७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्री यादव र भारतीय राजदुत पुरीले गरे संयुक्त भवन उद्घाटन

भारतीय दुतावासको सहयोगमा दार्चुला जिल्ला सदरमुकाम खलंगामा निर्माण भएको महेन्द्र नमुना माविको भवन उद्घाटनमा उप प्रधानमन्त्री तथा राजदुत। तस्विर : प्रेम/नागरिक

दार्चुला– भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरिएको छ। डेढ वर्ष अघि निर्माण सम्पन्न भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र नेपालका लागि भारतीय राजदुत मञ्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उपप्रधानमन्त्री र राजदुतको टोली धापबाट ७ किलोमिटरको दुरीमा रहेको खलंगा पुग्न हेलिकप्टरमार्फत महेन्द्र माविको भवन उद्घाटन गर्न आएका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले भारत सरकारले नेपालका लागि गर्दै आएको सहयोग र सद्भावलाई निरन्तरताको अपेक्षा गरेका छन्। ‘भारतले शिक्षा र स्वास्थ्य लगायतका विकास निर्माण कार्यमा धेरै सहयोग विगतदेखि नै गर्दै आएको छ’ उनले भने, ‘भौतिक पूर्वाधार निर्माणमा पनि धेरै सहयोग गरेको छ।

यही जिल्लामा नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि प्रक्रिया अगाडी बढेको हुनाले यसले नेपाल भारतबीचको व्यापारिक सम्बन्ध अझ राम्रो र सहज हुने छ।’ नेपाल र भारतको परम्परादेखि रहनसहन र संस्कृति एउटै रहेकोले हामीबीच प्रगाढ मित्रता रहेको राजदुत पुरीले बताए। हामीमा खुला सिमाना, सहज आवतजावत, वैवाहिक मित्रता र व्यापार एक अर्का देशमा गरिदै आएको छ। यो सम्बन्धलाई सामाजिक विकासको माध्यमबाट सधै कायम राख्न चाहेको बताए।

विकासको माध्यमबाट सम्बन्धलाई अझ मजबुद बनाउनका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको राजदुत पुरीको भनाई छ। दार्चुला जिल्लामा प्रस्तावित परियोजनाहरु प्राथमिकतामा रहेको बताउँदै आवश्यक प्रकृया पुरा भएपछि सवै सम्पन्न हुने आश्वासन दिएका छन्। उपप्रधानमन्त्री र राजदुतले उद्घाटन गरेको विद्यालय भवन तीन तले भुकम्प प्रतिरोधात्मक भवन रहेको छ। जसमा १८ वटा शौचालय, मिटिङ्ग हलसहित १४ कोठा रहेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए।

उनका अनुसार विद्यालय भवनको ३ करोड ३७ लाख लागतमा निर्माण भएको हो। विद्यालय भवन निर्माणका लागि २०६५ सालमा नेपालस्थित भारतीय राजदुताबासमा प्रस्ताव हालेको र २०७१ सालबाट निर्माण सुरु गरिएको थियो। अहिले विद्यालयमा नर्सरी देखि १२ कक्षासम्म दुई हजार एक सय १४ विद्यार्थी रहेका छन् भने दुई सिफ्टमा अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

यस अघि नेपाली सेनाको हेलिकप्टर मार्फत दार्चुला पुगेका उपप्रधानमन्त्री र राजदुतको टोलीले भारत सरकारको अनुदानमा महाकाली नदी माथि बन्ने द्धिदेशीय मोटरेवल पुलको प्रस्तावित सथान नगरपालिका–८ सुरकाडाको स्थलगत निरीक्षणका साथै महाकाली नगरपालिका ७ स्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापको स्थलगत निरीक्षण गरेका थिए।

धापमा पनि भारतीय राजदुतावासको आर्थिक सहयोगमा विद्यालय भवन निर्माणका लागि भारतीय पक्षबाट टुङ्गो लागिसकेको र नेपालको अर्थ मन्त्रालयसम्म पुगेको भारतीय राजदुत पुरीले बताउदै उनले भने, हाम्रो तर्फबाट सवै प्रकृया पुरा भएको छ। अब यो प्रोजेक्ट पनि संचालनमा आउनेछ।

प्रकाशित: १५ कार्तिक २०७६ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App