coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाईलाई पनि न्यानो ओछ्यान

गाईलाई ओछ्याउन म्याट वितरण गर्दै गाउँपालिका कर्मचारी । तस्बिरः महेश्वर/नागरिक

उदयपुर– गरिवी र अभाव भोग्न खप्पिस हामी नेपालीहरु न्यानो ओछ्यान त के भनेजस्तो आङभरी न्यानो लुगासमेत लाउन नपाईरहेको देखे/सुनेका छौं भने घर पालुवा जनावर गाईलाई न्यानो ओछ्यान दिएको कुरा सुन्दा/देख्दा अचम्मित हुनसक्छौं। तर, यो कुरा उदयपुरमा भने सत्य सावित गरेर देखाइएको छ। 

जिल्लाको उदयपुरगढी गाउँपालिकाका गाईहरु हिजोआज न्यानो ओछ्यानमा सुत्न पाएका छन्। व्यवसायिक गाईपालन गर्दै आएका दर्जन किसानलाई ओछ्याउन ‘काउ म्याट’ वितरण गरेपछि ३ दर्जन बढी गाईले न्यानो ओछ्यान पाएका हुन्। गाउँपालिकाअन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका वडा नं. ६ र ८ का ३३ जना कृषकलाई भर्खरै काउ म्याट वितरण गरिएको गाउँपािलका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए। उनका अनुसार गाउँपालिका र दातृ निकायको साझेदारीमा पहिलो पटक गाईलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरिएको हो।

हेल्भेटास नेपालको सहयोग र गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्ने किसानलाई म्याट वितरण गरिएको हो। किसानलाई गाई पालन व्यवसाय गर्न उत्प्रेरण जगाउने उदेश्यले काउ म्याट वितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक पारश फुयालले बताए। उनका अनुसार हेल्भेटास नेपाल र गाउँपालिकाको साझेदारीमा ३ लाख २८ हजार रुपैंया बराबरको म्याट खरिद गरी किसानलाई वितरण गरिएको हो।

म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र दुध उत्पादन पनि १० प्रतिशत बढ्ने ठहर प्राविधिकको छ। यसले भर्खर जन्मेका बाछाबाछीलाई पनि धेरै सहयोग पुग्ने फुयालले बताए। ‘गाईलाई आराम दिलाउन तथा रोग लाग्न नदिन र दुध उत्पादन बढाउन काउ म्याट उपयुक्त हुने प्राविधिक सल्लाह अनुसार यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यस्तो कार्यक्रम अन्य जिल्लामा पनि फाटफुट सञ्चालन भएको थाहा पाएर उदयपुरमा पनि सुरु गरेको गाउँपालिकाले जनाएको छ।

गाई पालक किसान देवीबहादुर राउतले गाईलाई पनि ओछ्यान दिएपछि अचम्म र खुसी दुवै लागेको प्रतिक्रिया दिए। उनका अनुसार किसानी गरेको पुस्तौं भए पनि गाई बस्तुलाई पनि ओछ्यान दिनुपर्छ भन्ने थाहै नभएको बताए । म्याट पाएपछि उनले घर लगेर गाईलाई ओछ्यान लगाईदिने भन्दै उनले यसले दुध पनि बढ्छ भनेकाले आम्दानी बढ्ने आस पलाएको बताए। सँधै जंगलबाट घाँसको स्याउला ओछ्याएर गाईलाई हाल्ने गरेको बताउँदै अर्का राउतले अब म्याट ओछ्याएपछि भने गाईलाई पक्कै न्यानो बढ्ने अनुमान लगाए।

उदयपुरगढी ८ का वडाध्यक्ष टंकबहादुर श्रेष्ठले पशुपालनमा पनि आधुनिकीकरण हुँदै गएको सूचकको रुपमा म्याट वितरणलाई लिइएको बताए। उनले हरेक कुरा अहिले आधुनिक र प्रबिधियुक्त हुँदै गएको भन्दै म्याट वितरणले गाई पालन गर्ने किसानहरुको मनोबल र आम्दानी दुवै बढ्नेमा आफु आसाबादी रहेको बताए। कृषि पेशा व्यवसायिक गर्दै जाने हो भने आम्दानीको सबभन्दा भरपर्दो स्रोत हुने भन्दै यसमा किसानहरु लागी पर्नुपर्ने सुझाव श्रेष्ठले दिए।

त्यस्तै वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर खत्रीले कृषकको परम्परागत आम्दानीको स्रोत नै गाई भैंसी र बाख्राजस्ता पशुपालन रहेको वडामा यसलाई व्यवसायिक र आधुनिकीकरण गर्दै अघि बढ्न म्याट वितरणले सहयोग पुग्ने बताए। जाडो याममा गाई बस्तुलाई न्यानो खानेकुरासँगै ओछ्यान पनि न्यानो पाएपछि दुध उत्पादन बढ्ने भएकाले किसानलाई यस कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा उनले गरे।

गाउँपालिकास्तरीय गाई पालक कृषक समूहका अध्यक्ष भरतराज कार्कीले व्यवसायिक पशुपालक कृषकहरुले काउ म्याट पाउनु खसीको कुरा भएको भन्दै यसले किसानलाई उत्साहित बनाएको बताए। उनले व्यवसायिक कृषि पेशा गर्ने किसानका लागि एकदम राम्रो सहयोग भएको भन्दै यसको भरपुर फाईदा लिन आग्रह गरे। दातृ निकायको यस्तो सहयोगलाई गाउँपालिका र जनप्रतिनिधिले निरन्तरता दिदै कृषिमैत्री भएर अघि बढ्न सके किसानको आयआर्जन बढ्ने र आम्दानीका लागि युवा पुस्ता विदेश पलायन हुन नपर्ने कार्कीको भनाई थियो।

प्रकाशित: १५ कार्तिक २०७६ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App