७ वैशाख २०८१ शुक्रबार
राजनीति

'संघीयता खतरामा' : स्वास्थ्यमन्त्री यादव

राजविराज – उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीय प्रणाली खतरामा रहेको भन्दै संघीयता पक्षधरलाई सचेत रहन आग्रह गरेका छन्। शक्तिशाली सरकारका प्रभावशाली मन्त्री स्वयम्ले संघीयता खतरामा रहेको अभिव्यक्ति दिएका हुन्।

बिहीबार राजविराजमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले संघीयता, गणतन्त्र र लोकतन्त्रका लागि भएका संघर्षहरूको उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्र जोडतोडका साथ भइरहेको र त्यसको पहिलो प्रहार संघीय प्रणालीमाथि पर्न सक्ने आशंका व्यक्त गरे।

प्रेस नेपाल सप्तरीले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘संघीयता र गणन्तत्र समाप्त गरी मधेसमाथि पुनः एकछत्र राज गर्ने षडयन्त्र प्रारम्भ भइसकेको छ, यसतर्फ हामी  सचेत हुनुपर्ने समय आइपुगेको छ।’ यस्तो परिवेशमा वर्तमान सत्ता नेतृत्वकारी दलले संविधान संशोधनमार्फत संघीयतालाई अझ मजबुत बनाउनु पर्ने तथा मधेसको मागलाई यथोचित सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। 

समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका यादवले भने, ‘हामी सरकारमा सहभागी हुनुको मुख्य कारण संविधान संशोधन हो, संविधान संशोधनकै लागि हामी सरकारमा सहभागी भएका हाैं, तसर्थ त्यतिबेलाको सम्झौतालाई मध्यनजर गर्दै नेतृत्वकारी दलले संविधान संशोधनको प्रक्रियालाई अविलम्ब अगाडि बढाउनु पर्दछ।’

मधेसका मुद्दा र जायज माग सम्बोधनका निम्ति सरकारलाई अझ बलियो बनाउँदै दुई तिहाइ पुर्‍याउनका लागि आफूहरू सरकारमा सहभागी भएको स्पष्ट पार्दै उनले भने, ‘हामीले हाम्रो प्रतिवद्धता देखाइ सक्याैं अब सत्ताको नेतृत्व गरिरहेको दलले पनि अविलम्ब संविधान संशोधन गरेर मधेसलगायत सबै असन्तुष्ट पक्षका माग पूरा गर्न सक्नुपर्दछ।’ विगतमा सत्तासीन दलले गरेको सहमती र सम्झदारी कार्यान्वयनको कुनै विकल्प नरहेको उनको भनाइ थियो। 

स्वास्थ्य मन्त्री यादवले नयाँ स्वास्थ्य ऐन ल्याइ सबै प्रदेशमा एउटा मेडिकल कलेज, क्यान्सर हस्पिटल तथा बृहत्तर उपचारका लागि एउटा सुविधा सम्पन्न अस्पतालका अतिरिक्त  सबै नगर र गाउँपालिकामा अस्पताल तथा सबै वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने दिशामा सरकार अघि बढिसकेको जानकारी पनि दिए। सरकारको सोही नीति अनुरूप प्रदेश–२ अन्तर्गत राजविराजमा मेडिकल कलेज, वीरगञ्जमा बृहत्त उपचारका लागि सुविधा सम्पन्न अस्पताल तथा सिरहामा क्यान्सर अस्पताल स्थापनाको निम्ति काम अघि सारिएको समेत उनले बताए। 

उनले जनकपुरस्थित अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल तथा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई ४ सय २० शैड्ढयाको अस्पतालको रूपमा विकसित गर्ने गरी कार्य समेत अघि बढिसकेको बताए। नेपालमै सबभन्दा बढी प्रदेश २ मै बाल मृत्युदर तथा बालबालिकामा कुपोषणको समस्या देखिएको प्रति चिन्ता व्यक्त गर्दै यादवले यस अवस्थामा सुधार ल्याउन पनि संघीय सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराए। 

सोही कार्यक्रममा बोल्दै प्रदेश–२ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशको समृद्धि तथा विकासका लागि प्रदेश सरकारले कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन थुप्रै कामहरू अघि सारेको दाबी गरे। यसका अतिरिक्त भौतिक सामाजिक तथा मानव विकासतर्फ पनि प्रदेश सरकारले सकारात्मक रूपमा दृढता साथ अगाडि बढिरहेको मन्त्री साहले बताए। 

आउँदो पुस लगत्तै प्रदेश लोकसेवा आयोगमार्फत प्रदेश सरकारले आवश्यक कर्मचारी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने जानकारीसमेत उनले दिए। त्यस्तै प्रदेशको नाम र राजधानीको मुद्दा पनि चाँडै प्रदेशसभाबाट टुंगिने विश्वाससमेत उनले व्यक्त गरे।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App