८ वैशाख २०८१ शनिबार
समाज

बालमैत्री विपरित विद्यालयका संरचना

बैतडी– बैतडीका अधिकांश सामुदायिक विद्यालयका संरचना बालमैत्री नहुँदा प्राथमिकतहका बालबालिकाको शैक्षिकस्तर खस्कदो अवस्थामा छ। अधिकांश विद्यालयमा पर्याप्त कक्षाकोठा, फर्निचर, शैक्षिक सामग्रीको अभाव छ।

बालबालिकाको लागि बस्ने पर्याप्त बेन्च नहुँदा भुइमा बस्न बाध्य भएको भुवनेश्वरी प्रावि, भवनेका प्रअ महेशदत्त जोशीले बताए। जिल्लाका धेरै विद्यालयको आर्थिक अवस्थासमेत कमजोर छ। पर्याप्त भौतिक पूर्वाधार र शिक्षक नहुँदा सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर बढ्न नसकेको हो। 

दरबन्दी अनुसार शिक्षक नहुँदा एउटै शिक्षकले दुईतीन कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता रहेको शिक्षकहरु बताउँछन्। निजि स्रोतममा राखेका शिक्षक तालिम प्राप्त छैनन्। दक्षशिक्षकको अभावमा शैक्षिक अवस्था सुधार हुन नसकेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए।

विद्यालयका संरचना बालमैत्री छैनन्, शौचालय पानीको धारो, बेन्च लगायत अन्य पूर्वाधार बालमैत्री नहुँदा बालमैत्री विद्यालय बन्न सकेका छैनन्। आजभोली नयाँ बन्ने पूर्वाधार बालमैत्री बनाउने प्रयास गरिए पनि विगतका दिनमा बनेका पूर्वाधार बालमैत्री नभएको शिक्षा इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।

बालमैत्री सिकाइका लागि बालबालिकाको उमेर अनुसारका फर्निचरको व्यवस्था हुनुपर्ने भए पनि विद्यालयले एउटै खालका फर्निचर बनाउँदा स–साना बालबालिका उभिएरै पढ्न बाध्य छन्। फर्निचर निर्माण गर्दा उमेर अनुसार निर्माणमा ध्यान नपुग्दा बालबालिकालाई यातना दिए जस्तो हुने गरेको छ। विद्यालयले समान्य कुरामा ध्यान दिन सके बालमैत्री सिकाइबाट बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न सकिने सिद्धेश्वर मावि, हुक्केडाँडाका प्रअ नरेन्द्र भट्टले बताए।

‘हामीले बालबालिकाको आँखाले हेर्न सके त्यही अनुसार विद्यालयले कार्ययोजना बनाउनुपर्छ,’ उनले भने। कक्षाकोठाको वातावरणदेखि फर्निचरलगायत सबै संरचना बालमैत्री हुनुपर्ने भए पनि विद्यालयको प्राविधिक समस्या हटाउनुपर्ने प्रअ भट्टले बताए।

उँगाउँमा च्याउझै खुलेका विद्यालयको शैक्षिक अवस्था सुधार हुन सकेको छैन। धेरै विद्यालयमा विद्यार्थीसमेत कम छन्। विद्यार्थीलाई बालमैत्री सिकाइ हुनुपर्ने बारे बेलाबेलामा विभिन्न तालिमसमेत दिने गरेको शिक्षा इकाइ प्रमुख अवस्थीले बताए। ‘सिकेका सबै कुरा व्यवहारमा उतार्न कठिन हुँदोरहेछ,’ उनले भने, ‘तर तालिम लिएका शिक्षकले व्यवहारमा उतार्ने प्रयाससमेत गरेका छैनन्।’ अभिभावक शिक्षकलाई एक ठाउँमा राखेर धेरै समस्या समाधान गर्न सकिने उनको भनाइ छ।
विद्यालयमा भएका शैक्षिक गतिविधिको निरीक्षण र मूल्याङ्क नगर्ने शिक्षाका प्रतिनिधि पनि यो विषयमा निरिहजस्तै बनेका छन्।

‘हामीले विद्यालयको निरीक्षण गर्दा फर्निचरदेखि सिकाइसम्मका हरेक गतिविधि बालमैत्री हुनुपर्छ भन्दै आइरहेका छौं,’ दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख नाथले भने, ‘अधिकांश विद्यालयमा समस्या उस्तै छ।’
विषयगत शिक्षामै अधिकांश विद्यालय बढी जोड दिने गरेका छन्। अतिरिक्त ज्ञान तथा क्रियाकलापमा विद्यालयले ध्यान दिन सकेका छैनन्। बाल्यकालको सिकाइले जीवनपर्यन्त प्रभाव पार्ने भएकाले प्रारम्भिक बालशिक्षालाई ध्यान दिनुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए।

गुणस्तरीय शिक्षा कसरी लागू गर्न सकिन्छ भन्नेमा सबै विद्यालय केन्द्रित हुनुपर्नेमा उनको जोड छ। बच्चाको गर्भदेखि आठ वर्षसम्मको अवस्था क्षमता विकास गर्न सक्ने अवस्था भएकाले यति बेला उनीहरूलाई सर्वाङ्गीण विकास हुने वातावरण तय गर्नुपर्ने धारणा उनको छ। ‘प्रारम्भिक बाल शिक्षामा सबै सचेत भएमा उनीहरूको शारीरिक, मानसिक, सामाजिक, भाषिक लगायत पक्षको विकास हुन मद्दत पुग्छ,’ उनले भने, ‘यो उमेरमा उनीहरूका लागि सही सिकाइ हुन जरुरी छ।’

बालविकासका लागि अधिकारमा आधारित गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय’ भन्ने अवधारणा अहिलेको विश्वमै मान्य छ। बालमैत्री विद्यालयका शिक्षकहरू दण्डरहित शिक्षण गर्छन, मायालु र मिजासिला हुन्छन् भनी तालीममा सिकाइन्छ। तर, वास्तवमा व्यवहारमा के गरिएको छ भन्नेमा भर पर्छ। 

बालमैत्री सम्बन्धमा सुनेका र घोकेका कुरालाई कक्षाकोठामा उतार्न नसक्नु  कमजोरी हो। विद्यार्थी सहभागिताका नाममा प्रायः तकडा र छरिता विद्यार्थीलाई मात्रै प्रयोग गर्ने गरेको पाइन्छ। कहिल्यै नबोल्ने, कहिल्यै नउठ्ने, समूह कार्यमा कहिल्यै नेतृत्व नगर्ने विद्यार्थीहरू प्रायः छुटिरहेका हुन्छन्। बालमैत्री विद्यालयको मर्मलाई अवलम्ब नगर्ने हो भने हरेक गतिविधिमा सबै खालका विद्यार्थीको सहभागिता सुनिश्चित गरिनु पर्ने क्याम्पस प्रमुख अवस्थीको भनाइ छ।

जगदम्वा मावि, रानीबुंगामा डेष्क नहुँदा घँुडामा कापी राखेर एसइई परीक्षा दिँदै विद्यार्थी ।
तस्बिरः बिरा ÷नागरिक

प्रकाशित: १५ कार्तिक २०७६ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App