लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन्। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार भट्टराई ६ दिने सरकारी भ्रमणको लागि शनिवार लण्डन आउन लागेका हुन्।
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यहाँस्थित सरकारी अधिकारीहरुसंग समेत छलफल गर्ने बताएको छ। मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वर्ल्ड ट्राभल मार्टमा सहभागी हुने छन्।
भ्रमणका क्रममा भट्टराईले नेपाली दूतावास लण्डनले आगामी मंगलवार साँझ दुतावास भवनमा आयोजना गर्ने पर्यटन प्रर्वद्धन सम्वन्धि एक कार्यक्रममा सहभागी हुने छन्।
आउँदो सातादेखि लण्डनमा शुरु हुनलागेको वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) नेपाललाई प्रबद्र्धन गर्ने राम्रो अवसर हुने वेलायतस्थित एक पर्यटन व्यवसायी विराज भट्टले जनाए।
ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक भट्टका अनुसार एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको बर्ल्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा भागलिन नेपालबाट पर्यटन मन्त्रीको नेतृत्वमा एउटा टोली हरेक वर्ष जस्तै लण्डन आउने परम्परा रहेको छ। मेलाम भाग लिन नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कंपनीहरु समेत वेलायत उत्रिने तयारीमा छन्। वर्ल्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो।
मन्त्री भट्टराईले वेलायतभ्रमणको क्रममा यहाँस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया कार्यक्रम गर्ने गैरआवासीय नेपाली संघ युकेले जनाएको छ।
संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार संघले मन्त्री भट्टराईको उपस्थितीमा आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा एक अन्तरक्रियाको आयोजना गर्ने तयारी गरेको छ।
प्रकाशित: १५ कार्तिक २०७६ ०९:४२ शुक्रबार