बनेको सुनाए। ‘हामी जहिले पनि आशामा बाच्छौँ,’ उनले भने, ‘कसैलाई गाली गर्नेभन्दा पनि परिवर्तन गर्ने पक्षमा रहन्छौं।’

ढकालको मात्र हैन, क्षेत्र नम्बर २ का अधिंकाश मतदाताको यस्तै मानसिकता देखिन्छ। चुनावी क्षेत्रको थपघटसँगै कहिले १ नम्बर र कहिले २ नम्बरमा पर्ने यहाँका मतदाताले मुलुककै ध्यान खिच्ने नतिजा दिएका छन्। यहाँबाट जितेका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भए पनि विकास भने खासै नभएको उनीहरूको बुझाइ छ। त्यसैले उनीहरू कसैबाट आश राख्ने भन्दा पनि आफूलाई मन पर्नेलाई भोट हालेर तुष्टि प्रकट गरिरहन्छन्।

त्यतिबेलाका नानीमैयाँको विजयलाई कतिपयले विभिन्न ढंगबाट विश्लेषण गरे पनि उनी भने नानीमैयाँको आँट र यस क्षेत्रका जनताको सचेतताका कारण यो नतिजा संभव भएको सुनाउँछन्। त्यस्तै आँट र सचेतताका कारण यसपटक सोविता विजयको बाटोमा लम्केको उनको बुझाइ छ।

‘कसैलाई कसैसँग दाँज्न जरुरी छैन,’ उनी भन्छन्, ‘सबैको आफ्नो ठाउँमा उत्तिकै महत्व छ ।’ पछिल्लो समय जनता झनै सचेत भएका कारण पछिपछिका चुनावमा झनै अप्रत्याशित नतिजा आउने उनको अनुमान छ। यी छनोट समयका आवाज हुन्। कोही कसैसँग तुलनाभन्दा पनि यी विद्रोहका मत हुन्।

‘हो साच्चिकै यो क्षेत्रका मतदाता अचम्ममा छन्,’ उनले हाँस्दै सुनाए, ‘कहिले कसलाई जिताउँछन् भन्ने कसैले भेउ पाउनै सक्दैनन्।’  

प्रकाशित: ७ मंसिर २०७९ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App