४ वैशाख २०८१ मंगलबार
अन्य

मुखियाको गाउँ मुस्ताङ

मालढुंगा मुस्ताङ पस्ने प्रमुख नाका हो। त्यहाँबाट बेनी बजार हुँदै हिमाली जिल्ला मुस्ताङ पुगिन्छ। त्यहाँवाट बिहान ७ बजे गाडी छुट्ने जानकारी काठमाडौंमै पाएका थियौं हामीले। पर्वतको मालढुंगामा गएर जोमसोमसम्म ८५० रुपैँयाँका दरले टिकट लिनु पर्ने रहेछ। तर, टिकटवालाले देखाएको सिट चार्टअनुसार सिट नपाए पछि त्यहाँ केहीबेर 'डिस्कस' भयो।  

टिकटवालाले भन्यो, 'सिट चार्ट नक्कली भयो, त्यसका लागि सरी तर हाम्लाई यहाँ थर्काए जस्तो जोमसोमका भोटेलाई थर्काउनु भयो भने मैले मान्नेछु।' मालढुंगाको टिकटवालाले आफु भन्दा ज्याद्रो जोमसोमका भोटे हुने भन्दै सुरुमै सचेत गरायो।

त्यसपछि बेनी हुँदेँ हामी जोमसोम लाग्यौं। बिहान ७ बजे हिँडेको गाडीले जम्मा ८० किमी मात्रै दुरी पार गर्दोरहेछ तर, समय भन्दा झन्डै ८ घन्टा लाग्ने। काठमाडौंवाट वेनी पुग्दा पनि ८५०, बेनीवाट जोमसोम पुग्दा पनि ८ सय ५० दर नै प्रति ब्यक्ति भाडा लाग्ने रहेछ।

वेनीवाट उकालो लागे पछि जोमसोमसम्म पुग्दा चारवटा महत्वपुर्ण धार्मिक र प्राकृतिक पर्यटनस्थल भेटिने रहेछन। पहिलो, म्याग्दीमा गलेश्वर र तातोपानी कुण्ड, रुप्से झरना र बिश्वकै सबैभन्दा गहिरो कालीगण्डकीको खोँच।

बेनीवाट मुस्ताङसम्म पुग्दा यति धेरै वाटो अप्ठयारो रहेछ कि अलिकति पनि ड्राइभरको कमजोरी भयो भने ३ सय मिटर भन्दा तलसम्म पुग्नु पर्ने! बाँचिने त आशै गर्न सकिन्न। म्याग्दीतिरको  बाटो निकै खराब रहेछ। मुस्ताङ छोए पछि बसका गुरुजी भन्दै थिए,  'अबको (मुस्ताङतिर)को वाटो खराब छैन किनभने अगाडी पानी पर्दैन।'

मलाई त्यो बेला ज्ञान प्राप्त भयो, पहाडको वाटो त्यही बिग्रन्छन, जहाँ पानी पर्छ तर मुस्ताङमा पानी नपर्ने भएकाले बाटो उति सार्‍हो बिग्रन पाउँदो रहेनछ।

कच्चि सडक भए पनि सरर पिचमा हिँडेजस्तो अनुभूती मुस्ताङ छुने बितिक्किै भयो। अझ रमाइलो त के भने म जस्तो तराईमा जन्मे हुर्केको ब्यक्तिले आँखै अगाडी धवलागिरी र निलगिरी हिमाल देख्न पाउँदा त खुसीले निकै उफ्रिँदो रहेछ। पहिलो पटक आँखै अगाडी हिमाल देख्दा त बच्चाजस्तै अनुभव भयो। वाह, हिमाल, बाह नेपाल! 

म्याग्दी छाडेर मुस्ताङ छिरे पछि आँखै अगाडी आउने धवलागिरी हिमाल र अन्य रोमाञ्चक दृश्यको बयान गरिसाध्य छैन्। जीवनमा पहिलो पटक हिमाललाई पछाडी पारेर अघि बढ्दाको अनुभव सायदै भुल्न सकिन्छ। हो, हामी हिमाललाई पछाडी छाडेर अगि बढ्यौं। 

जोमसोम पुग्दा स्थानियले भने, 'यसपाला नेपाली जोमसोममा यति धेरै आए कि होटलमा ठाउँ नपुगेर गाडीमै ब्ल्याङकेट लाएर सुत्नु परेको थियो। दशैं र तिहार बीचमा मुस्ताङ पुग्नेहरुको थामी नसक्नु अवस्था थियो रे। कात्तिक अन्तिममा हामी पुग्दा पनि ठूलै भिड थियो, जोमसोम र मुक्तिनाथतिर। 

मार्फा गाउँ स्याउका लागि प्रख्यात रहेछ, झन पछिल्लो समय त स्याउको रक्सी झनै लोकप्रिय रहेछ। मुस्ताङ पुगेर ब्राण्डि नखाने त कमै रहेछन।

जोमसोम पुगे पछि देखिने नांगा पहाड झन आकर्षक थिए। नग्नतामा सुन्दरता हुन्छ भन्ने विश्वास नलाग्नेहरु मार्फा, जोमसोम लागे पछि विश्वास गर्न बाध्य हुन्छन। जोमसोममा एअरपोर्ट छ, होटल छन। हजार रुपैयाँमा कोठा पाइन्छ। खानाको मेन्यु चाँहि अलिकति महंगो हुनसक्छ तर भार पर्ने गरी हुन्न। 

जोमसोमबाट मुक्तिनाथको दुरी २२ किमि छ, प्रति ब्यक्ति भाडा २ सय ६५ रुपैँया तिर्नु पर्दो रहेछ। जोमसोमवाट साँझ ४ बजे गाडी छुटने रहेछ। त्यहाँवाट हाम्रो टोली मुक्तिनाथका लागि छुट्यो। मैले कल्पनै नगरेको दृश्य वाटोमा देखियो। ८ घन्टा लामो यात्रामा काली गण्डकीको खोच मात्रै देखिएको थियो तर कागबेनीतिर उक्लदैँ गर्दा फराकिलो बगर भेटियो।

बगर उराठ मात्रै हुन्छन, बैराग्य लगाउने मात्रै हुन्छन भन्ने मेरो मानशिकता त्यो बेला परिवर्तन भयो, जब जोमसोमवाट कागवेनीतिर हाम्रो गाडी हुइँकियो। वाह, शान्त र सौम्य बगर, नांगा तर आकर्षक पहाड हेरर बगरै बगर १० किमी भन्दा बढी एकतमास हुइँकिनुको मज्जै बेग्लै। बेनी देखि मार्फासम्म खतरनाक बाटोको यात्रा नै भुलाई दिने, कागबेनीसम्म पुग्दा।

कागबेनीवाट ठाडै उकालो, त्यो पनि धुलाम्मे सडक र नांगो पहाड हुँदै यात्रा गर्नुको रोमाञ्चकता नै बेग्लै। केही घर देखिन्छन वरपर तर हरियो परियो भन्ने देख्नै मुश्किल।  कागवेनीवाट मास्तिर उक्लिदै गर्दा स्याउका वगान भने देख्न पाइन्छ। र, हरियाली बनाउन केही प्रयास भएको पनि देखिन्छ।

मुक्तिनाथ मन्दिर मुन्तिर रानीपौवा बजारमा बस्ती अलिक बाक्लो छ। त्यहाँ स्थानिय भन्दा पर्यटक बढी हुँदा रहेछन्। बैंक छन्, होटल छन, मुक्तिनाथमा भिसा कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड सबै चल्छ।

मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा छ। सिंगो मुस्ताङभरी गाउँलेको आफ्नै कानुन चल्छ। मुक्तिनाथ गाउँका मुखिया सुरज गुरुङ भन्छन, 'प्रहरी र अदालतका साथीहरु भन्छन, हाम्लाई पनि काम दिए हुन्थ्यो नि तर प्रहरी र अदालतमा मुस्ताङी जाँदैनन्। उनीहरुले आफनो समस्या मुखिया कहाँ नै पुगेर टुंगाउँछन।'

बसपार्क नजिक सामुदायिक भवनमा 'मुखियाको कार्यालय' भनेर राखिएको होर्डिङ बोर्ड प्रस्टै देखिन्छ, मुक्तिनाथको गाउँका मुखिया गुरुङ भन्छन, 'मुस्ताङ भरी नै मुखियाका कार्यालय छन, जसले मुस्ताङमा आइपर्ने सबै समस्या समाधानका लागि पहल गर्दा रहेछन।' मुस्ताङमा प्रहरी र अदालत लगभग 'शो पिस' मात्रै हुन्, राज्य भन्दा बलियो त्यहाँका मुखिया हुँदा रहेछन्।

मुखिया चुन्ने बिभिन्न तरिका हुँदा रहेछन। गुरुङ चाँहि चिठ्ठा प्रथावाट चुनिएका रहेछन। गाउँमुलीको नाम लेखेर एउटा भाँडोमा राखिँदो रहेछ। बर्षैपिच्छे त्यहाँवाट चार–चारजनाले जिम्मेवारी पाउँदा रहेछन। जस्तो कि प्रत्येक बर्ष चिठ्ठा मार्फत मुखिया, सहायक मुखिया, कटवाल, सहायक कटवाल चयन हुँदा रहेछन्। नियम यो पनि रहेछ कि, चुनिएका नाम पुनः नदोहोरिउन भनेर घरमुलीको संख्या घटाइन्छ।

गाउँका सबै जनाले जीवनमा एक पटक चार वटा पद मध्ये एक जिम्मेवारी पाउँदा रहेछन। सबैको पालो सकिए पछि पुनः गाउँभरीका घरमुलीको नाम हालेर भाँडोमा राख्ने र क्रमशः चिठ्ठा निकालेर पुनः जिम्मेवारी दिने चक्रिय प्रणाली ब्यवस्था गरिएको रहेछ। मुक्तिनाथमा चिठ्ठाबाट मुखिया चुनिए पनि मुस्ताङमा अन्य सबै ठाउँमा त्यो ब्यवस्था छैन। कुनै ठाउँमा बंशजका आधारमा, कुनै ठाउँमा पुस्तान्तरण र कुनै ठाउँमा पाको र भलदामी ब्यक्तिलाई मुखिया चुन्ने चलन रहेको उनै मुखिया गुरुङले दिए। उनले रानीपौवा बजारमा ठूलो होटल ग्रान्ड साम्बला चलाएका छन्। 

तर, मुलुकभित्र अन्य ठाउँमा चुनाव नहुँदा पनि मुस्ताङमा आपसी सहमतिमा निरन्तर नेतृत्व चयन भई रहेको छ। मुखियामार्फत विकासका योजना, बाटो, पुल पुलेसा मात्रै होइन, समग्र स्थानिय अर्थतन्त्र पनि मुखिया मार्फतै हुने रहेछ। मुखियाका अनुमति वा स्वीकृति बिना मुस्ताङमा प्रमुख जिल्ला अधिकारी होस वा स्थानिय विकास अधिकारी नै किन नहोस, कुनै काम गर्न नसक्दा रहेछन।

मुखियाको अनुमति र स्विकृति पछि मात्रै मुस्ताङका हिमाली भेगमा राज्यका निकाय सक्रिय हुन सक्छन्। सिडियो होस वा एलडियो, प्रहरी निरक्षिक होस वा उपरिक्षकलाई भन्दा स्थानियले मुखियालाई बढी इज्जत र भर गर्दा रहेछन।

म त छक्कै परें। राज्य कमजोर रहेको क्षेत्रका रुपमा पनि मैले मुस्ताङलाई पाएँ। जस्तो कि, मुक्तिनाथ बसपार्कवाट मुक्तिनाथ मन्दिरसम्म दुरी जम्मा ५ सय मिटर जति होला तर घोडा चढेर गयो भने ३ सय ५० रुपैयाँ तिनै पर्छ। मैले २ रुपैयाँ पर्ने स्याम्पु प्रति गोटा १० रुपैयाँका दरले किनें। याकको मासुभातको मुल्य ६ सय २५ रुपैँया प्रति थालीको अनुभव पनि गरियो। मन्दिर परिसरमा मिनरल वाटर किनेको ७० रुपैयाँ यही हातले बुझायो।

हुन त त्यहाँ उत्पादन नहुने चिज महँगो हुनु स्वभाविक नै हो। तर, पसलै पिच्छे फरक दाम र सबाल जवाफ नै गर्न नमिल्ने स्थानियको ब्यवहार देखे पछि मन अमिलो बन्छ। जस्तो कि, सबारी धनी वा सवारी चालकले आफुखुसी गाडीमा यात्री राख्न पाउँदैन, मुक्तिनाथ वा जोमसोमका स्थानियले यात्री दिए भने गाडीमा यात्री राखेर ल्याउन सकिन्छ, नत्र आफैले बिबेक पुर्‍याएर गर्न सकिदैन। नियम हुनु आफनो ठाउँमा हो तर सिन्डीकेट लादिनु अर्को कुरा हो।

कतिसम्म सिन्डीकेट छ भने बेनीबजारबाट १ सय किलोमिटर पार गरेर मुक्तिनाथ पुग्न ३ वटा गाडी फेर्नु पर्छ। बेनीबाट घासासम्म एउटा बसमा, घासावाट जोमसोमसम्म अर्कोमा र जोमसोमवाट मुक्तिनाथ अर्को गाडीमा जानु पर्ने बाध्यता छ।  

धेरै ठाउँमा घुमियो होला तर मुस्ताङ आसपासमा पाहुनालाई सत्कार गर्ने बानी राम्रो थिएन। बोलीबचन सुधारे मात्रै पनि धेरै पर्यटकले आनन्ददायी यात्रा अनुभव गर्ने थिए। यो अनुभव प्रायः मुस्ताङ पुगेर फर्कनेको थियो।

तर, जे होस मेरो अनुभवमा मुस्ताङ नेपाल भित्रको अर्को विश्व रहेछ, जसले छुटायो, त्यसले देश बुझन सक्दैन भन्ने लाग्यो। भुगोलका हिसावले पनि, त्यहाँको नांगो सुन्दरताले पनि यो नेपालको अन्य ठाउँ भन्दा पृथक रहेछ। कम्तिमा १ हप्ताको फुर्सद लिएर जाने हो मुस्ताङ अघाउन्जेल घुम्न र हेर्न सकिन्छ, मैले ४ दिन मात्रै छुट्टाएँ, अहिले थक्थकि लागिरहेछ।

प्रकाशित: १८ मंसिर २०७३ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App