७ वैशाख २०८१ शुक्रबार
राजनीति

अर्घाखाँचीमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

अर्घाखाँची–संविधान संशोधन प्रस्तावको विधेयकमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईसँग अलग गराई चार नम्बर प्रदेशमा लैजाने निर्णय बिरुद्धको आन्दोलन  आज पनि जारी रहेको छ। सरकारले संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा दर्ता गराएपछि  बुधबार  देखि जिल्ला बन्दको घोषणा गरी दैनिक बिरोध प्रदर्शन भइरहेका छन्। बन्दका कारण पसल, सवारी साधन, उद्योगधन्दा, शिक्षण संस्था पूर्ण रुपमा बन्द भएका छन्। लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको छ।

जिल्लामा क्रियाशील दश राजनीतिक पार्टी सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन आन्दोलन चर्काएको छ। शनिबार बिहान बसेको संघर्ष समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। समितिले १९ गते पनि बन्दको आह्वान गरेको छ । २० गते बिशालसभा  गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा संघर्ष समितिका संयोजक विष्णु मुस्कानले जानकारी दिए ।

आजै समितिले विरोधसभाको आयोजना गर्दैछ । सभामा १० हजार भन्दा धेरै मानिस उतार्ने तयारी भएको एमाले उपाध्यक्ष जीजनारायण कोइरालाले जानकारी दिए। बिरोध सभामा कांग्रेस नेता चन्द्र भण्डारी, एमाले नेता विष्णु पौडेल, माओवादी नेता टोपबहादुर रायमाझी लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको संयोजक मुस्कानले जानकारी दिए । बन्दका कार्यक्रमलाई व्यवस्थित गराउन राजनीतिक दलका युवा भातृ संगठनलाई स्वयंसेवको रुपमा परिचालन गरिने भएको छ ।   
 

प्रकाशित: १८ मंसिर २०७३ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App