coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उत्सवमा बदलियो हस्तान्तरण समारोह

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको नवनिर्मित भवन। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – भूकम्पपछिको साढे चार वर्ष अस्थायी सिकाइ केन्द्र (टहरो) मा पढेका चौतारा–साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकका विद्यार्थीले नयाँ विद्यालय भवन पाएका छन्।

जिल्लाको पुरानोमध्येको एक यो विद्यालयको अत्याधुनिक भवनको बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहबीच उद्घाटन गरे। भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत औपचारिक रूपमा नयाँ भवन पाएको दिनलाई विद्यार्थी, अभिभावक र शिक्षकले उत्सवकै रूपमा मनाए। बालमैत्री, अपांगमैत्री, वातावरणमैत्री तथा भूकम्पप्रतिरोधी चिटिक्क भवन पाउँदा विद्यार्थी फुरुंग देखिन्थे।

‘जनस्तरबाट ढुंगामाटोबाट उठ्दै आधुनिक बन्दै गएको विद्यालय भूकम्पले शून्यमा पु-याएको थियो,’ विद्यार्थीको खुसी छचल्काउँदै प्रधानाध्यापक पदम पराजुलीले भने, ‘पुनः अहिलेसम्मकै आधुनिक, भव्य र बलियो विद्यालय पाएका छौँ।’

नेपाल हिल्फे वाइलिङग्रिस, जर्मनीको सात करोड १८ लाख शपैयाँ सहयोगमा खानेपानी, बिजुली, शौचालय, फर्निचर, ढुंगा बिछ्याइएर बारबेरसहितको फराकिलो कम्पाउन्डसहितको ३३ कोठे विद्यालय भवन बनेको हो।

विभिन्न मुलुकमा चन्दा संकलन गरेर तथा च्यारिटी सो देखाएर संकलित रकमले बनाएको विद्यालय हस्तान्तरण गर्न दाता हिल्फेका पदाधिकारी जर्मनबाट आइपुगेका थिए। हिल्फेका अध्यक्ष राल्फ पेश्चललायत पदाधिकारीलाई विद्यालय परिवारले दिल खोलेर हार्दिकतापूर्वक स्वागत गरे। फूलमाला, पञ्चेबाजा तथा साँस्कृतिक झाँकीसहित स्थानीयले उनीहरूलाई झण्डै एक किलोमिटर लामो साँगाचोक बजार परिक्रमा गराए।

‘विपद्मा दाताले फैलाएको हातलाई जीवनभर भूल्ने छैनौँ,’ छात्रा ईशा तामाङले दातालाई भावुक बनाउँदै सार्वजनिक मञ्चबाट भनिन्।

अत्याधुनिक भवनभित्र गुणस्तरीय शिक्षाको खोजी गरिने उनले जनाइन्। प्रजातान्त्रिक आन्दोलनको समयमा २००७ सालमा स्थापना भएको यो विद्यालयले २०७२ वैशाख १२ को भूकम्पअघि हेर्न लायक भौतिक आकार ग्रहण गरेको थियो। हिल्फेले नै भौतिक संरचना बनाइ दिएपछि विद्यालयले भौतिक रूपमा प्रगति गरेको थियो।

तर, उक्त भवन भूकम्पले ढालिदियो। भूकम्पलगत्तै साँगाचोक आइपुगेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्थायी सिकाइ केन्द्रको जग खन्दै सामुदायिक संरचना निर्माणमा स्वयम् सेवा गर्न सार्वजनिक अपिल गरेका थिए। दाहालले सुरुवात गरेको टहरोमा चार वर्षभन्दा बढी समय पठनपाठन सञ्चालन गरिएको थियो।

भूकम्पले आफूले बनाएको विद्यालय ढाले पनि हिल्फेले सहयोगी हात झिकेन। बरु नयाँ सम्झौता गरेर तत्काल पुनर्निर्माण अघि बढायो। आफ्नो संस्थाले बनाएको विद्यालय भूकम्पले ढालेपछि त्यसबाट पाठ सिकेर अझ ठूलो दायित्वबोध गर्दै पुनर्निर्माण अघि बढाएको हिल्फेका अध्यक्ष पेश्चलले सम्झिए। ‘शिक्षाबाटै नेपालको विकास सम्भव छ,’ नेपालको शैक्षिक विकासमा सघाउने प्रतिवद्धता जनाउँदै उनले भने।

हिल्फेद्वारा नौ विद्यालय पुनर्निर्माण
जर्मनका पूर्वसुरक्षाकर्मी र पर्वतारोहीको संस्था हिल्फेले भूकम्पछि जिल्लामा नौ सामुदायिक विद्यालय पुनर्निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको छ। सबै विद्यालय चौतारा नगरमै बनेका हुन्। भूकम्पपछि एक सय १६ कक्षाकोठा पुनर्निर्माण गरेको हिल्फेका नेपाल प्रावधिक सल्लाहकार बरिष्ठ इन्जिनियर सञ्जय सापकोटाले जानकारी दिए।

‘ती विद्यालय पुनर्निर्माणमा हिल्फेले झण्डै ३० करोड रूपैयाँ खर्चिएको छ,’ उनले नागरिकसँग भने। उनका अनुसार हिल्फेले बनाएको विद्यालय भूकम्पप्रतिरोधीका साथै अपांग, बाल र बातावरणमैत्री छन्। विद्यालय भवनसहित त्यसभित्रका आवश्यक फर्निचर, खानेपानी, बिजुली, शौचालय र घेराबार गरिएको कम्पाउन्डसहित समग्र शैक्षिक वातावरणकै पुनर्निर्माण गरिएको छ।

१८ वर्षदेखि यहाँको शैक्षिक विकासमा सघाउँदै आएको हिल्फेले नै भूकम्पअघि ती विद्यालय बनाएको थियो। आफूले बनाएको विद्यालय भूकम्पले ढाले पनि हिल्फेले सहयोगको हात झिकेन। बरु मर्मत, नयाँ पुनर्निर्माण र थप भवनसमेत सबै विद्यालय साढे चार वर्षमै बनाइ दियो।

उपराष्ट्रपति पुनद्वारा चिन्ता व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनजागृति माविको नवनिर्मत भवनको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको शिक्षामा आमूल सुधार ल्याउनुपर्ने खाँचो औँल्याए। ‘पछिल्लो तथ्यांक हेर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्कँदो छ। यो दुःखको विषय हो,’ उनले भने।

सामुदायिक विद्यालयको गुणस्तर खस्केकै कारण निजी विद्यालयमा शैक्षिक व्यापार फस्टाइरहेको उनको भनाइ छ। ‘सामुदायिक र निजी विद्यालयबीचको खाडलले वर्ग विभाजन गरिरहेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘यसलाई नसुधारे मुलुकको शैक्षिक क्षेत्र ठूलो खाडलमा फस्ने खतरा रहन्छ।’ निजी शिक्षालाई नियमन गर्दै वैज्ञानिक, व्यवसायिक र रोजगारीमूलक समान शिक्षामा उनको जोड थियो।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App