coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

धुलिखेलमा मधुमेह अनुसन्धान केन्द्र

‘धुलिखेल अस्पताल लायन्स डायबिटिज सेन्टर’ सञ्चालनको समझदारीपत्र (एमओयु)मा हस्ताक्षरपछि पत्र आदानप्रदान गर्दै अस्पताल निर्देशक डा. रमेश माकजु श्रेष्ठ र लायन्सका निवर्तमान गभर्नर सुदर्शनधर प्रधानांग।तस्बिरःनागरिक

बनेपा – लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले धुलिखेल अस्पतालमा आउने र यसका हेल्थ सेन्टरको आसपासका मधुमेह (डाइबिटीज) रोगीलाई लक्षित गर्दै ‘धुलिखेल अस्पताल लायन्स डायबिटिज सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।

यसका लागि फाउन्डेसन र अस्पतालले संयुक्तरूपमा डेढ करोड (एक लाख ४३ हजार डलर) रूपैयाँ लगानी गर्ने भएका हुन्, जसमा फाउन्डेसनले एक लाख ५ हजार र अस्पतालले ३८ हजार डलर लगानी गर्नेछन्। अस्पताल मुलुकमै डाइबिटीजसम्बन्धी पहिलो सेन्टरका रूपमा स्थापना हुने भएको हो।

‘पछिल्ला वर्षमा नसर्ने एवं खर्चिलो रोगका रूपमा डाइबिटिज देखा परिरहेको तथ्यलाई हाम्रै अस्पतालमा आउने बिरामी संख्याले पनि प्रमाणित गरेको छ। डाइबिटीजबारेमा जनचेतना वृद्धि गर्नुका साथै यसका बिरामीलाई निगरानी गर्न लायन्ससँग सहकार्य गरेका हौं,’ अस्पताल निर्देशक डा. रमेश माकजु श्रेष्ठले भने।

धुलिखेल अस्पताल हातामा स्थापना हुने सेन्टरले डायबिटिजको मुख्य कारक मानिएको खानपिनमा र बिरामीको उपचारको निरन्तरतालाई ध्यानमा राख्दै सचेतीकरण अभियानमा जोड दिने उनको भनाई छ। उनले भने, ‘बढ्दो सहरीकरणको प्रभावले फेरिएको जीवनशैली र खानपिनका कारणले अधिकांशमा डाइबिटिज रोग निम्तने भएकाले अस्पतालमा आएका बिरामीलाई ‘फुड केयर क्लिनिक’मार्फत र अस्पतालको २२ वटा हेल्थ सेन्टर (आउटरिच)मा सचेतना कार्यक्रममार्फत विभिन्न कार्यक्रम आयोजना गर्नेर्छाैं,’ श्रेष्ठले थपे।

धुलिखेल अस्पतालको सामुदायिक विभागकी अनुसन्धानकर्ता डा. आभा श्रेष्ठका अनुसार नेपालजस्ता विकासोन्मुख देशका नागरिक नसर्ने रोगहरूमध्ये डाइबिटिजबाट बढी प्रभावित हुन थालेका छन्। ‘आउटरिच सेन्टरमा चलाइने ‘क्याम्प’बाट र सिधै अस्पताल आएका डाइबिटिजका बिरामीको उपचारको ‘फलो अप’ लाई प्राथमिकता दिँदैछौं। यसका लागि सफ्टवेयर र मोबाइल एपबाट बिरामीलाई अस्पतालसँग नियमित सम्पर्कमै राखिराख्छौं,’ उनले भनिन्, ‘सुरूमा खानपिनको हेरविचारमा बढी ध्यान केन्द्रित हुने र दोस्रो चरणमा आँखाको हेरविचार केन्द्रित भएर सेन्टरबाट सेवा दिनेछौं,’ श्रेष्ठले थपिन्।

धुलिखेल अस्पतालले तालिमप्राप्त नर्सको अगुवाईमा डाइबिटिज सेन्टर सञ्चालन गर्ने योजना बनाएको छ। यसका लागि उनीहरूलाई विशिष्टीकृत तालिमसमेत दिइसकिएको छ। अस्पतालको विभिन्न विभागमा उपचारका लागि जानुपर्ने देखिएका डाइबिटीजका बिरामीलाई ‘इन्टर डिपार्टमेन्ट रेफर’मा समेत मद्दत गर्ने प्रणाली विकास गरिएको छ।

‘हामी डाइबिटिजका सबै बिरामीलाई ‘कन्टिमम् अफ केयर’ प्रणालीमा राखेर हेरविचार गर्छौं। यसअन्तर्गत बिरामीलाई सुझावमात्रै दिने नभई उहाँहरूलाई ‘ट्र्याक’ गर्दै सबै खाले समस्यामा पनि विस्तृत रूपमा निगरानी गर्नेछौं,’ श्रेष्ठले भनिन्। उनका अनुसार क्याम्प वा अस्पतालमा आउँदा डाइबिटिजका बिरामी एक्लै आए पनि त्यसपछि नर्सले उनीहरूको हेरविचार गर्ने व्यवस्था मिलाइएको छ। उनले भने, ‘नर्सहरूलाई इन्टरनल मेडिसिनका डाक्टरले मद्दत गर्नुहुन्छ। बिरामी समुदायमा फर्केर गएपछिको अवस्थामा सामुदायिक क्लबले निगरानी गर्ने भएकाले डाइबिटीजका बिरामी अब कुनै पनि चरणमा एक्ला हुँदैनन्,’श्रेष्ठले भनिन्।

उपचारमा संलग्न डाक्टरले फलो अपमा आउन तोकिदिएको समय अगावैबाट बिरामीले के गरिरहेको छ, कस्तो खानपिन गरिरहेको छ भनेर ‘मनिटरिङ’ गरिने प्रणाली विकास गरिएको इन्टरनल मेडिसिन विभागका लेक्चरर डा. राजेन्द्र ताम्राकारले जानकारी दिए। उनले भने, ‘फलो अपमा आउनका लागि मोबाइलबाट म्यासेज पठाइन्छ। त्यस्तै, धेरै पटक फलो अपमा नआएको बिरामीको हकमा फोन गरेर उपचारका लागि अन्यत्र गएको हो वा उपचार नै छाडेको हो कि भनेर खबर राख्छौं,’ उनले थपे।

समुदायमा रहेका डाइबिटीजका बिरामीलाई स्थानीय क्लबमार्फत् सामुदायिक हेरचाह गरिने प्रणालीसमेत बनाइएको छ। ‘क्लबका सदस्यलाई डाइबिटिज सचेतनाका बारेमा प्रशिक्षण दिन्छौं र उनीहरूले सिकाउँछन्। नर्स र डाक्टरलाई डाइबिटिजका नयाँ आयामबारेमा निरन्तर प्रशिक्षणसमेत दिइनेछ। यसले डाइबिटिजका कारण उत्पन्न हुने घातक जटिलतालाई ठिक ढंगले अनुमान गर्न सकिने क्षमताको विकास हुन्छ,’ ताम्राकारले थपे।

दक्षिण एसियामै डाइबिटिज रोगको अलग्गै अनुसन्धान केन्द्र बंगलादेशमा मात्रै रहेको छ। त्यहाँ बिरडेम जनरल हस्पिटल (बंगलादेश इन्स्टिच्युट अफ रिसर्च एण्ड रिह्याब इन डाइबिटीज, इण्डोक्राइन एण्ड मेटाबोकिल डिसर्डर) रहेको र अब नेपालको धुलिखेलमा यस्तै खालको दोस्रो सेन्टर सञ्चालन हुन लागेको अस्पतालका सामुदायिक विभागका प्रमुख डा. बिराज कर्माचार्यले जानकारी दिए। उनले भने, ‘धुलिखेलमा स्थापना हुने सेन्टरलाई ‘सेन्टर अफ एक्सेलेन्स इन डाइबिटीज’ बनाउने लक्ष लिएका छौं। अहिले नेपालका डाइबिटीजका बिरामीहरूले विगत ५ वर्षमा के कस्तो समस्या भोग्नु प¥यो, उपचार पद्धतिले कस्तो प्रभाव पा-यो भन्ने सवालमा गहन अध्ययन भएको छैन। डाइबिटीज सेन्टरले विभिन्न आयाममा अध्ययनसमेत गर्नेछ,’ उनले थपे।

लायन्सका निवर्तमान डिष्ट्रिक्ट गभर्नर एवं परियोजना प्रमुख सुदर्शनधर प्रधानांगले अस्पतालसँग आगामी ३ वर्षका लागि सेन्टर चलाउनका निम्ति लायन्सले समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि त्यसपछिका वर्षमा समेत निरन्तर सहयोग गर्दै जाने दृढता व्यक्त गरे। यसअगावै लायन्स फाउन्डेसनले ९३ लाख रूपैयाँ र लायन्स अफ काभ्रे बनेपाले ४८ लाख रूपैयाँ सहयोग गरेर बनेपास्थित नेपाल हार्ट फाउन्डेसनमा सुविधासम्पन्न हर्ट क्लिनिक स्थापना गरिसकेको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App