१६ मंसिर २०७९ शुक्रबार
विचार

चुकेको बोलीको मूल्य

‘यदिहस्तितदन्यत्र यन्नेहास्ति न  तद् क्वचित्’ अर्थात् जुन यसमा छैन, त्यो कहीं पनि छैन भनेर महाभारत ग्रन्थमा भनिएको छ। सत्यवती र ऋषि परासर पुत्र वेदव्यासद्वारा रचित यो ग्रन्थ जया, भारत हुँदै महाभारतका नामले चिनिएको छ। यसमा भएका एक लाख श्लोकमा अटाएको जे जति कथा र विषय छन्, ती सर्वकालिक छन्। बोधगम्य छन्। सन्देशमूलक छन्। जीवन उपयोगी सुत्रबद्ध लाग्छन्।

मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिस्पर्धामा रहेकाहरूले प्रचारका क्रममा दिएका अभिव्यक्ति जे जति सुन्नमा आएका छन्, ती सर्वसाधारणका लागि रुचिकर र कर्णप्रिय पटक्कै छैनन्। योभन्दा थप टीकाटिप्पणी गरिरहनुपर्छ जस्तो लाग्दैन। सबैले सुनेकै कुरा हो। तर अनुयायीहरूले के कस्ता राजनीतिक संस्कार र संस्कृति सिक्दै छन् ? स्वाभाविक रूपमा प्रश्न उठ्छ पनि। इतिहासका पात्रहरूको मानमर्दन गर्ने, कोही कसैलाई उनीहरूसँग तुलना गर्दै तुच्छाउने अभिव्यक्ति निश्चय पनि आम सर्वसाधारणका लागि सुन्न लायक छैन। त्यसमा पनि राजनीतिमा दिगो शत्रुता र मित्रता हँुदैन भन्ने भनाइ छ। आफ्ना प्रतिस्पर्धीमाथि तितो प्रहार, त्यसैले पनि अशोभनीय लाग्छ सुन्नेहरूका लागि। जीवनको सात दशक पार गरिसकेका प्रतिस्पर्धीको त्यो अभिव्यक्तिले महाभारत कथाकी पात्र राजकुमारी शर्मिष्ठाको बोलीले चुकाएको कठोर मूल्यको स्मरण गरायो।

दैत्यराज वृषपर्वाकी छोरी शर्मिष्ठा र दैत्य गुरु शुक्राचार्यकी (जो नवग्रहमध्ये एक मानिन्छन्) पुत्री देवयानी अत्यन्त मिल्ने साथी थिए। अन्य साथीहरूका साथ उनीहरू दुवैजना वनमा खेल्न जान्छन्। खेलिसकेपछि सबै जना पोखरीमा नुहाउन जान्छन्। त्यसै बेला ठुलो हुरीबतास आउँछ। उनीहरूले फुकालेर राखेको लुगा तितरवितर हुन्छ, छरपस्ट हुन्छ। नुहाएर आउँदा आफ्नो लुगा ठाउँमा पाउँदैनन्। त्यसपछि जसले जसको लुगा भेट्यो, त्यही लगाउँछन्। राजकुमारी शर्मिष्ठाले नचिनीकन नै दैत्यगुरु शुक्राचार्य पुत्री देवयानीको लुगा लगाउँछिन्। त्यसपछि आफ्नो लुगा शर्मिष्ठाले लगाएको देखेर देवयानीले भन्छिन्, ‘हे दैत्यपुत्री गुरुकी छोरीको लुगा शिष्यकी छोरीले लगाउनुहुँदैन भन्ने थाहा थिएन। देवयानीमा आफ्ना बाबुको गुरुकुलको घमन्ड थियो। देवयानीको वचनले शर्मिष्ठाको आत्मसम्मानमा चोट पुग्छ। उनी पनि रुष्ट हुँदै भन्छिन्, ‘तँ मगन्तेकी छोरी, तेरो बाबुले मेरो बाबुसँग टाउको निहुराएर भिक्षाटान गर्छ। त्यसैले जीवन निर्वाह गर्छ। मगन्तेकी छोरीको यत्रो घमन्ड। म त त्यो राजाकी छोरी हुँ, जसको प्रशस्ती र गुनगान हर मानिसले गाउँछन्। तैंले आफूलाई उच्च कुलको सम्झनुपर्दैन। म त्यो खानदानकी छोरी हुँ, जसले दिन मात्र जान्दछ, लिन जान्दैन। भिक्षा मागेर जीवन निर्वाह गर्ने एकजना गरिब ब्राह्मणकी छोरीले मलाई ज्ञान सिकाउने। तेरो यत्रो हिम्मत कहाँबाट आयो ?’

दुई जनाको विवादले उग्र रूप लिन्छ। कुटाकुट गर्छन्। अन्ततः रुष्ट शर्मिष्ठाले देवयानीलाई धकेल्दै इनारमा लगेर खसालिदिन्छिन्। संयोगले इनार सुख्खा थियो। पानी थिएन। त्यसै बेला सिकार गर्न गएको भरतवंशी राजा यायाति पानीका लागि त्यही इनारमा आइपुग्छन्। इनारमा पानी नभएर सुन्दरी युवती भएको देख्छन्। देवयानीले सबै कुरा बताउछिन् र आफूलाई उद्धार गर्न आग्रह गर्छिन्। इनारबाट देवयानीलाई निकाल्छन्। आफ्नो उद्धार गरेकाले यायातिसँग विवाह गर्न आग्रह गर्छिन्। यायातिले उनको आग्रह मान्दैनन्। इन्कार गर्छन्। पछि गएर देवयानीको विवाह यायातिसँग नै हुन्छ। त्यसको कथा लामो छ। सबै विस्तारपूर्वक लेखिरहन यो आलेखमा सम्भव पनि छैन।

इनारबाट निस्केपछि आफूलाई अपमानित शर्मिष्ठाका बाबु राजा वृषपर्वाकै राज्यमा आफ्ना बाबुको घर भएकाले त्यहाँ नजाने निर्णय गर्छिन्। त्यसपछि उनी वनमा जान्छिन्। बाबु शुक्राचार्य छोरी नआएपछि निकै चिन्तित हुन्छन्। आफ्ना मानिस उनलाई खोज्न भनी पठाउँछन्। शर्मिष्ठा भेटिए पनि घर जान मान्दिनन्। वृषपर्वाको राज्यमा नै नबस्ने कुरा बताउँछिन्। त्यही कुरा आफ्ना बाबुलाई भन्दिनु भन्छिन्। छोरीको सन्देश बाबुले थाहा पाएपछि शुक्रचार्य आफै जान्छन् छोरीलाई फकाउन। उनले धेरै सम्झाउँछन्। देवयानी मान्दिनन्। आफू अपमानित भएको राज्यमा बस्दै नबस्ने कुरा भन्छिन्। बाबु आमाका लागि सन्तान कमजोरी पनि हो। कति सम्झाउँदा पनि देवयानी टसमस भइनन्। आफ्नो अडानबाट पछि हटिनन्। बाबु छोरीबीच लामो संवाद भएको थियो।  

अन्ततः केही नलागेर त्यसपछि शुक्राचार्य दैत्यराज वृषपर्वाको दरबारमा जान्छन्। भएका सबै कुरा विस्तारपूर्वक बताउँछन्। राज्य नै छोडेर जाने कुरा भन्छन्। त्यसपछि राजा वृषपर्वाले घटनाबारे आफू कुनै जानकार नभएको र शुक्राचार्यले छोडेर जाने हो भने अग्निमा आत्मदाह गर्ने कुरा भन्छन्। राजाले धेरै अनुनय विनय गरेपछि शुक्राचार्य भन्छन्, ‘तिमी जे गर, मलाई मतलब छैन। म छोरी त्याग्न सक्दिनँ।’ त्यसपछि राजाले धेरै अनुनय विनय गरेपछि शुक्राचार्यले भन्छन्, ‘छोरी देवयानीलाई मनाउन सक्छौ भने ठिकै छ।’ त्यसपछि राजा वृषपर्वा देवयानी कहाँ जान्छन्। आफ्ना सबै परिवारका साथ देवयानीसँग क्षमायाचना गर्छन्। खुट्टामै ढोग्छन्।  

देवयानीले त्यसपछि भन्छिन्, ‘तिम्रो राज्य हामीले छोडेर नजाने हो भने मेरो सर्त मान्नुपर्छ। तिम्री छोरी शर्मिष्ठाले मेरो अपमान गरेकाले ऊ मेरो दासी बन्नुपर्छ। विवाह भएर म जहाँ जान्छु, ऊ पनि त्यहीं दासीका रूपमा मसँगै जानुपर्छ। यो सर्त उसले मान्छे भने म तिम्रो राज्यमा बस्न तयार छु। होइन भने बस्दिनँ।’ देवयानीको सर्त वृषपर्वाले छोरी शर्मिष्ठालाई भन्छन्। अन्ततः लज्जित हँुदै शर्मिष्ठाले देवयानीकी दासी हुने कुरालाई स्विकार्छिन्। पछि देवयानीको यायातिसँग विवाह हुन्छ। शर्मिष्ठा उनको दासीका रूपमा जान्छिन्। त्यसरी शर्मिष्ठा आफैले बोलीको कठोर मूल्य चुकाउनुपरेको थियो। यो पौराणिक कथाले शक्ति र सत्तामा हुनेले आफ्नो जवाफदेहिता निर्वाह कुन हदसम्म गर्नुपर्छ भन्ने कुरा देखाएको छ। आफ्नो नागरिकप्रति पहिलो दायित्व पूरा गर्नका लागि सन्तति पनि गौण हुन्छन् भन्ने मान्यता राखेको छ। ३३ वर्षको अवधिमा पटकपटक शक्ति र सत्तामा रहेकाहरूको बोलीको असंयमतालाई कुन शब्दमा सम्बोधन गर्ने ? सभामा आफ्ना भातृ संगठन सम्बद्ध पक्ष र अनुयायी नै हुने हुन्। उनीहरूले त निश्चय पनि ताली पिट्छन्, वावा गर्छन्। तर त्यसले सामाजिक मान्यता पाएको छ भन्ने भ्रम पाल्नुहुँदैन। सम्बद्ध पक्षले खुसी वा बेखुसी जे भए पनि यस वा त्यसलाई छान्न बाध्य छन् आम मतदाता। त्यसमा नेपालीको स्वभाव क्षमाशील छ। चित्त बुझे वा नबुझे पनि सामाजिक दबाब दिन सक्ने क्षमता पनि राख्दैनन्। यान्त्रिक रूपमा यस वा त्यसलाई आफ्नो मत प्रकट गर्दै आइरहेका छन् परम्परागत रूपमा। यसै कारणले हाम्रो विकल्प छैन। हामी जे भन्छौं त्यो ब्रह्म वाक्य हो। चुनौती छैन भन्ने ठानेर नै होला, अति सस्तो र निम्न स्तरका अभिव्यक्ति आएको। जवाफदेहिताको शून्यतामा आफ्नै बोलीको कठोर मूल्य चुकाएको शर्मिष्ठाको बिम्ब त पढ्न र भनिनका लागि मात्र एउटा पौराणिक कथा हो ।

प्रकाशित: ३ मंसिर २०७९ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App