१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रमुख दलले उम्मेदवारको टुंगो लगाए

पाँचथर – उपनिर्वाचन आउन एक महिना बाँकी  रहँदा पाँचथरका मुख्य प्रतिस्पर्धी मानिएका दलले उम्मेदवार टुंगो लगाएका छन्। एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धी मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र अन्य  दलहरुले उम्मेदवार टुंगो लगाएका हुन्। 

उम्मेदवारको टुंगो लागेसँगै चुनावी चहलपहल बढेको छ। नेता–कार्यकर्ताहरुले चुनावी गतिविधिमा सक्रियता देखाउन थालेका छन्। जिल्लामा फाल्गुनन्द गाउँपालिका प्रमुख पदका लागि हुने निर्वाचनका धेरैले चासोका साथ हेरेका छन्। यहाँ नेकपाले वीरबहादुर कुरुम्बाङलाई उम्मेदवार बनाएको छ। यस्तै, नेपाली काँग्रेसले जिल्ला सचिव बृजहाङ आङदेम्बेलाई उम्मेदवार बनाएको छ। कुरुम्बाङ यस अघिको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए। काँग्रेसबाट विजयी भएका अमरकुमार नेम्बाङको २०७५ माघ २६ गते निधन भएको थियो। 

यहाँ मुख्य प्रतिस्पर्धी नेकपा र काँग्रेसलाई मानिएको छ। यस अघिको स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाउँपालिकामा स्व. नेम्बाङले ४ हजार १ सय ६३ मत प्राप्त गरेर विजयी भएका थिए।  उनका निकटम प्रतिद्वन्दी तत्कालीन एमालेका कुरुम्बाङले ३ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए।

यस्तै तत्कालीन नेकपा (माओवादी) केन्द्रका ठाकुरसिंह नेम्बाङले ७ सय ४४ मत प्राप्त गरेका थिए। साबिकको दुवै पार्टीको मतलाई जोड्दा काँग्रेस ५२ मतले अगाडि देखिन्छ। यहाँ संघीय समाजवादीले ४ सय ९०, राष्ट्रिय जनमुक्तिले ३ सय ११, राप्रपाले २ सय ३४ मत प्राप्त गरेका थिए। यहाँ काँग्रेस जित जोगाउन र नेकपा जित निकाल्ने दाउमा छन्। यसअघि  काँग्रेसले बहुमतसहित जित निकालेको थियो।

समाजवादी पार्टीले विमला नेम्बाङ आङदेम्बे र राप्रपा संयुक्तले घनेन्द्र चेम्जोङलाई उम्मेदवार बनाएका छन्।  उपनिर्वाचनका लागि फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। फिदिम–१ र हिलिहाङ– ७ को वडाध्यक्ष पदका लागि पनि प्रमुख दलले उम्मेदवार टुंगो लगाएका छन्। नेकपाका तीनै उम्मेदवार साबिक एमालेतर्फका परेका छन्।

फिदिम–१ मा नेकपाले गजाधर भट्टराईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। यस अघि काँग्रेसका उम्मेदवारसँग उनी पाँच मतले पराजित भएका थिए। यहाँ काँग्रेसले शुभराज थापालाई उम्मेदवार बनाएको छ। फिदिममा राप्रपाले मिलन गिरीलाई उम्मेदवार बनाएको छ। फिदिममा ३ हजार ६७६ जना मतादाता छन्।

यस्तै हिलिहाङ–७ मा नेकपाले गेहनाथ रिजाललाई उम्मेदवार बनाएको छ। यस्तै काँग्रेसले तिलविक्रम इधिङ्गोलाई उम्मेदवार बनाएको छ। यस अघि यहाँ तत्कालीन नेकपा एमालेका उम्मेदवार फराकिलो मतअन्तरले विजयी भएका थिए। यहाँ २ हजार ६ सय मतदाता रहेका छन्।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App