coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुवाखालबाट प्रहरीको नाममा पैसा !

गोरखा – तिहारको रौनक सकिएपनि गोरखा सदरमुकाम र आसपासमा जुवाको रौनक एकादशी सम्म वर्षेनी हुन्छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र सदरमुकामको मुख्य बजारको आसपासका घरमा खुलेहाम दिनदिनै जुवा भईरहेको छ तर यसबारे प्रहरी, प्रशासन बेखबर छ।

कारण  यसरी हुने हरेक जुवाको खालबाट प्रहरीको नाममा पैसा छुट्याइन्छ। प्रहरीले जुवा खेलाउनेहरुबाट पैसा नलिएको दावी गरेपनि पक्राउ नगर्नु, चेकजाँचमा हेलचेक्राई गर्नु र जुवाडेहरुको खालबाट प्रहरीका लागि पैसा छुट्याउनुले मिलेमतोमा जुवा भएको चर्चा सदरमुकामको चिया पसलहरुमा हुन थालेको छ।

गोरखा सदरमुकामको हरमटारी, प्रतिक्षालय आसपास, सतिपिपल, धारापानी ठुलो आगन वरपर र काँठका गाउँहरुमा हिजोआज पनि जुवा भईरहेको छ। ‘सेटिङ मिलाउनुपर्छ भन्दै प्रहरीका लागि पैसा छुट्याउँछन’ जुवा खेलाउनेहरुसँग निकट रहेका एक ब्यक्तिले भने ‘निरन्तर खेल्दा पनि चेकजाँच हुँदैन, थाहा नपाए जस्तो गर्दा सेटिङ मिलाएकै रहेछ भन्ने भान हुन्छ।’

अन्यत्र जुवाडेहरु पक्राउ परेको सुचना आइरहेको भए पनि गोरखा सदरमुकामबाट प्रहरीले तिहारमा एक जनालाई पनि कारवाही गरेन। कार्यालयबाट दुई किलोमिटर भित्रको दुरीमा जुवा खेलिरहेकाहरुलाई प्रहरीले देख्दैन।

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रको कुन घरमा जुवा खेल्छन भन्ने बारे सादा पोसाकका प्रहरी राम्रोसँग जानकार छन्। खेलाउनेहरुसँग उनीहरुको बाक्लो उठबसका कारण प्रहरी भित्रको सूचना पहिल्यै थाहा पाउँछन्।

तास कौडा खेलेको ठाउँबाट खेल भएको दिन तीन देखि पाँच हजार सम्म प्रहरीलाई बुझाउनुपर्ने खेलाउनेहरु निकटका बताउँछन्।विगतका वर्षहरुमा दशैँ, तिहार जस्ता चाडपर्वमा जुवाडे पक्राउ पर्नु समान्य हुन्थ्यो। सादा पोसाकका प्रहरी संख्या थपिएको यो वर्ष कारवाही भने सुन्य छ।
बजार क्षेत्रका घरहरुमा हुने जुवा नियन्त्रण गर्न र अड्कल लगाउन प्रहरीलाई सहज छ। सानो बजार भएका कारण बाक्लो गरी भएको सवारी पार्किङ, रातको समयमा आउजाउ बाक्लो गर्ने ठाउँको

निगरानी र स्थानीयसँगको सोधखोजले ती ठाउँहरु सहजै पहिचान गर्न सकिन्छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी भने प्रहरीलाई कमजोर बनाउन ‘ह्यूमर’ फैलाइएको दावी गर्छन।

‘कहिँ कतै जुवा खेल्ने खेलाउने भएको छ भने मलाई सिधा सुचना दिनुहोस्, कारवाही गर्छु, ‘एक्सन’ लिएर कारवाही गरेपछि ‘ ह्यूमरहरु आफैँ हट्छ।’ सुचना पाएको ठाउँका प्रहरी गएको र त्यस्तो गतिविधी नभएको उनले बताए। प्रहरीले गरेको दावी र सदरमुकामका चिया पसलमा हरेक बिहान हुने प्रहरीको जुवा ‘सेटिङ’ को चर्चाले भने जिल्लाका प्रशासक, सुरक्षा निकायका प्रमुख पनि शंसङकित छन्।

 

 

प्रकाशित: १५ कार्तिक २०७६ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App